ब्लग लेखन लेखक बन्न चाहनेलाई प्रविधिले दिएको उत्कृष्ट कोशेली हो-सिपी अर्याल

नेपाल-भारत सम्बन्ध र बिपी कोइरालाको सवालमा त्रिभुवन विश्वविद्यालयबाट अँग्रेजी अध्ययनमा एमफिल थेसिस गर्दै गरेका सिपी अर्याल पेशाले अध्यापक हुन् । लेखाइमा विशेष रुचि राख्ने सिपीलाई अध्ययनमा पनि उत्तिकै चाख छ । यस बाहेक उनी अनुवाद र सम्पादनका कामहरूमा पनि सक्रिय छन् । पत्रपत्रिकाहरूमा नियमित रुपमा कथा, संस्मरण, पुस्तक समीक्षा र फिचरहरू लेखिरहने सिपी कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको सागरटोलका स्थायी बासिन्दा हुन् । सामाजिक संजालहरु फेसबुक, ट्विटरमा समेत सक्रिय उनी cparyal.blogspot.com बाट नियमित ब्लगिङ समेत गरिरहन्छन् । यो साता उनै सिपी मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा झुल्किएका छन् । प्रस्तुत छ उनीसंगको कुराकानी :

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?

म सोसियल मिडियामा आफूलाई एउटा स्वतन्त्र लेखकको रूपमा चिनाउन प्रयासरत छु । ब्लगलाई म सफा सेतो कागज ठान्छु जहाँ म कलमको सहायताले निष्फिक्रि कुद्नसक्छु, रमाउन सक्छु, रुनसक्छु र हाँस्नसक्छु र गतिला केही पदचापहरू छोड्नसक्छु ।

 

तपाँइको ब्लग  cparyal.blogspot.com मात्रै कि अरु पनि छन?
यसबाट मात्र ब्लगिङ गर्छु ।

तपाँइको ब्लगको नाम Expressing Myself किन?
मलाई मेरो ब्लगको सबैभन्दा मन परेके कुरा यसको टाइटल हो । साथीहरूलाई पनि यो टाइटल खुब मन परेको बताउँछन् । ब्लग बनाउँदै थिएँ, टाइटल राख्ने सेक्सन आएपछि अचानक दिमागमा फुर्‍यो Expressing Myself । अनि यही राखेँ । आफ्नै भावना र रुचिका कुरा ब्लगमा पोख्छु त्यसकारण यसको टाइटल यो भन्दा अरू उत्कृष्ट लागेनन्।

यहाँको ब्लगमा साहित्यिक रचनाहरु खासगरी कथाहरु धेरै रहेछन् । खासमा यहाँको ब्लगिङको रुची के होभाषा तथा लेख्ने बिषयबस्तु दुबैका बारेमा भन्नुपर्दा
मेरो मनपर्ने मध्येको एउटा विधा कथा हो । त्यसबाहेक म पुस्तक समीक्षाहरू पनि पोष्ट गर्छु । अंग्रेजी र नेपाली दुवैमा उत्तिकै लेख्नसक्छु । तरपनि नेपाली भाषा मै आफूलाई अँझ सजिलो लाग्छ । कतिपय भावहरू अंग्रेजीमा भन्दा नेपालीमै सपाट व्याख्या, विश्लेषण र प्रस्तुति दिन मजा लाग्छ । आखिर आफ्नो भनेको आफ्नै हो नि !

तपाँइलाई हामीले अखबारहरुमा पनि निकै पढ्न पाईरहेका हुन्छौँ । आफ्नो ब्लगमा अखबारमा छापिएका कुराहरु मात्रै राख्नुहुन्छ कि कैलेकाँही ब्लगबाटै मिचोचित गराउनुहुन्छ लेखहरुलाई?
अखबारमा छापिएकालाई पोष्ट गर्ने पनि गर्छु र नयाँ लेखहरू ब्लगमै पहिलोपटक पोष्ट गरेर साथीहरूमाझ सेयर पनि गर्छु ।

आफ्नो ब्लगको बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न ।
म प्राय: पत्रपत्रिकामा छापिएका मेरा रचनाहरू ब्लगमा पोष्ट गर्छु । पत्रिकाको पहुँचमा नभएका तर इन्टरनेटको पहुँचमा भएका पाठकहरूको लागि यो निकै मद्दतकारी हुन्छ । त्यसबाहेक केही कथा, फिचर लेखहरू र पुस्तक समीक्षा पनि कहिलेकाहिँ ब्लगबाटै पहिलोपटक पाठकसमक्ष पुर्‍याउँछु । यसबाहेक घतलाग्दा फोटोहरू पनि राख्ने योजना छ । तर समय दिन सकिरहेको छैन ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

सन् २०१० को मध्यवर्षतिरबाट सुरु गरेको ।

 

ब्लगिङ किन गर्नुहुन्छ?

मेरा लेखाइहरूलाई स्थायी घरमा राख्न ।

 

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन ?

मलाई सबैभन्दा मन पर्ने भनेको फिचर लेखहरू हुन् । यसबाहेक मैले पुस्तकहरू धेरै पढ्ने भएकोले पनि पढिसकेपछि त्यसबारे साथीहरूलाई सुनाउन (यो किताब पढ, त्यो नपढ्दा फरक पर्दैन भन्न) मन लाग्छ । अनि समीक्षा लेख्छु । म कथा पनि लेख्छु । उपन्यास लेख्दै छु । उपन्यासका रमाइला टुक्राहरू पनि सेयर गर्छु कहिलेकाहिँ । पत्रपत्रिकामा प्रकाशन गर्न मन नलागेका कथाहरू पनि ब्लगमा राख्छु ।

 

साहित्यका ब्लगहरु धेरै नै पाइन्छन तर अधिकाँश साहित्यका ब्लगहरु आत्मरतिमा रमाउने गरी लेखिएका, पाठकका लागि भन्दा पनि मनको बह पोख्न कै लागि लेखिएका हुन्छन भनेर सामाजिक संजालमा आलोचना पनि हुन्छ सर्जकको । किन होला ?

ब्लग लेख्न थालिसकेपछि आफ्नो ह्रदयमा आफैलाई हेर्नुजत्तिकै महत्वपूर्ण कुरा पाठकहरूको भावना पनि चियाउन सक्नु हो । यो संसार यति सुन्दर देखिएको धेरै आँखाहरू भएर हो । प्रत्येक आँखाले भोग्ने यथार्थ फरक फरक छन् । कोही पाठकका ब्लगमा लेखिएका लेख आत्मरति/बकम्फुसे गफ बन्छ भने कसैका लाग त्यो निकै चाखलाग्दो लेख बन्नसक्छ ।

 

साहित्यबाहेक तपाँइको अर्को रुचीको बिषय चाँही केहो ब्लगिङ गर्नका लागि?
साहित्यबाहेक रुचिको विषय भनेको मेरा अनुसन्धानात्मक लेखहरू लेख्ने हुन् । लेखेको पनि छु । तर त्यस्ता लेखहरू चोरी हुने डर लाग्छ । त्यसकारण रुचि भएपनि ब्लगमा ती लेख पोष्ट गर्न सकेको छैन ।

 

हरेक मानिसको मनमा कुनै न कुनै भाव तरंगित भैरहेको हुन्छ तर लेख्नका लागि शब्द भेटिँदैनन् । साहित्यिक अभिव्यक्तिका लागि भाषा बलियो हुनैपर्छ भने लेखाइपनि शिर्जनशिल (Creative Writing) हुनैपर्छ भनिन्छ । शिर्जनशिल लेखाइ कसरी आउँछ?

म सानो हुँदा विद्यालयमा हुने साहित्यिक कार्यक्रममा भाग लिन हौसिन्थेँ । तर लेख्न चाहिँ आउँदैनथ्यो । बुवाले संस्कृत शब्द धेरै प्रयोग गरी कविता लेख्नुहुन्थ्यो, छन्दमा । सुरुसुरुमा बुवाले लेखिदिने मैले भाग लिएर वाचन गर्ने गर्थेँ । सधैँजसो फस्ट वा सेकेन्ड वा अन्य केही न केही पुरस्कार पाइरहन्थेँ । सरहरूले थाहा पाउनुहुन्थ्यो त्यो मेरा सिर्जना थिएनन् भनेर, तर केही भन्नुहुन्नथ्यो । सायद मलाई हौस्याउने उहाँहरूको त्यो तरिका थियो । पछि ठूला कक्षामा गएपछि बुवाले लेखिदिएका लेखहरू प्रतियोगितामा लैजान लाज लाग्न थाल्यो । अनि म आफैँ लेख्न थालेँ । यसरी चोरबाटोबाट छिरेपनि पछि म राम्रै बाटो हिँड्न थालेँ । अचेलका मेरा लेख देखेर बुवा छक्क पर्नुहुन्छ, उतिबेला बुवाले लेखिदिएका कविता पढ्दा म छक्क पर्थेँ ।

मैले सिक्दैँ गएँ-सिर्जनात्मक लेख लेख्न मानिसहरूको हिँडाइ, लवाइ, खुवाइ, बोलाइलाई अति सूक्ष्म ढङ्गले मनन गर्न सक्नुपर्छ । सिर्जनात्मक लेख भनेर हामी कथा उपन्यास कविता लेख्छौँ जसको स्रोत हामी वरिपरिकै घटनाहरू हुन् । र, सिर्जनशिल लेखाइ दुई तरिकाबाट हासिल गर्न सकिन्छ : एक, जन्मजात रूपमा (जसलाई हामी Genius भन्छौँ), र दुई, पढ्ने, लेख्ने कडा मिहिनेत गरेर ।

 

साहित्यका कुरा र शिर्जनशिल लेखाइमा रुची राख्ने ब्लगरले जान्नै पर्ने कुराहरु के के हुन?

मैले पढेको थिएँ कतै, "१०० वटा पुस्तक पढ अनि बल्ल एक वाक्य लेख।" यो भनाइले मलाई लेख्न बस्नुअगाडि निकै घच्घच्याइरहन्छ । कसैलाई लेखक बन्नु छ, सिर्जनशिल लेखनमा माथि पुग्नु छ भने तीनओटा उपाय छन्: एक पढ्ने, दुई, पढ्ने र तीन, पढ्ने । नपढ्दाको घाटा के हो भने साहित्यमा कस्ता लेखनी आइरहेका छन् पाठकले के रुचाउँछन्, नयाँ प्रयोग कस्ता भइरहेका छन् त्यो थाहा हुन्न । अझ तपाईँले रोजेका विषय अरूले लेखिसकेका छन् कि छैनन् त्यो पनि थाहा हुन्छ । दि रिपिटिसन अफ सेम वर्क इन दि सेम लाइन ह्याज नो मिनिङ एट अल भन्ने चर्चित भनाइ त हामीलाई थाहा छँदैछ ।

 

तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?
ब्लग लेखन लेखक बन्न चाहनेलाई प्रविधिले दिएको उत्कृष्ट कोशेली हो । नेपाली ब्लगरहरूले यसको भरपूर उपयोग गरिरहेका छन् । मूलधारका पत्रपत्रिकामा ठाउँ नपाउनेहरूलाई त यो नागमणी नै भएको छ ।

 

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ ? 
म प्राय: प्रदीप बस्याल, सफल घिमिरे, ऋचा भट्टराई, जोतारे धाइबा, माइसंसार, दीपक अधिकारी, दिनेश वाग्ले, श्वेता बानियाँ, ब्रबिमकुमार, जनकराज भट्ट र युस्याफ्टको ब्लगघरमा धाइरहन्छु ।

 

विशेष गरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन् ?

मलाई खासगरी कथाहरू मन पर्छन्, फिचर लेखहरू पनि मन पर्छन् । साथै मैले जोतारे धाइबाले ब्लगमा लेखेका कविता पनि निकै रुचाउँछु ।

 

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता ?

आचारसंहिताका अन्य गोलमटोल कुरा भन्दा एउटाले मिहिनेत गरेर लेखेको लेख चोरी हुने क्रम रोक्न सके गजब हुन्थ्यो ।

 

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ ?

मेरो सबभन्दा चित्तदुखाइ अरूको रचना आफ्नै झैँ गरेर निर्वाध चोरेर सारिएका ब्लगहरूबारे हो । त्यो अपराध नियन्त्रण गर्नुपर्छ। साथै कतिपयले हिज्जे साह्रै बिगारेर, पढ्नै नसकिने गरी लेखेका हुन्छन्। त्यस्ता ब्लग निगरानी गर्नेबारे केही सोँच्नुपर्छ। यो हिज्जेको कुरा गर्दा ट्विटर र फेसबुकमा मानिसहरूले नेपाली कुरा रोमन भाषामा नलेखे हुन्थ्यो जस्तो लाग्छ । जान्नेले पनि त्यसो गरिरहेका छन् । त्यसले हाम्रो नेपाली भाषामा धमिरा हुल्ने काम गर्छ ।

 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।
सम्झनामा साइकल भन्ने मेरो संस्मरण पहिलोपट मैले आफ्नो ब्लगमा पोष्ट गरेको थिएँ । केही दिनमा त्यो संस्मरण सेतोपाटीमा आयो । त्यसको ब्यापक प्रसार भएको छ । खुब खुसी भएँ ।

 

तपाइ सोसल मिडियामा पनि सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु: ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो ?

ब्लग आत्मप्रस्तुतीको बिशाल समुद्र हो । ट्विटर छोटोमीठो भावमा अनुभव आदानप्रदान गर्न मिल्ने पोखरी । र फेसबुक चाहिँ...... फेसबुकबारे थाहा नभाका को होलान् र हँ !

 

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ ?

सामाजिक हितमा लेखिने निकै थोरै ब्लगहरू छन् । वा भएर पनि तिनीहरूको प्रसार नभएको हो कि?

 

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो ? 

मेरो सबैभन्दा धेरै रुचाइएको ब्लग :

सम्झनामा साइकल,  हजुरआमासँग फोन संवाद,  कथा  (नारायण वाग्लेको पल्पसा क्याफेको अन्त्यलाई भिन्दै ढंगमा लेखेको),  हरिबंश आचार्यबारे प्रोफाइल (नागरिकमा छापिएको), र हराएका मानवशास्त्री प्रा. डोरबहादुर विष्टबारे बिजय पौडेलसँग लेखेको संयुक्त लेख (नागरिकमा छापिएको), यी लेखहरू धेरै साथीहरूले रुचाउनु भयो ।

 

ब्लगिङ गरेर के यो पाएँ वा यो गुमाएँ भन्ने केही छ ?

इमान्दार भएर ब्लगिङ गर्दा पनि गुमाउने कुरा हुन्छन् र ?

 

ब्लगिङलाई केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

ब्लगिङलाई म पत्रकारीताको किल्लामा मात्र बाँध्न चाहन्न। स्वतन्त्र लेखन र पत्रकारीताबीच भिन्नता छ। यद्यपि, ब्लग लेखन अन्त कहिँ कतैबाट प्रेसित नभएका नागरिकका खबरभावहरू अटाउने हुलाक चाहिँ हो ।

 

अन्त्यमा,

मेरो रिपोर्टले गरिरहेको यो प्रयासलाई म प्रशंसा गर्छु । यस ब्लगमा देखिने समाचार लगायतका सामग्रीहरू बिलकुल युवा रुचिका भए गजब हुन्थ्यो ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by sabita Acharya on September 20, 2013 at 4:21pm

Badhai 6

Comment by Brabim Kumar on September 18, 2013 at 11:42pm

Badhai chha sathi !

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service