ब्लग मेरो निम्ति मनोरञ्जनको साधन हो-रामप्रसाद दाहाल

उमेर ७३ बर्ष, पेशाले रिटायर्ड इन्जिनियर, सायद यतिमात्रै भनियो भने ट्विटरका पाका ट्विटे दाहालराम अर्थात राम प्रसाद दहाल माथि अन्याय हुनसक्छ । संखुवासभाको मादी राम्बेनी-१, आँपस्वाँराको पुरानो थातथलो छोडेर हाल काठमाण्डौको जोरपाटी-१, नारायणटार बस्दै आएका रामप्रसाद दाहाल पुराना ब्लगर मध्येका एक हुन् । सन २००५ देखि ब्लगिङ गर्दै आएका रामप्रसादले आफ्नै नाम ramdahal.blogspot.com बाट ब्लगिङ गर्छन् । इन्जिनियरिङका मास्टर्स उनी आफ्नो ब्लगमा भने धेरैजसो दार्शनिक र तार्किक बहस गर्न रुचाउँछन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा हामीले यसपाली उनै पाका ब्लगर रामप्रसाद दाहाललाइ उभ्याएका छौँ । प्रस्तुत छ उनीसंग गरिएको कुराकानी:

 

कुराकानी सुरु गरौँ, सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?

अरूतिर आफूलाई लगाए पनि मेरो विचार राख्ने थलो त ब्लग नै हो । त्यसैले सामाजिक संजालमा म आफूलाई ब्लगर नै ठान्छु ।

 

तपाँइको ब्लग  ramdahal.blogspot.com का बारेमा अलिकति बताइदिनुस न, अलिकति, कस्तो ब्लग हो र यहाँ तपाँइ कस्ता कुराहरु अभिब्यक्त गर्नुहुन्छ?

लेखन मेरो पेशा होइन मनोरञ्जन हो । मेरो ब्लग पनि मेरो मनोरञ्जनको साधन नै हो । मेरा ब्लगहरू कुनै एक विषयमा सीमित हुदैनन् । सबै विधामा लेख्छु म ।

 

सोसल मिडिया र ब्लगिङमा खासगरी युवाहरुको बर्चश्व रहेको पाइन्छ, यहाँजस्ता पाका उमेरका मानिसहरु कमै हुन्छन् नि है !

म फेसबुक र ट्विटर चलाउँछु र फेसबुकमा त मेरो समकालिनहरू यदाकदा भेटिन्छन् तर ट्विटरमा त जम्मा दुई जना भेटेको थिएँ । एउटा मेरो पहिलो ट्विटमा नै ज्येष्ठता प्रदर्शन गर्दै बांगिएर अनफलो गरेर गरेर हिँडे । अर्कासँग पनि कमै ट्विट हुन्छ । खासमा चाहिँ मेरो समूह १५ देखी ५० नै हो ।

कतिबर्ष हुनुभयो? उमेर बताउन मिल्छ?

किन नमिल्नु ? मजासँग मिल्छ । म ७३औँ वर्षमा हिँड्दैछु ।

पाका मानिसहरुको उपस्थिति कम भएको हुँदा पनि धेरैले सोसल मिडिया र ब्लगिङलाइ 'अल्लारेहरुको भँडास पोख्ने थलो' या 'प्रेम र यौनका कुरा गर्ने कृडास्थल' भनेर कठोर रुपमा आलोचना गर्ने गरेको पनि देखिन्छ, यस बारेमा के भन्नुहुन्छ यहाँ ?
केही हदसम्म त्यो हो पनि । फेसबुक सामान्य युवा जमातको फोटो हाल्ने ठाउँ, मन नपर्ने राजनैतिक दल र राजनितिज्ञलाई मनपरी गाली गर्न ठाउँ र यदाकदा आफ्नो लेखनी हाली रहने ठाउँ भएको छ । ट्विटर भने कहिलेकाँही त्यो भन्दा अँझ अभद्र देखिन्छ, अँझ भनौँ-कहिले कहीँ त अनुभवी ट्विटेहरूले पनि खुल्लममखुल्ला छाडा यौनको कुरा गर्ने । अहिले त के के पाए जस्तो भएको छ युवा जमातलाई । समयले त्यो परिमार्जित गर्दै लानेमा विश्वस्त छु म । त्यो हिसाबमा ब्लग धेरै भद्र छ ।

 

अब तपाँइको ब्लगको कुरा गरौँ, तपाँइको ब्लगमा नेपाली भाषामा लेखिएका ब्लगपोष्टहरु धेरै रहेछन् । खासमा यहाँको ब्लगिङको रुची के हो? लेख्ने बिषयबस्तु दुबैका बारेमा भन्नुपर्दा?

मेरा लेखनका विषयवस्तु सीमित छैनन् । मलाई मन लाग्दा म जुन विषयमा पनि लेख्छु किनकि लेख्नु मेरो मनोरञ्जन हो ।

 

यहाँले कसलाइ लक्षित गरेर ब्लग लेख्ने गर्नुहुन्छ?

खास गरेर म युवाहरूकै लागी लेख्छु । मेरो लेखन ब्लगमा मात्र सीमित पनि छैन । ब्लग बाहेक मैले आर्थिक दर्शनको पुस्तक लेखेर छापेको छु । उपन्यास त २० वर्ष अगाडि नै छापेको हुँ । अहिले त मेरा कथाहरू, उपन्यासहरू, दार्शनिक सिद्धान्तहरू, कविताहरू र मेरो आफ्नै वेबसाइटमा राखेको छु । पढ्नेले मन लागे पढ्छन् पनि।

 

ब्लग बाहेक ट्विटरमार्फत माइक्रो ब्लगिङमा पनि उत्तिकै लागि पर्नुहुन्छ । ट्विटरमा कहिलेदेखि प्रवेश गर्नुभयो र यहाँलाइ लेख्न मन लाग्ने सवालहरु के हुन?

ट्विटरमा मलाई मेरो नातिले झण्डै एक वर्ष अघि छिराई दिएको हो तर म सकृय भएको त ४।५ महिना भयो होला । ट्विटरमा मलाई आफैँ लेख्नु भन्दा पनि अरूका ट्विटमा सुझाव दिन रमाइलो लाग्छ ।

 

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो, यहाँ हेर्दा त सन २००५ देखि नै गर्नुभएको देखियो नि?

हो, ब्लगिङ सन् २००५ देखि नै थालेको हो तर त्यो साह्रै नियमित पनि थिएन । के कस्ता ब्लग थिए? त्यसको निर्क्योल भने म पाठकलाई नै छोडी दिन्छु ।

 

कसरी र किन ब्लगिङ सुरु गर्नुभयो?

पहिले के हो भन्ने चासोले थालियो । पछाडि अम्मल भयो ।

 

केका लागि ब्लगिङ गर्नुहुन्छ?

भनी हालेँ नि 'आफ्नै मनोरञ्जनको निम्ति' भनेर, किनकि मेरा ब्लगले संसार परिवर्तन हुदैन ।

 

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन?

प्रयास त म सधैँ गहन विषयमा लेख्ने नै गर्छु तर मैले भन्दैमा गहन हुने हो र !

 

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छन, तर निरन्तर ब्लग गरिरहन या ब्लगलाइ समय दिन त गाह्रो छनि है?

म तेश्रो चौथाइको मानिस । मलाई फुर्सद छ ।

 

ब्लगिङ बाहेक तपाँइको अर्को रुचीको बिषय चाँही केहो?

पढ्नु । नेटलाई म पढ्नमा धेरै प्रयोग गर्छु । किताब त अहिले एडल्फ हिटलरको मेन केम्फ दोहोर्‍याएर पढ्दैछु ।

 

तपाँइ सोसल मिडियामा पनि उत्तिकै हुनुहुन्छ । नेपालमा सोसल मिडियाको प्रयोग कस्तो भइरहेको पाउनुभएको छ?  

नेपालमा सोसियल मिडिया प्रयोगगर्नेको संख्या अति नै सानो छ र त्यो संख्याले पनि खासै उपलब्धिमूलक प्रयोग गरेजस्तो मलाई लाग्दैन ।

 

अनि नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ? सदुपयोग या दुरुपयोग?

दुबै नै । सेतोपाटीदेखि निलोपाटीसम्म यसका प्रत्यक्ष उदाहरणहरू हुन् ।

 

अरुका ब्लग कत्तिको पढ्नु हुन्छ

पढ्छु अरूका ब्लग पनि रेफर गरिएका विषयमा तर खोजीखोजी कुनै पनि ब्लग पढ्दिन ।

 

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?

विषय गहन हुनुपर्छ । म सबै विषय पढ्न रुचाँउछु । कलादेखि विज्ञानसम्म, कवितादेखि हाँस्यसम्म, युद्धदेखि शान्तिसम्म ।

 

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

त्यो त जहीँ पनि आवश्यक पर्छ । देखा परेको छ छाडापन र छाडापनलाई त रोक्नैपर्छ ।

 

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनुभएको छ?

त्यो त मानिस मानिसमा भर पर्छ । कोही संयमित छन्, कसैले छाडापन देखाएका छन् । सामान्यिकरण गर्न त मिल्दैन ।

 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।

ब्लग लेखनको ७।८ वर्षको समयमा स्यावासी पनि पाइयो, ततर्क्याई पनि । त्यसैले त्यो लामो समय तिर जान चाहन्न । भर्खर थालिएको ट्विटरको माइक्रो ब्लगमा भने दुई तीता अनुभव छोटो समयमा नै गरेँ । नेपालमा एक अभिजात्यकी अमेरिका बस्ने सुपुत्रीलाई फलो गर्न पुगेँ र उनको ट्विटमा स्वभावबश् आफ्नो राय पनि दिई हालेँ । मन परेनछ उनीलाई त्यो राय र उनले भनी पठाइन् - "मेरो ट्विट मन नपरे अन्फलो गर ।" अनफलो त मैले गरिन र उनका ट्विटमा राय दिन पनि छोडेँ । दोश्रो एक विद्वान रहेछन् । ठुलाठुला किताब उल्था गरेको छु पनि भनेका पनि छन् प्रोफाइलमा । ट्विटमा लेखेथे - "जुहीलाई लिएर मन्दिर घुम्न गएँ ।" स्वभावबश् सोधेँ मैले ‍- "छोरी कि नातिनीलाई लिएर ?" के थाहा मलाई ? उनकी जुही त कुकुर्नी पो रहिछ । "नचाहिदो कुरा गर्ने । त्यो मेरी कुकुर्नी ।" बम्किदै ट्विटमा गाली गरेथे । पछि लिस्टमा देखियो ‍- अनफलो गरेछन् । अरू कुरा अब छोडी दिऊँ ।

 

सोसल मिडियामा पनि उत्तिकै सक्रिय भएका नाताले भन्दिनुस् न, हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु: ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो?

ब्लगहरू आफ्ना विचार पस्कनको लागि उपयुक्त थलो हो । फेसबुक नाता सम्वन्धित विषयमा राय, सुझाब दिन र सम्बन्धित मानिसहरूलाई सम्पर्कमा राख्ने माध्यम हो । ट्विटर, मेरो विचारमा, खुला व्याट हो जहाँ जसले पनि आफ्नो विचार राख्नसक्छ र जोसुकैले पनि ती ट्विटमा आफ्नो राय य प्रतिकृया दिनसक्छ ।

 

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ?

कतिपय ब्लगहरू सूचनामूलक र ज्ञानवर्धक छन् अवश्य नै तर सबै त त्यस्ता हुदैनन् नि । सामाजिक हित विपरित लेखिएका ब्लग त मैले पाएको छैन ।

 

ब्लगिङलाइ कहिँकतै बैकल्पिक मिडिया अर्थात आफ्ना कुराहरु आफ्नै तरिकाले अभिब्यक्त गर्ने थलो र ब्यक्तिको निजी मिडियाका रुपमा पनि भन्ने गरेको पाइन्छ तर पनि यो अँझै टाँठाबाठा र बोल्ने थलो पाउनेहरुको पहुँचमा मात्रै सिमित छ पनि भनिन्छ नि, किन होला?

पहिलो पनि हो र दोश्रो पनि । व्यक्तिको अभिव्यक्तिको नीजि मिडिया पनि हो र सीमित समुदायसम्म मात्रै पुगेको छ ब्लगिङको सुविधा त्यो पनि सत्य हो ।

 

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

त्यो तिरको पाइला त हो तर त्यो भई सकेको छैन ।

 

अन्त्यमा,

यति धेरै कुरा गरिसकेपछि अब भन्नु नै के छ र !

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Prakash Lamichhane on July 23, 2014 at 12:34pm

Congratulations !!!! 

Comment by Pagal Basti on August 7, 2013 at 1:52pm

दाहाल बालाई बधाइ छ। हाम्रा तर्फबाट

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service