ईमेललाई हुलाकी, फेसबूक/ट्विटरलाई बैठक मान्ने हो भने ब्लगिङलाई नागरिक पत्रकारिता भने हुन्छ-विश्वराज न्यौपाने

औद्योगिक नगरी हेटौँडाका विश्वराज न्यौपाने चिया पसलेका रुपमा हुर्किँदै अहिले समुन्द्रपारीको एउटा निर्माण कम्पनीको अकाउण्टेन्ट छन् । उनी आफूलाई राजनिति र ब्यापारमा चाख राख्ने युवा भन्न रुचाउँछन् र यो जश त्यहि चिया पसललाई दिन्छन् । आफ्ना हजुरबुवा तथा बुवा राजनितिमा सक्रिय भएपनि आफू भने पेशा ब्यवसायमै रहेको तर राजनिति प्रतिको चेतलाई भने निश्क्रिय हुन नदिएको भनाई छ विश्वराजको । सामाजिक संजाल ट्विटरब्लगमा राजनितिमा आधारित टिप्पणीकै कारण विश्वराज पटक-पटक चर्चा तथा विवादमा समेत तानिन्छन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै विश्वराज न्यौपानेलाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :

आफुलाई सोसल मिडियामा कसरी चिनाउन चाहनुहुन्छॽ

सोसल मिडिया मध्ये फेसबुकमा म नितान्त पारिवारिक र स्कुल कलेजका साथीभाईहरुसँग कुरा गर्छु। राजनैतिक चिन्तनका लागि ट्विटर प्रयोग गर्छु। विचार विमर्शको लागि ट्विटर साझा चौतारी जस्तो भएको छ। ब्लगमा चाँही बिशेषत ट्विटको १४० अक्षरले बुझाउन नसकिएका बिषयबारे चर्चा गर्ने गर्छु। यसबाहेक कहिलेकाँही लेखिने केही लघुकथा, गजल र कविताहरु पनि छन्। देशको पछिल्लो राजनैतिक घटनाक्रम र त्यसले निम्त्याएको अस्थिरता र द्वन्दबारे खुलेर मैले आफ्ना फरकमत राख्ने गरेको छु । 

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी सुरु गर्नुभयोॽ

मैले सन् २०१४ अप्रिल देखी ब्लग लेख्न शुरु गरेको हुँ। ट्विटहरु लेख्ने क्रममा विचारहरु केही लामालामा हुन्थे, त्यसलाई क्रमश: ट्विट लेख्नुभन्दा ब्लग लेख्नु उचित हुने सल्लाह धेरैबाट आयो। त्यसपछी ब्लग लेख्न थालें।

केका लागि ब्लगिङ गर्नुहुन्छॽ

ब्लग मेरो ब्यक्तिगत बिचार पोख्ने थलो हो। हरेक सचेत नागरिकलाई देशको परिस्थिति र राजनितिको बारेमा चासो हुनु सामान्य हो। तिनै समसामयिक राजनिति र यसलाई प्रभाव पार्ने अन्य बिषयहरुमा आफ्नो धारणा राख्ने गर्छु ब्लग मार्फत। 

तपाईले http://bishworajneupane.blogspot.com/  बाहेक अरु पनि चलाउनुहुन्छॽ

यही एउटा हो, अरु ब्लग छैनन्। ब्लग नितान्त ब्यक्तिगत बिचारहरुको सङ्ग्रह हो मेरो लागि।

अनि ब्लगिङ गर्न कत्तिको सजिलो छ तॽ

ब्लग आफुनिहित विचार प्रस्फुटन गर्ने थलो भएकोले लेख्न त सजिलै छ तर समय दिन गाह्रो।

आफ्नो ब्लग तथा ट्विटरमा समसामायिक राजनैतिक विषयमा फरक मत राखेर लेख्नुहुन्छ, यो समय सान्दर्भिक नै लागेर हो या चर्चामा आउनलाई मात्र होॽ

मैले ब्लग शुरु गरेकै तिनै फरकमतलाई अझै बुझाउन सकुँ र अरुका राय सुझाव बुझुँ भनेर हो। राजनिति गरेरै चर्चामा आउन रहर छैन। राजनैतिक जोडघटाउबाट बितृष्णा जागेरै मैले अखिल छोडेको हुँ र अहिलेपनि म कुनै राजनैतिक दलको कृयाशिल सदस्य छैन। 

तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनुहुन्छॽ

स्वतन्त्र पाठक भेट्नै मुस्किल पर्छ । ब्यक्ति जुन दल निकट छ उसको धारणा पनि सोही दलको झैं आउँछ पक्कै। कोहिले तपाईंका तिनै मुद्दामा सहमत छु तर खुलेर प्रतिकृया दिन सक्दिन भनेर म्यासेज गर्नुहुन्छ। कोही तपाईंको ब्लग लेखन स्पष्ट र उत्कृष्ट छ तर मुद्दामा सहमत छैन भन्नुहुन्छ। तर हालसम्म पाएका मध्ये संघियताको बिरोध र हिन्दूराष्ट्रको समर्थन गर्नेहरु धेरै छन्।

आफ्ना कुरा ब्यक्त गर्न अहिले युवाहरुले ब्लगिङप्रति आर्कषित भईरहेका छन, नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोगॽ

ब्लग ब्यक्तिगत विचार ब्यक्त गर्ने थलो हो। त्यसलाई सदुपयोग गर्ने वा दुरुपयोग त्यो ब्यक्तिको सोच, उसको सामाजिक जीवन र क्षमतामा भर पर्छ। उसले ब्लगमा ब्यक्त गरेका विचारले पार्ने असर र त्यसले दिने फिडब्याकले सोही ब्यक्तिको परिचय निर्धारण गर्ने हुँदा ब्लगर सचेत हुनु जरुरी छ। 'कर्म अनुसारको फल' भन्छन् नि, त्यस्तै सदुपयोग गरे स्याबास र दुरुपयोग गरे दण्ड सोही रुपमा मिल्छ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिताॽ

ब्लगर भन्नु र नागरिक भन्नु एकै हो। राज्यले मौलिक हक निर्धारण गरेसँगै नागरिकको कर्तब्य पनि निर्धारण गरेको हुन्छ। त्यसैले ब्यक्ति र ब्लगरको लागि छुट्टाछुट्टै आचारसंहिता आवश्यक पर्छ जस्तो लाग्दैन मलाई चाँही। ब्लग ब्यक्तिको बिचार हो। त्यसलाई सार्बजनिक गर्दा राज्यले के के कुरालाई निषेध गरेको छ त्यो बुझ्नु जरुरी छ।

उसोभए नेपाली ब्लगरले आफ्नो मौलिक हक उपयोग गर्दा कर्तब्य पुरा गरेको कत्तिको पाउनुभएको छ त

नागरिकको मौलिक हकले प्रतिबिम्बित गर्ने स्वतन्त्रताको हदसम्मका काम कारबाही नै ब्लगरको आचारसंहिता हो। तर कहीं कतैको पनि सम्पूर्ण ब्यक्ति सभ्य र मर्यादित हुँदैन। मानिस नभए समाज हुँदैन। मान्छे रहुन्जेल समाजपनि अपराधशुन्य हुँदैन। सामाजिक सञ्जाल पनि त्यही सबै किसिमका मनुष्यको साझा चौतारी हो। जहाँ केही गलत ब्यक्तिहरुको उपस्थिती रहन्छ नै। त्यस्ताका लागि राज्यले दण्डसजाय ब्यवस्था गरेकै छ। 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न ।

ब्लग लेख्न थालेको धेरै नभएर र मेरा ब्लग धेरैजसो राजनैतिक विश्लेषणमा केन्द्रित भएर होला रमाईला घटना केही छैनन्। बरु मेरा ट्विटमा उट्पट्याङ जवाफ दिने ब्यक्तिहरुले भने ब्लग हेरेर 'यसमा चाँही म पनि सहमत छु ।' भन्ने खालका जवाफ दिनुहुन्छ। 

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो तॽ

अब 'ईमेल'लाई हुलाकी, फेसबूक/ट्विटरलाई बैठक मान्ने हो भने ब्लगिङलाई पनि नागरिक पत्रकारिता भने हुन्छ । आखिर हुलाकीको काम ईमेलले र छलफल र बिचारगोष्ठीहरु फेसबूक र ट्विटरले धानेकै छन भने विविध क्षेत्रका ब्यक्ति बिशेषले ब्लगिङमा आफ्ना बिचार पोखेकै छन। गैरब्यबसायिक रुपमा कुनै छाता संगठन मातहत नरही स्वतन्त्रपुर्वक आफ्ना बिचार राखिने भएकोले ब्लगिङलाई नागरिक पत्रकारिता भन्दा फरक पर्दैन।  

ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन ॽ

फुर्सदमा अन्तराष्ट्रिय राजनिती र अर्थतन्त्रबारे खोजिनिती गर्न मनलाग्छ। समाचार र राजनैतीक, आर्थिक बहसका कार्यक्रम छुटाउँदिन। लोकगीत सुन्न र गजल लेख्न औधी मनपर्छ।  

अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कत्तिको समाबेश गर्नुभएको छॽ

ब्लगमा राजनिति र अर्थतन्त्र बारे आफुले बुझेका र खोजेका कुराहरु समावेश हुन्छन। केही गजलहरु पनि राखेको छु। ब्यक्तीका बिचारमा उसका रुची छुट्ने कुरै भएन नि !

अन्त्यमा,

धन्यवाद !

 

Twitter: https://twitter.com/Bshworaj 

Facebook: https://www.facebook.com/BishworajNeupane

Blog: http://bishworajneupane.blogspot.com/

 

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Prakash Lamichhane on August 20, 2015 at 10:43am

धेरै धेरै बधाई छ विश्वराजजीलाई । :) 

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service