सामान्य आफ्ना विचार, भावना, लेख, रचना ब्लगिङ गर्नेलाई आचारसंहिता आवश्यक छैन : देविका घर्ती मगर

दाङकी देविका घर्ती मगर विगत ९ वर्ष देखि पत्रकारिताको क्षेत्रमा कार्यरत छिन् । कापी उद्योगमा काम गर्दा गर्दै बाध्यताले पत्रकारितामा लागेकी देविकाको अहिले रहरको पेशा भएको छ पत्रकारिता । स्नातकसम्मको अध्ययन पुरा गरेकी उनलाई फोटोग्राफीमा विशेष रुचि छ । घुम्दै फोटो खिच्न, लेख्न र पुस्तक पढ्न मन पराउँछिन देविका । महिलाका सवाल, पर्यटन र संस्कृतिका विषयमा लेख्न रुचाउँछु उनी ब्लग लेखनमा पनि सक्रिय छिन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै देविका घर्ती मगरसँग कुराकानी गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी : 

देविका मगरलाई सोसल मिडियामा के भनेर चिनाउन चाहानुहुन्छ ॽ बताइदिनुस न । 

पेशाले म पत्रकार हुँ । एउटा सामाजिक सञ्जाल प्रयोगकर्ता पनि भन्न सक्नुहुन्छ मलाई । सोसल मिडियाका विभिन्न ह्याण्डलहरु चलाउँछु । प्रायमा देविका घर्ती मगर नै छ तर ट्विटरमा युङ्जा मिजाका नामले चलाउदैँ आएको छु ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी सुरु गर्नुभयो ॽ

खासगरी ब्लगको बारेमा नजानेरै ब्लग चलाउन थालेकी हुँ मैले । सन् २०१० मे बाट मैले ब्लग चलाउन थालेको रहेछु । कम्प्युटर टेक्नोलोजिको बारेमा कमै जानकारी थियो । तत्कालिन समयमा वेबसाईटको गोरखापत्रमा काम गर्ने नरेश खपाङ्गी मगर सरको ब्लग पहिलोपटक हेर्ने मौका पाएकी हुँ । उहाँबाट नै ब्लगको केही कुरा थाहा पाए । नरेश सरको ब्लग हेरिसकेपछि आफुलाई पनि ब्लग बनाउन मन लागेको थियो तर आफुलाई त्यसको बारेमा केही जानकारी थिएन । पछि केही सल्लाह सरको लिएर आफै ब्लगर डटकममा गएर www.magardevika.blogspot.com नामको मेरो आफ्नै ब्लग बनाए । ब्लग बनाए पनि के लेख्ने भनेर खासै आइडिया थिएन । आफुले धेरैजसो समाचार मात्र लेख्ने भएको हुनाले धेरै कुरा मसँग थिएन । पछि आफ्नो ब्यक्तिगत भाव समेटिएको पहिलो ब्लग पोष्ट गरे जसमा मेरो पिडा पनि समेटिएको थियो । पछि आफुले लेखेका समाचार पनि पोष्ट गर्न थाले ।

कस्ता विषयवस्तु तपाईको रोजाईमा पर्छन ॽ

सुरुमा ब्लग गर्दा हार्ड न्यूजहरु पनि पोष्ट गर्थे । पछि आफुलाई चित्त बुझेका राम्रा लागेका समाचार, लेख, विचारहरु, संस्मरणहरु मात्र पोष्ट गर्न थाले । पहिलेपहिले त अन्य व्यक्तिका ब्लग, वेबसाइटबाट आफुले पढेर मन परेका आर्टिकलहरु पनि साभार गरेर पोष्ट गर्थे पछि हटाइदिए । अहिले आफुले लेखेका मात्र पोष्ट गर्छु । खासमा यही विषयवस्तु भन्ने छैन । सबै खालका विषयवस्तुहरु पोष्ट गर्ने गर्छु ।

के का लागि ब्लगिङ गर्नुहुन्छ ॽ

ब्लगिङ खासमा यसैका लागि भनेर मैले शुरुवात गरेको होइन । यो ब्लगिङ एकदमै मैले गरेका गतिविधिहरु कसरी आफ्नै ब्लगमा राख्न सकिन्छ भनेरे शुरु गरेको हुँ । धेरै कुरा त व्यक्तिगत गतिविधी नै ब्लगिङ गर्छु भनौ । 

तपाईले http://www.magardevika.blogspot.com/  बाहेक अरु पनि चलाउनु हुन्छ ॽ 

यो बाहेक मैले पछि www.http://happysansar.blog.com/ पनि चलाए । यसलाई मैले न्यूज मात्र पोष्ट गर्ने ब्लगका रुपमा केही समय चलाए । तर पछि खै कुन्नी के भएर हो त्यो ब्लगको त पुरै फन्ट नै परिवर्तन भयो । टेक्निकल समस्या पत्ता लगाउन सकिन अनि छाडिदिए । अहिले यै पुरानोलाई नै जेनतेन अपडेट गर्छु तरपनि यसैका लागि भनेर खासै अपडेट गर्न सकेको छैन । ब्लग भन्ने कुरा जति चलायो त्यति पढिने र राम्रो पनि मानिने रैछ । तर यसलाई निरन्तरता दिन सकिरहेको छैन । यसलाई नियमित बनाउने सोच भने छ ।

तपाई सोसल मिडियामा पनि उत्तिकै हुनुहुन्छ । नेपालमा सोसल मिडियाको प्रयोग कस्तो  भइरहेको पाउनुभएको छ ॽ

अहिले सोसल मिडियाको प्रयोग निकै हुन थालेको छ र यसको प्रभाव पनि निकै बढी रहेको छ । नेपालमा सोसल मिडियाका कारण निकै राम्रा कामहरु सम्पन्न भएका छन् । विशेषगरी विभिन्न प्रकारका अभियान सञ्चालन भइरहेका छन् । यो अत्यन्तै सकारात्मक प्रभाव हो । तर, पछिल्ला समय हामी अलि बढी नकारात्मक विषयहरुमा मात्र केन्द्रित भयौ की भन्ने लाग्छ । म सकारात्मक सोचको विकास गरौं भन्ने कुरामा विश्वास गर्छु । समग्रमा सामाजिक अभियानमा यसले राम्रो प्रभाव र सफलता हासिल गरेको छ ।

अरुका ब्लग कत्तिको पढ्नु हुन्छ ॽ प्राय पढ्ने ब्लगहरुरु कुन कुन हुन ॽ विशेष गरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन् ॽ

मैले विशेषगरी समाचारमूलक ब्लगहरु नै हेर्ने पढ्ने गरेको छु । नेपालमा भएका सबैप्रकारका समाचारमूलक वेबसाइटहरु पढ्छु । सालोक्यले चलाउदै आएको माइसंसार, निर्मल ज्ञवालीको अनि डा.समिर लामाको स्वास्थ्यसम्बन्धी ब्लग स्वस्थ नेपाल पनि पढ्छु । समयले भ्याएसम्म र आफुले भेटेसम्मका सबै ब्लगहरु पढ्न रुचाउँछु तर, नियमित भने छैन ।

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छन, तर निरन्तरता दिन सक्दैनन्, तपाईको विचारमा ब्लगलाइ समय दिन गाह्रो भएरै हो या अरु कुनै कारणले होला ॽ

खासमा मेरो विचारमा ब्लग प्रायः रहरै रहरमा नै खोलिएका हुन्छन् । पहिले रहर लाग्नु र पछि त्यसलाई निरन्तरता दिन नसक्नु केहीलाई छाडेर प्रायको समस्या होला भन्ने लाग्छ । समय दिन नसकेर नै निरन्तरता दिन नसकिएको हो जस्तो लाग्छ ।

हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो ॽ

सबैका आआफ्ना विशेषता हुन्छन् । ब्लग व्यक्तिगत प्रयोग, सूचना प्रसारण, विस्तृतरुपमा आफ्ना विचार राख्नका लागि प्रयोगमा आएका छन्, ट्विटर अहिले शसक्त माध्ययमका रुपमा प्रयोगमा आएको छ । फेसबुक झन अहिले आफ्नो प्रचार गर्नका लागि नेपालमा सबैभन्दा बलियो माध्यमका रुपमा प्रयोगमा आएको भन्ने लाग्छ । ट्वीटर भने सबैको पहुँचमा छैन ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ ॽ

सामाजिक हित कै लागि भनेर कमैले ब्लग गछर्न् । तर फाट्टफुट्ट रुपमा लेखिएका पनि छन् ।

तपाईको ब्लगमा आफ्नो ठाँउको स्थानिय सँस्कृतिका कुराहरु धेरै रहेछन्, कसरी यि विषयवस्तुहरु संकलन गर्नु हुन्छ ॽ

म संस्कृतिमा रुची राख्छु । यसको विषयमा अध्ययन गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । म मगर समुदायको छोरी भएको हुनाले पहिले आफ्नै समुदायको संस्कृतिका बारेमा खोजौ कि भनेर केही विषयहरुको खोजी गरेर लेखेको छु । आफ्नो संस्कृतिप्रतिको माया भएकाले यसको विषयमा लेख्न रुची राख्छु । यसको सँकलन प्राय सम्बन्धित ठाउँ नै पुग्ने प्रयास गर्छु । यस क्रममा रोल्पा, रुकुमका मगर बस्ती, दाङका मगर बस्ती तथा बाग्लुङको बुर्तीवाङसम्म पुगेको छु ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता ॽ

एकदमै सहमत छु म यो कुरामा । अहिले ब्लग सजिलै चलाउन सकिने भएकाले धेरैले ब्लग चलाएर विभिन्न अश्लिल सामाग्रीहरु पोष्ट गर्ने, कसैलाई सिध्याउन छ भने हतियारको रुपमा प्रयोग गर्ने प्रवृत्ति बढेको छ । हेडिङ पुरै सनसनीपुर्ण बनाउने र मान्छे तर्साउने काम भैरहेको छ यसलाई रोक्नुपर्छ । त्यसका लागि आचारसंहिता बन्नुपर्छ र कारबाहीको ब्यवस्था पनि गरिनुपर्छ । सामान्य आफ्ना विचार, भावना, लेख, रचना ब्लगिङ गर्नेलाई यो आवश्यक छैन । तर यसको प्रयोग गरेर विभिन्न हर्कत देखाइरहेका छन् त्यसका लागि अनिवार्य आवश्यकता नै भैसक्यो भन्ने लाग्छ ।

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ॽ

अहिले ब्लगलाई मात्र होइन समग्र सोसल मिडियालाई नै नागरिक पत्रकारिताको रुपमा बुझ्ने गरिन्छ । हरेक नागरिक पत्रकार हो भन्ने धरणा आइसकेको अवस्थामा ब्लगिङ नागरिक पत्रकारिता हो नभनि रहन सक्दिन ।

अन्त्यमा,

धन्यवाद !

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service