नेपालमा सोसल मिडियाको प्रयोग व्यापक हुँदै गएको छ-विजय कुमार पाण्डे

अर्घाखाँची घर भइ हाल बुद्दनगर काठमाण्डौमा बसोबास गर्ने विजय कुमार पाण्डे पेशाले सफ्टवेर डेभलपर हुन् । साथीहरुसँग घुम्न फिर्न मन पराउने, साधारण जीवन शैलीमै रम्न रुचाउने आफ्नो स्वभाव हो भन्छन् उनी । कम्प्युटरसंग सम्बन्धित पेशा भएकोले दिनको धेरै समय कम्प्युटरसँग बित्छ विजयको । प्रविधिसंग संम्बन्धित नयाँ खोज र प्रयोग गर्न मन पराउने उनी आफ्नो पेशा नै सुचना तथा संचार प्रविधिसंग सम्बन्धित भएकाले सोसल मिडिया र ब्लगिङबाट अछुतो रहनै त सवाल नै भएन । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा हामीले यसपाली उनै विजय कुमार पाण्डेलाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?

सोसल मिडियामा म आफुलाई ब्लगरका साथसाथै सफ्टवेर डेभलपरका रुपमा चिनाउन चाहन्छु किनभने सफ्टवेर फिल्डमा सामाजिक सञ्जालको प्रयोग प्रभावकारी बनाउनु आवश्यक हुन्छ।

तपाइले चलाउने ब्लगहरु कुन कुन हुन्? http://www.vkpandey.com.np/ बाहेक अरु पनि छन?

मैले आफ्नो व्यक्तिगत http://www.vkpandey.com.np का अलावा http://www.bscitinnepal.blogspot.com पनि चलाउँछु । यो ब्लगमा चाहिँ कम्प्युटर साइन्स संग सम्बन्धित सामाग्रीहरु राख्ने गरेको छु।

आफ्नो ब्लगमा कस्ता कुराहरु राख्न बढी रुचाउनुहुन्छ?  

मुख्यतया ब्लग आफ्ना विचारहरु पस्कने सजिलो माध्यम भएकाले मैले आफ्नो ब्लगमा विशेषगरि व्यक्तिगत अनुभव, कथा, कविताहरु राख्ने गरेको छु । साथै, ट्वीटरको एक सक्रिय प्रयोगकर्ता भएको नाताले ट्वीटरसँग जोडिएका लेख रचनाहरु पनि राख्ने गरेको छु।

ब्लगिङ गर्नकहिलेलेखि थाल्नुभयो?

मैले ब्लगिङ गर्न सुरु गरेको सन् २००७ मा हो । त्यतिबेला म कम्प्युटर साइन्सको प्रथम सेमेस्टरमा पढ्थें । संयोगवश म त्रिभुवन विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजीको पहिलो ब्याचको विद्यार्थी थिएँ । हामीहरुको कोर्सको पाठ्यक्रम टियुको वेबसाइटमा अपडेट थिएन । पहिलो ब्याच भएकोले सरहरुबाट प्राप्त गर्न पनि ढिलो हुन्थ्यो । त्यसैले पछी आउने विद्यार्थीहरुलाइ पाठ्यक्रम तथा अन्य उपयोगी सामाग्री खोज्न कठिन नहोस भनेर ब्लगिङ सुरु गरेको थिएँ।

केका लागि ब्लगिङ गर्नुहुन्छ?

सुरुमा आफुले पाएको दु:ख अरु विद्यार्थीले पाउन नपरोस् भनेर ब्लगिङ थालें । आठौँ सेमेस्टरसम्म पनि त्यो कार्य जारी राखें । पछि चाहिँ आफ्ना लेख, रचना तथा विचारहरु पस्कन पर्सनल ब्लग सुरु गरें । आजभोली मेरो ब्लगिङ गर्नुको मुख्य उद्देश्य आफ्ना अनुभवहरु पछीसम्मका लागि सुरक्षित होस् र अरुले पनि जान्ने र हेर्ने मौका पाउन् भन्ने हुन्छ।

तपाईंको ब्लगमा कस्ता बिषयबस्तु प्राथमिकतामा पर्छन्?

दैनिक जीवनका तितामिठा अनुभव र साहित्यिक रचनाहरु मेरो ब्लगमा प्राथमिकतामा पर्छन् किनभने मैले ब्लगलाइ आफ्ना भोगाइ तथा अनुभवहरु पोख्ने ठाउँको रुपमा हेर्ने गरेको छु।

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छन, तर निरन्तर ब्लग गरिरहन या ब्लगलाइ समय दिन त गाह्रो छ नि है?

ब्लगिङ भनेको विवाह जस्तै रहेछ । विवाह गर्न पनि सुरुमा प्राय: सबैले रहर गर्छन्, पछि पारिवारिक जिम्मेवारीबाट सकभर अलग रहन खोज्नेहरु पनि हुन्छन् । ब्लगिङमा पनि सुरुमा रहर गर्ने, पछि लेख्ने चीज भएन भनेर पन्छिन खोज्नेहरु हुन्छन्। म चाहिँ जति ब्लगिङ गर्‍यो उति रमाइलो हुन्छ भन्छु ।

ब्लगिङका लागि समय दिन त गाह्रो छ नि ! विद्यार्थी जीवनमा होस् या पेशागत जीवनमा, दिनभरिको थकानपछी राति आएर कम्प्युटरको स्क्रिन अगाडी बसेर किबोर्ड ठोक्नु पनि एक किसिमले चुनौती नै हो। तर रुची नै भइसकेपछि खाने मुखलाई जुंगाले कहाँ छेक्छ र !

ब्लगिङ बाहेक तपाँइको अर्को रुचीको बिषयचाँही केहो ?

म पप तथा आधुनिक गीतहरु लेख्ने गर्छु । त्यस्तो गीत लेखेरै चिनिने मौका त पाएको छैन त्यै पनि धैर्यता अपनाएको छु ।

तपाई सोसल मिडियामा पनि उत्तिकै हुनुहुन्छ । नेपालमा सोसल मिडियाको प्रयोग कस्तो  भइरहेको पाउनुभएको छ?

नेपालमा सोसल मिडियाको प्रयोग व्यापक हुँदै गएको छ । यसले चेतनाको स्तर पनि बढाएको छ । पहिला जस्तो अरुले जे भन्यो त्यै होला भनेर बस्ने जमाना छैन । एकछिन मै वास्तविकता सबैमाझ पुर्‍याउन सामाजिक सञ्जालले ठुलो टेवा पुर्‍याएको छ। तर कसैकसैले सोसल मिडियालाई गलत प्रयोग गरेको पनि पाइन्छ जुन ठिक होइन ।

अनि नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग?

अलिअलि दुरुपयोग पनि भएको छ। अश्लिल सामाग्रीहरु राख्ने, मानहानी गर्ने, अरुको बौद्धिक सम्पति बिना अनुमति कपी गरेर आफ्नो ब्लगमा राख्ने जस्ता कामहरु पनि भएका छन्। तर नराम्रा कामको तुलनामा राम्रा र उपयोगी कामहरु धेरै भएका छन्।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?

मैले सामाजिक सञ्जालमा साथीहरुले शेयर गर्ने प्राय ब्लग लिंकहरु खोल्ने गरेको छु। पहिलोपटक खोलेर हेर्दा राम्रा लागेका ब्लगहरुमा चाहिँ पछि फुर्सदको समयमा पनि गइरहन्छु । मैले प्राय: पढ्ने ब्लगहरुमा लेनिन दाइ, कुलरिम्स दाइ, सानोकेटो, सन्तोष कटुवाल, छड्के, मान्ठा, निश्चल नबीन आदिका ब्लग पर्छन।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरा पनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता ?

ब्लग चलाउने मान्छे सबै शिक्षित नै हुन्छन् त्यसकारण ब्लगरले नै आफै बुझ्नुपर्छ हामीले राखेका सामाग्रीहरु कति ठीक छन्, कति बेठीक छन्, यसले समाज र देशलाई कस्तो प्रभाव पार्छ भनेर । त्यसकारण आचारसंहिताले बाँध्ने भन्दा पनि ब्लगरहरुले सेल्फ सेन्सरसीपलाइ महत्व दिनुपर्छ। यति गर्दा पनि ब्लगका सामाग्रीहरु सामाजिक सद्भाव तथा राष्ट्रिय हित विपरित भए भने आचारसंहिता लगाउनै पर्ने हुन्छ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालनाभएको पाउनुभएको छ ?

यदि तपाइले भन्न खोज्नुभएको आचारसंहिता प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासंग जोडिएको हो भने पुरा परिचय खुलेका र जिम्मेवार व्यक्तिबाट संचालित, नियमित अपडेट हुने, सूचना तथा सन्देशमुलक  ब्लगहरु आचारसंहिता बमोजिम नै चलेको देख्छु।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइदिनहोस न ।

छन् । अस्ति भर्खर पनि मेरो नयाँ ब्लग पोष्ट “ढकुली” को कथा मेरै गाउँको परिवेशसंग मिल्दोजुल्दो लाग्यो, ढकुली नाम गरेकी केटीलाइ मैले पनि चिन्छु, “तपाइँ बिउकोटको हो र?” भनेर ट्वीटरमा एक जना साथीले सोध्नुभएको थियो ।

तपाइ सोसल मिडियामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ, हामी कहाँ प्रयोगमा आइरहेका सोसल मिडियाका थलोहरु ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो?

ट्वीटरलाइ माइक्रो ब्लगको रुपमा हेरिन्छ । यसमा शब्दको बन्धन हुने हुनाले सबै कुरा एकै पोष्टमा लेख्न सम्भव हुँदैन। छोटो, मिठो तथा घत लाग्दो कुरा ट्वीटरमा लेख्नु उपयुक्त हुन्छ। अनि, अलिक ठुला रचनाहरु ब्लगमा लेख्नु उपयुक्त हुन्छ। फेसबुकलाइ चाहिँ पारवारिक तथा साथीसंगीसँगको जमघटको थलो बनाउनु उपयुक्त हुन्छ जस्तो लाग्छ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनुभएको छ?

थुप्रै नै छन् जो सामाजिक हितमा लेखिएका छन्। मैले पनि सामाजिक हितकै लागि ब्लगिङको सुरुवात गरेको थिएँ जो कम्प्युटर साइन्स पढ्ने विद्यार्थी वर्गमा लक्षित थियो। अरु कयौं टेक्नोलोजी रिलेटेड तथा समाचारमुलक ब्लगहरु छन् जो सामाजिक हितकै लागि छन्।

ब्लगिङलाइ ब्यक्तिको निजी मिडिया नि भन्ने गरेको पाइन्छ र यो अँझै काठमाण्डौ केन्द्रित मात्र भइरहेको छ पनि भन्ने गरिन्छ नि। किन होला ?

अहिलेको सन्दर्भमा ब्लग तथा सामाजिक सञ्जालहरु बैकल्पिक मिडिया नै हुन् भन्ने विचारसंग म सहमत छु किनकी आजको जमानामा पत्रिकामा छापिएका, टिभीमा देखिएका वा रेडियोमा सुनिएका कुरा मात्र सबै सत्य हुन् भन्ने होइन । एउटा सामान्य मानिसले पनि कुनै बिषयमा खोज अनुसन्धान तथा अध्ययन गरेको हुनसक्छ त्यस्ता कुरा ब्लगमा राखियो भने त्यसले स्वाभाविक रुपमा मिडियाको काम गर्छ। अझ भनौं आजको जमानामा हरेक नागरिक प्रेस पास बिनाका पत्रकार हुन सक्छन।

ब्लगरहरु काठमाडौँमा केन्द्रित हुनु स्वाभाविकै हो। कम्प्युटर, ल्यापटप, आइप्याड तथा ट्याबजस्ता साधनहरु चलाउने ठुलो जमात काठमाडौँ मै केन्द्रित छ। त्यस्तै शैक्षिकप्राज्ञ, अनुसन्धानकर्ता तथा पत्रकारहरुको ठुलो हिस्सा काठमाडौँ मै भएको र देशको राजधानी पनि भएकोले यो स्वाभाविक नै हो।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारितापनिभन्ने गरेको पाइन्छ, केब्लगिङ नागरिक पत्रकारिता नै हो त?

ब्लगिङलाइ नागरिक पत्रकारिता भन्न मिल्छ तर सबैको हकमा त्यो लागू नहुन पनि सक्छ। कसैको व्यक्तिगत अनुभूति तथा भोगाइलाइ समेटिएको ब्लग र समाचार तथा सूचनामुलक ब्लगलाइ कसरि हेर्ने !

अन्त्यमा,

तपाईहरुले राज्यले समेत राम्रोसँग ध्यान दिन नसकेको तर गम्भीर बिषय ब्लगिङका बिषयमा बहस थाल्नुभएको छ, ब्लगरहरुलाई प्रोत्साहन दिनुभएको छ, यो राम्रो कुरा हो। अन्त्यमा, मेरो रिपोर्टमा मलाई साताको ब्लगरको रुपमा छनोट गर्नुभयो त्यसका लागि आभार व्यक्त गर्दछु।

 

 

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Prakash Lamichhane on June 11, 2014 at 7:19pm

बधाई छ साताका ब्लगर भएकोमा बिजयजीलाई । :)

Comment by Amuna Chapagain on June 11, 2014 at 5:25pm

बधाई छ विजय जी  ! 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service