सोसल मिडियामा असभ्य लेख लेख्नेलाई पाठक आफैले नकार्दैजान्छन्-बिज्ञान लोहनी

चितवनको भरतपुरका बिज्ञान लोहनी हाल आएर काठमाडौँको कलंकीमा स्थायी रुपमै बसोबास सरिआएका छन् । पब्लिक युथ क्याम्पसबाट ब्यवस्थापन संकायमा स्नातकोत्तर सकिसकेका उनी कम्प्युटर ब्यवसायका साथमा 'बिजनेस अप्रेसन र सेल्स कन्सलटेन्ट'मा बढी संलग्न छु भन्छन् । आफ्नो भित्रैदेखीको रुचीका कारण  कलेज अध्यापन समेत गर्दै आएका उनी भन्छन्- बिद्यार्थीसंगको अन्तरक्रियामा म सन्तुष्टि पाउने गर्छु । सोसल मिडियाहरु फेसबुक, ट्विटरका साथमा ब्लगिङमा पनि रुची राख्ने बिज्ञानलाई यो साता हामीले मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरका रुपमा यहाँ प्रस्तुत गरेका छौँ । प्रस्तुत छ बिज्ञानसंगको कुराकानी:

 

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?

 

ब्लगिङ मैले भर्खरै सुरु गरेको हो यद्पि लेख्ने मेरो पुरानो बानी हो । सोसल मिडियामा चिनाउने कुरो गर्नुपर्दा म साधारण व्यक्ति, देश र परिवारको मायाले विदेश गईन, १८ बर्षदेखि कार्य क्षेत्रमा आफ्नो परिचय बनाउन खोज्दैछु । आज जे छु त्यो परिचय यही संघर्षबाट बनाएको हुँ । फेसबुक चिनेजानेको साथी/परिवारका सदस्यसंग सम्बन्ध राखिराख्न चलाउँछु भने ट्विटर प्रत्यक्ष नभेटेका मित्रसंग रमाउन । गोप्य कुरो चाँही-म ट्विटरमा बढी रमाउँछु ।

 

आफ्नो ब्लग http://bigyanlohani.blogspot.com/ को बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न।

अघि भनेजस्तै लेख्ने मेरो पुरानो बानी हो । धेरै जसो म हातले कागजमा लेख्ने गर्छु, अहिलेपनि । यस्तै एउटा लेख हेरेर एकजना मित्रले ब्लग सुरु गर्न सल्लाह र सहयोग पनि गर्नु भो, र सुरु भो मेरो ब्लग यात्रा ।

 

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो? धेरै त भएको छैन नि !

कम्प्युटर क्षेत्र कै व्यक्ति भैकन पनि यसो भन्दा लाज होला, मैले ब्लग सुरु गरेको ६ महिना जति मात्रै भयो । लेख्न थालेको चाँही २० बर्ष जति । पुराना डायरी पल्टाएर कम्प्युटरमा अपडेट गर्दैछु, समय अभावले गर्दा सकिराखेको छैन ।

 

के यही कारणले नै ब्लगिङमा प्रवेश गर्नुभएको हो त ?

हो, कुनै बिषयबस्तुले दिमागमा हान्यो भने त्यसको बारेमा लेख्न सुरु गरिहाल्ने मेरो बानी हो । जुन फेरि म धेरैलाई देखाउँदिन पनि । यस्तै आफ्नो सोच र लेखाई अरुसंग पनि बाड्नु राम्रो भनेर ब्लग सुरु गरेँ ।

 

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन?

मेरो प्राथमिकता भनेर त्यस्तो बिशेष केही छैन । तैपनि सामाजिक र प्रेमभावका बारेमा अलि बढी लेखिन्छ । राजनैतिक चाँही बितृष्णा ओकल्न लेख्छु । प्रविधि र शिक्षा आफ्नै पेसा सम्बन्धित भएकोले कहिले कहिँ प्रयास रहन्छ ।

 

तपाईंको ब्लगमा समसामियक राजनितिक टिकाटिप्पणीहरु धेरै हुन्छन, हो?

राजनैतिक ब्लग या लेख मेरो प्राथमिकतामा पर्दैन ।

 

यसबाहेक तपाँइको अर्को रुचीको बिषय चाँही केहो ब्लगिङ गर्नका लागि?

सामाजिक र प्रेमकै कुरो बढी लेख्छु ।

 

तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

नेपालमा ब्लग शिशु अवस्था मै छ । मेरै चिनजान नातागोतामा रहनु भएकाहरु धेरै राम्रो लेखहरु लेख्नुहुन्छ, जुन कुरा उहाँहरु मै सिमित रहन्छन या केहि पहुँच छ भने पत्रिका या अनलाईन साईटमा आउँछ । अहिले आएर फेसबुकमा देख्न थालेको छु तर पनि उहाँहरुलाई ब्लगर भएर ब्लगिङ साईट चलाउने जानकारी छैन या भएर पनि राम्ररी जान्नुभएको छैन कि !

अर्को कुरा, नेपाली सोसल मिडियाको कुरो गर्नुपर्दा फेसबुक भनेको केवल फोटो सेयर गर्ने भित्तो भएको छ, कुनै गम्भिर बहसको ठाउँ त्यहाँ छैन । ट्विटरमा केहि छ तर यसको प्रयोगकर्ता सिमित हुनुहुन्छ । अरुको त प्रयोगकर्ता खोज्नैपर्ने स्थिति होला ।

 

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ

शिक्षक मान्छे परेँ, पढाउनको लागि पनि पढ्नुपर्छ । हरेक पढाईमा नयाँ कुरो सिकिराखेको हुन्छु । मनपर्ने बिषयसंग सम्बन्धित लेख, ब्लग सकेसम्म पढ्ने प्रयास रहन्छ । त्यसैले कलेजमा entrepreneurship, promotion management र service marketing पढाउने भएकोले, त्यससंग सम्बन्धित बिभिन्न बिशेषज्ञहरुका ब्लग नियमित पढ्छु । नेपाली चाँही ट्विटे मित्र र अग्रजहरुको पढ्छु । साँच्चै भन्नुपर्दा खोजेर पढ़िन्न, ट्विटमा लिंक हाल्नुभएको चाँही पढ्छु नै । पछिल्लो समयमा मेरोरिपोर्टमा आउने ब्लगहरु चाँही पढ्ने गरेको छु ।

 

नेपाली ब्लगरहरुले उठाउन छुटाएको कुनै सवाल देख्नुभएको छ?

अहिले नै उठाउन छुटाएको सवाल त खासै देख्दिन । समय परिस्थिति अनुसार आउने सन्दर्भलाई उचित तरिकाले उठाइन्छ भन्ने लाग्छ ।

 

पाठकका रुपमा रोजाईका हिसाबले विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन् ?

राजनीतिक बिषयबस्तु अलि गहन नभएसम्म म हेर्दिन । सामाजिक, यात्रा संस्मरण, जानकारीमुलक, हाँस्यरस, इतिहास सम्बन्धि, व्यापार, प्रविधि यस्तै यस्तै हुन मेरो रोजाईहरु ।

 

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता? 

ब्लग भनेको व्यक्तिगत भावना व्यक्त गर्ने ठाउँ वा आफुलाई जानकारी भएको कुरा अरुसंग बाड्ने ठाउँ पनि हो । यसमा सभ्यता, आदर सबै हुनु जरूरी छ । यदि तपाइको ब्लग धेरै साथी/मित्र तथा अरु आदरणीयले हेरुन् भन्ने चाहनुहुन्छ भने यसमा प्रस्तुतिकरण सभ्य हुनु जरूरी छ । यो कुरा विचार गरे त्यही आचारसंहिता भइहाल्यो । हैन असभ्य/असामाजिक लेख लेख्नेहरुको लागि चाँही जरूरी हुन सक्छ । मेरो मान्यता चाँही असभ्य/असामाजिक लेख लेख्नेलाई पाठक आफैले नकार्दैजान्छन् भन्ने नै हो ।

 

ब्लग लेखन वा लेखन कार्यसंग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।

ब्लग लेखाई छोटो अवधि मै भएकोले त्यस्तो प्रसंग त केहि छैन तर लेखाई कै कुरो गर्दा चाँही म पहिलेदेखि नै अलि साहित्यिक पाराको मान्छे । युवामञ्च, मधुपर्क, गरिमा, समकालीन साहित्य जस्ता पत्रिकाको नियमित पाठक । पहिलो प्रेमपत्र लेखेको थिएँ जुन पत्र प्रथम मेरो प्रेमिकाको आमाले हेरिन् । अनि उनको बुवाले अनि उनको भाईले त्यसपछि बल्ल उसले जसकोलागि मैले लेखेको थिएँ । एउटा प्रतिक्रिया आयो, यो मान्छे जिन्दगीमा केहि बन्न सकेन भने नोबल राइटर बन्छ । त्यसले लेख्न हौसला दियो र प्रेमिकाले पनि हौस्याउँदै गईन् । पछि उनै प्रेमिकालाई जीवनसंगिनी बनाइयो ।

 

तपाइ सोसल मिडियामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु: ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो ?

ब्लग: असिमित भाव व्यक्त गर्न सक्ने र मिल्ने ठाउँ तर सिमित व्यक्ति मात्र  यसका प्रयोगकर्ता । फेसबुक: पारिवारिक/व्यक्तिगत फोटो देखाउने ठाउँ, व्यवसायिक प्रयोजनको प्रयोगकर्ता न्यून । ट्विटर: अन्जान व्यक्तिलाई मित्र बनाउने ठाउँ, रमाइलोको लागि प्रयोग गर्ने बढी ।

यो सबै नेपालको सन्दर्भमा मात्र है, नि ! मैले कलेजमा promotion management वा entrepreneurship पढाउने बेलामा चाँही यसको ब्यापारिक प्रयोजन बढी ध्यान दिन्छु ।

 

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनुभएको छ?

लेखिएका छन तर त्यो सम्बन्धित निकायसम्म पुग्नै सक्दैन । सिमित ब्लग प्रयोगकर्ताले पढेर राम्रो लेख्नुभएछ भनेर भन्नेमै सिमित छ अहिलेसम्मको परिस्थिति अनुसार ।

 

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो

ब्लग साईट मै राखेको त सिमित लेख छन् मेरा । ति मध्ये अस्ति भ्यालेनटाइन डेको अवसरमा राखेको अंग्रेजी लेखको राम्रै प्रतिक्रिया पाए ।

 

ब्लगिङ गरेर पाएको अहिलेसम्मको सबैभन्दा ठुलो उपलब्धी के?

हाहाहा, हेर्नुस कम्प्युटर क्षेत्रमा ब्लगिङ मात्र गरेर राम्रै कमाई गर्ने धेरै छन बिदेशमा । तिनीहरुको कथा पढ्ने गर्छु । कति कम्पनी छन् जसले ब्लग गरेर आफ्नो व्यापार बढाउँछन तर नेपालमा त्यो सम्भव छैन । मेरो हकमा ब्लग सुरु गर्नु एउटा आफैमा उपलब्धि हो । अब मैले मेरा हस्तलिखत् लेखलाई कम्प्युटर टाईप गरेर ब्लगमा राख्नसके मेरा अरु मित्र/आफन्तजन/बालबच्चाहरुले पढ्थे होला । यही हो, ठुलो आशा छैन ब्लग लेखेर ।

 

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

नागरिक पत्रकारिताको रुपमा लिन सकिन्छ । ब्लग मार्फत समाज तथा देशमा भइरहेको राम्रो कुरा सर्हाउन सकिन्छ भने गलत कुराको बिरुद्ध खबरदारी गर्नपनि सकिन्छ । एउटै कुरा हो, प्रयोगकर्ता बढाउन पर्‍यो र सकेसम्म धेरै सचेत नागरिक यसमा समेटिन पर्‍यो ।

 

अन्त्यमा,

मेरोरिपोर्टको राम्रो प्रयास हो यो । ब्लगिङ गर्नेहरुलाई हौसला पनि दिइरहनुभएको छ । ब्लगलाई अँझ प्रचार गरि धेरै भन्दा धेरै प्रयोगकर्ता माझ पुर्‍याउन सफल हुनुहोस्, शुभकामना !!!

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Prakash Lamichhane on March 4, 2014 at 4:16pm

मेरो पनि बधाई छ सरलाई । :) 

Comment by प्रकाश [वत्सप्रिय] on February 27, 2014 at 12:19pm

बधाई माड'साब :)

Comment by Sajan Diwakar on February 27, 2014 at 10:17am

badhai 6 sir jee :)

Comment by Pagal Basti on February 26, 2014 at 6:30pm

badhai

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service