ब्लगहरुले भाषा सम्बन्धी नियमका ठूला-ठूला पर्खाल नाघ्न सक्छन्-भवसागर घिमिरे

आफ्नो नाम बारे ब्लगमा प्रष्टिकरण दिँदै उनले लेखेका छन् ' काकाले जुराएका नाम । सुरुमै सुन्दा अफ्ठ्यारो नाम राख्दिएकाले मलाई एक दुई कक्षासम्म पनि यसको अंग्रेजी स्पिेलिङ नजानेर पिटाइनै खानुपर्यो । तर अहिले यहि नाम मिठो र आफ्नै लाग्न थालेको छ ।'  भवसागर घिमिरे पेशाले संचारकर्मी हुन् तर अहिले भने उनी समाचार या फिचर बनाउने रिपोर्टर भन्दापनि रेडियो नाटक लेखक तथा निर्देशकका रुपमा 'क्रियटिभ' मिडियाकर्ममा छन् । उनले आफुलाइ चिनाउन आफ्नो ब्लग आफ्नै सेरोफेरोमा लेखेका छन्-'कापी कलम पाएपछि आफ्नो नामका अक्षरहसँग म सानैमा निक्कै खेल्थेँ । जानेका र बुझेका अक्षरहरुले शब्द र शब्दहरुले वाक्य बनाउन थालेँ ।'  मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यो साता हामीले उनै भवसागरसंग भलाकुसारी गरेका छौँ । प्रस्तुत छ प्रकाश लामिछानेले भवसागरसंग गरेको कुराकानी :

भवसागरजी, आफ्नोबारेमा अलिकति बताइदिनुस न ।

मेरो घर पोखरा–३ नदीपुर हो । स्नातक भौतिकशास्त्र र स्नातकोत्तर अर्थशास्त्रमा गरेपनि म सधैं आफूलाई मिडियाको विद्यार्थी भन्न रुचाउँछु । पोखराको माछापुच्छ्रे एफएममा व्यङ्ग्य कार्यक्रम संचालन सुरु गरेर म मिडिया क्षेत्रमा पसेको थिएँ । पाँच वर्ष त्यहाँ बिताएपछि डेढ वर्ष एन्टेना फाउन्डेशन नेपाल, डेढ वर्ष दैनिकी अनलाइन अनि नागरिक दैनिक र केही महिना इक्वेल एक्सेस नेपालसँग पनि काम गर्ने मौका पाएँ । बिगत तीन वर्ष अघि देखि बीबीसी मिडिया एक्सन नेपालको रेडियो नाटक 'कथा मीठो सारंगीको'मा नाटक लेखक/निर्देशकको काम गरिरहेको छु ।

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ?  एउटा ब्लगरका रुपमा, पत्रकारका रुपमा, लेखकका रुपमा या नाट्यकर्मीको रुपमा?

सायद यी सबैको खिचडी होला ।

आफ्नो ब्लगको अलिकति शब्दचित्र प्रस्तुत गरिदिनुस् न ।

आफूले देखेका र लेखेका प्रकाशित र अप्रकाशित लेखहरू बिच्छ्याउने थलो हो । ब्लगिङ् मेरो रुची हो । जीवनमा रुचि सधैं प्राथमिकतामा पर्छ भन्ने हुँदो रहेनछ ।

तपाइको ब्लगमा डिसेम्बर २००७ बाट ब्लगिङ सुरु गरेको भन्ने लेखिएको रहेछ । त्यतिबेला ब्लग खोल्नुभयो मात्रै कि ब्लग लेखनलाइ पनि निरन्तरता दिनुभयो?

खोलेको त २००७ मै हो । बीचमा के भो कुन्नि टेक्निकल्ली बिग्रीयो । आफूले बनाउन जान्दैन्थेँ । दैनिकी अनलाईनमा रिपोर्टीङ गर्ने ताका सन् २००९ मा सबै कपी गरेर एकैदिनमा फेरि पोष्ट गरेँ । त्यसैले पोष्ट हेर्दा २००९ बाट सुरु देखिन्छ, ब्लगले २००७ भन्छ ।

ब्लगिङ किन गर्नुहुन्छ?

सानै देखि स्थानीय पत्रिकामा जोक छापेर कटिङ राख्ने गर्थेँ । म कीर्तिपुरमा स्नातक पढ्ने बेला । एन्टेना फाउन्डेशनमा नाटक लेखनको काम गर्थेँ । कान्तिपुर पत्रिकाको नियमीत पाठक थिएँ, पाठक पत्र धेरै लेख्थेँ । ती सबै पाठक पत्रको पनि ऐले मसँग कटिङ छ, कापीमा टाँसेर राखेको । मुलधारका मिडियामा बिस्तारै रिपोर्टीङ नै गर्न थालेपछि त कटिङ राख्न साह्रै झन्झट हुन थाल्यो । त्यसैले कान्तिपुर र केही अन्य पत्रिकामा छापिएका र नछापिएका पत्रहरूको संग्रह गर्ने हेतुले नै ब्लग खोलेँ । पहिला कम पोष्ट गर्थे, सन् २००९ पछि काम नै रिपोर्टीङ भो, ब्लग दैनिक भरिन थाल्यो । अब सामान्य खालका लेख, रमाइला ठट्यौली, आफूले देखेभोगेका अनुभव यी सबै कुराले मुलधारका मिडियामा ठाउँ पाउने कुरा हुँदैन्थ्यो । त्यसैले पछि ब्लग नै यिनीहरू नाँच्ने रमाइलो आँगन भयो ।  

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् किन?

मलाई सामाजिक विषयवस्तुमा लेख्न मन पर्छ, तीनले नै ब्लगमा ठाउँ पाउँछन् । साप्ताहिक रेडियो नाटकमा काम गर्न थालेपछि भने दैनिक रिपोर्टीङ स्वाट्टै घटेको छ । त्यो सँगै ब्लगिङ पनि घटेको छ । त्यसैले पछिल्लो समय सिरियस बिषय कम, हँस्यौंली ठट्यौंली बढी गर्न थालेको छु ।

तपाईंको ब्लगमा साहित्यका कुराहरु धेरै रहेछन् । किन साहित्यलाइ नै मुख्य बिषयबस्तु बनाउनुभयो?

यो बिल्कुल हैन होला । मेरो ब्लगमा छापा माध्यममा पत्रकारिता सिक्दा लेखेका थोरै समाचार र धेरै फिचरहरू छन् । पछिल्लो पोष्टमा केही बंगाइएका उखान टुक्का हालेको छु, त्यो पनि रमाइलोका लागि । हुन त यी सबै साहित्यकै पाटो हुन भन्नुहुन्छ भने होला पनि । मलाई फिचर मन पर्ने र पहिला नागरिक दैनिकको शनिबार पृष्ठमा काम गर्ने भएकाले यीनै विषयमा धेरै कलम चलाएँ ।

साहित्यका ब्लगहरु धेरै नै पाइन्छन तर अधिकाँश साहित्यका ब्लगहरु आत्मरतिमा रमाउने गरी लेखिएका, पाठकका लागि भन्दा पनि मनको बह पोख्न कै लागि लेखिएका पाइन्छन हामीकहाँ । किन होला?

हामीकहाँ जिम्मेवारी बहन गर्नुपर्नेहरू गैरजिम्मेवार धेरै छन् । केही समस्या परेमा कहाँ गएर भन्ने? त्यसैले मनको बह पोख्नका लागि साहित्य माध्यम बनेको हुनसक्छ र ब्लग चाहिँ थलो । मनको बह पोख्नका लागि लेखिने साहित्यहरू अरु पाठकका लागि पठनीय हुन पनि सक्छन र नहुन पनि । के लेख्ने र कसरी लेख्ने भन्ने त्यो ब्लगरको अधिकारको कुरा पनि हो । लोकतन्त्रमा ब्लगरको स्वतन्त्रता पनि त चाहियो नी !

तपाईँसंग संचारकर्मीका रुपमा मुलधारको संचारमाध्यम (रेडियो तथा छापा)मा समेत काम गरेको अनुभव छ । मुलधारको संचारमाध्यमका लागि लेखिने शिर्जनशिल लेखाइ (Creative Writing) र ब्लगका लागि लेखिने लेखाइको भाषा शैली उस्तै हुनुपर्छ, हुन्छ या पर्दैन, के भन्नुहुन्छ?

उस्तै हुनुपर्छ, हुन्छ, हुनुपर्दैन भन्ने नै छैन । मुलधार संचार माध्यममा लेखिने भाषाका उपभोक्ता धेरै छन्, धेरै थरिका पनि । ब्लगका उपभोक्ता तुलनात्मक रूपमा कम हुन सक्छन् । ब्लगमा व्यक्ति बोल्छ र मुलधारमा संस्था । यसले गर्दा पनि ब्लगको दाँजोमा मूलधार सधैं चनाखो हुन्छ र हुनुपर्छ, भाषा अनि प्रस्तुतीकरणको कुरामा । यो उसको व्यापार पनि हो । हुन त ब्लगबाट नै कहिलेकाँही न्युज सोर्सको रूपमा काम गर्नेहरू पनि छन् नेपालमा तर निक्कै कम । अघि भने झै ब्लगमा प्राय: व्यक्तिगत मनोभावहरू पस्किएका हुन्छन् । तिनीहरू भाषा सम्बन्धी नियमका ठूला ठूला पर्खाल नाघ्न सक्छन् । मुलधार मिडियामा भाषा प्रयोग गर्दा वा थोरै बंगाउँदा पनि धेरै कुरा सोच्नुपर्छ । तर दुबैको एउटै सत्यता के हो भने भाषा जति सरल र सहज भो पाठकले उति नै धेरै रूचाउँछन र पच्छ्याउँछन् । 

तपाँइले आफ्नो ब्लगमा आफ्नो परिचय दिँदै लेख्नुभएको छ-'शब्दसँग खेल्न निक्कै मजा आउँछ मलाई । शब्दै शब्दसँग कैले होली खेल्छु त कैले कुस्ती ।' बास्तवमा शब्दहरुसंग खेल्न सबैलाइ मन लाग्छ तर सबैसबैको बशको कुरा हैन यो । शिर्जनशिल लेखाइ ब्यक्तिमा हुने अन्तरनिहित गुण हो या अभ्यासले सिकाउने कुरा हो यो?

शिर्जनशिल लेखाइ पहिला त रुची हो । त्यसपछि रुची माथि गरिने अभ्यास । शब्दको दौडमा लेखक कति अघि पुग्छ यीनै दुई कुराले निर्धारण गर्छ । मेरो बिचारमा हामी जन्मदा दिमागमा खाली मेमोरिकार्ड मात्र लिएर आउँछौं ।

शिर्जनशिल लेखाइमा रुची राख्ने ब्लगरले जान्नै पर्ने कुराहरु के के हुन?

पहिला त शिर्जनशिल लेखाइ अनि ब्लगिङ् गर्ने तरिकाकै बारेमा जान्नु पर्यो नी हैन र ? त्यसपछि  पाठकको रुचि, सरल र मिठो भाषा । अरुले के लेखिरहेका छन्, हामी बीचका कुन कुन पक्षहरू ओझेलमा छन् यीसँगै राजनीति तथा सामाजिक अवस्थाका बारेमा जान्नु राम्रो हुन्छ । अझ मुलधारका मिडियामा आउन नसकेका वा नियोजित रुपमा नल्याइएका समाचारका पाटाहरूलाई खोतल्ने प्रयास गर्नेले चाँडै ठूलो उचाइ लिन सक्छन् । भन्न सजिलो छ तर यीनै कुराको ममा कमी छ !

तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

यी दुबै क्षेत्रहरू मेरा रुचीको विषय हुन । अझ ब्लगिङ् भन्दा बढी सोसल मिडियामा । सोसल मिडिया मलाई मिनि ब्लग जस्तो लाग्छ । ब्लगमा 'फूलरिङ' दिइन्छ होला, सोसल मिडियामा धेरै 'मिसकल' दिन मिल्छ । पछिल्लो चरणमा सोसल मिडिया चलाउनेहरू धेरै हुन थालेपछि यसले ब्लगलाई अझ उचाइमा पुर्याउन मद्दत गरेको झै लाग्छ, सेयरिङ र केयरिङको माध्यमबाट । अहिले सोसल मिडिया मानिसका खुसी, आक्रोश सबैखाले भावनाहरूले परेड खेल्ने ठाउँ भएको छ । अब आन्दोलनहरू सडकमा भन्दा यिनै 'माकुरे-सञ्जाल'मा बढी हुन थालेको झै लाग्छ । भगवान कोइरालाको पुनर्बहाली, लन्डनको म्युजीयममा बुद्ध भारतमा जन्मेको जस्तो गलत सन्देश, कान्तिपुरको हेलो शुक्रबारको केश, प्रकाश दाहालको सगरमाथा यात्रामा सरकारी ढुकुटी, अकुपाई बालुवाटार यस्ता धेरै उदाहरणहरू छन् जसमा सोसल मिडियाले सत्यको बाटो देखाउन ठूलो भुमिका खेले । दलका नेता, नागरिक अगुवा मात्र हैन देशका प्रधानमन्त्री पनि ट्वीटरमा देखिन थाले । पछिल्लो चरणमा मुलधारका मिडियाहरूले पनि सोसल मिडियामा बहसमा आएका विषयलाई स्थान दिन थालेका छन् । उधाहरणको रूपमा महिला हिंसा सम्बन्धी बहस चलिरहेका बेलामा केही हप्ता अघि ‘बलात्कारीको लिंगा काट्ने’ भन्दै शिवानी सिंह थारूले सोसियल मिडियामा लेखेको स्टाटशलाई कान्तिपुर अनलाइनले मुख्य समाचार बनाएको थियो । नागरिकको अक्षर, कान्तिपुरको हेलो शुक्रबार, साप्ताहिक आदि केही छापा माध्यमहरूमा ट्वीटर र फेसबुकका स्टाटसलाई पनि ठाउँ दिइन्छ । यसले सोसल मिडियाको पहिचान र क्रेजलाई अझ माथि लगेको छ । 'दूध दिने गाइको लात्तो सहनुपर्छ' भनेझै फाइदासँगै बिकृति त आइहाल्छ । यहाँ चर्चा गर्दैजाँदा पढ्न अल्छि लाग्ला यसलाई यहीँ बिटमारौं ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?

कहिले काही टहलिन्छु । सालोक्यको माइसंसार, दिपक भट्टराइको कलिटाइम्स, रविराज बरालको मिडीया कुराकानी, आकार अनिलको आकार पोष्ट, बसन्त गौतमको आँगन, उज्जल आचार्यको नेपाली भ्वाइस, बिनिता दाहालको प्रम्बस्, अमित रिजालको amitrijal.blogspot.com सँगै अन्य केही ब्लगरहरूको ब्लग कहिलेकाँही पस्छु ।

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?

खोजमुलक, मिडियामा चलेका बहसबारे लेखिएका, मिडियामा नआएका र नल्याइएका कुराहरू, नयाँ टेक्नोलोजी, साहित्य यस्तै यस्तै ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

हामीकहाँ ब्लग भर्खरै बामे सर्दैछ । आचारसंहिताको कुरा अहिल्यै गर्नु ठिक हुन्न की ? अहिल्यै नियम बनाउनु भन्दा यदि कुनै बैचारिक द्वन्द्व आइसकेपछि मात्र नियम बनाउँदा त्यो दिगो होला । डिमान्ड ओरिएन्टेड सप्लाइ जस्तै । आपसी सद्भाव कायम राख्ने, कुनै व्यक्ति वा समुदायलाई बिना कुनै प्रमाण होच्याउने खालका कुरा गर्नु हुन्न भन्ने सायद सबैले बुझेका छन् । कागजमा नलेखिएका तर सामान्य बुझाइमा पर्ने न्युनतम आचारसंहिता जसले पालना गर्दैन ती आफै बिलाएर जान्छन् । ग्राहकले नै बाटो मोडेपछि पसल थाप्नुको तुक रहँदैन ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ?

मैले धेरै चाहरेको छैन । जतीमा छिरेको छु, त्यस्तो अफ्ठ्यारो स्थिति देखेको छैन । बिस्तारै सकारात्मक उत्साह बढ्दो छ ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइल घटना भए बताइदिनुस् न ।

एसएलसीमा डिस्टिङसन ल्याएकी तर क्याम्पस पढ्नको लागि पैसा नभएकी तामाङ बहिनीका बारेमा लेख लेखेको थिएँ । हुन त नागरिकको जूनकीरीमा र अनलाईनमा पहिल्यै प्रकाशित गरेको थिएँ त्यो । नागरिकको कपी पेष्ट गरेर ब्लगमा पनि राखेपछि र फेसबुकमा सेयर गरेपछि उनलाई सहयोग आउने क्रम झन् बढ्यो । ऐले उनले आइएससी पढेर सकेकी छिन् । थप पढ्दै छिन् ।

तपाईँको ब्लगका भिजिटर कति छन्?

थोरै । अहिले सम्म लभगभ ८ हजार पटक क्लिक भैसकेको भन्ने देखाउँछ । नयाँ पोष्ट भएको दिनमा केही बढ्छ । धेरै एक्टिभ छैन । आफ्नो बारीमा के रोप्ने भन्दा पनि अर्काले के छरेका छन भनेर नियाल्ने छुच्चो बानी धेरै छ ।

हामीकहाँ प्रयोगमा आइरहेका सोसल मिडियाका थलोहरु ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो?

ब्लगिङ्मा भन्दा ट्वीटरमा र ट्वीटरमा भन्दा फेसबुकमा साथीहरू धेरै छन जस्तो लाग्छ । ब्लगिङलाई बाँकी दुई माध्यमबाट सेयर गर्ने चलन पनि छ । ब्लगिङ अल्लि धेरै व्यक्तिगत छन् । तुलनात्मक रूपमा ट्वीटर र फेसबुकले समाजको ऐनाका रुपमा पनि काम गरेका छन् । फेसबुकबाट अलि पछि सरेकाहरू ट्वीटरमा बढी एक्टिभ भएर लागेका छन् । आ–आफ्नो विशेषताले सबैले आफ्नो स्थान सुरक्षित राखेका छन् । अब गणितिय रूपमा के छ त्यो त म भन्दा अझ धेरै यसमा भिजेकाहरूले भन्न सक्नुहोला ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ?

‘सामाजिक हित’ को परिभाषा नै यति धेरै फराकिलो छ की जे लेखेपनि त्यो हितैको लागि हो भन्न मिल्नसक्छ । तैपनि तपाइले सोध्नु भएको उत्तरमा अल्लि पिन प्वाइन्ट नै गर्ने हो भने माइसंसार एउटा सफल उदाहरण हो । अरु पनि धेरै हुन सक्छन् ।

ब्लगबाट के पाउनुभयो, के गुमाउनु भयो?

धेरै डटेर लागेका भए त दूध र पानी छुट्टाएर भन्न सक्थेँ होला । कमै भएपनि, मुलधारका मिडियामा भन्न नमिल्ने कुरा पोख्ने थलो भेटेको छु ब्लगमा । धेरै साथी पाएको छु । खै के गुमाएँ, सोच्नैपर्छ ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

हो नै । तर कत्तिको हो, यो चाहि ब्लगिङ् गर्नेमा भर पर्छ । यो सोसल मिडियाको जमाना हो । यदि आफ्नो बिचारले ठाउँ पाइराखेको छैन भने ब्लगिङको माध्यमबाट पनि बिचार पोख्न सकिन्छ । माइसंसार, मिडियाका कुराकानी यसका उदाहरण हुन । तपाइका कुरा सत्य छन् भने अनलाइनको सञ्जालमा तपाइले जुन कुनामा बिचार राखेपनि एक क्लिकले ती बिचार लाखौं मान्छेमाझ पुर्याउन सक्छ ।  

अन्त्यमा,
प्रोत्साहनका लागि धन्यवाद ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Bhabasagar Ghimire on March 31, 2013 at 10:31pm

उत्साहका लागि सबैलाई धन्यवाद !

Comment by Rabi Raj Baral on March 30, 2013 at 8:59am

पोखराको माछापुच्छ्रे एफएममा 'दिमाग खराब' कार्यक्रम आउँथ्यो । त्यसका संचालक हुनुहुन्थ्यो भवसागर घिमिरे 'माइलो' । मलाई साह्रै मन पर्ने । म स्कूल पढ्दै थिएँ त्यतिबेला । एउटा सम्झना अनायास आइदियो दिमागमा :) भवसागरको प्रगतिको कामना गर्छु । मेरो ब्लग www.mediakurakani.com लाई Reading List मा राख्नुभएछ । लेख्न/ लेखिरहन नैतिक दवाव पर्यो मलाई त :P

Comment by Pagal Basti on March 27, 2013 at 12:54pm

भावसागर ज्युलाई बधाई

Comment by pawan neupane on March 27, 2013 at 12:41pm

congratulation Bhawasagar Ji

Comment by Prakash Lamichhane on March 27, 2013 at 12:23pm

Congratulations Bhaba ji :) 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service