मोफसलमा ब्लगरहरु संख्यामा कम छन् तर गुणस्तरियतामा कम छैनन्-विनोद शाही

आफ्नो सपना तथा रुची अनुसारकै काम गर्न पाउँदा खुशी छन् सुर्खेतका विनोद शाही । उनी स्थानिय साझा बिसौनी दैनिकको कार्यकारी सम्पादक हुन भने एभिन्युज टेलिभिजनसँग पनि आबद्ध छन । उनी आफ्नो पेशाका कारण ब्यस्त नै हुन्छन् । जति नै ब्यस्त भए पनि शब्दहरुसँग खेल्ने रुचाउने शाहीले आफ्नो ब्लगको नाम पनि शब्दकर्म राखी ब्लग लेखनमा समेत सक्रियता जारी राखेका छन् । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा हामीले यसपाली उनै मोफसलका पत्रकार तथा ब्लगर विनोद शाहीलाई प्रस्तुत गरेका छौ । प्रस्तुत छ उनीसँगको कुराकानी:

विनोद शाहीलाई अरुले कसरी चिन्ने?

खासगरी मलाई अहिलेसम्म चिन्नेहरुले पत्रकारको रुपमा चिन्नुहुन्छ र नचिन्नेहरुलाई पनि म पत्रकारकै रुपमा चिनाउन चाहन्छु । किन भने मेरो सानैदेखिको रुचि पत्रकारिता र लक्ष्य पत्रकार बन्नु थियो । त्यही रुचिलाई पच्छ्याउँदै र लक्ष्यलाई खोज्दै यहाँसम्म आइपुगेको छु । हुन त अलि सानो हुँदा(४/५ कक्षा) मा पढ्दा कसैले ‘भविष्यमा के बन्छस ?’ भनि सोध्दा ‘म शिक्षक बन्छु’ भन्थेँ । तर ८ कक्षामा पढ्दादेखि मैले लक्ष्य परिवर्तन गरेँ र पत्रकार बन्ने सपना देख्न थालेँ जुन आज पुरा पनि भएको छ ।

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ?

सोसल मिडियामा मैले आफ्नो पहिचान नै स्थापित गरिसकेको जस्तो लाग्दैन । यद्यपी समय मिलेसम्म सक्रियता जनाइरहेको छु । खासगरी म आफूलाई अघि भनेझैँ एउटा पत्रकारकै रुपमा चिनाउन चाहन्छु । केहीले ब्लगरको रुपमा पनि चिन्नुहुन्छ । मसँग प्रत्यक्ष चिनजान नभएका केहीले मेरो ब्लग पढेर मसँग परिचित हुनुभएको छ । केहीसँग फेसबुक र ट्वीटरमार्फत चिनजान भएको छ । त्यसकारण ठ्याकै यही भन्दा पनि जजसले जहाँ भेट्नुहुन्छ र जसरी बुझ्नुहुन्छ त्यसैगरी चिनिदिए हुन्छ ।

तपाँइले चलाउने ब्लगहरु कुनकुन हुन?

अँ मैले अहिले यही शब्दकर्म मात्रै चलाइरहेको छु । सुरुमा नयाँ सन्देश भन्ने ब्लग चलाएँ केही समय । त्यो समाचार प्रधान थियो । पछि पाँच जना साथीहरु मिलेर अनलाइनपत्र नाम राखेर अर्को ब्लग चलायौँ, यो पनि समाचारप्रधान नै थियो । यसलाई न्युज पोर्टलकै रुपमा चलाएका थियौँ । हामिले ब्लगमा राखेका समाचारहरु स्थानीय सञ्चारमाध्यमहरुले समेत साभार गर्ने गर्दथे । पछि साथीहरुको व्यस्ततासँगै त्यसलाई पनि त्यसै छोड्यौँ । त्यसपछि ब्लग डिजाईन गर्न सिक्ने उद्देश्यले Shahibinod.blogspot.com नाम राखेर अर्को ब्लग खोलेँ, त्यसलाई पनि बन्द गरेर शब्दकर्म बनाएँ ।

ब्लग नाम शब्दकर्म कसरी राख्नुभयो ?

शब्दकर्मको नामाकरणको अवसर चाँही नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले जुराइदिनुभएको हो भन्दा हुन्छ । सुर्खेतमा आएर उहाँले पत्रकारहरुलाई तालिम दिनुभएको थियो । म पनि त्यसमा सहभागी थिएँ । तालिमकै क्रममा उहाँले ‘हामी शब्दकर्मीहरु शब्दहरुसँग खेल्न जान्नुपर्छ’ भन्नुभएको थियो । त्यही शब्दले मेरो मष्तिष्कमा क्लिक गर्‍यो र त्यही शब्दलाई आफ्नो ब्लगको नाम बनाएँ । पत्रकारहरु शब्दकर्मी नै भएकाले र आफू पनि पत्रकार भएकाले यो नाम सुहाँउदो लाग्यो र ब्लगको न्वारन गर्दा यही नाम राखेँ ।  

आफ्नो ब्लगमा के कुराहरु राख्न बढी रुचाउनुहुन्छ ?

शुरु शुरुमा मैले समाचारहरु राखेँ । मेरो ब्लगमा अहिले पनि सबैभन्दा बढी समाचार नै छन् । तर ती पुराना हुन् । त्यसपछि समय मिलेसम्म कुनै विषय र प्रसंगमा आफूलाई लागेका बिचार पनि राख्ने गरेको छु ।

त्यसैगरी यात्रा, अनुभव, अनुभूति र स्मृतिहरुलाई गन्थन स्तम्भ बनाएर राख्छु भने कुनै पुस्तक पढिसकेपछि पुस्तकका बारेमा आफूलाई लागेको प्रतिक्रियालाई पनि समेट्दै आएको छु । तस्विर, कथा, कविता, मुक्तक र भिडियो समेत राख्ने गरेको छु ।

खासगरी कुनै निश्चित सिमा वा विषयमा भन्दा पनि आफूलाई लागेका र लेख्न भ्याएका कुनै पनि विषयवस्तुलाई मैले ब्गलमा राख्ने गरेको छु । विषयवस्तुको प्राथमिकता तोक्दैन समय मिलेसम्म खेलकुद र साहित्य क्षेत्रसँग सम्बन्धित रहेर लेख्न रुचाउँछु । मेरो ब्लग हेर्नुभयो पनि थाहा पाउनुहुनेछ कुनै खास विषयलाई मैले प्राथमिकता दिएको छैन । कहिलेकाही पत्रकारिता क्षेत्रसँग सम्बन्धित सुचनाहरु पनि राख्ने गरेको छु ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

मैले ब्लगिङ गर्न थालेको धेरै भएको छैन । ३ वर्षजति पुग्न थाल्यो होला । सुरु गर्नुको कारण चाँहि म आवद्ध पत्रिकाको अनलाईन पेज थिएन । सुर्खेतको वीरेन्द्रनगर उपत्यकाभित्र मात्रै पत्रिका पुग्थ्यो । पाठकहरु पनि थोरै थिए । त्यसैले मैले लेखेको समाचार पनि थोरै पाठकहरुमाझ मात्रै पुग्थ्यो । त्यत्तिबेला काठमाण्डौबाट धमाधम अनलाइनहरु सञ्चालन भइरहेका थिए । नयाँ खुल्ने क्रम तिव्र थियो । अनलाईनबाट विश्वभरी समाचार पुग्थ्यो । अनलाईन नै नभएपनि त्यस्तै गरी निशुल्क प्रयोग गर्न सकिने ब्लगको बारेमा जानकारी पाएपछि आफूले लेखेका र निश्चित पाठकहरुमाझ पुग्ने समाचारहरुलाई थप पाठकहरुसम्म पुर्याउने उद्देश्यले नै ब्लगिङ सुरु गरेको हुँ ।

ब्लगमा समाचार लेख्दा जस्तो सिमामा बाँधिनु पर्दैन । आफूलाई लागेको र चाहेको कुरा लेख्न सकिन्छ । कतिपय कुराहरु हुन्छन जो अरुमाझ पुर्‍याउन चाहेको तर माध्ययम नपाइएको तीनै कुराहरुलाई अरुमाझ पुर्‍याउन ब्लग लेख्ने गरेको छु भन्दा हुन्छ ।

ब्लगिङका लागि कति समय दिनुहुन्छ ?

घर निर्माण गरेजस्तो वा सञ्चारमाध्यम चलाएजस्तो कुनै दिर्घकालिन योजना बनाएर वा उद्देश्य राखेर ब्लगिङ गरेको होइनँ मैले । सुरुमा आफूले लेखेको समाचार कसरी धेरै पाठकसम्म पुर्‍याउने भनेर त्यो रहर पुरा गर्न ब्लग लेखियो । अहिले आफू आवद्ध सञ्चारमाध्यममा नसमेटिने तर मलाई अरुसम्म पुर्‍याउन मन लागेका कुराहरुलाई उहाँहरुसम्म पुर्याउनकै लागि ब्लगिङ गर्छु र ब्लगका लागि मैले अहिलेसम्म निश्चित समय छुट्याएको छैन । कुनै कुरा लेख्न मन लाग्यो भने ल्यापटप नजिक भए ल्यापटप खोलेर नभए डायरीमा लेखिहाल्छु त्यसैलाई समय मिलाएर ब्लगमा राख्छु । अफिसका लागि निश्चित समय दिएजसरी ब्लगका लागि दिनुपरेको छैन । समय मिलेको बेला ब्लग लेख्छु र लेख्नुभन्दा बढी अरुका ब्लग पढ्छु ।

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छन, तर निरन्तरता दिन सक्दैनन्, तपाईको विचारमा यसको कारण के होला ?

ब्लगिङका लागि समय छुट्याइरहन जरुरी छैन । तपाइ जुनसुकै समयमा पनि ब्लग लेख्न सक्नुहुनछ । साझ खाना खाइसकेपछिको केही समयलाई मात्रै सदुपयोग गर्न सक्यौँ भने ब्लगिङलाई निरन्तरता दिन सकिन्छ । फेरी हरेक दिन ब्लग लेखिरहनुपर्छ भन्ने जरुरी पनि छैन । अरु काम गरेर बचेको समयलाई अलिकति मिलाएर ब्लग लेख्न सकिन्छ । ब्लगिङका लागि समय मिलेन भन्नु बहाना मात्रै हो कि? पेशागत काममा व्यस्त हुनेहरुले अली बढी समय हुनेहरुले जति धेरै ब्लग लेख्न नसक्लान तर ब्लगिङ नै छोड्नुपर्ने अवस्था चाँहि आउँदैन ।

ब्लगिङ बाहेक तपाँइको अर्को रुचीको बिषय चाँही के हो ?

ब्लग लेख्नुभन्दा अरुको ब्लग अध्ययन गर्नु मेरो मुख्य रुचि हो । यसका साथै पुस्तकहरु अध्ययन विशेष गरी साहित्य र त्यसमा पनि आख्यान पढ्नु मेरो अर्को रुचि हो भने प्रत्यक्ष वा टिभीमा खेल हेर्नु पनि मेरो रुचिको विषय हो । त्यस्तै लक्ष्य अनुसारकै पेशामा आवद्ध भएकाले फिचर समाचार लेख्न पनि उत्तिकै रहर गर्छु । नयाँ नयाँ ठाउँहरुको भ्रमण गर्न निकै मन पर्छ ।

 ब्लगिङ गर्न कस्ता कस्ता चुनौतीहरु छन् ?

ब्लगिङ गर्न सजिलो पनि छ र गाह्रो पनि छ । किनभने यसको कुनै निश्चित सिमा हुँदैन, आफूलाई लागेको कुरा आफूले चाहे जसरी प्रस्तुत गर्न सकिन्छ, यहाँ अरुमार्फत सम्पादन गराउनु पर्दैन, त्यसैले सजिलो छ । तर ब्लग लेख्नु मात्रै पनि ठुलो कुरा होइन आफूले जसलाई टार्गेट गरेर लेखिएको हो उनीहरुलाई मन पर्‍यो कि परेन त्यसको पनि ख्याल गर्नुपर्ने हुन्छ । फेरी विषय वस्तुको पहिचान र छनौट, त्यसको प्रभावकारितालाई पनि ख्याल गर्नुपर्ने भएकाले गाह्रो छ । यतातर्फ ध्यान दिइएन भने ब्लग लेखन आफ्ना लागि मात्रै हुन्छ अरुले पढ्दैनन् त्यसैले गाह्रो पनि छ । ब्लगिङ गर्ने सबैको भाषामा दक्षता नहुनु सबभन्दा प्रमुख चुनौती हो ।

अनि नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग ?

ब्लग प्रयोग गर्नेहरुको संख्या नेपालमा बढ्दो छ । अलि अघिल्ला वर्षहरुमा लेख्ने गरिएको डायरीको विकल्पको रुपमा स्थापित समेत भएको छ ब्लग । कतिपयले आफ्ना दैनिक डायरी नै ब्लगको विषय बनाउनुभएको छ । ब्लगमार्फत थुप्रै र महत्वपूर्ण विषयमा बहस समेत हुने गरेको छ । ब्लगमार्फत थुप्रै ज्ञानवर्द्धक र सुचनामुलक जानकारीहरु समेत लिन सकिन्छ । त्यसैले यसको सदुपयोग नै भएको पाएको छु मैले । दुरुपयोगको अवस्था सिर्जना भइसकेको छैन । तर एकदमै नगन्य मात्रामा ब्लगमार्फत कसैको चरित्रहत्या गर्ने प्रयास समेत भइरहेका छन् यस्ता गतिविधिहरुलाई नियन्त्रण गर्न सके ब्लगले फाइदा नै पुर्याउछ ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?

म आफुले ब्लग लेख्नुभन्दा अरुका पढ्न बढी रुचाउँछु । शब्दचित्र, ऐँजेरु, आफ्ना कुरा, महेश पौड्याल, मेरो रिपोर्ट लगायतका केही ब्लगहरु म नियमित हेरिरहन्छु । यसबाहेकका अन्य पनि छन् । ब्लगमा बिचारहरु, साहित्यिक रचना र कुनै व्यक्तिका बारेमा लेखिएका बायोग्राफी पढ्न रुचाउँछु म तर सकेसम्म सबै खाले ब्लग अध्ययन गर्छु । पत्रकार भएकाले पनि होला सबै विषयमा जानकारी लिनुपर्ने भएकाले खास विषयमा ध्यान दिन्न ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता ?

आचारसंहिता बनाएर मात्रै के गर्नु ! लागु नै हुँदैन । फेरी नियन्त्रण गर्न खोजिएजस्तो पनि होला । तर सम्भावित दुरुपयोगलाई रोक्न प्रभावकारी आचारसंहिता बनाएर कार्यान्वयन गर्दा चै उचित नै हुन्छ ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनुभएको छ ?

नियत नै गलत हुनेहरुले आचारसंहिता बने पनि कार्यान्वयन गर्दैनन् । कहिँकतै कसैको चरित्रहत्या गर्ने तवरले ब्लग लेखिएको देखिन्छ तर त्यो एकदमै न्युन मात्रामा । नभए ब्लगको प्रयोग राम्रै भइरहेको छ ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुहोस् न  ।

त्यसरी उल्लेख गर्नुपर्ने खास घटना त छैनन तर ब्लग पढेर आउने प्रतिक्रियाहरुले खुशी दिलाउँछन् । थप लेख्न प्रेरित गर्छन् । जे होस साथीभाइ र शुभचिन्तक कमाइएको छ । कहिलेकाही अफिसमा लिइएको जिम्मेवारी भन्दा बढी ब्लगमा ध्यान जाँदो रहेछ । यसले गर्दा कहिलेकाही पत्रिकामा नै प्रकाशन गर्न योग्य सामाग्री ब्लगमा राखिँदो रहेछ । केही जनाले सम्पादक ललितबहादुर बुढालाई विनोदले ब्लगमा राखेको त्यो सामाग्री पत्रिकामा राखेको भए राम्रो हुन्थ्यो नी भनेछन् । सम्पादक ललित सरले ‘पत्रिकालाई भन्दा ब्लगलाई बढी ध्यान दिइन्छ क्या’ भन्दा चै आफूलाई पनि त्यस्तै महशुस भएको थियो ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनुभएको छ ?

सामाजिक हितमा पनि थुप्रै ब्लगहरु लेखिएका छन् । मानिस सामाजिक प्राणी भएकाले पनि उसले समाजभन्दा बाहिरको विषय समेट्ने कुरा भएन । फरक यत्ति हो की कतिपय विषय नितान्त व्यक्तिगत मात्र हुन्छन् जसको प्रभावकारीता समाजमा नदेखिनसक्छ । सामाजिक विषयमा लेखिएका ब्लगहरु पछिल्लो समय चर्चित न्युज पोर्टलहरुले साभार गरेर आफ्नो अनलाइनमा समेत राख्ने गरेका छन् ।

ब्लगिङलाइ बैकल्पिक मिडिया अर्थात आफ्ना कुराहरु आफ्नै तरिकाले अभिब्यक्त गर्ने पनि भन्ने गरेको पाइन्छ तर पनि यो अँझै काठमाडौ केन्द्रित मात्र भइरहेको छ र मोफसलमा ब्लगरहरु एकदमै कम छन भन्ने पनि गरिन्छ नि । किन होला ?

अँ हो, वर्तमानमा भएको सत्यता यही हो । मैले पनि शुरुशुरुमा बैकल्पिक मिडियाकै रुपमा ब्लग सुरु गरेको थिएँ अरु धेरैले पनि गरिरहुनभएको छ । तर ब्लगलाई निजी मिडियाको परिभाषा भित्र पार्दा चै त्यो परिभाषाले पूर्णता नपाउला कि? ब्लगको प्रयोग काठमाण्डौ केन्द्रित नै छ । पछिल्लो समय थानकोटको घेरा नाघेर समेत विस्तार भएको छ तर कम नै छ । काठमाण्डौ राजधानी भएकाले सुचना र प्रविधिमा आगाडी हुनु स्वभाविकै हो । तर यसो हुँदैमा काठमाण्डौमा बसेर ब्लगिङ गर्नेहरुको ब्लग उत्कृष्ट र मोफसलमा बसेर गर्नेहरुको कमजोर हुने भने होइन । काठमाण्डौमा बसेका ब्लगरहरुभन्दा सक्रिय ब्लगहरु मोफसलमा हुनुहुन्छ । मोफसलमा ब्लगरहरु संख्यामा कम छन तर गुणस्तरीयता दिनमा कम छैनन् भनेर बुझ्दा राम्रो होला । मोफसलमा ब्लगर कम हुनुको मुख्य कारण विद्युत र इन्टरनेटको सहज पहुँच नहुनु नै हो ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

ब्लगले केही हदसम्म पत्रकारिताको भुमिका पनि निर्वाह गर्दछ तर यसलाई पत्रकारिताको परिभाषा भित्र नसमेट्दा नै उचित ठान्छु म । जसरी विभिन्न माध्यममार्फत गरिने पत्रकारिताको अस्तित्व छ उसैगरी ब्लगको पनि आफ्नै पहिचान र अस्तित्व छ यसलाई त्यही रुपमै स्थापित गर्नुपर्दछ ।

तपाई सोसल मिडियामा पनि सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसल मिडियाका थलोहरु ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो ?

ब्लगले एजेण्डा निर्माणसम्मको काम गर्न मद्दत गर्नसक्छ । फेसबुकले थुप्रै विषयमा बहस गरी निचोड निकाल्न सहयोग पुर्‍याउन सक्छ भने ट्वीटरले कुनै कुराको तत्काल प्रतिक्रिया जनाउन मद्दत गर्छ । त्यसैले यी तीन वटाका आ-आफ्नै विशेषता छन् । कोही एउटै रमाउन सक्छ भने कोही तीन वटैमा रमाउन सक्छ ।

नेपालमा सोसल मिडियाको प्रयोग बढ्दो छ । अन्य निकायको निगरानी सञ्चारमाध्यमहरुले गर्छन भने सञ्चारमाध्यमहरुको निगरामी समेत सोसल मिडियाहरुले गर्दछन् । छिटो र सहज सुचना पाउने माध्यम समेत बनेका छन् सोसल मिडियाहरु । जस्तो केही समयअघि सिन्धुपाल्चोकमा पहिरोले कोशी थुनिएको र त्यसबाट भएको क्षतिका बारेमा अधिकांशले फेसबुक र ट्वीटरबाटै जानकारी पाएका हुन् । कतिसम्म भने अधिकांश पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनहरुले समेत ट्वीटरमार्फत जानकारी पाएर समाचार सम्प्रेशण गरेका थिए । कतै सोसल मिडियाहरु हाल प्रचलनमा रहेका आमसञ्चारमाध्यमहरुको विकल्पको रुपमा स्थापित हुँदै त छैनन् भन्ने प्रश्न खडा भएको छ । 

अन्त्यमा,

मेरो रिपोर्ट टिमलाई धन्यवाद दिन चाहन्छु, मलाई पनि यो अवसर प्रदान गर्नुभएकोमा । साथै आगामी दिनमा पनि यो कार्यलाई निरन्तरा दिनका लागि शुभकामना व्यक्त गर्दछु ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Prakash Lamichhane on September 24, 2014 at 3:52pm

हार्दिक बधाई विनोद । लेखन यात्रा अनि शब्दकर्म मौलाउँदै जाओस् । :) 

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service