साताको ब्लगरः इन्द्रध्वज क्षेत्री

इन्द्रध्वज क्षेत्री सामाजिक संजालहरुमा अहिले परिचित नाम बनिसकेको छ । करिब एक दशकदेखि पत्रकारिता अभ्यास, अध्ययन र शिक्षणमा सक्रिय उनी पछिल्लो समय सामाजिक मिडियामा बढि सक्रिय छन । एक वर्ष अगाडिदेखी इक्वेल एक्सेसद्वारा संचालित नागरिक पत्रकारिता प्रबर्धनमा समर्पित मेरोरिपोर्टको समुहमा काम गरिरहेका उनले आफ्नो ब्लगमा धेरै जसो मिडियासम्बन्धी अनुसन्धानात्मक कुराहरु लेख्ने गर्छन । आजदेखि यो समुहबाट औपचारिक रुपमा बिदाइ लिएका इन्द्रध्वजलाइ धन्यवाद दिँदै मेरोरिपोर्ट टिमले साताका ब्लगरका रुपमा सम्मानित गर्ने निर्णय गरेको छ । प्रस्तुत छ उनीसंग मेरोरिपोर्टमा रहेर एक बर्षभन्दा धेरै समय नेपाली ब्लगरहरुसंग गरेको संगतको सेरोफेरोमा प्रकाश लामिछानेले गरेको कुराकानी ।
नेपालमा ब्लगिङको स्थान कहाँ छ?

मेरो बिचारमा नेपालमा ब्लगिङ राम्रैसँग अगाडि बढीरहेको छ । धेरै जुझारु साथीहरु देश परदेश तथा देशका कुनाकाप्चाबाट पनि ब्लगिङ गर्नुहुन्छ। इन्टरनेट सेवाको बिस्तार र इन्टरनेट साक्षरता बढ्दै जाँदा त्यसले ब्लगिङलाई धेरै सहयोग गरेको छ । पछिल्लो समयमा सामाजिक मिडियाको तीब्र बिस्तार भइरहनुले पनि ब्लगिङलाई सहयोग पुर्याएको छ । एकार्काबाट सिक्ने र उसले त लेख्न सक्छ भने मैले पनि किन नसक्ने भन्ने सोचले पनि केही साथीहरुलाई ब्लगिङतर्फ आकर्षित गरेको छ । साथै सामाजिक मिडियाको बिस्तारले ब्लगरहरुलाई आफ्नो ब्लगका पाठक खोज्न पनि सजिलो बनेको छ । यसरी हेर्दा नेपालमा ब्लगिङको भविष्यबारे धेरै आशावादी हुने ठाउँ छ ।

पछिल्ला दिनहरुमा ब्लगरहरुको संख्या बढ्दैछ सामाजिक संजालमार्फत गरिएका बहसहरुलाइ लिएर राज्यको ध्यान समेत तानिदै छ । के अब सामाजिक संजालका बहसले मुलधारका संचारमाध्यमलाइ बहस पैदा गराउनमा जित्न थालेको हो?

जित्न नै थालेको हो त म भन्दिनँ । किनकि एजेण्डा निर्माणमा अझै पनि परम्परागत मिडिया र विशेष गरी बिहान सर्कुलेशन हुने ब्रोडशिट दैनिक र एलिट म्यागजिनहरुको भुमिका ज्यादै महत्वपुर्ण हुन्छ । सामाजिक मिडियामा पनि धेरैजसो यिनै मिडियाले निर्माण गरेको एजेण्डा वरिपरि नै बहस भइरहेको हुन्छ । तर एउटा सत्य चाहिँ के हो भने सामाजिक मिडियालाई मुलधारका मिडियाले पनि गम्भीरतापुर्वक लिन थालेका छन् र केही सन्दर्भमा सामाजिक मिडियाले बहस सिर्जना गराउन र सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न बाध्य पार्न पनि थालेका छन् । सामाजिक मिडिया प्रयोगकर्ताको सँख्या बढ्दै जाँदा यो आवाज अझ बलियो हुने सम्भावना म देख्छु ।

तपाइ ब्लगिङ र सामाजिक संजालतर्फ कसरी तानिनुभयो ?
यसको लामो कहानी छ । सन् २००५ मा आमसञ्चार विषयको ‍औपचारिक अध्ययन शुरु गर्न थालेदेखि नै ममा नागरिक पत्रकारिताबारे रुची बढेको हो । त्यसैले स्नातकोत्तरको शोध पनि नेपालमा ब्लगिङबारे गर्ने सोच बनेको थियो तर सान्दर्भिक साहित्यको अभाव र यो विषयमा शोध निर्देशन गर्न सक्ने व्यक्तिको समेत अभावमा मैले यसलाई छोडेर अलिक फराकिलो नेपालमा अनलाइन न्युजपोर्टलहरुको दीगोपनबारे शोध गर्न पुगेँ । ब्लगिङ र नागरिक पत्रकारिताबारेको मेरो अध्ययन दुईवटा छोटा लेख Citizen Journalism in NepalBlogging in Nepal: Setting New Standards in Freedom of speech and expression मा गएर टुङ्गियो । मैले गरेको शोधको अंश भने काठमाडौँ विश्वविद्यालयले प्रकाशन गर्ने बोधी जर्नलमा Online Newsportals in Nepal: An overview शीर्षकमा छापियो ।

नागरिक पत्रकारिताबारे गहीरो रुचीकै कारण मुलधारकै मिडियामा काम गर्दा पनि दक्षिण कोरियाबाट सञ्चालित ohmynews.com मा नेपालसम्बन्धी समाचार र लेखहरु पोष्ट गर्ने गर्थेँ जहाँ सन् २००६ र २००७ मा गरी १४ वटा सामग्री पोष्ट भएका रहेछन्

सोही क्रममै नेपालबाटै चल्ने everestuncensored.org नामक साइटमा आंशिक रुपमा काम गर्ने मौका मिल्यो । मेरो व्यक्तिगत अनुभव र जानकारीका आधारमा व्यक्तिगत ब्लग भन्दा भिन्न सामुहिक प्लाटफर्मको रुपमा नागरिक पत्रकारिता शुरु गर्ने श्रेय यो साइटलाई नै जान्छ । कुनै एउटा निजी कम्पनीको पहलमा शुरु भएको यो साइट आजपर्यन्त चलिरहेको छ । ६ महिना यो साइटमा काम गर्दा ३२ वटा पोष्ट गरिएछ । तीमध्ये राजाले शासन लिएपछि झण्डै बिर्सिइएका सबैभन्दा भ्रष्ट दश राजनीतिज्ञबारेको समाचार Forgotten and forgiven evils: Top ten Corrupt Politicians र सर्वसाधारणको निक्षेप रहेका विभिन्न सरकारी बैँकबाट ऋण लिएर नतिरी बैँकलाई नै डुबाउन उद्धत १० जना सबैभन्दा ठुला व्यापारीहरुबारेको अनुसन्धानमुलक रिपोर्ट Evils of the nation: Top Ten defaulters uncovered प्रमुख छन् । भर्खर निरँकुश राजतन्त्रलाई आन्दोलनमार्फत च्यतु गरिएको सो अवस्थामा काम गर्नु उत्तिकै अस्थीर र चुनौतीपुर्ण थियो ।

६ महिनापछि फेरी म मुलधारे पत्रकारितामै फर्केँ । रेडियो र टेलिभिजनमा काम गरियो । आफ्नो बोली सुनाइयो, अनुहार पनि देखाइयो । बिचमा अध्ययनका लागि दुई वर्ष देशबाहिर पनि बसियो । सो अवधिमा पनि  मुलधार र ब्लगिङमा अलिअलि लेख्ने क्रम जारी नै रह्यो ।

फर्केपछि फेरी यस्तै एउटा अवसर आइलाग्यो । नेपालमा पनि संस्थागत रुपमा नागरिक पत्रकारिता प्रवर्द्धन गर्नको लागि इक्वल एक्सेस नेपालले meroreport.net शुरु गरेको रहेछ । आफ्नो रुचीको क्षेत्र भएकोले मौका मिल्दा म पनि यो समुहमा सँलग्न भएँ । त्यसपछिका एक वर्ष पुर्णकालिक रुपमा नागरिक पत्रकारिता प्रवर्द्धनमा बिते । गर्दै सिक्दै जाँदा रुची झनै बढ्दै गयो । अहिले त सामाजिक मिडिया बिनाको सँसार नै परिकल्पना गर्न नसक्ने बनेको छु म ।

 

लामो समय सामाजिक संजालमार्फत नागरिक पत्रकारिता प्रबर्धनमा समर्पित समुहमा रहेर काम गर्नु भो । नेपालमा कस्ता बिषयमा फेसबुक ट्विटर या अरु साइटहरुमा बहस धेरै हुन्छन?
भइरहेका बहसहरु हेर्दा राम्रै छन् । सँख्या पनि उल्लेख्य छ । तर समस्या कहाँ छ भने यसरी बहसमा भाग लिनेहरुको सँख्या भने एकदमै कम छ । त्यसैले बहसका विषयबस्तुको दायरा र सहभागी सँख्या बढाउँदै जाँदा यी समस्या घट्दै जालान् भन्ने अपेक्षा गर्न सकिन्छ ।

धेरैले सामाजिक संजालहरुमा सुचना र जानकारीको साटो हामीकहाँ च्याट बढि हुन्छ भन्ने वा यसका प्रयोगकर्ताहरु ब्यक्तिगत कुराकानी गरेर रमाइलो गर्न आएका हुन पनि भन्ने गरेको सुनिन्छ। खासमा यसको उपयोग के का लागि?

जुन पनि नयाँ मिडिया आउँदा केही नराम्रा पक्षहरु आउँछन् नै । निजी रेडियोलाई अनुमती दिँदा देशै टुक्रिन्छ भनेर लामो समयसम्म एफएमहरुको लाइसेन्स रोकिएको इतिहास ताजै छ । फेरी सामाजिक मिडियाबाट रमाइलो गर्नै हुँदैन भन्ने पनि छैन । किनकि सबैखाले मिडियाको काम सुचनासँगसँगै मनोरञ्जन वा फुर्सदको समयको उपयोग पनि हो । फेरी खाली सुचनामात्र भयो भने यो एकाङ्गी हुन्छ र धेरै उपयोगकर्तालाई बाँधीरहन सक्दैन । त्यसैले मेरो बिचारमा सामाजिक मिडिया पनि सुचना र मनोरञ्जन दुवै उद्देश्यका लागि प्रयोग हुन्छन् र यो नराम्रो होइन ।

बरु समस्या के हो भने धेरै बहसहरु एउटै समुहको वरिपरी घुमिरहेको पाइन्छ । यसले गर्दा कहिलेकाहीँ एकदमै अनावश्यक विषयमा तर्कबितर्क हुने गरेको र कहिलेकाहीँ व्यक्तिगत आक्षेपमै ओर्लिने गरेको पनि पाइन्छ । यो पनि समयक्रममा सुधारिँदै जान्छ र यो ठुलो समस्या होइन भन्ने मेरो ठम्याइ हो ।

अर्कोतर्फ केही सेलिब्रिटी र सम्पादकहरुले यसलाई अझै पनि परम्परागत मिडिया झैँ खाली आफ्ना कुरा बाहिर लैजाने स्पीकरजस्तो मात्र ठानेका छन् । सामाजिक मिडियाको अर्को सफल प्रयोग भनेको मार्केटिङमा हो तर नेपालका धेरै व्यापारिक घरानाहरुले यो सम्भावनाको उपयोग गर्न पनि हिच्किचाइरहेका छन् ।

नेपालमा सामाजिक मिडियाले उठाएका सवालमार्फत भएका गतिला काम या सामाजिक मिडियाको प्रयोग गरेर भैरहेका उल्लेखनय कामहरुलाइ सम्झिनुपर्दा?
यस्ता धेरै कामहरु छन्, जस्तै समरमाथा चढ्नको लागि प्रचण्ड पुत्र प्रकाशलाई दुई करोड दिने सरकारी निर्णय फिर्ता लिन सरकारलाई बाध्य पार्नेदेखि लिएर मोन्सान्टोविरुद्धको अभियान र अमरबहादुर बमलाई मृत्युदण्डबाट बचाउने अभियानमा धेरै हदसम्म सामाजिक मिडियाले दबाब दिएका थिए । सानो सानो र स्थानीय स्तरमा समेत फेसबुक वा ट्वीटर प्रयोग गरेर सानो ठुलो सहयोग जुटाएका थुप्रै उदाहरण छन् । टीएफसीनेपाल र गाउँमा किताब जस्ता अभियान पनि सामाजिक मिडियाकै कारण सम्भव भएका हुन् ।

नेपालमा भइरहेको ट्विटर र फेसबुकको प्रयोगलाई कसरी हेर्नुहुन्छ?

मैले माथि पनि भनिसकेँ कि हरेक मिडियाका केही नराम्रा पक्ष पनि हुन्छन् । तर समयक्रममा ती सँग्लँदै जान्छन् । हालै पनि अमेरिकामा आएको स्याण्डीनामक समुद्री आँधीका क्रममा पनि ट्वीटरमार्फत गलत सुचना र भ्रमपुर्ण तस्वीरहरु सर्कुलेट भएपछि सम्बन्धित निकायले ट्वीटरमार्फत नै यस्ता ट्वीटमा बिश्वास नगर्न आग्रह गर्नुपरेको थियो । नेपालमा पनि यस्ता केही गलत प्रयोगहरु आएका छन् ।

यसमा मेरो निर्क्यौल के छ भने फेसबुकको भयानकीकरण भएको छ भने ट्वीटरको ट्याब्लोइडीकरण । त्यो भनेको के हो भने फेसबुक प्रयोगमा केही विकर्षण छ भने त्यो भयानक र भ्रमपुर्ण तस्वीरहरुका कारणले हो । अन्यथा फेसबुक धेरै राम्रो छ । त्यसैगरी ट्वीटर सुचना आदानप्रदानका लागि कम र मनोरञ्जनका लागि बढी प्रयोग भएको हो कि भन्ने आशंका पनि छ ।

 

मेरो रिपोर्ट टिममा रहेर काम गर्दाको सम्झन योग्य अनुभव?

मेरोरिपोर्टमा रहँदा मैले सबैभन्दा वाहवाही पाएको र सँगसँगै आलोचना पनि पाएको काम साताको ब्लगर छान्दा हो । खासमा यसरी छान्ने समुह कार्य हो । तर सामाजिक मिडियामार्फत प्रवर्द्धन गर्दा म अगाडि आएकोले धेरै आलोचनाको तारो पनि म बनेँ । संयोग के पनि भएछ भने मेरोरिपोर्टमा लोकप्रिय बनेका धेरै अन्तर्वार्ता लिने मौका मैले नै पाएको रहेछु । जस्तै काकाबा, युशाफ्ट, स्वन्तिना शाक्य, लेनिन बन्जाडे लगायतका व्यक्तिहरुको अन्तर्वार्ता मैले नै लिएको थिएँ ।

त्यस्तै अरु धेरै रमाईला र सुखद क्षणहरु पनि छन् । यी दुवै साइटमा धेरै सदस्यहरुलाई साइन अप गर्न म आफैँले अनुरोध गरेको छु । धेरैलाई साइन अप गर्न र सामग्री अपलोड गर्न सिकाएको पनि छु । अधिकाँश सदस्य साथीहरुसित च्याटमा वा उनीहरुका सामग्रीमा कमेन्ट गरेर अन्तर्क्रियामा रहेको छु । सबैभन्दा रमाइलो चाहिँ ट्वीटरमा केही साथीहरुको आलोचनाको तारो बन्दा लाग्छ । त्यतिखेर लाग्छ साँच्चिकै गज्जब काम गरिएछ किनकि चानचुने काम गर्नेहरुको त आलोचना नै हुँदैन ।

एउटा सन्तुष्टि के लाग्छ भने मुश्किलले परिचय पाउने ब्लगरहरुलाई मेरोरिपोर्टले पहिचान दियो । उनीहरुलाई प्रोत्साहित गर्यो । हामीले सकेसम्म राम्रो गर्ने प्रयास गरेका हौँ । मलाई सबैभन्दा सन्तुष्टि मिल्ने काम पनि यही नै हो ।


सोसल मिडियाको क्षेत्रमा छिरेर मैले यो चिज कमाइरहेको छु भन्ने केही छ? 

सामाजिक मिडियाले मलाई पहिचान दिएको छ । मेरो असली परिचय चाहिँ पत्रकार, पत्रकारिताको शिक्षक र अनुसन्धाता हो । तर पछिल्लो समयमा जानीनजानी सामाजिक मिडियाबारे पनि धेरथोर ज्ञान भएको व्यक्तिको रुपमा केही साथिहरुले चिन्नुहुन्छ ।

हिलेकाहि ट्विटरमा हुने बहसमा यो सिकाउने कुरा हैन भनेको निकै सुनिन्छ । सोसल मिडियाको प्रयोग सिक्नु सिकाउनु पर्ने बिषय हो कि आफै गर्दै सिक्दै गर्ने बिषय हो?

धेरै अवस्थामा म पनि के विश्वास गर्छु भने यो गर्दै सिक्दै गर्न विषय हो । तर हामीकहाँ सिकाई कसरी हुन्छ भने घोकन्ते । त्यसैले धेरै मानिस नयाँ कुराको प्रयोग गरिहाल्न हच्किन्छन् । बिग्रीहाल्छ कि भन्ने मानसिकताले काम गरेको हुन्छ । यो एक वर्षमा ५०० जतिलाई सामाजिक मिडियाबारे लामोछोटो सत्रमा सिकाउँदा मेरो यो बुझाई झन् गाढा बनेको छ । हामी धनकुटा पुग्दा इमेलसमेत नभएका स्नातक पढ्ने विद्यार्थी भेटिएका थिए । त्यसैले नेपालको सन्दर्भमा परिस्थिती हेरेर ट्वीटडेक मात्र होइन इमेल इन्टरनेट पनि सिकाउनुपर्ने छ ।

अबको १० बर्षमा सोसल मिडियाको प्रयोग हामीकहाँ कसरी होला? यसको क्षेत्रबारे बताइदिनुस न?
म धेरै आशावादी छु । प्लेटफर्मको रुपमा फेसबुक वा ट्वीटर नै आजको रुपमा लोकप्रिय नहुन सक्छन् । अर्को आउन सक्छ तर भविष्य भनेको सामाजिक मिडिया नै हो । यो सुचनाआदानप्रदान, मनोरञ्जन र मार्केटिङ तीनै उद्देश्यका लागि अझ धेरै प्रयोग हुनेछ ।

नेपालमा सुरु भएको नागरिक पत्रकारिता र ब्लगिङको प्रवर्धनमा मेरो रिपोर्टले कस्तो योगदान दिएजस्तो लाग्छ ?
यो सँस्थागत प्रयासले निकै ठुलो योगदान दिएको छ । नागरिक पत्रकारहरुलाई पनि हामीसँग हकअधिकारसँगै शक्ति छ र पहिचान छ भन्ने भावना दिएको छ । साथसाथै उनीहरुलाई नागरिक पत्रकारको दायित्वबोध पनि गराएको छ । यस्तो प्रयास निरन्तर रहनुपर्छ ।

भर्खरै नेदरल्याण्डबाट मास्टरिङ सोसल मिडिया तालिम पनि लिएर आउनुभएको छ । त्यहाँ अरु देशका पनि सहभागी थिए होलान । अरु मुलुकमा सोसल मिडियाको प्रयोग कसरी हुँदोरहेछ

हो । यो तालिम एकदमै महत्वपुर्ण थियो । सामाजिक मिडियाका सैद्धान्तिक, व्यवहारिक पक्षका साथै अरु देशमा भएका सामाजिक मिडिया प्रयोगका अनुभवहरु पनि सुन्न पाइयो । नेपालमा भइरहेको प्रयोगबारे पनि उनिहरुलाई भन्न पाइयो । मलाई सबैभन्दा रोचक लागेको भनेको इजिप्टका सहभागीको अनुभव हो । भर्खरैजस्तो एउटा तानाशाहलाई बर्खास्त गरेको केही जश उनीहरु सामाजिक मिडिया र विशेष गरी ट्वीटरलाई दिन्छन् । उनी सामाजिक मिडियाप्रति यति उत्साहित थिइन् कि सामाजिक मिडिया साँच्चिकै शक्तिशाली हुनेरहेछ भन्ने अनुभव म गर्न सक्थेँ ।

अन्त्यमा केही भन्नु छ कि ?

मेरोरिपोर्ट र मिडियामञ्च टिममा रहेर काम गर्दा धेरै सिकाइ र महत्वपुर्ण अनुभव रह्यो । मेरोरिपोर्टका सबै सदस्य साथीहरु, यो अवसर उपलब्ध गराउने इक्वेल एक्सेस र टीममा मलाई सहयोग पुर्याउने तथा अराईसिकई गराउने सबै साथीहरुलाई धेरै धन्यवाद दिन चाहन्छु । साथै नागरिक पत्रकारिताको प्रवर्द्धनमा मेरो तहबाट हुने सबै प्रयास गर्नेछु भन्ने प्रतिवद्धता पनि व्यक्त गर्दछु ।  

 

 

हालसम्म फिचर भएका साताका ब्लगरहरु 

 

नोट: के तपाईँ पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं । 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Indra Dhoj Kshetri on November 5, 2012 at 2:31pm
सबैलाई धेरै धेरै धन्यवाद । मेरोरिपोर्टप्रतिको मेरो लगाव जारी नै रहने छ । म सक्दो प्रयास गर्ने नै छु नेपालमा नागरिक पत्रकारिता, ब्लगिङ र मेरोरिपोर्टको प्रवर्द्धनका लागि ।
Comment by Dilli Malla on November 5, 2012 at 9:28am

धेरै धेरै धन्यवाद इन्द्र सर, तपाईको अनुभव पढ्ने अवसर पाइयो । तर, मेरो रिपोर्ट टीमलाई तपाईको अभाव सायद सधैंभरि नै भइरहनेछ ।  तपाई बाहिर रहेपनि हामी पाठकसँग सधैं सँगै रहिरहनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।

Comment by प्रेम पौडेल (मरूभूमिको यात्री) on November 2, 2012 at 9:54pm

खुसीको कुरो ईन्द्र सरको अनुभव सुन्न पाईयो, तर दुखको कुरो उहाँले मेरोरिपोर्ट छोड्दै हुनुहुदो रहेछ, तर पनि नियमित अनुभव मेरो रिपोर्टमा लेख्नु होला ईन्द्र सर । 

Comment by Lava Kafle on November 1, 2012 at 1:39pm

friend woow

Comment by अल्टर कान्छो’ on October 31, 2012 at 9:53pm

मेरो रिपोर्ट र मिडिया मञ्चको सदस्य बन्न मैले पनि कुराबाट नै सिँके सायद योटिम उहाँको अनुपस्तििमा अधुरै पनि होला तर पनि नयाँले उहाँबत्राट केही सिक्न भने पाइरने छन् सुभकामना र बधाई इन्द्र सरलाई

Comment by Kamal Paudyal on October 31, 2012 at 5:48pm

एउटा सन्तुष्टि के लाग्छ भने मुश्किलले परिचय पाउने ब्लगरहरुलाई मेरोरिपोर्टले पहिचान दियो । उनीहरुलाई प्रोत्साहित गर्यो । हामीले सकेसम्म राम्रो गर्ने प्रयास गरेका हौँ । मलाई सबैभन्दा सन्तुष्टि मिल्ने काम पनि यही नै हो ।   Yo Sabda MAlai Man Paryoo.... Dhanyabad sir

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service