ब्लगिङ् नागरिक पत्रकारिताको उत्कृष्ट नमुना हो-गणेश आचार्य

आमसञ्चार तथा पत्रकारिताको विद्यार्थी र त्यसको व्यवहारिक अभ्यास गरिरहेको पत्रकारको रुपमा आफुलाई चिनाउने सुर्खेतका गणेश आचार्य अहिले काठमाण्डौलाइ कर्मथलो बनाइ यतै रमिरहेका छन् । पेशागत रुपमा गणेशले पछिल्लो साढे ३ वर्षदेखि एण्टेना फाउण्डेशन नेपालमा कार्यक्रम उत्पादकका रुपमा काम गरिरहेका छन् । रेडियोलाई आफ्नो प्यासन ठान्ने उनी ९ बर्षअघि देखिको रेडयोकर्मीको आफ्नो परिचयबाटै सोसल मिडियामा थप परिचित हुन रुचाउँछन । आफ्नो ब्लग G.Acharya लाई आचार्यले प्रविधीका उपयोगिता, सामाजिक सवाल माथिका टिप्पणी, अनुभव, अनुभुति एवं गजलहरुको समिश्रणपुर्ण बनाएका छन । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यो साता हामीले उनै गणेश आचार्यसंग भलाकुसारी गरेका छौँ । प्रस्तुत छ पवन न्यौपानेले आचार्यसंग गरेको कुराकानी :

 

आफ्नो ब्लगको बारेमा शब्दचित्र प्रस्तुत गरिदिनुस् न ।

म त्यति सक्रिय ब्लगर त हैन । तर मेरो ब्लग प्रविधी मन पराउनेहरुका लागि एउटा खुराक हो । हप्तादिन वा पाक्षिक रुपमा अपडेट हुन्छ । प्रविधी बाहेक कहिलेकाहीं साहित्य र अनुभवले पनि प्राथमिकता पाउँछन् ।

 

ब्लग लेखन कहिलेबाट सुरु गर्नु भएको हो?

६४ सालतिरको कुरा हो । त्यतिखेर म सुर्खेतमा रहँदा आफूले काम गर्ने गरेको स्थानीय रेडियोको कार्यक्रम तालिका इन्टरनेटमा राख्न मैले इन्टरनेटमा उपाय खोजें । ब्लगिङ्गबारे त्यतिखेर मैले केही सुनेको थिइन । मैले कुन प्रोभाइडरको ब्लग खोजें मैले ठ्याक्कै बिर्सें तर ०६७ सालमा आएर मात्र मैले त्यतिखेर ब्लगिङ्ग गरेको रहेछु भन्ने महसुस भयो । ०६७ सालको वैशाखमा विश्व रेकर्ड होल्डर मथुरा श्रेष्ठसंग भेटेको बेला उनको ब्लग देखेपछि वेबनोड नामक प्रोभाईडर प्रयोग गरेर ब्लग लेखें । विभिन्न सुविधाको कमीले गर्दा त्यसबाट विदा लिएर वर्डप्रेस छिरें । त्यसपछि पछिल्लो डेढ वर्ष मात्रै मेरो ब्लगको निरन्तर यात्रा चल्दैछ ।

 

ब्लगिङ किन गर्नुहुन्छ?

पहिले त मैले मेरा केही कुराहरु जो मैले आफूले काम गर्ने संस्थामा गर्न सक्दिन वा गर्न मिल्दैन, त्यस्ता कुराहरुलाई ब्लगमा राख्ने सोच बनाउँथें । तर पछिल्ला केही वर्षमा फेरिएको ट्रेन्डले मलाई आफ्ना जस्तासुकै अनुभवहरु बाँडचुँड गर्न र भावनाहरु सेयर गर्नका लागि ब्लगिङ् गर्छु ।

 

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन?

विषयवस्तुमा खासै एकध्यान नभएपनि म धेरै जसो मल्टिमिडिया र प्रविधीकै बारेमा लेख्न मन पराउँछु । आफुले प्रविधीबारे थाहा पाएका, सिकेका कुराहरुलाई अरु माझ सेयर गर्दा आफू सक्रिय पनि भइने, अरुलाई केही फाइदा पनि भैहाल्ने । साथमा मल्टिमिडियालाई आफ्नो भविष्यको कार्यक्षेत्र बनाउने योजना भएका कारण पनि अहिलेदेखिनै बाटो पहिल्याउने मेरो विचार हो ।

 

तपाईंको ब्लगमा प्रविधीसम्बन्धी कुराहरु धेरै पाईयो । किन यसैलाई मुख्य बिषयबस्तु बनाउनुभयो?

पहिलो कुरा त, मेरो भविष्यको योजनालाई सफलिभुत बनाउने काम यहींबाट सुरु होस् भन्ने मेरो इच्छा छ । अर्को तर्फ नेपालमा मल्टिमिडिया जर्नलिज्मबारे खासै एकमत छैन । कसैले प्रविधीका बारेमा गरिने रिर्पोटिङ्लाई त कसैले मल्टिमिडिया टुल प्रयोग गरेर गरिने रिपोर्टिङ्लाई मल्टिमिडिया जर्नलिज्म भन्ने चलन छ । तर यी दुवै स्कुल अफ थटलाई मान्य हुनेगरि मल्टिमिडियाको प्रयोग हुनुपर्छ भन्ने सोचका साथ प्रविधीलाई आफ्नो प्रमुख विषय बनाएको हुँ ।   

 

यो वाहेक गजल, कथा एवं अनुभवहरुपनि पाईयो, नी? ब्यक्तिगत रुची त्यतापट्टी पनि हो?

म आफ्ना सबै अनुभवहरु ब्लगिङ् मार्फत बाँड्न चाहन्छु । आफ्नो कार्यदख्खलको सान्दर्भिकता हेर्ने हो भने प्रविधीतीर मेरो विशेष झुकाव छ । तर ब्लगिङ्लाई बिटमा सिमित राख्न हुँदैन भन्ने मान्यता छ मेरो । यति त्यसो गर्ने हो भने त आफ्ना विभिन्न भावहरु प्रस्तुत गर्ने दर्जनौं ब्लग खोल्नुपर्यो । कुनैमा कथा मात्रै लेख्ने, कतै फोटोहरु मात्रै राख्ने अनि कतै चाहीं आफुले लेखेका लेखहरु मात्रै पोष्ट गर्नुपर्यो । जुन अलिक व्यवहारिक नहुन सक्छ । ब्लग भनेको त आफुलाई लागेको र अरुलाई सुनाउँदा ठिक हुने खालका कुराहरु लेख्ने उपाय हो । अब मान्छेलाई सँधै एउटै थरिको विचार त आउँदैन नी । तर यो भन्दैमा छरपष्ट ब्लग राम्रो हो भन्ने पनि होइन ।

प्रविधिका बारेमा लेखिएका ब्लगका पाठकहरु को हुन नेपालमा?

प्रविधी सबैको इन्ट्रेस्ट हो । हामीमा प्रविधी के हो भन्ने बारेमै दुविधा भएर केही अप्ठेरो परेको छ । ग्याजेटहरु मात्रै प्रविधी होइनन् । हुन त ग्याजेटको बारेमा लेख्यो भने युवाहरु त्यसप्रति आकर्षित हुन सक्छन् । तर हाम्रो दैनिक जीवनमा प्रयोगहुने जुनसुकै प्रविधीलाई ब्लगमा उतार्ने हो भने जो पनि प्रविधीकेन्द्रित ब्लगको पाठक हुन सक्छन् ।  

तपाईँ त रेडियो छापा जस्ता मुलधारको संचारमाध्यममा पनि क्रियाशिल व्यक्ति, मुलधारको संचारमाध्यमको लेखन र ब्लग लेखनमा के फरक पाउनुभयो?

मुलधारको संचारमाध्यमको लेखाईले सँधैजसो कुनै न कुनै प्रिडिफाइन्ड ढाँचा पक्रन्छ । उल्टो पिरामिड, दृश्य वर्णन, फाइभ डब्लु एच, यस्ता अनेक रेडिमेड डिजाईनमा ढल्छन् । हुन त दिनानुदिन मुलधारको संचारमाध्यम, रेडियो र छापाका लागि नयाँ प्रस्तुति शैलीको प्रयोग भइरहेका हुन्छन् तर ब्लगले कुनै निश्चित ढाँचाको माग गर्दैन । कसरी सुरु गर्ने, कसरी अन्त गर्ने भन्ने कुनै डिजाइन पछ्याइरहन पर्दैन । अलि स्वतन्त्रताप्रेमी हुन्छ ब्लग लेखन । कुरा आउला सिर्जनशीलताको, त्यो दुवै खाले लेखनमा सिर्जनशीलताको सुगन्ध ल्याउनमा लेखकको हात हुन्छ ।

 

ब्लगका लागि अलग्गै समय खर्चेर रिपोर्टिङ गर्नुहुन्छ कि अन्य सञ्चारमाध्यमका लागि गरिएका रिपोर्ट नै ब्लगमा पोष्ट गर्नुहुन्छ?

अहिले मेरो ब्लगमा लेखिएका कुराहरुमध्ये अधिकांश कहीं न कहीं प्रकाशित वा प्रसारित छन् । एण्टेना फाउण्डेशन नेपालको कार्यक्रम उत्पादक र हिमाल खबरपत्रिकामा फ्रिलान्सर स्तम्भकारको रुपमा काम गर्नेभएकाले मलाई अतिरिक्त रिर्पोर्टिङ् समय मिलाउन कठिन हुन्छ । मैले गरिसकेकै कामहरुलाई केही परिमार्जन गरेर म ब्लगमा राख्छु । कुनै कुनै कुराहरु मात्रै मेरो ब्लगमा एक्स्क्लुसिभ छन् ।

 

तपाईंका सिर्जनाले ब्लगका लागी पहिलो प्राथमिकता पाऊँछन् कि कार्यरत मिडियामा?

रिर्पोर्टिङ्का लागि मैले गर्ने कामहरुले मेरो संस्थाकै प्रकाशन/प्रसारण च्यानलमा प्राथमिकता पाउँछन् । त्यो बाहेक मेरा साहित्य या अन्य कुनै भावनासंग सम्बन्धित लेखनले ब्लगमै प्राथमिकता पाउँछन् । संस्थागत संहिता र आफू काम गर्ने संस्थाप्रतिको जिम्मेवारी र इमान्दारीताले प्राथमिकता निर्धारण गरेको हो ।

 

तपाईंको विचारमा सोसल मिडिया वा न्युमिडिया मुलधारको मिडियाको प्रतिस्पर्धी हो वा परिपुरक हो?

सोसल मिडिया र मुलधारको मिडिया प्रतिस्पर्धी हुन सक्दैन । परिपुरक बनाउने या नबनाउने भन्ने चाहीं मिडिया हाउसको हातमा छ । जुनसुकै मुलधारे मिडियाले एकैपटकमा दुईतर्फी वार्तालाप सम्भव गराउने घेरा एकदमै सानो छ । उनीहरुले सोसल मिडियाबाट त्यसलाई सम्भव बनाउन सक्छन् । अब दुई फरक फरक युजरको कुरा आउँदा चाहीं सोसल मिडियामा आउने कुरालाई विभिन्न कारणले मुलधारे मिडियाको कण्टेण्टसंग तुलना गर्न गाह्रो हुन्छ ।

 

सोसल मिडिया एवं त्यसको कन्टेन्टले मुलधारको मिडियालाई प्रभाव पार्न सकेको वा नसकेको, के देख्नुहुन्छ यो वेला?

सबैजसो मुलधारको मिडियाले कुनै न कुनै पक्षको पोषण गरिरहेको कुरा अहिले घामजत्तिकै छर्लङ्ग छ । धेरै विषयहरु मुलधारका मिडियाले लुकाउन खोजेको र विषयान्तर गर्न खोजेको उदाहरणहरुसंगै सामाजिक मिडियामा निरन्तर अनवरत रुपमा ती विषय उठ्न थालेपछि त्यसले चर्चा चुमेको दृष्टान्तहरु समेत छन् हाम्रोमा । कर छली, लोकमान सिंह कार्की लगायतका मुद्धाहरुमा मुलधारका मिडियाले अनेकन धारणा बनाएर सर्पोटको वातावरण बनाइरहेका बेला सोसियल मिडियाले ल्याएको ह्वीमका कारण मुलधारका मिडियाले समेत आफ्नो धारणा फेरेको देखिन्छ । यो सोसियल मिडियाको उपलब्धि हो भन्दा फरक नपर्ला ।

 

एउटा मिडियाकर्मीको लागी सोसल मिडिया वा न्युमिडिया जान्नु या प्रयोग गर्नु आवश्यक छ, छैन?

सोसियल मिडिया वा न्युमिडिया सबैको साथी बनेको छ । चाहे क्लासरुममा या न्युजरुममा । सोसल मिडिया वा न्युमिडिया प्रयोग गरेर अनुसन्धानलाई अझ सुक्ष्म बनाउन र कभरेजलाई विस्तृत बनाउन सकिन्छ । त्यसैगरि तत्काल प्रतिक्रिया आदानप्रदानका लागि समेत सोसल मिडिया वा न्युमिडिया अत्यन्तै प्रभावकारी हुन्छ । सुचनाको शक्तिमा विश्वास गर्ने मिडियाकर्मी हो भने सोसल मिडिया वा न्युमिडियाको राम्रो ज्ञान हुनु आवश्यक छ । अर्कोतीर दोश्रो विश्वयुद्धपछि विकास भएका कुराहरुमध्ये प्रविधी एउटा क्षेत्र हो । र प्रविधी पण्डितहरु भन्छन् अहिलेको प्रविधी विकास कुल विकासको करिब १० प्रतिशत मात्र हो । यसको मतलब भोलि अहिले कल्पनासम्म नगरिएका प्रविधी आउने कुरालाई नकार्न सकिंदैन । भोलिको लागि अहिल्यै किन तयार नहुने !  

 

तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

सुचना शक्ति हो । यो पौष्टिक खाना जस्तै हो । ब्लग र सोसल मिडिया सुचनामा आधारित प्लेटफर्म हुन् । सुचनाको शक्तिलाई सदुपयोग गर्ने हो भने त्यसबाट हुने फाइदा पनि थुप्रै छन् । नेपालमा ब्लग र सोसल मिडियामा पनि त्यस्तै परिदृश्य छ । अति नै सम्भावना बोकेका क्षेत्रहरु भए पनि केही केहीले गर्ने दुरुपयोगले शक्ति हैन तनाव पैदा पो गर्ने हो की भन्ने चिन्ता बढ्दैछ । सम्बृद्धि चाहने हो भने ब्लग र सोसल मिडियाको सदुपयोगलाई बढावा दिनुको विकल्पै छैन ।

 

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?

अरुका ब्लगहरु पढ्ने मेरो दैनिकीमा नभएपनि म ट्वीटर र फेसबुकमा लिंक शेयर हुने ब्लगहरुतिर यसो आँखा लगाउँछु । लेनिन बन्जाडे, अनन्त कोइराला, बाबाजी, सुरज अर्याल लगायतका ब्लगहरु बेला बेलामा हेरिरहेको हुन्छु ।

 

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?

पछिल्ला समयमा प्रविधी र पत्रकारितालाई मर्ज गरिएर लेखिएका ब्लगहरु र समसामयिक कथा, लेख भएका ब्लगहरु मेरो रोजाईमा पर्छन् ।

 

ब्लग वा ब्लगरका लागी आचारसंहिताको पनि कुरा उठछ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

आचारसंहिता कानुन हैन । यो त नैतिक सिमाना हो भन्ने मान्यता राख्छु म । नैतिक सिमानाका लागि कुनै लेखोट बनाउनु सँधैभरी आवश्यक नहुन सक्छ । युजर वा सम्बन्धित पक्षले आफ्नो मर्यादा बुझेर ब्लग लेख्ने हो भने चिन्तै भएन । हैन, जान्ने बुझ्नेहरुबाटै समेत त्यस्तो नहुने अवस्था आयो भने चाहीं कानुनकै रुपमा ल्याएर गल्ती गर्नेलाई सजाय गराइएन भने गल्तीले अझै ठूलो रुप लिन सक्छ ।

 

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ?

ब्लगको कुरामा मात्रै हैन, नेपालमा अहिलेसम्म विभिन्न पक्षका लागि बनेका आचारसंहिताको पूर्णपरिपालन भएको भए, स्थिती यस्तो हुने थिएन । नेपाली ब्लगहरु भने यो कुराबाट अछुतो नरहेपनि केही कम प्रभावमा भने छन् । आचारसंहिताको पालना पूर्ण रुपमा नभएको भए पनि सकेसम्म संहिता भाँडिने खालका पोष्टहरु भने खासै हुँदैनन् । यो खुशीकै कुरा मान्न सकिन्छ ।

 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।

आफूले थाहा पाउनेगरि भुकम्पको धक्का महसुस गरेको दिन ६८ सालको असोज १ गते हो । म भुकम्प जाँदा म शंखमुलको पुलमा थिएँ । मान्छेहरुको भागाभाग देखेर आत्तिदै थिएँ, थोत्रो बाइक बन्द भयो । पुलको बीचमा एक्लै । डरले रातो नीलो भएँ । घर गएर कहाँ कहाँ के के भएछ भन्ने कुरा मिडियामा हेर्न, सुन्न खोज्दा कहीं पाइएन । कतै गीत घन्किंदै थिए, कतै उही राजनीतिक उछालपछाडको गफ । बल्लबल्ल कनेक्ट भएको इन्टरनेटमा फेसबुक र ट्वीटर हेर्न थालेपछि भने मैले ब्लग लेख्नै पर्नै सोच बनाएँ । अनि लेखें फेसबुक कमनसेन्स । त्यस लगायत अपरम्पार हुलाकको भंसार विभागमा मसंग कर्मचारीले घुस मागेको कुरालाई समेत मैले अरुको हितको ख्याल राख्दै भंसारको संसार नामक ब्लग आफ्नो ब्लगमा समेत पोष्ट गरेको छु ।

 

ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो?

ब्लग अलिक विस्तृत, तर अक्षरको सिमितताले समेत ट्वीटर र फेसबुक अलिक छोटो प्रकृतिको हुन्छ । तर दुवैका लागि अनुसन्धान भने आवश्यक पर्छ नै । हावाका भरमा न ब्लग बन्छ न ट्वीटर र फेसबुकको स्ट्याटस र ट्वीट ।

 

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ?

छिटफुट मात्रै छन् जसले सामाजिक कुरालाई सोचेर लेखेका हुन्छन् । धेरै जसो त सामाजिक विषयका बारेमा किन लेख्नु किन टाउको दुखाउनु यो मेरो काम हैन नी भन्ने सोचमा छन् । नेपाली ब्लगहरुमा सामाजिक हितका निम्ति कण्टेन्ट आउने हो भने मुलधारका मिडियाले समेत आफ्नो रणनीतिमा परिवर्तन ल्याएर त्यसलाई प्राथमिकतामा राख्थे होला । यसको परिमाण बढाउनु आवश्यक छ । 

 

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग?

अपरम्पार भंसारको संसार र परिचयपत्र कथा धेरै पढिएको पाएको छु ।

 

ब्लगबाट के पाउनुभयो, के गुमाउनुभयो?

ब्लगबाट मैले आफ्नो लागि नयाँ भुमि पाएको छु । जहाँ म स्वतन्त्रपूर्वक आफ्ना कुराहरु राख्न सक्छु । आफ्नो पेशा बाहेकका कुराहरुलाई पनि प्रदर्शनमा राख्न सक्छु । गुमाएको त खासै केही छैन की जस्तो लाग्यो । खै केही गुमाएँ र !

 

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

ब्लगिङ्ग नागरिक पत्रकारिताको एउटा उत्कृष्ट नमुना हो । पत्रकारिता गर्नका लागि पत्रकार नै हुनुपर्छ, तालिम लिएको हुनुपर्छ, भन्ने भ्रमलाई चिर्न आएको नागरिक पत्रकारिताको अवधारणाले नै ब्लगिङको जन्ममा सहयोग पुर्याएको नकार्न सकिन्न । ब्लगमा आफूले थाहा पाएका, जानेका, बुझेका कुराहरु अरुसंग बाँडे र नियमिततालाई साथ दिने अनि अनियमितताको विरोध गर्ने हो भने त त्यो नागरिक पत्रकारिता नै भयो नी ।

 

ब्लग लेख्न चाहने र लेखिरहनु भएकाहरुलाई केही भन्न चाहनुहुन्छ?

ब्लग तपाईको व्यक्तिगत क्षमता प्रदर्शन गर्न अदम्य सम्भावना बोकेको ठाउँ हो । तपाईमा लुकेर रहेको कुरालाई एक्सक्लुसिभली कसैमाझ पुर्याउन चाहनुहुन्छ भने ब्लगिङ् नै उत्कृष्ट स्थान हुनसक्छ । लेखिरहनु भएका मित्रहरुले चाहीं निरन्तरता दिनुहोला । अब अलिक सरलीकरण गर्दै लैजाउँ कण्टेण्टलाई । तथ्य र तथ्यांकमा आधारित कुराहरु लेखौं भन्न चाहन्छु । 

 

अन्त्यमा,

मेरोरिर्पोटले प्रदान गरेको प्लेटफर्मले पेशागत पत्रकार, फ्रिल्यान्सर सबैलाई आफ्नो व्यक्तिगत क्षमता प्रस्फुटन गर्ने मौका दिएको छ । अर्कोतीर पत्रकार नै नभएपनि सुचनाको भण्डार बोकेर बसेकाहरुलाई यसले दिएको स्थानले नागरिक पत्रकारितालाई प्रबर्द्धन नै गरेको मान्नुपर्छ । अझ सफलताको शुभकामना । जाँदाजाँदै, ब्लगिंङका बारेमा एउटा कुरा सँधै खट्किरहन्छ । ब्लगलाई हामी पत्रकारितामा मात्रै सिमित नराखौं । पत्रकारितासंग सम्बन्धित नभएका मान्छेहरुलाई समेत ब्लगमा ल्याउने प्रेरणा दिउँ न ! अब चुनावको चटारो छ सबै दललाई । सबै जसो ठूला नेताहरुले ब्लग बनाएर आफ्ना धारणा, एजेण्डा र प्रतिबद्धता राखेभने त्यसको आधिकारिकता पनि हुने । त्यस्तै सबै पेशा व्यवसायीहरुले समेत ब्लगलाई किन प्रयोग नगर्ने ! यो कुराको प्रचारप्रसार गर्नतीर लागौं न !

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Suresh on May 15, 2013 at 7:26am

la hai badhai chha

Comment by Lava Kafle on May 10, 2013 at 5:05pm

wooow

Comment by sabita Acharya on May 10, 2013 at 2:50pm

badhai 6 dai.....

Comment by अल्टर कान्छो’ on May 10, 2013 at 10:32am

बधाई छ ।

Comment by Arjun Apawad on May 9, 2013 at 7:00pm

बधाई छ .

Comment by Pagal Basti on May 8, 2013 at 5:49pm

गणेश सरलाई बधाइ हाम्रा तर्फबाट

Comment by Prakash Lamichhane on May 8, 2013 at 3:59pm

ल बधाइ छ गणेश । :) 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service