रत्यौली खेल्न लाज छैन तर लेखाईमा शुद्ध भावना प्रकट गर्दा पचाउन गाह्रो-हिमा बिष्ट

मानव संसाधन प्रमुखका रुपमा विकास सम्बन्धि निकायमा कार्यरत हिमा बिष्ट अध्ययनका हिसाबले मानव संसाधन बिषयमा एमबिए गरेर अँग्रेजी साहित्यमा होमिईन् । नेपाल, भारत हुँदै अमेरिका समेत गरी तिनवटा देशबाट अध्ययन सम्पन्न गरेकी उनी हाल प्राध्यापन पेशासंग पनि सम्बन्धित छिन् । पढाई सकेर नेपालमा केही गर्नुपर्छ भन्ने मान्यता राखेर स्वदेश फर्केको बताउने हिमा भन्छिन्- 'र एकपटक पनि त्यो निर्णय गरेर पछुताउनु परेको छैन ।' काठमाण्डौ उपत्यकामा जन्मि हुर्केको भएपनि 'कर्णाली'संग आफ्नो अचम्मको नाता जोडिएको छ भन्छिन उनी । आफ्ना बिचारहरु निर्धक्कसंग राख्नका निम्ति हालसालै सोसल मिडिया खासगरी ब्लगिङको यात्रा पनि आरम्भ गरेकी हिमा बिष्टलाई हामीले मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा प्रस्तुत गरेका छौँ । प्रस्तुत छ हिमासंगको कुराकानी:

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छएउटा ब्लगरका रुपमा या अरु केही?

'HR Specialist on a Creative Journey' नै मेरो चिनारी हो । म कुनै सेलिब्रेटी हैन तर लेखाईको माध्यमबाट आफ्नो भावनामा हराउन चाहन्छु । जुन कुरा मेरो निजी जीवनबाट अलिक टाढा छ र हुन पनि चाहन्छु ।

तपाँईको ब्लग labanyawriting.blogspot.com का बारेमा बताईदिनुस् न । यो कस्तो ब्लग हो र कस्ता कुराहरु अटाउँछन् यहाँ?

लवन्या मेरो क्रियशन हो, एउटा यात्रा हो । यसमा मेरो कहानी लुकेको छ, चाहना फूलेको छ, वास्तविकता देखिएको छ र काल्पनिक संसारको बिचमा हिमा हराएको छ । लवन्याले साहित्यिक र सामाजिक दुबै पक्ष हेर्छ र आफ्नो ब्यक्तिगत धारणा दिन्छ, जुन उत्तरदायी बिचार हुन्छ तर सबैलाई आत्मसाथ गर्न गाह्रो हुनसक्छ ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

ब्लगिङ गर्न थालेको एकबर्ष भयो तर सुरुसुरुमा खाली ८-९ जनालाई मात्रै लिंक शेयर गरेँ, खुलेर आउन आउन गाह्रो लाग्यो । वहाँहरुले खुब प्रोत्साहन दिनुभयो अनि गएको जनवरी देखी ट्विटरमा खुलेर लिंक शेयर गर्न थालेँ ।

ब्लगिङ किन गर्नुहुन्छ?

मलाई लेख्न मन पर्छ । डायरी सानैदेखी लेख्थेँ तर आफ्नो लेख आफैमा सिमित थियो । सोचेँ, कुनैकुनै कथा अरुसँग शेयर गर्दा राम्रै हुन्छ । बल्ल सुरुवात गर्दैछु, लेख्न धेरै बाँकी छ ।

ब्लग लेख्नका निम्ति  कस्ता बिषयबस्तु तपाईंको प्राथमिकतामा पर्छन् र किन?

ब्लगिङ नितान्त ब्यक्तिगत हो मेरो लागि तसर्थ कुनै नियम बनाएर लेख्दिन । तर मलाई महिलाको परिप्रेक्षबाट लेख्न मन लाग्छ । सायद मैले आफैले ती भावनाहरु बुझ्ने भएकोले होला । दर्शनशास्त्र, अध्ययन तथा लेखनमा चाख भएकोले बिषय त्यहिँ नै पाउँछु । सामजिक र सांस्कृतिक बिषय पनि यदि मनमा छायो भने त्यस विषयमा पनि लेख्छु ।

तपाईंको ब्लगमा अँग्रेजी भाषामा लेखिएका साहित्यिक कुराहरु धेरै छन् झैँ लाग्यो । अँग्रेजी साहित्यमा धेरै रुची राख्नुहुन्छहो?

अङ्ग्रेजी र नेपाली साहित्य दुवै मनपर्छ तर दु:खको कुरा के भने म नेपाली टाईप गर्न जन्दिन । भविश्यमा टाईप गर्न जानेपछि अवश्य नेपालीमा लेख्ने कोशिश गर्छु ।

यहाँको ब्लगका पाठकहरु को हुनअर्थात कसलाई लक्षित गरेर ब्लग लेख्नुहुन्छ?

मेरो लेखाई कुनै प्रौढ या प्रकारयुक्त धारणाका निम्ति होईन किनकि लवन्या भनेको साहित्यिक भावना हो । लवन्याको लेख सबैको लागि हो । भविश्यमा मानव संशाधनको ब्लगिङ गर्नेछु र त्यो चाँही लक्षित पाठक अनुसार हुनेछ ।  

लेख्न मन भएको तर लेख्न नसकेको बिषय चाँही के नि?

बिस्तारै पाठकहरुले लवन्या, हिमा हो भनेर चिन्दैछन् तसर्थ एउटा महिलाको आफ्नो शरीर प्रतिको भावना अँझै खुलेर लेख्न सकेको छैन । लेख्न मन छ र कथा लेख्दैछु यसैलाई लिएर । सायद भविश्यमा खुलेर लेख्न सक्छु कि ! अश्लिलता होईन गहिरो सोचाईको तहबाट ।

यहाँको ब्लग पुर्ण रुपमा अँग्रेजी भाषामा छ । नेपाली भाषामा ब्लग गर्नु र अँग्रेजी भाषामा ब्लग गर्नुबिच तात्विक भिन्नता छ याभाषा केवल अभिब्यक्तिको माध्यम भएकोले त्यस्तो फरक केही छैन । के लाग्छ यहाँलाई?

हो, म अङ्ग्रेजी भाषामा ब्लगिङ गर्छु । नेपाली ब्लगहरु हेर्दा साह्रै इर्ष्या पनि लाग्छ । त्यसरी आफ्नो भावना नेपालीमा राख्न सक्नु, टाईप गर्न सक्नु भनेको ठुलो कुरा हो । जसले गर्न सक्नुहुन्छ वहाँहरुलाई त मान्नैपर्छ । जसरी म अङ्ग्रेजीमा लेख्न सक्छु, नेपालीमा सक्दिन । यो मेरो कमजोरी हो ।

भाषाविद्हरु नेपालीमा भन्दा अँग्रेजी भाषामा शब्दकोष धेरै छ र मिठास पनि छ भन्छन् । साँचो हो ?

नेपालीमा पनि धेरै शब्दहरु छन तर मलाई चाँही आउँदैन । मलाई जस्तै अरु धेरैजना पनि आउँदैन होला । अँझ कहिले त हामीहरु हिन्दीमै अभिव्यक्ति दिईरहेका पनि हुन्छौँ । नेपाली भन्दा हिन्दी र अङ्ग्रेजी सिनेमा नै धेरै हेर्छौँ । मेरो हकमा पनि सानैदेखी स्कुलमा नेपाली बाहेक सबै बिषयहरु अङ्ग्रेजी मै पढियो । हिन्दी सिनेमा 'शोले'को सम्वाद तथा कथा थाहा छ तर नेपाली सिनेमाको यादै छैन । साथै अङ्ग्रेजीका अरु किताबहरु पनि खुब पढियो । तसर्थ लाग्छ, जुन भाषाको प्रयोग बढी भयो, लेखाई त्यतैतिर ढल्कियो । भनिन्छ नि, अङ्ग्रेजीको त गाली पनि मिठो र सभ्य, नेपालीको गाली चाँही लाज लाग्दो । तर कुरा त्यसो पनि हैन । भाषाको मिठास सबैमा हुन्छ, मात्र त्यसलाई प्रयोग गर्न जान्नुपर्छ जस्तो लाग्छ ।

नेपालमा अँग्रेजी ब्लगका पाठकहरु कति छन्?

मलाई सुरुमा लागेको थियो धेरैले नेपाली ब्लग नै रुचाउनुहुन्छ होला । एकजनाले त 'अङ्ग्रेजी म रहेछ, खोलिन' सम्म भन्नुभयो तर अहिले लाग्छ पाठकहरु धेरै हुनुहुन्छ ।

ब्लग हेरिसकेपछि कस्तो पाउनुभएको छ पाठक प्रतिकृयाकुनै रोचक प्रतिकृया या ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना छन् भने उल्लेख गर्नुस न !

एकदमै मनोबल बढाउने प्रतिकृयाहरु आएका छन् । लेखाई ब्यक्तिगत रहेछ भन्नुहुन्छ धेरैजनाले । लवन्याको हुन् र किन लवन्या भनेर धेरैले ईमेलमा सोध्नुभएको छ । मेरो एउटा ब्लगमा "मेकिङ लभ" भन्नेरी शब्द लेखिएको छ र त्यो शब्दलाई लिएर खुब जिज्ञासाहरु आए । त्यो साहित्यिक 'ट्विष्ट' थियो तर एकजनाले त “कस्तो लाज नभएको आईमाई" भन्नुभयो । लाग्यो, अँझै हाम्रो सोच कत्ति सानो र अविकसित छ । बिहेमा रत्यौली खेल्न लाज छैन तर लेखाईमा शुद्ध भावना प्रकट गर्दा पचाउन गाह्रो ।

नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

नेपालमा सोसल मिडिया रमाइलो तर बिचार गर्नु पर्ने खालको छ । मान्छेहरु आफ्नो धारणा ब्यक्त गर्न निकै हतार गर्छन् । ठिक र बेठिकलाई विश्लेषण नगरी तुरुन्तै बिचार बनाउने प्रवृत्ति छ यहाँ । ब्लगिङलाई प्रोत्साहन गर्नुपर्छ । कसैको लेख हो नि त ! किन नकारात्मक प्रतिकृया दिन हतारिने? “रचनात्मक प्रतिकृया" दिए राम्रो हो । यदि तपाईंको पेशा लेखनतिर हैन तर ब्लगिङको माध्यमले आफ्नो प्रतिकृया दिनुहुन्छ भने त त्यो राम्रो कुरा हो नि !

अरुका ब्लग कत्तिको पढ्नुहुन्छप्राय: पढने ब्लगहरु?

म अरुको ब्लग धेरै हेर्छु । केही सिक्ने हिसाबले त केहि मनोरञ्जनको लागि । आफ्नो पेशासंग मिल्ने मानव संसाधन सम्बन्धि ब्लगहरु हेर्छु अनि ट्विटरमा फलोअरहरुको ब्लग हेर्छु । कुनैकुनै ब्लग त 'वाह !' भन्ने खालका पनि छन् ।

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?

मलाई पेशाले गर्दा पनि होला सायद मानव संसाधन सम्बन्धी नै मनपर्छ तर पोलिटिक्स अनि सहित्यिक ब्लग मन पर्छ । ब्यक्तिगत भावना मन पर्छ र सुचनामुलक खालको मन पर्छ । अलि भाषण छाँट्ने खालको चाँही मन पर्दैन । आध्यात्मिक भन्द पनि दर्शनशास्त्रिय ब्लगहरु बढी मन पर्छ ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छतपाईंलाई के लाग्छजरुरी छ ब्लगरका लागी आचारसंहिता?

हेर्नुस, ब्लगिङ ब्यक्तिगत हो र हुनुपर्छ तर कसैलाई मानहानी गरेर लेख्न पाँईदैन । आजकाल जसले जसलाई गाली गरे पनि हुने जस्तो देखिएको छ र हाम्रो देशमा मानहानीका विरुद्द कानुनी उपचार खोजिहाल्ने प्रवृत्ति पनि छैन । तसर्थ, आचारसंहिता हुनु राम्रो कुरा हो । यसले सबलाई उत्तरदायी ब्लगिङ गर्न मार्गदर्शन दिन्छ ।

तपाँई आफूपनि सोसल मिडियाको उपभोक्ता भएको हुँदा हामीकहाँ प्रयोगमा आइरहेका सोसल मिडियाका थलोहरुब्लगट्विटर र फेसबुकले गरेको उल्लेख्य काम सम्झिनुपर्दा के हो जस्तो लाग्छ यहाँलाई?

मेरो बिचारमा फेसबुक हामीकहाँ परिवार र साथीभाईसंगको सम्बन्धका लागि छ भने ट्विटर र ब्लगिङ अलि ब्यवसायिक र आफ्नो तर्कवितर्क अपरिचित समुहसामु राख्ने थलो बनेका छन् । यी थलोहरु सुचना साट्ने र बाँड्ने मञ्च बनेका छन्, जुन अति नै राम्रो कुरा हो । यसलाई सकारात्मक रूपमा अगाडि बढ्न दिनुपर्छ । “सेलिब्रेटी” हैसियत भएका मानिसहरु भन्दापनि नाम नै नसुनिएका तर 'क्रियटिभ आउटलुक' भएका मानिसहरुको चिनारी ट्विटर र ब्लगबाट पाईएको देख्छु ।

नेपाली ब्लगहरु सामाजिक हित वा सामाजिक मुद्दामा लेखिएका कत्तिको पाउनुभएको छ?

हेर्नुस, ब्लगहरु धेरै सान्दर्भिक र राम्रा छन् तर कुनैकुनै चाँही अलि धेरै बौद्दिक भन्दा पनि उपदेश दिन खोजेको जस्तो हुन गएको देखेको छु । सामाजिक मुद्दाका कुराहरु धेरै देखिन्छन् तर त्यसको सकारात्मक प्रतिफलहरु सुझाउनु भन्दा नकारात्मक र गाली धेरै देख्छु ।

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो

मेरो सबैभन्दा मन पराईएको ब्लग दुईवटा छन्: पहिलो- “The Closested Dreams” र दोश्रो चाँही “A Delicate Mind” हो ।

ब्लगिङ गरेर के यो पाएँ वा यो गुमाएँ भन्ने केही छ?

आफु "सेलिब्रेटी" नभएकोले कहिलेकाँही ध्यानाकर्षण भएको बेला सम्झौता गर्न आउँदैन । लवन्याको माध्यमले एउटा चिनारी राखेको थिएँ तर आजकाल हिमाको नामले अगाडि आएको छु जुन एक हिसाबले ठिक पनि छ तर अर्को हिसाबले मेरो 'सहित्यिक पहिचान'को खोजी सुरु भएको छ । ब्लगिङले मलाई आफ्नो लेखमा धेरै आत्मबल दिएको छ ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छके ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

ब्लगिङ नागरिक पत्रकारिताको एउटा रूप हो तर म चाँही यसलाई ब्यक्तिगत पनि भन्ने गर्छु । पत्रकारिताका आचारसंहिता सबै यसमा लागु हुँदैन भन्ने मान्यता राख्छु म । नत्र त हामी सबै पत्रकार बने भईहाल्यो नि ! ब्यवसायिक पत्रकारिता र ब्लगिङमा एउटा सानो रेखाको फरक चाँही अवश्य पनि छ ।

अन्त्यमा,

मेरोरिपोर्टलाई म धन्यवाद दिन चाहन्छु । मेरो ब्यवसायिक कामबाट लवन्याको ब्लगिङ धेरै टाढा छ तर “ब्लगर अफ दि विक" को लागि अङ्ग्रेजी भाषाको भएपनि मेरो ब्लगलाई स्थान दिनु भनेको भाषा भन्दा पनि लेखाईलाई महत्व दिनु भएको हो भन्ने मलाई लागेको छ । कुनै 'सेलिब्रेटी' हैसियत नभएको मान्छे मलाई एउटा प्रोत्साहन दिनुभएको छ । धेरै धन्यवाद !!!

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service