सशक्त कविता लेख्न पहिले सशक्त विचारको जन्म हुनुपर्छ-दिपेस कोईराला

आफूलाई ‘दुई छोराको बाउ¸ एक श्रीमतीको पति र पेशाले टापटिपे कामदार’ भनेर चिनाउन चाहने दिपेस कोइराला उर्जा सम्बन्धि काम गर्ने निकायमा प्रशासनिक क्षेत्रमा काम गर्छन् । ललितपुर जिल्लाको थसिखेल, कुसुन्तीमा परिवार सहित बस्दै आएका उनी रमाईलो पारामा आफ्नो शिक्षा बारे बताउँछन्-‘जेम्स स्कुलमा दुई र छ कक्षामा पढ्दैछु, कारण: विहान बेलुका त्यसैमा समय खर्च हुन्छ, हैरान भईसकियो क्यार्नु नगरी नहुने !’ यसको अर्थ उनका छोराहरु त्यहाँ अध्ययन गर्दारहेछन् । हरेक कुराको चोटिलो तरिकाले (यसलाई ठेट नेपालीमा बिन्ठो पारा पनि भनिँदोरहेछ) उत्तर दिने दिपेस कोईराला उर्फ सामाजिक संजाल ट्विटरका एड्कालीले गोप्य रुपमा ब्लग पनि चलाएका रहेछन् । हालै मात्र उनले ट्विटरको बायोमा आफ्नो ब्लगको लिँक पनि उल्लेख गरेका छन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै एड्काली अर्थात दिपेस कोईरालालाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी:

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छएउटा ब्लगरका रुपमा या अरु केही?

म आफुलाई चिनाउन यता छिरेको हैन¸ आफुलाई नै चिन्न सकेको छैन अरुलाई कसोरी चिनाउँ? बरु यसो साथीहरुसंग चिया जमघटमा-‘उ ! आयो अड्केली कुरा अड्काउन जान्ने’ भन्छन् । त्यही हो मेरो चिनजान भनेको । सायद धेरैलाई मेरो नाम नै थाहा छैन ।

तपाँईको ब्लग http://www.trynepal.blogspot.com/ को थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न ।

ब्लगकारको परिचय खोज्दै आफूलाई चिनाउने हो भने, यो मेरो ब्लग नै हैन भने पनि हुन्छ र खासमा ब्लग कस्तो तथा के के भएको हुनुपर्छ भन्ने पनि मलाई थाहा छैन । फ्रिमा पाएको अनलाईन प्लेटफर्ममा आफ्ना कुराहरु राख्ने क्रममा सबैले त्यो त तेरो ब्लग पो हो त, भनिदिए त्यसैले मैले पनि यो त मेरो ब्लग पो रहेछ भन्ने थाहापाई मेरो ब्लग भन्न थालेँ । जेहोस् यसलाई मैले नच्यातिने कापीको रुपमा लिएको छु सायद हराउदैन पनि होला । त्यसैले साईत परेको बेलामा लेखेका केही खेस्राहरु यो www.trynepal.blogspot.com मा राख्ने गरेको छु । जुन कसैले हेर्दिनैपर्छ भन्नका लागि हैन तर यसो भन्दैमा कसैले हेर्न हुन्न पनि भनेको छैन । यसको आगन्तुक संख्या पनि निकै थोरै छ र बढाउन पनि मैले पहल गरेको छैन । एउटा बालकले बनाएको चित्र र कोरेका खेस्रा जस्तै छ मेरो ब्लग एक बाक्यमा भन्दा ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

मैले लेख्न सुरु गरेको धेरै भयो त्यसलाई कम्प्युटरमा सार्न थालेको त्यस्तै २/३ बर्ष भयो ।

ब्लगिङ किन गर्नुहुन्छ?

कापीमा लेख्दा कापी र मसी सकिने घर परिवार चलाउनुपर्ने मानिसलाई नि:शुल्क लेख्ने ठाउँ पाउदा सदुपयोग गरेको मात्र हो । खत्राको ब्लगर बनाउँ भनेर गरेको हैन ।

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन?

हाललाई कवितासंग माया पिरती बसेको छ सायद उनलाई सौता हालिन्न होला । अब यीनको रुप पनि समय समयमा हावा चलेसरी या भनौँ मन बहकिएसरी उतारचढावमा देखिने नै हुन्छ यही र योनै भन्ने केही छैन ।

तपाईंको ब्लगमा निकै शशक्त कविताहरु धेरै रहेछन् । तपाँईलाई हामी कवि भनेर सम्बोधन गर्न सक्छौँ?

अब चाहीँ धन्यबाद खाने मेलो गर्नुभो जस्तो छ । तपाईहरुले जे भनेर बोलाए पनि मैले हजुर भन्नैपर्‍यो¸ जे जसोगरी मृत्युवरण गरेका भएपनि नेपालमा सबैलाई सहिद भने जस्तै हो भने कवि भनेर बोलाउँदा कविको मान घट्छ की !

कविता पनि साहित्य कै एउटा पाटो होयसरी शशक्त कविता कसरी लेख्न सकिन्छ? केही छन् टिप्स?

हो । कतिपय कविता साहित्यका पाटो हुन् भने कतिपय मेरा कविता जस्तै मेरा साहित्यका पाटा हुन् जुन साईत जुरेको बेलामा फुर्छन् अनि सुक्छन् । शशक्त कविता लेख्न पहिले शशक्त विचारको जन्म हुनुपर्छ र त्यो जन्मलाई शब्दहरुले बुनेको सुईटर लगाई न्यानो पारेर हुर्काउनुपर्छ । यहि हो खासमा टिप्स चाहीँ कवि बन्न र शशक्त कवि हुन्।

कविता जस्तै तपाँइको अर्को रुचीको बिषय चाँही केहो ब्लगिङ गर्नका लागि?

हालसम्म एउटैमा सन्तुष्ट म कवितालाई छोडेर अन्न लागेको छैन । रुची त धेरै छन् या भनो सबै कुरा सिक्न चाहने मेरो रुची हो जो संभव छैन पनि तर ब्लगिङ गर्न भने अरु छैन ।

सुचना र समाचारजन्य सामग्री बाहेक कविता या साहित्यिक खुराक पस्किने र यस्ताखाले सिर्जनात्मक अभिब्यक्तिमा रुची राख्ने ब्लगरले जान्नुपर्ने कुराहरु यी यी हुन् भन्ने केही छन्?

कविता या साहित्यिक खुराक भनेको पकाएको भात जस्तै हो । भोक लागेकालाई पेट भर्ने अघाएकालाई समय खेर फाल्ने मेलो । भोकोले जस्तो पनि खान्छ भनेर पकायो भने त्यो अन्तै भान्छा सर्छ भन्ने कुरा यदी जानियो भने पुग्छ होला ।

ब्लगका भिजिटरहरुबाट कस्तो पाउनुभएको छ प्रतिकृयाकुनै रोचक प्रतिकृया उल्लेख गर्नुस न !

जसलाई जे लेख्न पनि छुट भनि छोडिदिएको छु । रोचक चाहीँ यो छ कि ‘वा ! क्या राम्रो कविता’ भनेर लेख्छन् पहिलो लाईनमा । अनि आफ्नो व्यवसायको विज्ञापन ठोक्छन् । मैले पनि रोकेको छैन तिनलाई, आखिर मैले पनि नि:शुल्क उपयोग गरेको हो तिनले पनि उपयोग गरे ।

नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

साईत परेको बेलामा ब्लग हेर्नेगर्छु तर सधै साईत पर्दैन, त्यसैले यो क्षेत्रलाई नजिकबाट तपाँईलाई ‘यि-यि’ र ‘ति-ति’ भनि भन्ने अवस्थामा छैन तर सोसल मिडियामा भने ट्विटरले साह्रै मोहनी लगाएको छ । कुनै जमानामा यस्तै मोहनी हाईफाईभ, माईस्पेस, फेसबुक जस्ताले लगाएका थिए। यो क्षेत्र भनेको ‘जान्नेलाई श्रीखण्ड, नत्र म जस्तालाई खुर्पाको बिँड’ हो भन्ने लाग्छ । मैले हसिँयामा बिँड हालेर घाँस काटिरहेछु, जुन पशुलाई खुवाउन उपयोगी छ ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?

भनिहालेँ पनि साईत परेका बेला पढ्छु । प्राय: ट्विटरको Direct Message मा मेरो ब्लगमा यो लेखेको छ ‘पढ है’ भन्नेहरुको ब्लग राम्ररी पढ्छु र धेरै जसो लिँक पनि ट्विट गरिदिन्छु । ति ब्लगकारका नाम भनौं?
हेर ! नाम लेला भनेर झस्केका । :D

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?

नो कमेन्ट । अब करै लगाउनुहुन्छ भने मलाई यो र त्यो विषयले फरक पार्दैन सुचना प्रविधिदेखि लिएर यत्रतत्र सर्वत्रसम्मका ब्लग हेर्छु तर साईत परेका समयमा ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ। तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

अब मलाई ब्लगर नै बनाउनुभो, त्यो नाताले आफैलाई ‘पाता फर्काउने’ कुरा पनि कसैले मन पराउला भनेर म भन्दिन किनभने तपाईले समाजलाई केही दिँदैहुनुहुन्छ भने त्यो कुराले कस्तो असर पार्छ, त्यो कतिको मर्यादित छ या छैन भन्ने सामान्य कुराहरुले भरिएको आचारसंहिता लागु हुँदा के नै आपत भो र? अब स्वत्रन्त्र विचारलाई नै अंकुश लगाउने कुरा चाहीँ २०४६ साल अघी भए मानिन्थ्यो ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना छन् भने बताईदिनुस् न ।

एक दुई कविताहरु जसले बुझ्यो उसलाई साह्रै घत पर्ने खालका छन् तर विशेष समयका विशेष अर्थ लगाउनेले मात्र । एउटा कविता चाहीँ मैले हाम्रा मित्र जो आफ्ना घरवेटीलाई साह्रै माया गर्छन् तिनलाई सम्झेर अलिकती बढाई चढाई लेखेको छु । जसको शिर्षक हो-‘घरबेटी बा।ʼ

एउटा फरक प्रश्न सोध्छुतपाँईले फेसबुक प्रयोग पहिले प्रयोग गर्थेँ तर अहिले गर्दिन भन्नुहुन्छ तर ट्विटरमा भने हुनुहुन्छ। यसरी चुजी सोसल मिडिया प्रयोगकर्ता हुनुको अर्थ कसरी लगाउँ हामीया कतै यी सोसल मिडियाका थलोहरु ब्लगट्विटर र फेसबुकका अलगअलग फिचरलाई यहाँले कसरी अर्थ्याउनु भएको छ र चुजी हुनुभएको हो?

म चुजी हैन युजी र थ्रोजी प्रयोगकर्ता हुँ । भनिसकेँ-फेसबुक सम्मको यात्रा तर जुन ट्विटरले मलाई दियो त्यो अन्त मैले पाईन अरु प्रयोग कर्ताको बारेमा थाहा छैन । ट्विटरले मलाई धेरै साथीहरु संग चिनेजानेको मौका दियो त्यसैले यो प्रिय भयो । फेसबुक चाहीँ जबदेखि श्रीमती फेसबुकमा आईन मलाई त्यहाँबाट धपाईन् भन्ने झै भो किनकी घरमा कुरा गरेर नपुगेर फेसबुकमा पनि के कुरा गरेर बस्नु ! फेसबुक भनेको घरसल्ला गाँऊभरी हल्ला जस्तै हो।

ट्विटरमा यहाँले प्रोफाईल चित्रका रुपमा कौवा खुब प्रयोग गर्नुहुन्छ, जसरी वात्सायनले आफ्नो कार्टुनमा कौवा प्रयोग गर्नुहुन्छ, यसको रहस्य छ केही !

ट्विटरमा म रातो भाले लिएर छिरेको मान्छे । केही समय आफ्नै फोटो पनि राखेँ । जब म छाँया पात्र (फेक) हैन भन्ने धेरैले थाहा पाए, अनी कौवा बोकेर बसेको छु । खासमा टुईटरमा विभिन्न खाले मान्छे छिरेका छन्न् । मेरा कुरा मन नपरेर बाटामा भकुर्लान् भनेर कौवा बनेको हुँ । अब कौवाको बारेमा मैले के वर्णन गरुँ ! जुन ‘वात्सायन बा’ले बताई सक्नुभएको छ ।

नेपाली ब्लगहरु सामाजिक हित वा सामाजिक मुद्दामा लेखिएका कत्तिको पाउनु भएको छ?

छन् केही धेरै भएरमात्र हुने हैन केही हुन् तर राम्रा हुन् भैहाल्यो नि ।

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो?

झण्डा’ र ‘सुन सुन नानी हो म केही भन्छु’ यि दुई हालका काँग्रेस र एमालेले जस्तै मत पाउनेमा पर्छन् ।

ब्लगिङ गरेर के यो पाएँ वा यो गुमाएँ भन्ने केही छ?

तपाईसंग कुरा गर्न पाएँ र आफ्नो समय गुमाएँ । यो सार हो भने रुपचाहीँ म पनि ब्लगर भएछु र अब जे पायो त्यही लेख्न नमिल्ने भो भन्ने चिज पाएँ तथा गुमाएँ ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छके ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

भन्नेले जे-जे मन लाग्छ भन्छन् तर ब्लगिङ भनेको अवसर नपाएकाले अवसर पाउने मञ्च चाहीँ पक्कै हो । जसले जुन जुन रुपले अवसर प्रयोग गरे ब्लगिङ त्यसै त्यसै रुपमा देखियो ।

अन्त्यमा,

चिया पनि खान नदिई मान्छेलाई थकाएर हायलकायल पार्नेगरी प्रश्नहरु सोधेकोमा तपाँई लगायत मेरोरिपोर्टलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु । तपाईहरुले गरेको कार्य फलोस् फुलोस् भनी शुभकामना दिन चाहन्छु ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service