सोसल मिडियाको सक्रियता नेपालमा आक्रामक गतिमा अघि बढेको छ-भुवन पोखरेल


हाल हेलसिन्की, फिनल्याण्डमा बसोबास गर्ने भुवन पोखरेल, वाताबरण तथा उर्जा
इञ्जिनियरिङ्गका बिद्यार्थी हुन । तर यसका अलावा उनको अर्को परिचय भनेको साहित्यिक ब्लगरको पनि हो । आफ्नो ब्लगमा सशक्त कविता, कथाका साथमा अन्य साहित्यिक ब्लगिङ मार्फत सामाजिक संजालका थलोहरुमा रमाउने, उनकै शब्दमा भन्दा ' कविता लेख्ने इन्जिनियर' भुवन यससाता मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा उपस्थित भएका छन् । प्रस्तुत छ उनीसंगको कुराकानी :  

 

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?

कसैले मलाई सिधै 'के गर्छस?' भनेर सोध्यो भने म प्राय:जसो घुमाउरो भाषामा 'आई स्टडी पिपल' भनिदिन्छु, सायद तिनै मानिस पढ्दाको अनुभव कथामा उतार्ने गर्छु ।

 

तपाँइको ब्लग http://www.bhoowan.com.np/ का बारेमा बताइदिनुस त अलिकति, कस्तो ब्लग हो र यहाँ तपाँइ कस्ता कुराहरु अभिब्यक्त गर्नुहुन्छ?

मेरो ब्लग यस्तै हो भन्ने कुनै 'जेनर' छैन । ब्लगमा समावेश लगभग सबै सामग्री आफ्नै बास्तबिकता हुन्, भोगाईका एउटा पत्ता त्यहि लगेर उनिदियो, छोडिदियो, साथीहरु त्यसलाई कविता भन्छन् तर उडन्ते काल्पनिकताको मिठास चै छैन ।

 

तपाँइ सोसल मिडियामा पनि निकै सक्रिय हुनुहुन्छ । सामाजिक संजालमा आफू रहनुका पछाडि मुख्य कारण या आकर्षण के हो झैँ लाग्छ यहाँलाई?

सोसल मिडिया अभिव्यक्तिको सशक्त माध्यम हो, म फेरी 'एक्स्ट्रोभर्ट' मान्छे, व्यक्त नगरी बस्न सक्दिन, आकर्षण भन्दा पनि लत हो अहिले त ।

 

सोसल मिडियाका कुनकुन प्लेटफर्ममा हुनुहुन्छ?

सोसल मिडियाका प्लेटफर्महरुमध्ये  ट्वीटर, जि+,फेसबुक, ब्लग, लिंक्डइन, आदि धेरै चलाउँछु।

 

हुन त सोसल मिडियाले मानिसको ब्यक्तित्वलाइ चम्काएको छ, सम्बन्धको दायरा फराकिलो पारेको छ, सम्बन्ध र सहयोग आदानप्रदान समेत भइरहेको छ तर पनि यसलाई अश्लिलता र छाडा कुरा गर्ने माध्यम भनेर पनि आलोचना गर्छन नि मान्छेहरु । यस बारेमा के भन्नुहुन्छ यहाँ?
जोसंग जे छ, त्यहि देखाउने हो । श्लिल र अश्लिल के हो, हेरेर छुट्याउन सक्दिन । सायद भोग्नैपर्छ, तर कसैको अभिव्यक्ति शैली नक्कल गरि यौनलाई जोडेर जबर्जस्ती हँसाउन खोज्ने साथीहरु पनि छन्, सायद छाडा र भद्दा त्यहि भएर सुनिन्छ ।

 

अब तपाँइको ब्लगको कुरा गरौँ, तपाँइको ब्लगमा अधिकाँश नेपाली भाषामा लेखिएका ब्लगपोष्टहरु रहेछन् । खासमा यहाँको ब्लगिङको रुची के हो? लेख्ने बिषयबस्तु दुबैका बारेमा भन्नुपर्दा?

अंग्रेजी साहित्य मिठो लाग्छ, तर मलाई चाहिं लेख्न बस्दा नेपाली मै शब्द खेल्न मजा लाग्छ । लेखनका बिषयबस्तु निर्धारित छैनन्, भोगाईको एउटा तखता हो, म थप्दै जान्छु ।

   

यहाँले कसलाइ लक्षित गरेर ब्लग लेख्ने गर्नुहुन्छ

जुन चिजले धेरै छुन्छ, उसलाई लक्षित हुने हुन् शब्दहरु । कुनैबेला पुर्व प्रेमिका, कुनै बेला समाज, कुनै बेला एउटा चिया पसले, कुनै बेला परिवार/साथीभाई, राजनीति अनि कुनै बेला आफैलाई पनि लक्षित हुनसक्छ !

 

फेसबुक पनि चलाउँछु भन्नुभयो, फेसबुकको उपभोक्ताका हिसावले चाँही आफुलाई कत्तिको सक्रिय उपभोक्ता मान्नुहुन्छ?

फेसबुकको सुरुवाती दिनमा अलि धेरैनै सकृय थिएँ, नयाँ चिज देखेपछि अलि धेरै नै चल्न मन लाग्छ नि सबैलाई । आजकल त्यति जाँगर त लाग्दैन, तैपनि अरुले जस्तै आजकल इमेल, फोन अनि एसएमएसको बिकल्पको रुपमा प्रयोग गर्छु ।

 

सोसल मिडियाका प्राय सबै प्लेटफर्मको उपभोक्ताका हिसावले भन्दा माइक्रो ब्लगिङ र ब्लगिङमा के फरक रहेछ त खासमा?

ब्लगिङ र माइक्रो-ब्लगिङको आ-आफ्नै महत्व छन् | भिन्नता त अभिव्यक्त गर्ने शैली र प्ल्याटफर्म अनुसार भर पर्ने हो |

  

केहीको मुखबाट मैले सुनेको छु 'कि माइक्रो ब्लगिङ भनेको फाष्टफूड हो भने ब्लगिङ चाँही पकाएर खानुपर्ने खाना । अचेल मानिस फाष्टफूडको चक्करमा खाना पकाएर खानै छाड्न थालेको छ जव कि फाष्टफूड कतिपय अवस्थामा स्वास्थ्यका निम्ति प्रतिकुल पनि हुन्छन् ।' यस बारेमा के भन्नुहुन्छ यहाँ । तपाँई फाष्टफूडमा कत्तिको रमाइरहनुभएको छ त?

पकाएर खाँदाको स्वाद र मिठास बेग्लै, तर हतार हुँदा, अड्कोपड्को पर्दा फास्टफुडले जति काम अरु कसले देला र ! म पनि ब्लगिङ र माइक्रो-ब्लगिङमा उत्तिकै रमाईरहेकै छु । दुरुपयोग त जुन क्षेत्रमा पनि हुन्छ, तर चौतारामा उभिएर उट्पट्याङ गर्नेलाई बिस्तारै सबैले वास्ता गर्न छोड्छन, उनीहरु आफैँ पाखा लाग्छन् । 

 

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?
मैले ब्लगिङ सुरु गरेको सन् २००८  मार्चबाट हो । मलाई सोसल मिडिया प्रवेश गर्न हौस्याउने साथी हाल 'गुगल डेभलपर्स ग्रुप, काठमान्डू'का संयोजक भुपाल सापकोटा हुन् ।

 

केका लागि ब्लगिङ गर्नुहुन्छ?

ब्लग मेरा लागि ओसिएको बिस्कुन बाहिर निकालेर सुकाउने आँगन हो ।

 

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छन, तर निरन्तर ब्लग गरिरहन या ब्लगलाइ समय दिन त गाह्रो छ नि है? यहाँले पनि रुची हुँदाहुँदै ब्लग अपडेट गर्न नभ्याउनुभएको पनि छ कि?

कहिलेकाँही कति धेरै कुराहरु पोख्न मन लाग्छ, तर कहिले समयको पाबन्दी अनि कहिले आफ्नै अल्छिपनले सब भित्रै बस्छन । कहिलेकाँही रेस्टुरेन्टमा, कहिले ट्रेनमा, कहिले बाटोमा फुरेका कुराहरु टिस्युपेपरमा लेखेर घरमा आएर सारेको पनि छु । अनियमितताको सिकार म पनि छु ।

 

ब्लगिङ बाहेक तपाँइको अर्को रुचीको बिषय चाँही केहो?

मेरो अन्य रुचीहरुमा सङ्गीत र घुमघाम हुन् । बाँसुरी, मेरो अर्को साथी हो ।

 

सोसल मिडियाको सक्रिय उपयोगकर्ताका नाताले भन्दा, नेपालमा सोसल मिडियाको प्रयोग कस्तो भइरहेको पाउनुभएको छ?
सोसल मिडियाको सकृयता नेपालमा आक्रामक गतिमा अघि बढेको छ । ओझेलमा परेका मुद्दा, नसुनिएका आवाज, छाँयामा बसेका प्रतिभा, सबै उजागर हुन थालेका छन । इन्टरनेटको पहुँच हुनेहरु धेरैले पत्रिकाको मात्रै भर पर्दैनन, बिचार बिश्लेषण बुझ्न एकपल्ट ब्लग चाहर्छन ।

 

तपाँई विदेशमा बसेर नेपाली भाषामा ब्लगिङ गरिरहनुहुन्छ तर डायस्पोराका नेपालीहरुका सन्दर्भ भने त्यत्ति उठ्दैनन नि किनहोला?
बिदेशमा रहेर नेपालीमा लेख्ने साथीहरु पनि थुप्रै छन्  । डायस्पोराका नेपालीहरु को सन्दर्भ नउठ्ने होइनन, अलि ओझेलमा परेका हुन सक्छन  । मान्छेहरुको ध्यान मुलधारमा अलि धेरै तानिने भएर हो कि !

 

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ र विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?

अरुको ब्लग धेरै पढिन्छ । प्राय सोसल मिडियामा 'कोट' भएर आउने लिंकहरु हेरिन्छ, धेरैजसो समकक्षी वा अग्रजहरु पर्छन जो सोसल मिडियामा हाल अग्रणीहरु नै छन् । सबैको ब्लग लिंक राख्यो भने त लामो पो हुन्छ त ! एकाधलाई छोडेर, सबै मेरा प्रिय छन् । 

 

आफ्ना ब्लगपोष्ट ब्लगमध्ये सबैभन्दा मन परेको ब्लग कुन हो तपाँईको?

मलाई मेरो ब्लगमा सबभन्दा मन पर्ने कविता #heavyfeelingsमेरी छोरी भन्ने कथा हो ।

 

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

बिनापरिधिको यो बिश्वब्यापी संजालमा नियम कानुन वा आचारसंहिता अक्षरस: लागु गर्न सकिन्न । धेरैजसो स्वविवेकमा भरपर्छ । समय, सन्दर्भ हेरेर अनि बिषयबस्तुको गाम्भिर्यता बुझेर ब्लगरहरुले संयमता अपनाउनु पर्छ । जुन बिषयमा ब्लगिंग गर्ने भएपनि कमसेकम त्यस क्षेत्रको 'इथिक्स' चै पालना गर्नु राम्रो । अहिलेको स्थिति निराशाजनक छैन । 

 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।

त्यति सारो रमाइलो प्रसंग त छैन, तर मेरी छोरी भन्ने कथा आएपछि चै मलाई थुप्रै ठाउँबाट इमेलहरु प्राप्त भए । जसमध्ये जर्मनीबाट पठाउनुभएको एकजना महिलाको इमेलले मलाई पनि रुवाएको थियो । उक्त कथा उहाँको बास्तविक जीवनसंग हुबहु मिलेछ । कतिपय कविताहरुमा 'एनोनिमस' नामबाट आउने प्रतिक्रियाहरु चै कविताकै रुपमा सारै सुन्दर हुने गरेका छन् |

 

सोसल मिडियामा पनि उत्तिकै सक्रिय भएका नाताले भन्दिनुस् न, हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु: ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो?

ब्लग, ट्वीटर र फेसबुक तिनै माध्यम प्रयोग गर्ने वर्ग पनि फरक फरक हुनेगर्छ । सबै एकैपल्ट प्रयोग गर्नेहरुमा चाँही मिडियाकर्मी अगाडी देखिन्छन । तर फेसबुकले धेरै लाई जोडेको छ नेपालमा । फेसबुक चलाउनैका लागि इन्टरनेट सिक्ने प्रशस्त छन । विस्तृत र वजनदार प्रस्तुती चाँही ब्लगरहरुले पस्किरहेका छन् । छोटो, मिठो र सशक्त भनाई राख्न ट्वीटर प्रभावकारी लाग्छ मलाई । तर बेला बेलामा व्यक्तिका ट्वीट र व्यक्तित्व मेल नखाँदा चाहिँ 'कन्फ्युज' हुने गर्छु । 

 

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ?

सामाजिक मुद्दा उठान गर्ने ब्लगहरु अझै कम देखिन्छन । जति छन्, प्रभावकारी तरिकाले अघि बढिरहेकै छन् । तर अझ धेरै त्यस्ता ब्लगहरु आउनु जरुरी छ, जसले 'एलिट'को मात्रै वकालत नगरोस् ।

 

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

हो, ब्लगिङ नागरिक पत्रकारिताको गजब नमुना हो । कुनै पनि घटना, सन्दर्भ लुक्न/लुकाउन गाह्रो छ अब । तर तोडमोड र गलत बिश्लेषणहरुबाट जोगाउनु झन ठुलो चुनौती छ । 

 

अन्त्यमा,

अन्त्यमा, मेरोरिपोर्टको लागि यति धेरै प्रश्नको फेहरिस्त छान मारिसकेपछि, एकपल्ट ऐना हेरेझैँ लाग्यो । बेलाबखत अरुको इन्टरभ्यु लिईन्थ्यो, आज आफैले आफ्नो बारेमा थाहा पाउँदा रमाइलो लागेको छ । यतिबेला बिस्तारै फुस्केको अलिकति हाँसोको लागि यहाँहरुको टिमलाई धन्यबाद ! 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service