भाषालाई सुन्दर बनाउने नाममा साहित्यिक साधनको बढी प्रयोग गर्नुहुन्न-दिवाकर प्याकुरेल

काभ्रेको पात्लेखेतमा जन्मिएर विगत १२ वर्षदेखि परिवारसँगै काठमाडौँको कपनमा बस्दै आएका दिवाकर प्याकुरेल हाल पोखरा विश्वविद्यालयबाट अँग्रेजीमा एमए गर्दैछन्। करिब चार वर्षसम्म एक गैर सरकारी संस्थामा काम गरेर छोडेपछि उनी हाल अङ्ग्रेजी दैनिक द हिमालयन टाइम्सको अनलाइन विभागमा उप सम्पादकका रूपमा कार्यरत छन् । साथसाथै उनी बालबालिका र युवासँग काम गर्ने केही संस्थाहरुमा समेत आबद्ध छन् । http://diwapyak.blogspot.com/ र  http://pyakdiwa.blogspot.com/ गरी दुईवटा ब्लगबाट ब्लगिङमा पनि सक्रिय दिवाकर प्याकुरेललाई हामीले यस साताको साताका ब्लगरका रुपमा प्रस्तुत गरेका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?

ब्लगरका रूपमा चिनाउन त्यति सहज लाग्दैन मलाई, किनभने ब्लगमा म त्यति नियमित हुन सकेको छैन । तर समग्र सोसल मिडियाको एक अभिन्न अङ्ग बनेको फेसबुकमा भने म सक्रिय छु । दिनभरि अरु काम गर्दा पनि फेसबुक खुलै हुन्छ र साथीहरूसँग नियमित अन्तरक्रिया गर्छु । ट्विटरमा म छैन किनकि चिनजानका साथी त्यहाँ कम छन् । त्यसैले एक सक्रिय फेसबुक प्रयोगकर्ता अनि आक्कलझुक्कलको ब्लगर नै सोसल मिडियामा मेरो पहिचान हो । 

तपाँईको ब्लग http://diwapyak.blogspot.com/   http://pyakdiwa.blogspot.com/ गरी दुईवटा रहेछन, आफ्नो ब्लगका बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न ।

मेरा दुबै ब्लग प्रायशः आफ्ना दैनिक जीवनका केही स्मरणयोग्य अनुभवले भरिएका छन् । यस बाहेक अध्ययनका सिलसिलामा लेखिएका रचना पनि कसैलाई बाँड्न मन लागे प्रस्तुत गर्ने गरेको छु । अङ्ग्रेजी ब्लगको तुलनामा नेपाली ब्लगमा केही कम (झन्डै आधा) पोस्टहरू छन्, किनकि अङ्ग्रेजी ब्लगमा अध्ययनको प्रायोजनका लागि लेखेका लेख पनि समेटेको छु । दुबै ब्लग पहिलेजस्ता त्यति अपडेट छैनन्, सायद् मैले अध्ययन र कामका बीच यसलाई समय व्यवस्थापन गर्न सकिरहेको छैन । 

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

नेपाली ब्लगको पहिलो पोस्ट फेब्रुअरी २८, २०१०मा गरियो भने अर्को (अङ्ग्रेजी) ब्लगको पहिलो पोस्ट अप्रिल ३, २०१० को मितिमा छ । यस हिसाबले दुबै ब्लग करिब एक महिनाको अन्तरमा सुरु भए । त्यति बेला म बिए दोस्रो वर्ष पढ्थेँ । पत्रकारिताका एक शिक्षकले अभ्यासका लागि समाचार लेख्न र ब्लगमा प्रकाशन गर्न सुझाएपछि कक्षामा दुई तीन जनाले एकै पटक ब्लग खोल्यौँ ।

ब्लगिङ किन गर्नुहुन्छ?

मैले मेरा दुबै ब्लगका शीर्षकमुनि “आफू र आफ्नो वरिपरिको परिवेश अभिव्यक्त गर्ने थलो” लेखेको छु । त्यसैले प्रथमतः आफ्ना कुरा अरुलाई सुनाउन नै ब्लग गर्छु । साथै आफूलाई लागेका कुरा अरुले पनि बुझ्नु आवश्यक छ भन्ने लाग्यो भने ब्लगमा लेखिदिन्छु । केही ख्यालठट्टा वा दुःखका कुरा पनि साटासाट गर्न मन लागेको बेला साथी समीपमा छैनन् भने पनि ब्लग नै गरिन्छ । यस हिसाबले मेरो ब्लग सामाजिकभन्दा पनि अलि बढी व्यक्तिगत नै छ कि?

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन?

मैले आफूलाई लागेका कुरा लेख्छु । जे विषयबारे सोच आउँछ लेख्छु । प्रायः समाज, संस्कृति, बानी व्यहोरा, भाषा, साहित्यबारे लेखेको छु । कहिलेकाँहि राजनीतिबारे लेखेको छु । आफ्ना अनुभव नै प्राथमिकतामा पर्ने हुँदा आफूले गरेका यात्रा र दैनिक जीवनका स्मरणयोग्य सानातिना अनुभव पनि छन् । अरुचि र कम ज्ञान भएकाले विज्ञान प्रविधि, वातावरण, सङ्गीत, चलचित्र, खेलकुदजस्ता विषयमा खासै लेखेको छैन । विषय छनौटको मुख्य कारण रुचि नै हो । अब ब्लग गर्न पनि किन अरु कारण खोजिहनु र?

तपाईंको ब्लगमा अलिक साहित्यिक कृतिहरु धेरै रहेछन् । काम चाँही मिडियामा गर्नुहुन्छ, र पत्रकारिताकै पृष्ठभुमिबाट हुनुहुन्छ, तपाँईलाई हामी पत्रकार भनौँ कि साहित्यकार, या ब्लगर?

पेसाको आधारमा पत्रकार भन्दा हुन्छ । साहित्यकार चै नभनौँ । मैले साहित्यका विधामा एकदमै थोरै रचना लेखेको छु र लेखेकामध्ये धेरैले फ्लप खाएका छन् । औपचारिक अध्ययनमा साहित्यका विद्यार्थी भएकाले केही साहित्य पढेको छु । त्यस बाहेक त म पाठक पनि अल्छी स्तरको हुँ । कोर्स बाहेक धेरै पढेकै छैन नि । रुचिका कारण बेलाबेला ब्लग गर्छु,  अतः ब्लगर पनि हुँ । त्यसैले पेसाले पत्रकार, अध्ययनले साहित्यको विद्यार्थी र पाठक तथा रुचिले ब्लगर भन्नुभए हुन्छ ।  

साहित्य जस्तै तपाँइको अर्को रुचीको बिषय चाँही के हो ब्लगिङ गर्नका लागि?

समाज र सामाजिक चालचलन । सामाजिक चालचलन भन्नाले हामी प्रायः चाडपर्व सम्झन्छौँ । तर मैले भन्न खोजेको चाँहि समग्रमा मान्छे समाजमा कसरी व्यवहार गर्छ भन्ने कुरा हो । उदाहरणका लागि, दुई मानिसबीच मित्रता स्थापना किन र कसरी हुन्छ, कसरी सम्बन्ध गाढा र फिक्का हुन्छन् अनि पुस्तापुस्ताबीच किन असामाञ्जस्य उत्पन्न हुन्छन् जस्ता प्रश्नहरू पनि ब्लगका लागि मेरा रुचिका विषय हुन् । त्यस बाहेक नयाँ ठाउँको यात्रा र त्यहाँ भेटिने नयाँ सामाजिक परिवेश ।

ब्लग चर्चित हुनका लागि बिषयसंगै ब्लगरको लेखाईको पनि निकै ठूलो भुमिका हुन्छ । लेखाई राम्रो शिर्जनशिलताले हुन्छ । अब भन्दिनुस न लेखाईमा शिर्जनात्मकता कसरी ल्याउने?

हो नि । विषयपछि भाषा राम्रो हुनुपर्छ । ब्लगका लागि अनौपचारिक भाषा चाहिन्छ जस्तो लाग्छ मलाई ता कि पाठकले ब्लगर आफूसँग कुरा गरिरहेको छ भन्ने ठानोस् । यसले पाठकको रुचि पनि आकर्षित गर्छ । भाषामा मैले व्याकरण र शैली दुबैको कुरा गर्न खोजेको हुँ । व्याकरण पनि मिल्नुपर्छ र सुन्दा वा पढ्दा पनि सहज हुनुपर्छ । सिर्जनशीलताको लागि चाहिने अर्को कुरा भनेको विचारमा स्पष्टता हो । तपाईँले के भन्न खोजेको पाठकले सजिलै बुझ्नुपर्छ । त्यसैले शब्द मात्र थुपार्नुभएन, के भन्न खोजेको भन्ने कुरा प्रस्ट्याउनुपर्छ । शब्दजालले विचार पुर्नुभएन । 

शिर्जनात्मक अभिब्यक्तिमा रुची राख्ने ब्लगरले जान्नुपर्नेक कुराहरु यी यी हुन् भन्ने केही छन्?

हुन त माथिल्लो प्रश्नमै उत्तर आइसकेका छन् । पहिलो कुरा भाषा मिठो र सलल बग्ने हुनुपर्छ । दोस्रो कुरा के भन्न खोजेको हो बुझिने हुनुपर्छ । तेस्रो कुरा, पाठकलाई चित्त बुझाउने तर्क हुनुपर्छ । चौथो कुरा, भाषामा मिठासका लागि साहित्यिक भाषाको प्रयोग गर्नुपर्छ । तर, भाषालाई सुन्दर बनाउने नाममा साहित्यिक साधन (उपमा, रूपक, अलङ्कार आदि)को आवश्यकताभन्दा बढी प्रयोग गर्नुहुन्न । 

तपाँइको एउटा ब्लगमा अँग्रेजीमा लेखिएका ब्लगपोष्टहरु छन् भने अर्कोमा चाँही नेपालीमा । भाषाकै कारणले दुईवटा ब्लगहरु बनाउनुभएको हो त, भनेर मैले सोधेँ भने?

हो । मलाई नेपाली र अङ्ग्रेजी भाषा मिसाउन मन लागेन (र लाग्दैन) । अर्थ बुझिने शब्द भएसम्म नेपालीमा अङ्ग्रेजी  र अङ्ग्रेजीमा नेपाली मिसाउनु हुँदैन जस्तो लाग्छ । ब्लग खोल्दाताका नै एउटै युआरएलमा दुबै भाषालाई छुट्याएर राख्न मलाई आएन । त्यसैले दुईटा ब्लग खोलेँ ।  फेरि मेरा दुई ब्लगका पाठकहरू पनि फरकफरक भएको पाएको छु मैले ।

ब्लगका भिजिटरहरुबाट कस्तो पाउनुभएको छ प्रतिकृया? कुनै रोचक प्रतिकृया उल्लेख गर्नुस न !

पढेका साथीहरूले भेट्दा, कुराकानी गर्दा “तिमीले यस्तो लेखेका थियौ नि” भनेर सम्झन्छन् । नलेखे बिर्सिसक्ने केही घटनाहरू लेखेकै कारणले साथीहरूले सम्झेका छन् । हाम्रो समाजका मान्छेको कमजोरी कि सकारात्मक पक्ष के भन्ने, भेटेका बेला प्रायः प्रशंसात्मक प्रतिक्रिया दिएको मैले पाएको छु ।

एक पटक मैले ‘सम्पन्नताले पारेको अप्ठेरो’ शीर्षकमा (http://www.pyakdiwa.blogspot.com/2013/02/blog-post_17.html) नयाँ मान्छेलाई ‘तिमी’ वा ‘तपाईँ’ सम्बोधन गर्ने भन्ने कसरी निर्धारण हुन्छ र कसैले आफूलाई अनुपयुक्त सम्बोधन गर्दा के महसुस हुन्छ भन्ने विषयमा एउटा ब्लग लेखेको थिएँ । त्यो पढेपछि मलाई ‘तपाईँ’ भन्ने एक दाइले “म चै अबदेखि भाइलाई भुक्किएर पनि ‘तपाईँ’ भन्दिँन । अन्तिमतिरको व्यङ्ग्य मलाई नै जस्तो लाग्यो“ भन्नुभयो । रोचक प्रतिक्रिया सम्झँदा मैले सबभन्दा पहिला सम्झने त्यही हो ।

नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

कुनै विशेषज्ञ प्रतिक्रिया नै दिनेगरी मैले अध्ययन गरेको छैन । फेरि मलाई यो सोसल मिडिया भन्ने कुरा सामाजिकभन्दा व्यक्तिगत हुन् जस्तो लाग्छ । त्यसैले यसमा कुनै विशिष्ट नीति नियम चाहिन्छ जस्तो मलाई लाग्दैन (अर्थात् नेपाली ब्लगरले यो विषयमा लेख्नुपर्छ, यसरी लेख्नुपर्छ, यस्तो लेख्नु हुँदैन भन्ने नियम निर्धारण हुनु हुँदैन । व्यक्तिगत रोजाइका लागि छोडिदिनुपर्छ ।) यस हिसाबले समग्रमा राम्रो छ । सोसल मिडियाका प्रयोगकर्ता बढेका छन् । मान्छेबीच अन्तक्र्रियामा यसले सहयोग गरेको छ ।

ब्लगिङ गर्नु र अखबारका निम्ति समाचार होस् या अरु कुनै सिर्जनात्मक कृति लेख्नुमा अन्तर चाँही के रहेछ नि ?

अखबारमा लेख्दा सम्पादकको सम्पादन प्रक्रिया र सेन्सरसिप बेहोर्नुपर्छ । ब्लगमा आफैँ लेखक, आफैँ सम्पादक । अर्को कुरा, अखबारी लेखन समाजप्रति बढी उत्तरदायी हुनुपर्छ, जुन ब्लगमा नभए पनि खासै फरक पर्दैन । अखबार सार्वजनिक हो । ब्लग अखबार जत्तिको सार्वजनिक होइन, प्रायः ब्लगका पाठकको समूह सानो हुन्छ र अधिकांश पाठक व्यक्तिगत चिनजानका आधारमा हुन्छन् जस्तो लाग्छ । 

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?

सबभन्दा नियमित पढ्ने ब्लग भनेको मेरो संसार (http://www.mysansar.com/ ) हो । यो मैले ‘ब्लग’ भनेर चिनेको पहिलो साइट भएकाले पनि होला । फेरि यसको प्रस्तुति पनि रमाइलो लाग्छ र विषयवस्तु पनि विविध र फराकिला छन् । त्यसपछि मिडिया कुराकानी (http://www.mediakurakani.com/)। यसमा मिडिया हाउसभित्रका समाचार हुन्छन्, त्यसैले । त्यस बाहेक आफ्ना चिनजानका दाइदिदी र साथीका ब्लग प्रायः हेरिरहेको हुन्छु किनभने मेरा पाठक पनि तिनै हुन् ।

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?

आफ्ना रुचिका विषयवस्तु, जसमा म पनि लेख्छु । सायद् ती विषय केके हुन् मैले भनिसकेँ । त्यसपछि समाचारभित्रका समाचार खुलाउने ब्लग जसले मूल धारका सञ्चार माध्यममा नआएका समाचार सम्प्रेषण गर्छन् । तर त्यस्ता ब्लग छनौटमा विश्वसनीयतामा ध्यान दिनु जरुरी छ ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

मलाई त जरुरी छैनजस्तो लाग्छ किनभने ब्लग भनेको अनौपचारिक माध्यम हो । मेरो विचारमा यसको प्रायोजन सार्वजनिकभन्दा पनि व्यक्तिगत सञ्चार हो ।

यदि आचार संहिता ल्याउने हो भने त ब्लगलाई पनि अनलाइन सञ्चार माध्यम भन्दिए भैगो नि ! आचार संहिताले बाँधेपछि ब्लगको स्वतन्त्रता कसरी रहला र ! फेरि आचार संहिता नियमन गर्ने संयन्त्र पनि चाहियो । यसका लागि सबै ब्लगलाई दर्ता गर्नुपर्ने भो । यी सबै कुरा व्यवहारिक छैनन् जस्तो लाग्छ मलाई ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना छन् भने बताईदिनुस् न ।

झट्ट याद आइहालेको एउटा सम्झना । मैले एक पटक ‘भुलक्कड भएछु’ (http://www.pyakdiwa.blogspot.com/2011/05/blog-post.html) भन्ने ब्लग लेखेको थिएँ । त्यसमा मैले मेरी एउटी साथीलाई दिमागको मेमोरी कार्ड कमजोर छ भनेर जिस्काउने गरेको एउटा प्रसङ्ग छ । त्यो ब्लगमा मैले आफ्नो पनि दिमागी मेमोरी कार्डको क्षमता घटेको हो कि जस्तो लेखेको छु । तर त्यो ब्लग पढिसकेपछि त उसले मलाई झन् बढ्ता पो जिस्काउन थाली त, “तिमी त बढी क्षमताको मेमोरी कार्ड भएको मान्छे । सबै कुरा याद छ होला नि !” भनेर ।

तपाँई आफूपनि सोसल मिडियाको उपभोक्ता भएको हुँदा हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु: ब्लग, ट्विटर र फेसबुकमा के फरक पाउनुभयो?

ब्लगमा सोचाइ अभिव्यक्त गर्ने अलि बढी ठाउँ हुन्छ । साथै यसका उपभोक्ता र पाठक फेसबुक र ट्विटरभन्दा बढी शिक्षित हुन्छन् कि जस्तो लाग्छ । यसको अर्थ ब्लगका उपभोक्ता फेसबुकका भन्दा कम छन् भन्ने पनि हो । यसमा तपाईँ आफ्नो सिङ्गो कृति नै राख्न सक्ने हुनुभयो ।

ट्विटरको १४० अक्षरको सीमाले गर्दा यो साँघुरो माध्यम हो कि जस्तो लाग्छ । त्यसैले यसका उपभोक्ता पनि कम भएका होलान् । तर फोटो र लिन्क सेयर गर्न भने ट्विटर सजिलो माध्यम हो । विश्व स्तरमा हेर्ने हो भने सेलिब्रिटीको जीवन्त जमघट फेसबुकभन्दा बढी ट्विटरमै देखिन्छ ।

फेसबुक कम्तीमा पनि नेपालका हकमा सोसल मिडियाको पर्याय भइसकेको छ । यो ट्विटरभन्दा खुकुलो छ र तपाईँले चाहानुभो भने लामा स्टाटस सजिलै लेख्न सक्नुहुन्छ । फेसबुकको नोटले ब्लगको सट्टामा काम गर्ने क्षमता पनि राख्छ । त्यस्तै यसको म्यासेज प्रणालीले कुनै पनि इमेलको सुविधा दिन्छ । अनतक्र्रियात्मकताका हिसाबमा पनि फेसबुक सोसल मिडियामा सबभन्दा अगाडि छ जस्तो लाग्छ । फेसबुकको कुनै पोस्टमा लाइक र कमेन्ट गर्नु ब्लग पोस्ट गर्नु वा कमेन्ट गर्नु वा ट्विटरमा रिट्विट र मेन्सन गर्नुभन्दा बढी नै सजिलो र प्रभावकारी छ कि ?

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो?

 नेपालीमा ‘पागल बस्ती पढेर सरुभक्तलाई भेट्दा’ (http://www.pyakdiwa.blogspot.com/2011/12/blog-post.html) । यो आधा संस्मरण र आधा पुस्तक समीक्षा हो । ‘पागल बस्ती’ पढेपछि सरुभक्तसँग भएको कुराकानी र कृतिको सामान्य समीक्षा छ यसमा ।

अङ्ग्रेजीमा 'Syllable Structures in Nepali Language' (http://diwapyak.blogspot.com/2013/02/syllable-structures-in-nepali-language.html) । यो खासमा मेरो पहिलो सेमेस्टरमा भाषा विज्ञान पढ्दाको एउटा असाइनमेन्ट हो । सायद् भाषा विज्ञान (linguistics) पढ्ने विश्वका विभिन्न क्षेत्रका विद्यार्थीले हेरेर पनि यो चर्चित भो होला । 

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

नागरिक पत्रकारिताको परिभाषा मलाई थाहा छैन । ब्लग मेरा लागि के हो भन्ने कुरा मैले भनिसकेको छु । त्यसैले त्यसका आधारमा ब्लग नागरिक पत्रकारिता भो कि भएन भन्ने कुरा निर्धारण गर्नुहोला ।

ब्लग सार्वजनिकभन्दा पनि व्यक्तिगत प्रायोजनका लागि हो भन्ने मेरो विश्वासका आधारमा भने यो कुनै पनि प्रकारको पत्रकारिता होइन । खालि सञ्चारको माध्यम हो ।

तर कसैले यसलाई वैकल्पिक पत्रकारिताको रूपमा प्रयोग गर्छ भने त्यो उसको स्वतन्त्रता र क्षमता हो । त्यसले जनतालाई फाइदा नै पुग्छ र त्यसलाई हामीले प्रशंसा नै गर्नुपर्छ । 

अन्त्यमा,

ब्लगरहरूलाई एक आपसमा जोड्ने र विविध विषयमा छलफल गराउने यहाँको कदमलाई हार्दिक धन्यवाद दिन चाहान्छु । यसले ब्लगका पाठक बढ्छन् जुन सबै ब्लगरको चाहना हो ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Arjun Apawad on January 2, 2014 at 5:50pm

ल बधाई छ दिवाकर जि । अन्तर्बार्ता  संगै रमाईला अनुभबहरु पढियो ।

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service