सोसल मिडिया मेनस्ट्रिम मिडियाका फिडब्याकका स्रोत हुन् - विज्ञान शर्मा

आमसंचार तथा पत्रकारिताका अध्यापक विज्ञान शर्मा मिडिया अध्ययन अनुसन्धानमा खास रुची राख्छन् । यसका अलावा उनी ब्लगिङ र सामाजिक संजालहरुमा अन्तरकृया गर्न पनि उत्तिकै रुचाउँछन् । केही समय नेपालन्युज डटकममा सम्पादकिय जिम्मेवारी समेत सम्हालेका विज्ञान खासगरी सोसल मिडिया र मुलधारका मिडियामा हुने बहसहरुलाइ आलोचनात्मक दृष्टिले बिश्लेषण गरिनुपर्ने बताउँछन् । मेरो रिपोर्टको साताका ब्लगर स्तम्भमा यस पटक हामीले उनै विज्ञानलाइ उभ्याएका छौँ । प्रस्तुत छ प्रकाश लामिछानेले विज्ञान शर्मासंग गरेको कुराकानी :

ब्लग लेखन कहिलेदेखि शुरू गर्नुभयो?

ब्लग लेख्न थालेको करिब चार वर्ष भइसक्यो तर एकवर्ष यता अलि सक्रिय छु ।

के का लागि ब्लग लेख्नुहुन्छ?

लेख्ने त आत्मसन्तुष्टिका लागि नै हो । मनका लागेका कुराहरू लेखिन्छ, यात्रामा कैलेकाँही भिडियो खिचिन्छ र लेखहरू पनि बेलाबेलामा लेखिन्छ । त्यत्तिकै थन्काउनुभन्दा साथीभाइहरूले हेरून् भनेर ब्लग पोस्ट गर्छु । यो एकप्रकारको फन पनि हो ।

आफ्नो ब्लगमा खासगरी कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ?

मनमा लाएका कुरा जो नितान्त इन्फर्मल हुन्छन्, त्यसलाइ डायरी भनेर क्याडेगोराइज् गरेको छु । त्यसबाहेक विभिन्न विषयमा लेखिएका लेखहरू, अन्तर्वार्ताहरू पनि राख्ने गरेको छु । केही समय यता ट्वीटरमा धेरै साथीहरू कथाकार बन्नुभएको छ । मलाइ पनि कविता, कथा लेख्ने रहर चाँही छ है । ब्याचलर पढ्दासम्म लेख्थेँ तर अहिले लेख्न त बस्छु, जति घोत्ले पनि अघि बढ्दैन ।

सोसल मिडियामा आफुलाइ कसरी चिनाउन चाहनुहुन्छ एउटा ब्लगरका रुपमा या संचारक्षेत्रमा कृयाशिल ब्यक्तिका रुपमा?

सोसियल मिडियामा छिरेपछि यसै पनि ब्लगर भइहालियो तर मेरो अध्ययन अध्यापनको क्षेत्र मिडिया नै भएकाले म यसबाट अलग रहन सक्दैन । संचारकर्मीभन्दा पनि अध्ययन अध्यापन मेरो रूचिको विषय हो ।  

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

वास्तवमा नेपाली ब्लगको क्षेत्र एकदमै क्रान्तिकारी ढंगले अगाडि बढेको छ । युवापुस्ताले यसलाइ अभिव्यक्ति र विचार प्रवाहको बैकल्पिक माध्यम बनाएका छन् । धेरै राम्रा राम्रा ब्लगहरू छन् जसका अफ्नै खालका पाठक छन् । ब्लगरहरू बढ्दै जाँदा रचनात्मक सिर्जनाको क्षेत्र झन् फराकिलो हुँदै गएको छ ।

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ?

त्यस्तो खास अनुभव छैन । मलाइ प्रत्येक ब्लग पोस्टले उत्साही बनाउँछ । त्यसमाथि ब्लगको भ्युज बढ्यो भने त खुसी नलाग्ने कुरै भएन ।

कुनै बिवादास्पद बहसहरुमा सहभागी हुँदाको घटनाहरु छ केहीजसले आफुलाइ सोसल मिडियाको प्रयोगका बारेमा सचेत गराएको होस् !

विशेषगरी ट्वीटरमा यस्ता बहसहरू हुने गर्छन् । विशेष गरी गालीगलौजको सन्दर्भमा म सचेत छु । कैलेकाँही मन नपरेको विषय वा मान्छेको बारेमा प्याच्चै अपशब्द बोल्ने प्रवृत्ति पनि नदेखिएको हैन । नेपालका वरिष्ठ पत्रकारदेखि प्रधानमन्त्री बाबुराम भट्टराईका अभिव्यक्तिसमेत विवादास्पद बन्दै अएका छन् । साँच्चै भन्ने हो भने सोसियल मिडिया के हो? यसलाइ कसरी ह्यान्डल गर्ने भन्नेबारे यस्ता सेलिब्रटीहरू सचेत हुनुपर्छ जस्तो लाग्छ मलाइ । तर मलाइ के लागेको छ भने ट्वीटरमा हुने बहसको दायरा एकदम सानो छ । समस्या निकाल्ने, बहस गर्ने, निष्कर्ष निकाल्ने सबै दुइ चार जना हुन्छन् । खासमा सुन्ने र कार्यान्वयन गर्ने पक्ष यहाँ छैन । प्रधानमन्त्रीको प्रवेशपछि चाँही ट्वीटर अलि तातेको छ ।

तपाईंले केही समय नेपालकै पुरानो न्युजपोर्टलमा रहेर मुलधारको संचारकर्मको अभ्यास समेत गरिसक्नुभएको छ, नेपालमा इन्टरनेट वा न्यु मिडियाले संचारकर्ममा कस्तो योगदान गरेको जस्तो लाग्छ?

इन्टरनेटले सुचनाको दुनियामा क्रान्ति नै ल्याएको छ । सन् २००० देखि २०१२ सम्म आइसक्दा एशियामा इन्टरनेट प्रयोगकर्ताको संख्या ८ सय प्रतिशत भन्दा धेरैले बढेको छ जबकी युरोपियन र अमेरेकीहरू यो बृद्दिदरबाट पहिले नै गुज्रिसके । त्यसैले अब न्यु मिडियालाइ शशक्त बनाउने पालो नेपाल जस्तै विकासशील मुलुकको हो । अमेरिकाको न्युजविक प्रिन्ट भर्सन बन्द भएर अनलाइनमा सिमित भइसक्यो । के थाहा, अबको बीस वर्षपछि नेपालमा पनि त्यस्तो अवस्था आउँछ कि ! तपाइ अनुसन्धान नै गर्नुस्, नेपालमा प्रिन्ट मिडियाका पाठकहरू घटिसकेका छन् । ट्वीटरबाट तपाइ न्युजपोर्टलभन्दा चाँडो सुचना पाउनुहुन्छ । स्मार्टफोनको प्रयोग बढिरहेको छ । सुचना अब एक क्लिकमात्र टाढा छ । तर सुचनाको विश्वसनियतामा चाही शंका गर्ने ठाँउ चाँही छन् । नेपाली अनलाइनका समाचारमा चित्त बुझाउने ठाउँ बनिसकेको छैन । नेताका भाषण छाप्ने ठाउँ मात्र बनेका छन् ती । तिनमा पाठकलाइ होल्ड गर्न सक्ने सामग्री छैन ।

संचारकर्मका लागि अबको युगमा इन्टरनेटको महत्व के?

इन्टरनेटविना त के सञ्चाकर्म गर्न सकियता र अब ! बानी पनि धेरै विग्रिसक्यो । अब त मान्छेहरू अफ्नो प्रोलाइल वा वायोडाटा पीसीमा भेटिएन भने गुगल सर्च गर्छन् अनि कपि गरेर पीसीमा राख्छन् । झन् समाचारजन्य सामग्रीको पृष्ठभूमि बुझ्नेदेखी लिएर बढीभन्दा बढी पाठकलाइ अफ्नो सामग्री पढाउन इन्टरनेटको सहारा अपरिहार्य भइसक्यो ।

नेपालमा मुलधारका मिडियाले उठाउने बहस र सामाजिक संजालहरुमा बहसहरु उस्तै उस्तै छन् कि भिन्न भिन्न छन?

मेरो मुल्यांकनमा सामाजिक सञ्जालहरूमा पत्रकारहरू वा पत्रकारितामा चासो राख्नेहरूको प्रभाव ज्यादा छ । उनीहरूले मिडियाले गर्ने कमि-कमजोरीका बारेमा खबरदारी गरिरहका छन् । कमि-कमजोरीहरू देखाइदिएका छन् । अहिले मूलधारका पत्रपत्रिकालाइ आलोचकीय दृष्टिकोणले हेर्नुभो भने अचम्म लाग्छ- यिनीहरूको अपरिपक्वता देखेर । उदाहरण दिउँ, देशको प्रभावशाली पत्रिकामा छापिएको फोटोमा क्याप्सनमा 'डराएर बाटो काट्दै एक बटुवा', 'पोखरीमा रमाइरहेको हाँस' जस्ता क्याप्सन देख्नुहुन्छ । नेतादेखि जनाताको अनी कुकुरदेखि चराचुरूंगीको मनको कुरा बुझ्ने बानी पत्रकारहरूलाइ परेको छ । एकदमै सामान्य समाचारमा समेत स्रोतले बतायो भनेर समाचार लेख्ने चलन बढिरहेको छ । त्यो स्रोत को हो के हो, पाठकलाइ थाहा हुँदैन । यस्तै भइरह्यो भने त हाम्रो पत्रकारिताको स्तर खस्कन्छ, यो दोष ठूलै मिडियालाइ जान्छ । सामाजिक सञ्जालले यसलाइ निगरानी गर्नुपर्छ जस्तो लाग्छ मलाइ ।    

इन्टरनेटकै माध्यममा अधारित सामाजिक संजाल अचेल निकै लोकप्रिय हुँदै गइरहेका छन् । खासगरी ब्लगिङ, फेसबुक र ट्विटरले मानिसहरुलाइ बहस गर्ने थलो उपलब्ध पनि गराएको छ ।  मुलधारका मिडियाले यस्ता बहसलाइ स्थान नदिने हुँदा मानिसहरु बैकल्पिक मिडियाको खोजी गर्दै ब्लगिङ र सोसलसाइटमा रमाएका त हैनन्?

हो पनि हैन पनि । कुन अर्थमा सत्य हो भने ठूला मिडियाहरू पूर्वाग्रहबाट ग्रसित छन् । कि तपाइको चिनजानको व्यक्ती ठूलो मिडियामा हुनुपर्यो कि तपाइ भेटेरान नै हुनुपर्यो त्यहाँ स्थान पाउन । चांङका चांङ लेखहरू फाइलमा थन्केको हुन्छ तर त्यहाँ गम्भीर रूपले पढेर मुल्याँकन गर्ने अनी छाप्नका लागि प्राथमिकतामा तोक्ने जाँगर नभएर हो अथवा पेशाको गम्भीरता नबुझेर हो, नयाँ लेखकहरूले सितिमिति चान्स पाउँदैनन् र निराश हुन्छन् । त्यसमाथि मिडियाका अफ्नै खालका रूचि हुन्छन् । तपाइले उठाउन चाहेको बहस उनीहरूको रूचिमा नपर्न पनि सक्छ, त्यसैले छापिदिन्नन् वा उठाउँदैनन् । यस्तो बेला सोसल मिडिया नै हो हामीले प्रयोग गर्ने । तर मलाइ लाग्छ, मूलधारका मिडियाहरूले यो कुरा बुझ्दै पनि गइरहेका छन् ।  

सोसल मिडियाले उठाएका यस्ता बहसले मुलधारका मिडियालाइ सहयोग गर्छ, फरक पार्दैन या अब मुलधारका मिडियाले बिषयबस्तुका बारेमा सोच्न जरुरी छ? के लाग्छ यहाँलाइ?

सोसल मिडिया र मेनस्ट्रिम मिडियालाइ म परिपुरकको रूपमा हेर्छु । तीन अर्थमा: एक मेनस्ट्रिम मिडियालाइ धेरैभन्दा धेरै पाठकमाझ पुग्न सोसल मिडिया चाहिन्छ । दुइ, सूचनाको प्रारम्भिक खोज सोसल मिडियाबाट गर्न सकिन्छ । तीन, सोसल मिडिया मेनस्ट्रिम मिडियाका फिडब्याकका स्रोत हुन् ।

तपाइको सबैभन्दा धेरै हेरिएको ब्लगपोष्ट कुन हो?

खासमा ब्लगपोस्ट नियमित भयो र त्यसको प्रचार भयो भने धेरै पढिने हो । दुबै मामलामा म कमजोर छु । ब्रीटिश आर्मी चिफ Gen. Sir Peter Anthony Wall,नेपाल आउँदा नेपाल न्युजका लागि अन्तरवार्ता लिएको थिएँ November मा । संयोगबश अरू कुनै मेनस्ट्रिम मिडियामा उहाँका अन्तरवार्ता अएन । ब्लगमा पनि त्यो अन्तरवार्ता राखेको थिएँ । ठिकै भिजिट थियो । त्यसबाहेक मिडियासँग सम्बन्धित लेखहरू पनि साथीभाइहरूले रूचाइदिनुभएको छ । तपाइले भने जस्तै पेज भ्यु बढ्दैमा त्यो सामग्री क्लिक मात्र गरिएको हो की पढेको हो, केही थाहा हुँदैन । यती हिट भयो भनेर चित्त बुझाउने मात्र हो ।

अरुको ब्लग कत्तिको हेर्नुहुन्छ? केही छन् सम्झिएका ब्लगहरुको नाम लिनुपर्दा?

हेरिन्छ तर यही भन्ने छैन । साथीहरूले ट्वीटर, फेसबुकमा लिंक शेयर गरिरहनुभएको हुन्छ । त्यही बेला के रैछ भनेर क्लिक गर्छु । माइसंसार अली ज्यादा रोचक लाग्छ । त्यसबाहेक  लेनिन, अनन्त, इन्द्र, संजिव, जनक, रूपेश, बाबाजी लगायतका साथीहरूको ब्लग हेरिन्छ । अरू थुप्रै साथीहरूको पनि हेर्छु ।

कसरी पुग्नुहुन्छ अरुको ब्लगसम्म

ट्वीटर वा फेसबुकमा लिंक शेयर मार्फत पुगिन्छ प्राय: । रेगुलर भिजिट खासै गरिदैन । म ब्लगको युआरएल एकदम कम सम्झन्छु ।  

अनलाइन सामग्रीहरु र न्यु मिडिया प्लेटफर्ममा हुने बहसहरु हेर्दा पछिल्ला दिनहरुमा उपभोक्ताहरुको रुचि केमा धेरै रहेको पाउनुहुन्छ, आमसंचार क्षेत्रको अध्येताका हिसाबले भन्नुपर्दा?

मलाइ लाग्छ पाठक, दर्शक, स्रोता मास मिडियामा आउने नेताको भाषण र राजनितक गफबाट निराश छन् । त्यो सोसल मिडियामा पनि देखिन्छ । समाचार सामग्रीको छनोट, प्रस्तुतिको तरिका, समाचारको एंगलिंगदेखि गेटकिपिंगसम्म यहाँ समस्या देखिन्छ । मानिसलाइ फरक विषयबस्तु र प्रस्तुतिमा फरक स्वाद चाहिएको कुरा सजिलै बुझ्न सकिन्छ । सामग्री संकलन गर्न साधन-स्रोतको सञ्चारकर्मीलाइ अपुग हुनु, दक्ष मानवीय संसाधनको अभाव, नीतिगत तहबाटै पाठक रूचि बुझ्ने र त्यसलाइ संबोधन गर्ने संस्कारको अभाव यसका कारण हुनसक्छन् । तथापि केही पत्रपत्रिकाले  भने राम्रा तथा गम्भिर विषयलाइ उठाइरहेका छन् ।

पेशागत कुराहरु वा पेशागत बहसहरु गर्न कत्तिको मन पराउनुहुन्छ ब्लगमा?

पेशागत कुराहरुहरूमा रूचि नहुने त कुरै भएन । विशेषगरी पत्रपत्रिकाका हेरेपछि केही कुरा मनमा खेलिरहेका हुन्छन् । कहिलेकाँही त लेखिन्छ कहिले भने मनको कुरा ब्लगमा आइनपुग्दै हराउँछ । 

हामीकहाँ सोसल मिडियामा हुने बहस र ब्लगिङ मार्फत गरिएका बहस एकै खाले छन् कि फरक फरक छन?

सोसल मिडियामा समान्य रूपमा विचार अभिव्यक्ति मात्र हुनसक्छ, बहस पनि हुन्छ तर कहिलेकाँही तर यी फोरम च्याटबक्स जस्तो पनि देखिन्छ । ब्लगमा चाँही या त कथा, कविता जस्ता साहित्यिक सामगी पोस्ट गरिन्छ या विचार । यसरी हेर्दा विषयबस्तुलाइ केलाउने, अध्ययन, विवेचना गर्ने कोणबाट ब्लग पनि ससक्त छन् । सोसल मिडियाको बहस एकैछिनमा आउँछ एकैछिनमा हराउँछ । एक घन्टा अघि के भइरहेको थियो भन्ने कुरा मेरो टाइमलाइनमा भेटाउनै गाह्रो हुन्छ तर ब्लग बिस्तारै पढ्न सकिन्छ ।

तपाइको विचारमा सामाजिक संजाल के हो

धेरैभन्दा धेरै मानिसकहाँ सन्देश पुराउने वैकल्पिक माध्यम, त्यो विज्ञापन, विचार, सुचना, समाचार जे पनि हुनसक्छ ।

मुलधारको पत्रकारिता र ब्लग मार्फत गरिने नागरिक पत्रकारिता बिच केहि फरक छ ?

अवश्य फरक छ । सूचना र प्रविधिको युगमा हरेक नागरिकहरू आफुले देखेका समाचार वा विचार आम-नागरिकमा पुर्याउन सक्छन भन्ने मान्यताका अधारमा सुचित तर मेनस्ट्रिममा पहुच नभएका नागरिकलाइ सम्मान दिने अर्थमा नागरिक पत्रकारिताका भन्ने चलन सुरू भएको हो । खासमा पत्रकारिताको सैद्दान्तिक पक्षबाट हेर्ने हो भने नागरिक पत्रकारिताको कुनै वैधता रहँदैन । किनकि सबै ब्लगर पत्रकारहरूलाइ पत्रकारिताबारे ज्ञान हुन्छ भन्ने पनि छैन । त्यसैले सूचनाको विश्वसनियता प्रस्तुति जस्ता कुराहरू पत्रकारिताको अभ्यास र व्यवहारसँग मेल नखान सक्छन् । तर मूलधारको पत्रकारिता सामग्री, प्रस्तुती, विश्वसनियता, पाठकीय रूचिका हिसाबले निकै परिपक्व हुन जरूरी छ । ब्लगर व्यक्ति हो भने मुलधारका मिडिया संस्था हुन् । त्यसैले यी दुइ नितान्त फरक कुरा हुन् । तर, समानता के छ भने दुवै संचारका साधन हुन् ।

ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि चाहिन्छ भन्ने बहस पनि छ एकातिर, तपाइलाइ के लाग्छ, के यो जरूरी छ ?

मलाइ लाग्दैन कि ब्लगिङलाइ व्यवस्थित बनाउन अचारसंहिता नै चाहिन्छ । मैले अघि पनि भने ब्लग व्यक्तिगत हो इन्टिच्युसनल हैन । त्यसैले कसका लागि कसले अचारसंहिता बनाउने भन्ने कुरा आउँछ । फेरी अनलाइनको दुनियाँ यति विशाल छ कि को ब्यक्तिले कहाँ के पोस्ट गर्यो भन्ने कुरा कसले हेर्ने । यो नितान्त असम्भव कुरा हो । यदी कसैले पोस्ट गरेको सामग्रीले कुनै पनि व्यक्तिलाइ मानहानी, वेइज्जति वा कुनै पनि प्रकारको अन्याय गर्छ भने त्यसका लागि कानुनी उपचारमा जान सकिन्छ । ब्लगिंग गर्ने व्यक्ति संचारकर्मी हो किनभने उ मासमा जान्छ, त्यसलै उसले व्यक्तिगत तहमा नैतिकता र इमान्दिरी देखाउने हो । अचारसंहिता त औपचारिकता मात्र हो ।

अन्त्यमा,

नागरिक पत्रकारितालाइ प्रवर्धन गर्नुभएको छ । राम्रो छ । मेरो कुराहरू राख्ने अवसर दिनुभएकोमा धन्यवाद । 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Bigyan Sharma on January 31, 2013 at 8:44am

बधाइ दिने सबैलाइ धन्यवाद । वास्तममा म कृष्ण सरको ब्लग पनि हेर्छु है । भन्न छुटाएछु । 

Comment by Krishna Guragain on January 30, 2013 at 2:48pm

बधाई छ बिज्ञान जि :)

Comment by Amuna Chapagain on January 30, 2013 at 2:44pm

बधाइ छ

Comment by sherbhhadur bhujel on January 30, 2013 at 11:37am

बधाइ छ ल 

Comment by Prakash Lamichhane on January 30, 2013 at 11:29am

बधाइ छ साताका ब्लगरलाइ । :)

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service