आफ्ना बिचारलाई ब्लगमा कलात्मक तरिकाले प्रस्तुत गर्ने मेरो प्रयास सधैँ रहन्छ-गोपाल अर्याल

खास नाम भवानी अर्याल तर धेरैले गोपाल अर्याल भनेर चिन्छन उनलाई । आफुलाई रंगकर्मी भन्न रुचाउने भवानी अर्थात गोपाल त्यस बाहेक सामाजिक अभियान, मानव अधिकार र  बिदेशीहरुको लागि नेपाली भाषा शिक्षक लगायतका धेरै क्षेत्रमा कृयाशिल छन् । कैलाली जिल्लामा जन्मिएपनि नागरिकता अनुसार उनी नवलपरासीका बासिन्दा हुन तर उनका पितापुर्खा भने पाँचथरतिरबाट बसाई सरी पश्चिमतिर गएका रे । त्यसैले गोपाल आफूलाई चिनाउनुपर्दा भन्नेगर्छन्-‘म धेरै तिरको मान्छे हुँ ! त्यसैले आफुलाई नेपाली मात्र भन्न मन पराउँछु !’ गोपाल पेशागत रुपमा विभिन्न क्षेत्रमा कृयाशिल भएपनि सोसल मिडियामा उनी कहिले कवि तथा कहिले गजलकारका रुपमा पोखिन्छन् आफ्नो ब्लग http://actorgopal.blogspot.com/ मा । यसपालीको साताका ब्लगर स्तम्भमा हामीले उनै भवानी उर्फ गोपाल अर्याललाई उभ्याएका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?
मैले आफुलाई जहिले जहाँ जसरी चिनाए पनि म कलाकार नै हुँ र त्यसरी नै प्रस्तुत हुन मन पराउँछु । लेख्ने मेरो सानै देखिको रहर हो । म व्यवसायिक लेखक होइन ! 

तपाँइको ब्लग http://actorgopal.blogspot.com/मात्रै कि अरु पनि छन?
मैले चलाउने ब्लग यहि एउटा मात्रै हो ! 

यहाँको ब्लगमा साहित्यिक रचनाहरु खासगरी कविता र गजलहरु धेरै रहेछन् । खासमा यहाँको ब्लगिङको रुची के हो?
मैले कविताबाटै लेख्न सुरु गरेको हुँ ! पछि घनश्याम सर, बुँद राना सरहरुको छत्रछायाँमा भएकोले गजल लेख्न अग्रसर भएको हुँ ! त्यसताका एउटै छतमुनि बस्ने मित्र मोहन बस्यालले गजल पढाएपछि मैले गजल लेख्न थालें ! फाट्टफुट्ट कथाहरु लेख्छु ! निबन्ध भन्ने या आत्मबिचार थाहा छैन लेख्न मन पराउँछु । 

तपाँइलाई हामीले रंगमञ्चमा पनि देख्ने गरेका हुन्छौँ । आफ्नो ब्लगमा रंगमञ्चसंगका अनुभुतिहरु पनि राख्नुहुन्छ कि यो रंगमञ्चको अनुभुति भन्दा बिल्कुल टाढा छ?
ब्लगमा अनुभूति म राख्छु तर भाषण लेख्न मन लाग्दैन । म रंगमञ्चकै पनि ज्ञाता होइन त्यसैले जानकारीमुलक कुराहरु लेख्दिन । 

आफ्नो ब्लगको बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न ।
भावनालाई शब्दभित्र ढालेर लेखेँ ।
कहिले अँध्यारामा बत्ती बालेर लेखेँ ।

कहिले काहिँ सोच्दा सोच्दै आधि रात हुन्थ्यो
उठेँ ओछ्यानबाट सिरक फालेर लेखेँ ।

टुक्रिएझैँ लाग्थ्यो मन, दुख्थ्यो सम्झनाले
बुझाउन चित्त, मन टालेर लेखेँ  ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?
धेरै भएको छैन । ठुला कुरा किन गर्ने करिब दुईवर्ष अगाडी सबिन सिंहको ब्लग देखेपछी आफ्ना सृजनाको पनि सम्मान होस् भनेर ब्लग सुरु गरेको हुँ । 

ब्लगिङ किन गर्नुहुन्छ?
ब्लग मेरो लागि आफ्ना विचार पोख्ने ठाउँ हो । आफ्ना बिचारलाई सकेसम्म कलात्मक तरिकाले प्रस्तुत गर्ने प्रयास मेरो सधैँ रहन्छ । मेरो विचार र शिल्प मन पर्नेले मात्र मेरो ब्लग दोहोर्‍याएर पढ्छन् । मेरो ब्लग कतिले पढे भनेर म हेर्दिन ।  

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन?
ब्लगमा लेखनका लागि म विचार छानेर बस्दिन । प्रयास मलाई सोच्न बाध्य बनाउने प्रसस्त सामाजिक बिषयहरु अँझै भन्दा समस्याहरु छन् । तिनले मलाई लेख्न दबाब दिन्छन् । त्यस्तो अवस्था नआए सम्म म प्राय: लेख्दिन पनि ।

साहित्यका ब्लगहरु धेरै नै पाइन्छन तर अधिकाँश साहित्यका ब्लगहरु आत्मरतिमा रमाउने गरी लेखिएका, पाठकका लागि भन्दा पनि मनको बह पोख्न कै लागि लेखिएका हुन्छन भनेर सामाजिक संजालमा आलोचना पनि हुन्छ सर्जकको । किन होला?
लेखकले अरुको लागि लेख्दैन, मेरो विचार । हरेकले आफ्नै लागि लेख्ने हो भलै बिषय फरक रहन्छ । मेरो बिचारमा आत्मरति भन्नेले आफ्नै मात्र बखान गरिएको भन्न खोजिएको हुनुपर्छ । आफ्नै बखान गरेर लेख्ने लेखकहरु मलाई पनि मन पर्दैनन् । सायद शंकर लामिछानेको भूमिकामा हो, मैले पढेको थिएँ "आजभोलिका लेखकलाई तृतीय पुरुष चरित्र बनाएर लेख्ने फुर्सत छैन।" सबैले आफैले भोगेका र देखेका कथा कुरा लेख्ने हुन् । यहाँ हरेक व्यक्तिका मदन पुरस्कार भन्दा ठुला पुरस्कार दाबी गर्नसक्ने आफ्नै कथा छन् भलै ति नलेखिएका होउन ! 

साहित्यबाहेक तपाँइको अर्को रुचीको बिषय चाँही केहो ब्लगिङ गर्नका लागि?
अन्य रुची केहि छैन । मञ्च र पर्दामा देखिने म र ब्लगमा देखिने म फरक हुनुपर्छ भन्ने मान्यता राख्छु । 

हरेक मानिसको मनमा कुनै न कुनै भाव तरंगित भैरहेको हुन्छ तर लेख्नका लागि शब्द भेटिँदैनन् । साहित्यिक अभिव्यक्तिका लागि भाषा बलियो हुनैपर्छ भने लेखाइपनि शिर्जनशिल (Creative Writing) हुनैपर्छ भनिन्छ । शिर्जनशिल लेखाइ कसरी आउँछ?
अफ्ठ्यारो प्रश्न ! मैले देखेका र भोगेका सामाजिक, प्राकृतिक संरचनाले हो मलाई लेखक बनाउने । म आफैंमा लेखक होइन ।  

साहित्यका कुरा र शिर्जनशिल लेखाइमा रुची राख्ने ब्लगरले जान्नै पर्ने कुराहरु के के हुन?
मेरो विचारमा अध्ययन् महत्वपुर्ण कुरा हो । जो राम्रो पाठक हो उही राम्रो लेखक हुनसक्छ । जसरी नाटक नै नहेरेको मान्छेले म नाटकमा अभिनय गर्छु भन्नु मुर्खता हुन्छ त्यसरी नै नपढ्ने मान्छेले म लेख्छु भन्नु ।

रंगमञ्च र ब्लग दुबैलाई परिभाषित गर्नुपर्दा कसरी गर्नुहुन्छ? समानता या भिन्नता?
ब्लग पनि मञ्च नै हो ! अभिनयको लागि मञ्च भएजस्तै शब्दका अनेक मञ्चहरु मध्ये ब्लग एउटा हो । सृजना उम्रिएर मात्रै हुँदैन हुर्कन ठाउँ चाहिन्छ, वातावरण चाहिन्छ ! केहि हदसम्म ब्लगले श्रृजना र श्रजकाई हुर्कन सहयोग गर्छ । म भिन्नता भन्दा समानता धेरै देख्छु । 

तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?
अहिले हरेकसँग आफ्नै स्वतन्त्र मिडिया हाउस छ भन्दा हुन्छ । आफ्नो श्रृजना प्रकाशन गर्न कसैलाई नमस्कार गर्दै, पाउ मोल्दै हिड्नु पर्दैन । ब्लग र सोसल मिडियाले दिएको सुविधा र फाइदा यहि हो ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ
म ब्लग पढ्छु । समाचार र साहित्यिक लेख हेर्छु तर ब्लगका नामहरु याद हुँदैनन् । याद गर्नतिर पनि लाग्दिन । प्राय: साथीहरुले सेयर गरिरहेकै हुन्छ्न् ।

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?
साहित्यमा मलाई निबन्धमा बिशेष रुची छ । कविता, कथा र समाचार पनि पढ्छु । फिल्मी खबरहरु बढी पढ्छु ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?
अभिव्यक्ति स्वतन्त्रताको कुरा हो । नपढ्न पनि छुट छ । देश हाँक्ने संचारमाध्यम र पत्रकार त आचारसंहिता मान्दैनन । एउटा झिनो लेखकलाई किन तर्साउनु आचारसंहिताको कुरा गरेर ! 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइदिनुस् न ।
ब्लग बनाउने ढंग नपुगेर मैले धेरै ब्लगर साथीहरुलाई दु:ख दिएको छु सिक्न सहयोग मागेर । त्यसमा एक मुख्य सबिन सिंह हुन् । उनलाई नै सोध्नुपर्ला कति दिक्क लाग्यो भनेर । 

तपाइ सोसल मिडियामा पनि सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसल मिडियाका थलोहरु: ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो?
फेसबुक चलाएकै पनि धेरै भएको छैन । मेरा विदेशी बिद्यार्थीको सल्लाहमा सधैँ सम्पर्कमा रहिरहन फेसबुक एकाउन्ट खोलेको थिएँ । बिस्तारै ब्लग र अनि ट्वीटरमा छिरेको हुँ । अहिले ट्वीटर धेरै रमाइलो लाग्छ । ट्वीटरका ट्वीटेहरु बौद्धिक लाग्छन् मलाई, फेस्बूके भन्दा । ब्लग चलाउने अझै पनि कमै छन् । 

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ?
मेरो बिचारमा धेरै लेख, यहाँसम्म की कविता पनि प्रायः सामाजिक हितमै हुन्छन् जस्तोलाग्छ। हेर्ने दृष्टिकोण फरक होला ।

ब्लगिङ गरेर के यो पाएँ वा यो गुमाएँ भन्ने केही छ?
छैन । तपाइले साताको ब्लगरका लागि प्रश्न राख्नुभो त्यहि हो । खासै धेरै त होइन आफुलाई राख्ने अलिकति ठाउँ पाएको छु ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?
पत्रकारिता र साहित्य पूर्णतया एउटै होइन जस्तो लाग्छ । म पत्रकारिता नगर्ने मान्छेको ब्लगलाई के भन्ने त्यसो भए? त्यसो हो भने त कसैले नागरिक पुस्तक पनि त भन्न सक्लान नी?

अन्त्यमा,
मेरो ब्लगको विषयमा औपचारिक प्रश्न राख्ने तपाइँ पहिलो व्यक्ति । कारण सकारात्मक छ भन्नेमात्र बुझे पुग्छ । साताको ब्लगरको रुपमा छान्नुभएकोमा धन्यवाद । 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service