केहीले 'छि: कस्तो छाडा ब्लग ! नाङ्गाचित्र हालेको र'च' भनेर गाली गर्छन्-बरुण कम्पनी

ट्विटर पछिल्ला दिनहरुमा नेपाली सोसल मिडिया प्रयोगकर्ताहरु माझ निकै चर्चित भर्चुअल प्लेटफर्म बनेको छ राजनितिक, सामाजिक, ब्यङ्ग्य र अरु जुनसकुकै बिचार अभिब्यक्त गर्ने माध्यमका रुपमा । हुन त यसलाइ माइक्रो ब्लगिङ पनि भनिन्छ तथापी यस बिचारप्रति घोर असहमति राख्नेहरु पनि छन् । यही १ सय ४० अक्षरमात्रको सिमितता भित्र आफ्नै 'बिन्दास' पाराले ट्विट गर्ने पात्र हुन बरुण कम्पनी । बरुण कम्पनी भन्छन्-'मेरा ट्वीटमा गम्भीरता खोज्नु स्यालको सिंग खोज्नु सरह हो।' यस अर्थमा उनलाइ सेन्स अफ ह्यूमरले भरिपुर्ण भन्दा पनि फरक नपर्ला । कम्पनीको ट्विट मात्रै नभइ ब्लगमा पनि हाँस्यरसले भरिपूर्ण लेखाइ भेट्न सकिन्छ । मेरो रिपोर्टको साताका ब्लगर स्तम्भमा यसपाली हामीले उनै बरुण कम्पनीसंग गरिएको रमाइलो कुराकानी प्रस्तुत गरेका छौँ । प्रस्तुत छ प्रकाश लामिछानेले गरेको कुराकानी :

 

सुरुमा, परिचय दिन नमान्ने बरुण कम्पनीको दिन मिल्ने र खुलाउन मिल्नेजति परिचय के हो भन्नुस त खुसुक्क?

परिचय दिनै नमान्या त किन हुन्त्यो र ! आफै म फलानो हुँ, चिनिलिनुस न हजुर भन्दै जान खासै टेस पर्दैन मलाइ । केहि राम्रो काम गरेर ल्याइएच भने आफै 'तपाईं ता फलाना हैन र?' भन्दै आइहाल्लान नि ! 

 

ब्लगमा आफ्नो पुरानाम बरुण पोखरेल लेख्नुभएको छ, ट्विटरमा चाँही बरुण कम्पनी भन्नुभाछ, तपाँइको कम्पनी चाँही के नि?

ब्लगाँ भ'को मेरो नागरिकतामा भएको नाम हो, ट्वीटराँ फगत एक ट्वीटे । तेसैले नागरिकताकै नाम क्यार्न चाइयो र ! 

 

सोसल मिडियामा खुबै सक्रिय हुनुहुन्छ तर परिचय लुकाउन चाहने चेष्टा पनि गर्नुहुन्छ, यो अलि बिरोधाभाष भएन र? सोसल मिडिया त मानिसलाइ संजालमा जोड्ने र ब्यक्तिको परिचयको दायरा फराकिलो बनाउने माध्यम पो हो त !

हँसाम्नुन्च फेरी तपैंले नि ! सोसल मिडियामा सक्रिय रे ! त्यै यौटा ट्वीटर चलाको ता हुँ नि ! अरु कतै नामोनिसान छैन के रे । कुरो रह्यो परिचय लुकाको । ट्वीटर चलौने मसँग दोहोरो कुराकानी 'मेन्सन' गर्ने सबैले बरुण भनेर चिनेकै छन्, कसरी लुकाको भओ र ! तर समस्से के भने नि ! म खास्सै सोसियल मान्छे हैन । म फलाना हुँ भन्दै ट्याग भिरेर नि के हिन्नु र । अरुको लागि 'सोसियल मिडिया' चलाको भए पो चिनिनु ! आफ्नै तालाँ एकोहोरो भजन गाउनेलाइ संजाल होस् कि इन्द्रजाल होस् ! 

हुन त कुनैपनि ब्यक्तिको परिचय एउटा मात्रै नहुनसक्छ । एउटा परिचय, उ कुन बंशको हो र कुन थातथलोको हो भन्ने होला भने त्यो भन्दा महत्वपुर्ण उसले के गर्छ भन्ने पनि हुनसक्छ । यस अर्थमा सोसल मिडियामा आफूलाइ कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा, चित्रकारका रुपमा या ब्यंग्यकारको रुपमा?

ट्वीटराँ चिन्नेले बरुण कम्पनी भनेर चिन्चन केरे । अझ धेरैले ता 'कम्पनि' मात्रै भन्चन । बाँकी धेरै उत्तर ता तपैंको प्रश्नमै छ । मिडियामा यस्तै गरि चिनौछु भनेर अझै सम्मन रास्ट्रिय स्तरको गुरुयोजना ले'र आको छैन । जसले जसरी चिनेपनि तेस्तो खासै कुनै हिसापकिताप राखिन्न होला । ट्वीटरकै आधार मान्नी हो भनि ता 'गफाडी' भनेर चिनिनु पर्ने हो ।

 

आफ्नो ब्लगको बारेमा शब्दचित्र प्रस्तुत गरिदिनुस् न !

म ब्लगर हैन | यौटा नेटमा ठिक्क पारेर अरुले तयार गर्देको ब्लगपोस्टमा लगइन गरेर आफ्ना नितान्त ब्यक्तिगत कुरा सङ्ग्रह गरेर राखें भन्दैमा म कसरी ब्लगर? मैले चलाउने ब्लग नितान्त ब्यक्तिगत हो । न कुनै सुचना, न समाचार, न गरमागरम बहस, न जानकारीमुलक सामग्री ! यो मेरो ब्यक्तिगत भकारी जस्तै हो । आफ्ना काम थुपार्‍या छु । फरक यत्ति हो कि जसले पनि गएर 'के राख्या रैच तो यस्ले?' भनेर हेर्न सक्चन ।

 

तपाँइको एउटा ब्लग जुन यो कुराकानी गर्दाका दिनसम्म नवौँ श्रृँखलासम्म पुगिसक्यो, बालाजी टेलिफिल्मले यो स्क्रिप्ट पाउने हो भने टिभी सिरियल नै बनाउनसक्ला । यसको मुख्य पात्र तिर्थे को हो? तपाँइ आफै कि छिमेकी? या यो कपोकल्पित पात्र हो?

यो तिर्थे काल्पनिक पात्र हैन । मेरो जिक्री हो । मैले फोस्रा गफ किन पो 'ब्लगपोस्ट' भित्र थन्क्याउनु र ! फोस्रा गफको लागि ता ट्वीटर जिन्दाबातै छ नि ! तर अब तिर्थ्या र मेरो भेद धेरै खोल्दिन । सप्पै कुरो अहिले नै लेखें भनि भोलिपर्सि ठुलो मान्छे भएसी 'आत्मकथा' बिक्दैन, भयङ्कर घाटा लाग्च । कम्पनि लख्रक्कै डुब्च ।

 

ब्लग लेखन कहिलेबाट सुरु गर्नु भएको हो?

'ब्लग' नै भनेर ब्लगै लेखिएन । ब्लग बनाएर आफ्ना जिनिस ब्लगमा थन्काउन ला'को ३-४ बर्ष भएहोला । 

 

तपाई ब्लगिङ किन गर्नुहुन्छ?

मैले ब्लगस्पट लेखेको नै ब्लगिङ हो कि हैन था छैन मलाइ तर मैले आफ्ना कामहरु थन्क्याउने भकारी जस्तो रुपमा प्रयोग गरेको छु र आफ्ना नितान्त ब्यक्तिगत कुराहरु लेख्ने गरेको छु । 'तिर्थे अध्याय' कै कुरा गर्ने हो भने त्यहाँ लेखिएका कुरा तिर्थे र म बाहेक अहिले पनि गाउँमा खासै कसैलाई थाहा छैन । आफ्नै खोइरो खनेको जस्तो हो । तर क्यार्नु ! त्यो उमेराँ गरेको बहादुरी अहिले गर्न सकिन्न । त्यसैले "फ्ल्यास ब्याक' कहानी हो त्यो । समय बित्दै जाँदा भुल्दै गैएला भनेर टिपेर राखेको हो ।

 

ब्लगकै सन्दर्भमा कुरा गर्दा तपाँइले लेख्नका निम्ति रोज्ने बिषय र पढ्नका निम्ति रोज्ने बिषय एकै हुन या फरक? या भनौँ कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन?

फरक छ । मैले पढेको बिषय या पढ्ने बिषयसँग सम्बन्धित कुरा राख्नपर्‍यो भनेर त्यो ब्लगस्पटमा लगइन गरें । तेसपछी खै क्यार्न मुड परिवर्तन भओ, त्याँण अरुअरु'नि लेख्न थालें । मेरा आफ्नै कहानी नै हुन्चन । मेरो कर्म ''फेन्टासी" हो तर ब्लगका सामग्री वास्तविक । 

 

तपाईंको ब्लग चौरपानी अल्टीमेटमा हाँस्यब्यंग्यले भरिपूर्ण लेखाइका अलावा चित्रहरु पनि रहेछन् । तपाँइ चित्रकारिता पनि गर्नुहुन्छ?

हाँस्यव्यङ्ग्य तपैले कता देख्नु भओ थाहा भएन । वास्तविकतामा आधारित कुरोमा हाँस्नु भओ भनि ता मैले के भनम र ! हजुर, मैले पेशागत रुपमा चाँही चित्रकारिता गर्छु । 

 

सुने अनुसार, तपाँइले बिदेशमा बसेर चित्रकारिताकै अध्ययन गरिरहनुभएको छ रे, केही बताउन मिल्छ?

म र तपैं बाँचीरह्यौं भने जैले सोधे'नि म अध्ययन कै क्रममा हुनेछु । कैले'नि सक्किनी रैन्च यो लतारेर फाल्नी अध्ययन भन्नि कुरो । पढे'नि अध्ययन नपढे'नि अध्ययन । जिन्दगी मध्यान्तर बाट'नि उकालो लाइसक्यो, अध्ययन अझै प्राथमिक तहमै रह्यो । जति पढ्दै गयो उति अप्ठ्यारो हुनी रैच । पढ्छु भन्नु'नि श्वास फेर्चु भन्नु जस्तै रैच ।

 

तपाँइको बिचार या भोगाइ अनुसार चित्रकला कै मात्र ब्लगहरु हुन्छन या हुँदैनन?

हुन्चन । नेपालीका त तेत्ती देख्या छैन, मैले नभेट्या हो कि नगर्‍या हुन् थाहा भएन । बिदेशीका टन्नै हुन्चन । प्रोफेसनलका भन्दा अम्योचरले धेरै ब्लगमा राखेको पाएको छु ।

 

चित्र बनाउने मानिसहरुले त एउटै चित्रको लाखौँ कमाउँछन रे नि है?

कमाउँचन । औद्योगिक उत्पादनको जस्तो तोकिएको मूल्य हुदैन । सुरु सुरुमा मेहेनत र कला बेच्ने हो अलि सस्तोमा । पछी हस्ताक्षर बेच्ने हो महङ्गोमा । 

 

गीत, संगीत, सिनेमा, अक्षरहरु, कथा कविता सबै अभिब्यक्तिका माध्यमहरु हुन, चित्र पनि अभिब्यक्ति कै माध्यम हो भनिन्छ नि ! साँच्चै हो र? 

कुइसन् सोद्या'नि कस्तो केट्केटी पारा होला ! जतिबेला गीत, संगीत, सानिमा, ठुलिमा, कथा, कविता, अक्षर, भाषा केहि थेनन् त्यो बेला अभिव्यक्तिको माध्यम चित्र थ्यो रे । मैले नि प्रत्यक्ष देख्या त हैन तर हाम्ले बच्चै देखि पढ्या कुरो हो । चित्रकला मानव सभ्यता संगसंगै आ'को हो रे । 

 

तपाई चित्र किन बनाउनुहुन्छ?

मेरा भावना अभिव्यक्त गर्न चित्र भन्दा सजिलो अरु कुनै लाग्दैन त्यसैले । 

 

तपाईले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी हेर्नुभाछ?

कैले सुतेर हेर्चु, कैले बसेर हेर्चु कैले बाटोमा मोबाइलाँ चाहिँ हिंड्दै नि हेरिन्च । कैले एउटो आँखो बन्द गरेर हेर्चु, कैले आँखा झिम्क्याउँदै हेर्चु । मेरो हेराइको केइ ठेगानै छैन ।

नेपालाँ सोसल मिडियाको जस्तो प्रगति ता अरु के को भ'होला र ! पुगनपुग तीन करोड नेपाली भएका देशाँ लाखौँ जति फेसबुक अकाउन्ट होलान । ब्लग लेख्नेहरुले भने अति राम्रो गरेका छन् । किताब पढेर नपाइने ज्ञान पाइन्छ ब्लगमा । आफ्ना भावनाहरु मात्र हैन, आफुले जानेका सिकेका, देखेका भोगेका आदि कुराहरु ब्लगमा राखिदिनाले ति पढेर हेरेर धेरै सिक्ने मौका दिएका छन् । धेरैले आफ्नो क्षेत्र अनुसारको ब्लग लेखिदिनाले खोजेको कुरो ब्लगमै पाउन सकिने भएको छ । म जस्ता अंग्रेजीका भुत्ते भाङ्गहरुलाई समेत नेपाली भाषाको ब्लगमै चाहेका कुरा पढ्न हेर्न पाउनु भनेको हामि नेपाली/नेपालीभाषीहरु पनि सोसल मिडिया/ब्लगको क्षेत्रमा गुणात्मक हिसाबले अघि बढ्दैछौं जस्तो लाग्छ ।

सोसल मिडियाकै अर्को साइट फेसबुकमा चाहिँ नेपालीले बाजी नै मारेका छन् जस्तो लाग्छ "पेज बनाउनेमा" । अरुलाई मानमर्दन गर्ने र भुसुना जत्रो सानो कुरोलाई उछालेर अभद्र बनाउनमा प्रमुख भूमिका फेसबुकका अनेक पेजले गरेका छन् । त्यो असभ्यता रोकिए हुन्थ्यो जस्तो लाग्च ।

 

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ? 

हेर्छु/पढ्छु । न्युज पोर्टल देखि लिएर सान्ताबान्ता जोक्स सम्मका ब्लग हेरिन्छ ।

 

सोसल मिडियामा सबैभन्दा धेरै विवाद र चर्चा हुने कुरा यही अभिब्यक्ति स्वतन्त्रताको सवाल हो । केही भन्छन ब्लग होस या सोसल मिडिया, मनमा लागेको कुरा लेख्न पाउनुपर्छ, अभिब्यक्त गर्न पाउनुपर्छ । तर केही भन्छन् लेख्ने या बोल्ने नाममा छाडा र अरुको मानमर्दन गरिनुहुन्न, यस्तो कार्य गर्नेलाइ दण्डित गर्नुपर्छ । तपाईको यसमा के बिचार छ?

स्वतन्त्रताको नाममा संसारमा अफ्रीकाका द्वन्दग्रस्त देशपछी छाडा हामी नेपाली नै त छौं । हाम्लाई छाडापनमा कसले जित्ने र ! तर लेख्न जान्नेहरु कम छाडा छन् जस्तो लाग्च । जो बाटोमा छाडापन (कानुन तोड़ाई, बन्द, हड्ताल,धम्की आदि) गर्छन तिनीहरु ब्लग लेख्न भ्याउन्नन् । त्यसैले ब्लग अहिलेसम्म अपबाद छ जस्तो लाग्च, के भन्नु र अरु त ! हामी स्वतन्त्र हैन अति स्वतन्त्र भएर यो हालत भको हो । लगाम त चाहिन्छ नै ।

 

यही सवालमा ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि निकै उठ्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

अहिले सम्म त आवश्यकता देखेको छैन । कुनै ब्लग छाडा भद्दा अरुको मानमर्दन गर्ने खालको देखेको छैन । ब्लगकारहरु मर्यादित हुनुन्छ । आशा छ, आचारसंहिता बनाउन नपरोस् । अहिलेकै जस्तो संयम ब्लगकारिता रहिरहोस । 

 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न !

तेस्तो त केहि छैन तर कसै कसैले 'छि: कस्तो छाडा ब्लग ! नाङ्गा चित्र (स्केच) हालेको र'च !' भनेर गाली गर्‍या जस्तो गर्चन । तिना'रुले त बुर्का लाएर नुहाउन परोस भन्चु । 

 

ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो?

पैलो कुरो त यी तिनोटैका मालिक फरक फरक पाएँ । दोस्रो कुरो, ब्लग भन्या भकारी हो । ठुलो सानो पछिसम्म राख्न सकिने कुरो भण्डार गर्ने ठाउँ । फेसबुक भन्या कसौंडी जस्तो, भकारी भन्दा सानो, सामान धेरै नअट्ने, पकाएर केई समय राख्न सकिने । ट्वीटर भन्या थाल जस्तो, पस्क्यो, तत्काल खायो, धेरै अट्दा नि अट्दैन, एक्कैछिन राख्यो भने सेलाउँच, टेस पर्दैन ।

 

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ?

तेत्ति धेरै छैनन् । अहिलेसम्म त धेरैजसो व्यक्तिगत भावना लेख्नी ठाउँ भएका छन् तर बिस्तारै हुँदै पनि छन् | जे होस् आशा लाग्दो अवस्ता छ ।

 

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग?

कुनै पनि छैन । कसले कति रुचायो भन्दै पाठक गन्दै बस्नलाइ म लेखक हो र !

 

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता हो त?

नागरिक पत्रकारिता नै त नभनिहालम । अनौपचारिक पत्रकारिता हो कि जस्तो लाग्च मलाइ ता ।

ब्लग लेखनको सेरोफेरोमा केही भन्न मन लागको तर सोध्न छुटिरहेको कुरा केही भए भनिदिनुस् न !

मलाइ 'साताको ब्लगर' भन्ने शिर्षक नै मन पर्दैन । केक्केनै कम्पोटिसन गरेर साताको बने जस्तो ! ब्लग परिचय या ब्लगर परिचय भन्ने जस्तो हुनुपर्ने ।

 

अन्त्यमा,
धेरैका ब्लग लिंक मैले मेरोरिपोर्टबाट नै लिनेगर्छु | मेरो लागि त खास्साको लाग्च के रे । धेरै ब्लगकारहरुको आर्काइभ जस्तो बनेको छ । 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by अल्टर कान्छो’ on May 19, 2013 at 11:53pm

अन्तवार्ता पढेको हो की हास्य व्यंग्य मेसो पाइएन तर पनि बधाइ छ बरुण कम्पनीलाई ।

Comment by Lava Kafle on May 17, 2013 at 5:29pm

exclusive woow

Comment by Ananta Koirala on May 15, 2013 at 1:35pm

सारै टेस परो कम्पनी सम्वाद पढेर :) वधाई दिम् भने युद्ध जितेको हुँ र भन्लान्। जे भए नि कम्पनीको टेस कायम रहोस् भनेर शुभकामना त दिन मिल्छ नि :P

Comment by Pagal Basti on May 15, 2013 at 12:55pm

कम्पनीलाई बधाइ

Comment by Pagal Basti on May 15, 2013 at 12:49pm

कपनिलाई बधाइ

Comment by Umesh Sigdel on May 15, 2013 at 12:36pm

बधाइ छ हाम्रा बरुण कम्पनी लाइ । र अन्तरवार्ता लिने लाइ पनी । अन्तवार्ता नै यत्ती रमाइलो छ भने मानिस कति रमाइला होलान । 

Comment by Krishna Guragain on May 15, 2013 at 12:33pm

धेरै धेरै बधाई :) पढ्न मज्जा आयो ।

Comment by Udaya GM on May 15, 2013 at 11:54am

lau bow lai badhai

Comment by pawan neupane on May 15, 2013 at 11:39am

Congratulation ....

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service