ब्यवस्थित नभए सोसल मिडिया पनि लगाम बिनाको घोड़ा जस्तै हुनसक्छ-गौरव खतिवडा

अध्ययनको सिलसिलामा बेलायतमा बसोबास गर्दै आएका चितवनका युवा गौरव खतिवडा आफुलाइ सामान्य नेपाली नागरिक भन्न रुचाउँछन्। एक बर्षअघि स्नातक सकाएका गौरवले सोसल मिडिया र ब्लगमा लेख्ने भाषामा हाँसोठट्टा धेरै मिसिएको हुन्छ । @seasonsgk नामबाट ट्विटरमा सक्रिय उनको ब्लग भने http://gkhatiwada.blogspot.co.uk/ हो । मेरोरिपोर्टको नियमित स्तम्भ साताका ब्लगरमा हामीले यससाता उनै गौरवलाइ उपस्थित गराएका छौँ । प्रस्तुत छ गौरवसंग प्रकाश लामिछानेले गरेको कुराकानी:

ब्लग लेखन कहिलेदेखि शुरू गर्नुभयो?

म विद्यार्थी हुँ । पहिलो पल्ट ब्लग २०११ मा लेखेको थिएँ। बिभिन्न कारणले निरन्तरता दिन सकिन। केही महिना भो, फेरि सुरू गरेको छु। 

केका लागि ब्लगिङ गर्नुहुन्छ?

सुरूमा रहरै रहरमा ब्लग लेख्न थालेँ । त्यो बेलामा नेपाली टाईपिङ गर्न कान्तिपुरको न्युजको कमेन्ट बक्समा गएर लेख्नुपर्थ्यो । गाह्रो हुन्थ्यो अनि निरन्तरता दिन सकिन। पछि ट्विटरबाटै दाईहरूको संगतले आफैं टाइपिङ गर्न सिकेपछि फेरी ब्लग लेख्न थालेको छु। अझै पनि सन्तुष्ट त छैन। जहाँसम्म ब्लगिङको कुरा छ, म मुलत: आत्मसन्तुष्टीको लागि लेख्छु। 

तपाइको ब्लग प्रेम, ठट्टा र तस्विरहरु सबैको संगम रहेको पाइयो । तपाइको ब्यक्तिगत रुचीको कुरा चाँही के नि?

सबै बिषयमा रूचि छ नि ! बिशेषगरी नेपालको राजनैतिक अवस्था र करेन्ट अफेयरको बारेमा लेख्न र पढ्न रुचाउँछु तर बेलाबेलामा अरु रमाइला कुराहरुमा पनि आफै मिसिने गर्छु । के गर्नु मनै त हो !

तपाइ आफ्ना पेशागत सवालहरुलाइ ब्लगमार्फत उठाउन कत्तिको चाहनुहुन्छ?

सोच त हो तर नढाँटी भन्दा मेरो कुनै पेशा नै छैन भन्दा हुन्छ । बिजनेस र फाइनान्सको विद्यार्थी त हुँ फेरी ! पढ़ाई अनुसारको पेशामा छैन के रे, पढ्दैछु। 

नेपाल बाहिर बस्नेहरुले कसरी ब्लगिङ गरिरहेका छन् र नेपालमा बस्ने ब्लगरहरुले कस्ता बिषय उठाइदिउन भन्ने चाहन्छन?

कुनै बिषय विशेषमा लेख्नेहरु बाहेक धेरैले ब्लगिङलाई आफ्नो दैनिक जीवनसँग सम्बन्धीत बिषयबस्तुहरु बारे बिभिन्न कोणहरुबाट आफ्नो मत राख्ने गरेको देखेको छु । त्यसैले नेपाल बाहिर बसेर ब्लगिङ गरिरहेका युवाहरुले बिदेशी जनजीवन बारे ब्लगिङ गरे त्यसले बिदेशबारे धेरैमा रहेको भ्रम निराकरण हुन्थ्यो भन्ने लाग्छ। विदेशको भोगाई सबै नराम्रो मात्र पनि छैन र पुरै राम्रो मात्र पनि छैन । यस कुरालाई सन्तुलित भएर ब्लगिङ् गरिदिए देश भित्र र वाहिरका मान्छेहरुलाई भ्रम रहदैन्थ्यो जस्तो लाग्छ । अब नेपालमा बसेर ब्लगिङ गरिरहेकाहरुले जे जसरी लेख्दैछन, त्यसमा कमेन्ट गर्नुपर्ने छ जस्तो लाग्दैन ।

नेपाली ब्लगको कुरागर्दा जसरी देशभित्रका सामग्री प्रयाप्त मात्रामा पढ्न या हेर्न पाइन्छ त्यो तुलनामा डायस्पोराका कन्टेन्टहरु एकदमै न्युन छन् किन होला?

घर परिवार, समाज, राष्ट्रबाट बाहिर बस्दाका पिडा, दु:खसुख र भोगाईहरू धेरै छन । पढ्ने र काम गर्नेहरुलाई नेपालमा बस्नेहरुले हेर्ने नजरिया नै फरक हुन्छ । बाहिर गएको ब्यक्ति राम्रो देशमा छ भने निकै कमाउँछ होला । त्यस्तो बेला उ ठुलो बन्यो, फुर्ती लाउँछ, खुब सुखमा छ भन्ने सोच्छन भने अरबियन वा गल्फ कन्ट्रीमा हुनेहरुलाई लेबर काम गर्छ, केही जानेको छैन, खासै पढेको छैन भनेर त्यो दृष्टीकोणले हेर्ने गरेको पाइन्छ। टुईटर/फेसबुकमा मैले नै यो भोगेको छु। जुन सबै सत्य होइन ।

रह्यो कुरा ब्लगिङको । अब हामी बाहिर बस्ने युवाहरुले आफ्ना भोगाई, अनुभव र यहाँ पढेका, देखेका, गरेका र जानेका कुराहरुलाई क्रमबद्ध तरिकाले आकर्षक ढंगमा ब्लगमा राख्ने हो भने नेपालमा रहनेले पनि धेरै कुरा जान्ने मौका पाउने थिए । त्यो चाँही साँचो कुरा हो ।

तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

ठ्याक्कै यही भन्ने छैन। टाईमलाईनका हरेक बहसबाट नयाँ-नयाँ कुरा सिक्ने मौका पाएको छु। नेपाली ब्लग क्षेत्र फस्टाउँदो छ। खोजी खोजी ब्लग पढ्ने निकै कम छन जस्तो लाग्छ। प्राय: सौखको लागि लेख्छन जस्तो लाग्छ। नियमित ब्लगर निकै कम छन। व्यवसायिक रूपमा सफल ब्लगहरू पनि छन। जुन आफैमा उदाहरण हुन सक्छ र यसले नयाँ ब्लगरहरूलाई प्रेरणा मिल्नसक्छ। 

तपाईसँग आफ्नो ब्लगसंग जोडिएको वा सोसल नेटवर्किङ साइटमा कुराकानी गर्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ?

मेरो आफ्नै ब्लगसंग जोडिएको त्यस्तो घटना त छैन तर ट्विटरको टाईमलाईनमा भएको दुईवटा घटना सँधै सम्झना आउँछ। आज भन्दा २ बर्षअघि तिरको कुरा हो, कान्तिपुरको शुक्रवारको अंकमा फेसबुक र टुईटरका पोष्टहरू छापिन्थ्यो। एक पटकको अंकले ठुलै हलचल मच्चायो। पत्रिकामा ब्यक्तिगत टुईट छापिनुहुन्छ कि हुन्न भन्ने बारे ठुलै बहस भयो। अर्को चाँही न्युयोर्क टाईम्सबाट नेपालीमा अनुवाद गरेर लेखिएको एउटा टेक्नोलोजी सम्बन्धी समाचारका लेखकसंग प्लेजारिजम सम्बन्धी बहस पनि भयो। पछि कान्तिपुरका सम्पादकले नै स्पष्टीकरण दिनु परेको थियो। 

सोसल मिडियाले हामीजस्ता युवापुस्तालाइ के दिएको छ?

धेरै कुरा दिएको छ। पहिलो त हरेक कुराको सामान्य ज्ञान बढेको छ। सामाजिक संजालमा हुने बहस, कुराकानी, ठट्टा, हँसीमजाक, कटाक्ष, यी सबैबाट नयाँ कुरा सिक्ने मौका पाएका छौ। राजनिति, साहित्य, खेलकुद केही कुरामा रुची नहुने युवाहरू सोसल मिडिया मार्फत नचाहँदा नचाहँदै पनि राष्ट्रिय अन्तराष्ट्रिय घटनाक्रम लगायत यावत कुराहरूसंग अपडेटेड भइरहेका हुन्छन।  

मानिसहरु अचेल सामाजिक संजालमा हुने बहसमा निकै सहभागी भैरहेका हुन्छन, किन यस्तो भएको होला?

बन्द कोठामा बसेर भर्चुअल रुपमा संचार गर्दा आनन्द आउने हुनाले, आफ्ना कुराहरु अरुमाझ पुर्याउन न्यु मिडियाले हरेक ब्यक्तिलाइ अलग अलग प्लेटफर्म दिएका हुनाले, यी सबै कारणहरू हुन भन्ने लाग्छ। 

सोसल मिडियामा भइरहेका बहसले नयाँ के गरिरहेको जस्तो लाग्छ यहाँलाइ? ब्यक्तिको ज्ञानको दायरा फराकिलो पारेको छ या पहिले पहिले चिया पसलमा हुने गफलाइ बिस्थापित गरेको छ।

चिया पसल जस्तो त पक्कै छैन। यहाँ विचारको, तर्कको, तथ्यको बहस हुन्छ। राजनितिक, सामाजिक, आर्थिक घटना परिघटनाको बारे बहस हुने हुनाले ज्ञानको दायरा पक्कै फराकिलो भएको छ। एउटै मान्छेले हरेक क्षेत्रमा दख्खल राख्न सक्दैन। फरक फरक क्षेत्र, पेशा, विचार भएका मानिसहरूको फरक फरक मतबाट एउटै कुरालाई विभिन्न आयामबाट बुझ्न सकिएको छ। 

फेरी ब्लगतिरै फर्किउँ, तपाइको सबैभन्दा धेरै हेरिएको ब्लगपोष्ट कुन हो?

त्यो त हेरेकै छैन। मैले कुनै निश्चित उद्देश्य बोकेर ब्लग लेख्न थालेको हैन। रहरले ब्लग लेख्ने हुँदा यी सब तथ्याङ्कहरूमा कहिल्यै जानुपर्छ जस्तै लाग्दैन। 

तपाइ आफुचाँही अरुको ब्लग कत्तिको हेर्नुहुन्छ? केही ब्लगको नाम लिनुपर्दा?

आफै खोजेर हेरेको भनेको बरुण पोख्रेलको चौरपानी ब्लगपोष्टको "तिर्थे अध्याय" हो। यसको अलावा टुईटरमा शेयर भएका प्राय: हेरेको हुन्छु। 

यति कुरा गरिसकेपछि तपाइको विचारमा सामाजिक संजाल के हो?

मेरो विचारमा सामाजिक संजाल भर्चुअल समुदाय/दुनियामा विचार, सुचना आदान प्रदान र गन्थन मन्थन गर्ने माध्यम हो। 

अनि सामाजिक संजालको खास महत्व चाँहि के नि?

ब्यक्तित्व विकासको अवसर, छिटो छरितो भरपर्दो संचारको माध्यम, बिभिन्न पेशामा रहेका फरकफरक मान्छेको विचार र उनीहरूसंगको संगत नै सामाजिक संजालका मुख्य फाईदाहरू हुन। यसबाट बिनापैसा प्रचारप्रसार पनि हुने भएकाले नयाँ बिजनेस र सामाजिक संजाल मार्फ़त समाजसेवाको काम पनि भइरहेका छन। लिङ्कडईन जस्ता सामाजिक संजालबाट आजभोली ठुला ठुला कम्पनीहरूले कामदार रिक्रुट गर्न थालेका छन भन्ने पनि सुनिन्छ। यसबाट नै प्रष्ट हुन्छ आजको युगमा सामाजिक संजालको महत्व कति छ भन्ने कुरो। 

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

आज भोली यो बिषयमा जताततै बहस भैरहेका छन । एकथरी ब्लग लेखन र पत्रकारिता एकै हुन भन्छन । कोही ब्लग लेखन पत्रकारिताको अभ्यास हो भन्छन । कोही ब्यक्तिगत बिचार लेख्ने माध्यम हो भन्छन। मलाई के लाग्छ भने यदि ब्लगरले लेख्ने आर्टिकल अध्ययन, अनुसन्धान गरेर, स्रोत खुलाएर लेखिएको छ र त्यसमा सत्यतथ्यको निष्पक्ष बिश्लेशण गरिएको छ भने त्यो पत्रकारिता भयो तर त्यस्तो केही छैन भने त पत्रकारिता कसरी भयो र? त्यसैले यो ब्लगरको ब्यक्तिगत विचार मात्र न हो नि, हैन र !

ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि चाहिन्छ भन्ने बहस पनि छ एकातिर, तपाइलाइ के लाग्छ, के यो जरूरी छ?

पक्कै पनि ब्यवस्थित हुनुपर्छ। नत्र त लगाम बिनाको घोड़ा जस्तै भइहाल्छ नि ! अश्लील, भड्किला, सामाजिक सद्भावमा खलल् पुग्ने खालका ब्लगहरू नलेखिएलान् भन्न सकिन्न। ब्लग छ भन्दैमा ब्लगरले कसैलाई ब्यक्तीगत गालीगलौज, तथानाम आरोप नलगाउलान भन्न सकिन्न। 

अन्त्यमा,

मेरो रिपोर्ट नौलो प्रयोग हो। राम्रो छ, अझै राम्रो होस्। अन्त्यमा मेरो कुरा राख्ने मौका दिनुभयो, आभारी छु।

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Dilli Malla on March 11, 2013 at 12:07pm

badhai chha gaurab jee,

Comment by Lava Kafle on March 9, 2013 at 3:15pm

cool

Comment by Prakash Lamichhane on March 8, 2013 at 11:27am

धेरै धेरै बधाइ छ है :)

Comment by Pagal Basti on March 6, 2013 at 2:16pm

बधाइ हो बधाइ। सुन्दर बिचारका लागी

Comment by pawan neupane on March 6, 2013 at 2:01pm

Congratulations Gaurav Ji

Comment by Ananta Koirala on March 6, 2013 at 1:04pm

अनेकानेक बधाई साताका गौरवलाई :ञी

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service