सामाजिक संजालको कारण सर्जकहरुले आफ्नो रचनामा रंग भरेर दुनिँयासामु प्रस्तुत गर्न धेरै मद्दत पुगेको छ : बसु श्रेष्ठ

भैरहवाकी बसु श्रेष्ठ हाल वैदेशिक रोजगारीको सिलसिलामा ईजरायलमा छिन् । अरुको खुशीमा नै आफ्नो खुशी खोज्ने बसुलाई गित संगीत सुन्न खुबै मन पर्छ । समाज सेवामा आत्मासन्तुष्टि पाउने बताउँछिन् । साहित्य लेखनमा निकै सक्रिय बसु ब्लग लेखनमा पनि उतिकै सक्रिय छिन् । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै बसु श्रेष्ठसँग कुराकानी गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी : 

सोसल मिडियामा आफुलाई के भनेर चिनाउन चाहानुहुन्छ ?

म साहित्य प्रेमी भनेर चिनीन चाहन्छु !

ब्लगिङ किन अनि कसरी ब्लग सुरु गर्नुभयो ?

भर्चुअल दुनियाँ इन्टरनेट बिना नुन बिनाको तरकारी जस्तै खल्लो हुन्छ ! त्यसैबीच मेरो रचना अनी साहित्य खुराकहरु पाठकसम्म पुर्याउने सजिलो मध्यम ठानेर नै ब्लगिङ सुरु गरेकी हुँ !

ब्लगबारे कहाँबाट थाहा पाउनुभयो, कसैले तपाईलाई ब्लगबारे बतायो या आफै कतैबाट थाहा पाउनुभयो ?

यो समय नै  इन्टरनेटको हाे अनि धेरै साथीभाईहरु अनि  साहित्यक मित्रहरुको ब्लग हेरेकी थिए । फेरि अहिले त ब्लग चलाउने लहरै छ । म पनी अछुतो कहाँ रहन सके र !? थाहा नपाउने कुरै भएन !  र पनी ब्लग बनाएको एक बर्ष मात्र भयो  ! दुई चार पाठकहरुले “हजुरको ब्लग छैन ? रचना पढ्न मन थियो ।” भनेर जिज्ञासा देखाउनु भयो त्यही एउटा मुख्य कारण पनी हो मैले ब्लग बनाउनुको ।

केका लागि ब्लगिङ गर्नुहुन्छ ? ब्लगिङका लागि विषयवस्तु कसरी छान्नुहुन्छ ?

म मेरो रचना र साहित्य गतिबिधी बारे अनि साहित्यिक कार्यक्रमका केही तस्बिरहरु ब्लगिङ गरेकी छु  ! मेरो पत्रपत्रिकामा छापिएको र बिमोचन भैसकेको संग्रह भित्रको रचनाहरु मात्र राख्ने पनि गरेकी छु !

तपाईको ब्लगमा साहित्यिक खुराकहरु धेरै छन्, साहित्यिक ब्लगका पाठकहरु कति छन् ?

मेरो ब्लगमा जती हुनु पर्ने हो साहित्य खुराक त्यती त छैन किन कि समयको व्यस्तताले गर्दा चाहेर पनी ब्लगमा राख्न असमर्थ छु । मेरो ब्लगका पाठक अहिलेसम्म ५०/५५ जना जती हुनुहुन्छ होला ।

तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनुहुन्छ ?

हाल सम्म त सबैजनाले राम्रै प्रतिक्रिया दिइरहनु भएको छ ।

साहित्यिक पुस्तकहरु पनि प्रकाशन गरिसक्नुभएको छ, अनि ब्लग लेखनमा पनि सक्रिय हुनुहुन्छ, पुस्तकका पाठक र ब्लगका पाठकमा के फरक पाउनुभएको छ ?

भर्खरै केहि महिना अगाडी मेरो एकल मुक्तक संग्रह ‘प्यासी जिन्दगी' बजारमा निस्केको छ । त्यो भन्दा अगाडी सयुक्त गजल संग्रह ‘सगरमाथा देखी मृत्युसागर सम्म', 'प्रवासीका अक्षरहरु' र 'मुक्त आकाश' प्रकाशित भएको थियो । पुस्तकका पाठकहरु भन्नुहुन्छ फुर्सदको बेला ,लामो बस यात्रामा, राती निद्रा नलागेको अवस्थामा तपाईको संग्रहलाइ नियालेर पढे । ब्लगका पाठकहरु  भन्नुहुन्छ समय भएको बेला यसो तपाईको ब्लग घुम्छु, राम्रो लेख्नु हुदोँ रहेछ । लेख्दै गर्नुस नयाँ नयाँ खुराकहरुको टेस्ट लिन पाउदै गरौ  !

अनि लेखनका हिसाबले चाहिँ ब्लग र पुस्तक लेखन बिचका फरक र समानताहरु के के छन् नि ? 

 आजकल इन्टरनेट जहिले पनी र जहाँ पनी उपलब्ध भएको कारण ब्लग लेख्न सजिलो छ । पुस्तक निकाल्न एक त बजेट त्यसमाथी समय अनी  साथीभाईहरुसँग सरसल्लाह ,प्रेस देखी लिएर बिमोचन सम्मको प्रेसर खप्नु पर्छ ! तर पुस्तक निस्किसके पछी आफुलाई चिनाउने मौका भने मज्जाले पाइन्छ । त्यो काम ब्लगले अली कम गर्छ कि जस्तो लाग्छ मलाई ।

तपाईले  http://shresthb.blogspot.co.il/  बाहेक अरु पनि ब्लगहरु चलाउनुहुन्छ कि ?

त्यती फुर्सद कहाँ हुनु हजुर । यही ब्लगलाई त भरपुर खुराक पुर्याउन धौ धौ भैरहेको छ ।

अनि ब्लगिङ गर्न कत्तिको सजिलो छ  त ?

समय मिलाएर  फ्रेस भएको बेलामा त हो नि ब्लगिङ गर्ने खासै गाह्रो लाग्दैन ।

डायस्पोरामा बसेर ब्लग तथा साहित्यमा लाग्ने युवाहरु पनि उत्तिकै छन्, उनीहरुलाई आफ्ना कला पाठक माझ ल्याउन सामाजिक सञ्जालहरुले कस्तो भुमिका खेलेको छ जस्तो लाग्छ ?

हाम्रो बुवा,मुवाको जमानामा सामाजिक संजालहरु थिएनन् । साहित्यहरु सबै कापीको पानामा थन्किएर बसेका हुन्थे । आफ्नो कलालाई प्रस्तुत गर्ने सजिलो कुनै माध्यम थिएन । अहिले यही सामाजिक संजालको कारण सर्जकहरुले आफ्नो रचनामा रंग भरेर दुनिँयासामु प्रस्तुत गर्न धेरै मद्दत पुगेको छ ।

तपाईका चाहिँ ब्लगिङ बाहेक अरु रुचिका विषयहरु के के हुन ?

समाज सेवामा रमाउन,अह्साय बृद्द बृद्दा र रोगीहरुको सेवा गर्न,जती सक्दो साथीभाईको सहयोगी बन्न,कहिलेकाहीँ सिलाई बुनाइ सिक्नु सिकाउनु, पुस्तक पढ्नु, स्वास्थ्य र फेशन सम्बन्धित कुराहरु आदान प्रदान गर्न खुब मन पराउँछु  !

आफ्ना ती रुचिका विषयहरुलाई ब्लगमा कत्तिको समाबेश गर्नु भएको छ ?

अहिलेसम्म त मेरो रुचिहरुको बारेमा त्यस्तो केही समाबेश गरेकी छैन । साहित्य रचनाहरु मात्र छन् ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस न ।

मेरो एकल कृती 'प्यासी जिन्दगी', मेरो बुवा र मुवाको हातबाट विमोचित गराउँन पाउँदा म धेरै नै  खुशी भएकी थिए ! त्यो नै मेरो जिन्दगीको बिर्सन नसक्ने रमाइलो क्षण थियो ।

केहीले ब्लगिङलाई नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

होइन पनी कसरी भन्नु यहाँ व्यक्तिगत खुशीको लागी  र साहित्यिक रचनाहरु  मात्र लेखिएको हुदैँन, देश र समाजको गतिविधिबारे पनी लेख लेखिन्छ । एउटा नागरिकको सोचलाई अर्को नागरिक समक्ष पुर्याउने एक माध्यमलाई नै पत्रकारिता भनिन्छ जस्तो मलाई लाग्छ ।

अन्त्यमा,  

धन्यबाद  !

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service