ब्लगिङका कारण धेरै ब्लगर मित्रहरुसँग सम्बन्ध बढेको छ-दिनेश राज ज्ञवाली

जापानको साइतामालाई कर्मभूमि बनाईरहेका दिनेश राज ज्ञवाली, महेन्द्रज्योति -४ काभ्रेका स्थायी बासिन्दा हुन्। नेपाल कमर्श क्याम्पस काठमाण्डौबाट बिबिएस र सेइबु बुन्री युनिभर्सिटीबाट डिप्लोमा इन बिजनेस गरेर हाल रेस्टुरेन्ट र रेमिटेन्स व्यवसायमा संलग्न दिनेशले करिब साढे चारबर्षदेखि निरन्तर रुपमा ब्लगिङ समेत गरिरहेका छन् । सोसल मिडिया र ब्लगिङ दुबैमा उत्तिकै सक्रिय दिनेश मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यो हप्ता फिचर भएका छन् । प्रस्तुत छ उनीसंगको कुराकानी:

 

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?

मैले चिनाउनु भन्दा पनि अरुले मलाई कसरी चिन्नुहुन्छ त्यो मेरो परिचय होला । म आफ्नो उपस्थिति जनाउन कोशिस मात्र गरिरहेको छु । 

 

तपाँइको ब्लग http://www.rajdinesh.blogspot.com/ मात्रै कि अरु पनि छन?

बेलाँ-बेलाँ झोकले खोलेका ब्लग त्यो भन्दा अगाडि र पछाडिका केही छन् तर नियमितता भएको यही मात्र हो । 

 

तपाँइको ब्लगको नाम यात्राका सुस्केराहरु’ किन?

जिन्दगीको नियमित रुटिनबाट बाहिर निस्केर सुस्ताउने अवसरलाई उपयोग गर्छु भन्ने सोचाइ थियो ब्लग सुरुगर्दा, त्यसलाई यो नामले संबोधन गर्छ कि भन्ने लागेर । 

 

यहाँको ब्लगमा साहित्यिक रचनाहरु धेरै रहेछन् । खासमा यहाँको ब्लगिङको रुची के हो? भाषा तथा लेख्ने बिषयबस्तु दुबैका बारेमा भन्नुपर्दा?

मेरो ब्लगमा प्राय गजल छन् । कथा, कविता, गीत, लघुकथा लेखी हेरें आफूले नै सन्तुष्टि नपाएपछि गजलतिर लाग्या हुँ । गजलमा आत्मसन्तुष्टि मिल्छ ।

 

तपाँइलाई हामीले ब्लग तथा सामाजिक संजालहरुमा पनि निकै पढ्न पाईरहेका हुन्छौँ । आफ्नो ब्लगमा कस्ता कुराहरु राख्न चाहनुहन्छ?

मेरो ब्लगमा साहित्य बाहेक जापानमा सुनामी गएपछिको नेपाली समुदाय बारेमा एउटा लेख मात्र छ त्यसैले साहित्य नै मुख्य बिषय होला । 

 

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

२००८ डिसेम्बरबाट ब्लग शुरु गरेको हुँ । 

 

ब्लगिङ किन गर्नुहुन्छ?

आफ्ना भावनाहरु पोख्नका लागि अनि ती पोखिएका भावना समेट्नका लागि ।

 

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन ?

प्राय: साहित्य र बिशेष केही घटनामा मेरा अनुभव । 

 

साहित्यका ब्लगहरु धेरै नै पाइन्छन तर अधिकाँश साहित्यका ब्लगहरु आत्मरतिमा रमाउने गरी लेखिएका, पाठकका लागि भन्दा पनि मनको बह पोख्न कै लागि लेखिएका हुन्छन भनेर सामाजिक संजालमा आलोचना पनि हुन्छ सर्जकको । किन होला ?

पेशागत लेखकहरुले पाठक र बजारको माग हेरेर लेख्छन र लेख्नुपर्छ । म आफ्नो सन्तुष्टिका लागि लेख्छु कसैले आलोचना गर्नुभयो भन्ने सुन्ने हो, प्रतिवाद नगर्ने । 

 

साहित्यबाहेक तपाँइको अर्को रुचीको बिषय चाँही केहो ब्लगिङ गर्नका लागि?

सबै बिषयमा लेख्न मन पर्छ, अरु बिषयमा म ट्विटर र फेसबुकमा लेख्छु । 

 

हरेक मानिसको मनमा कुनै न कुनै भाव तरंगित भैरहेको हुन्छ तर लेख्नका लागि शब्द भेटिँदैनन् । साहित्यिक अभिव्यक्तिका लागि भाषा बलियो हुनैपर्छ भने लेखाइपनि शिर्जनशिल (Creative Writing) हुनैपर्छ भनिन्छ । शिर्जनशिल लेखाइ कसरी आउँछ?

म पनि त्यो शिर्जनशिलता कसरी आउँछ भनेर बुझ्न कोशिस गरिराखेको छु, त्यसको तरिका वा शुत्र रहेछ र मैले पत्ता लगाएँ भने यतै कतै बाँड्छु । 

 

साहित्यका कुरा र शिर्जनशिल लेखाइमा रुची राख्ने ब्लगरले जान्नै पर्ने कुराहरु के के हुन?

धेरै कुरा पत्ता पाएको छैन तर सम्बन्धित बिधाको बारेमा जानकारी र परिवर्तनशिल समयको बारेमा आफू अपडेट हुनुपर्छ कि भन्ने लाग्छ ।

 

तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

आधुनिक समाजको देन हो । यस्लाई सकेसम्म सदुपयोग गर्नुपर्छ र धेरैले यसको सदुपयोग नै गर्नु भएको छ ।

 

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ ? प्राय: पढने ब्लगहरु ?

थाहा पाएसम्म र समयले भ्याएसम्म सबै ब्लग चहार्छु । नियमित सोसियल मेडियामा सम्पर्कमा आउनेहरुको ब्लग प्राय: पढिन्छ । 

 

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?

साहित्य, राजनीति र समाज ।

 

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

आचारसंहिता भन्ने कुरा पालन गर्ने कुरा हो, पालना गराउने कुरो हैन । ब्लग शुरु गर्नु अगाडि केही कुराहरु बुझ्नु जरुरी छ जस्तो मात्र लाग्छ मलाई त्यति भए पुग्ला । 

 

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ?

धेरैले बुझ्नुभएको छ जस्तो लाग्छ, शुरुमा नबुझ्नेहरुले पनि सुधारेको देखेको छु । आपत्तिजनक त मैले भेटेको छैन, ब्लगमा एउटा हदसम्म स्वतन्त्रता हुनुपर्छ भन्ने लाग्छ ।

 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।

खै मलाई अहिले याद आएन, भनेपछि त्यस्तो बिशेष केही छैन होला ।

 

तपाइ सोसल मिडियामा पनि सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु: ब्लग, ट्विटर र फेसबुकमा के फरक पाउनुभयो?

सबैको उद्देश्य र महत्व फरक छ त्यसैले सबै टिकिरहेका छन् । छुट्याइने समयदेखि बिषयवस्तुसम्म फरक छन ।

 

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ?

धेरै ब्लगहरु छन् । 

 

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो ?

पुरानाहरु पनि थिए केही, तर पछिल्लो समयमा लेखेको कविता हिसाब र बोझ पनि बढी रुचाइएको थियो ।

 

ब्लगिङ गरेर के यो पाएँ वा यो गुमाएँ भन्ने केही छ ?

रचनाहरु एकठाउँमा समेटिएका छन्, धेरै ब्लगर मित्रहरुसँग सम्बन्ध बढेको छ । फुर्सदको यतिकै खेर जाने समय कसैको ब्लगमा छिरेर पढ्ने बानी बसेको छ । पाएको मात्र छु ।

 

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

यो स्वतन्त्र पत्रकारिता हो जस्तो लाग्छ । 

 

अन्त्यमा,

ब्लगरहरुलाई चिनाउनको लागि तपाईंहरुले गर्नुभएको काम प्रशंसा योग्य छ । यो नियमित चलिरहोस । मेरा कुरा राख्ने मौका दिनु भएकोमा धन्यवाद । 

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by अल्टर कान्छो’ on October 5, 2013 at 12:13pm
Comment by Umesh Sigdel on September 29, 2013 at 1:35pm

बधाइ छ ब्रदर। अब तपाइलाइ लिएर एउटा कथानक नेपाली चलचित्र बनाउन पर्छ :P

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service