पत्रिकामा पाठकपत्र पठाएर कुइँकिनु भन्दा ट्विटरमा सिधै मेन्सिँदा रेस्पोन्स आएका दृष्टान्त धेरै छन्-बद्री चापागाई 'मान्ठा'

ट्विटरका 'मान्ठा' अर्थात चिकित्सा क्षेत्रका विशेषज्ञ डाक्टर बद्री चापागाई । उनी जन्मिए पश्चिमाञ्चलको पर्वत जिल्लामा¸ बिद्यालय र आइएस्सीसम्मको शिक्षा मध्यमाञ्चलको अँझ भनौँ देशकै राजधानी काठमाडौंमा हाँसिल गरे र चिकित्साशास्त्रमा स्नातक गर्न पुर्वाञ्चलको धरान हानिए । त्यहाँबाट दिक्षित भैसकेपछि मध्यपश्चिमाञ्चलको दैलेख¸ जुम्ला¸ मुगुमा गएर काम गरे र सोसल मिडियामा डाक्टर बद्री भएर हैन मध्यपश्चिमका पहाडमा खनिखोस्री गर्ने सामान्य नागरिकको प्रतिनिधित्व गर्दै 'मान्ठा' बनेर उदाए । डर्माटोलोजी बिषयमा एमडी गर्न उनी फेरी मध्यपश्चिमबाट वीर अस्पतालमा आए¸ यही बिचमा बिहे सुदुर पश्चिमाञ्चलको कैलालीबाट गरे र हाल पुन: चिकित्सा सेवाका निम्ति मध्यपश्चिमको नेपालगंजमा कार्यरत छन् । डाक्टर बद्री अर्थात मान्ठा भन्छन्-'मेरो लागि नेपालका पाँचैवटा बिकास क्षेत्र उत्तिकै महत्त्वपुर्ण छन् । डर लाग्छ¸ देश संघियतामा गयो भने मेरो जीवनका समावेशी उपलब्धीहरु भुगोलबाट इतिहास बन्ने त हैनन !' यदाकदा ब्लगिङ र अधिकाँश सोसल मिडियाहरु खासगरी माईक्रो ब्लगिङमा रमाउन र देश अनि परिवेश नियाल्न चाहने उनै मान्ठालाई हामीले यो साताको साताका ब्लगरका रुपमा यहाँ पेश गरेका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा डाक्टर, ब्लगर या अरु केही?


सोसल मिडियाको कुरा गर्दा फेसबुकलाई म, आफ्ना परिवारजन र पेशागत साथीहरुसँग सम्पर्कमा रहन प्रयोग गर्थेँ र गरिरहेको छु पनि तर त्यो मोनोटोनस हुन पुग्यो । आफ्नो पृष्ठभूमी र पेशागत सर्कल बाहिरका व्यक्तिहरुसँग अन्तर्क्रिया गर्न ट्वीटरमा छिरेको थिएँ । म
आफ्नो परिचय अलि लो-प्रोपाइलमै राख्न चाहन्थें । म यता डाक्टर भनेर चिनिन आएको पनि होइन । एकदुइ जना चिनेका साथीहरु थिए¸ उनीहरुबाट दुइचार जना अरुले थाहा पाएछन् । फेक ह्यान्डलले झैं परिचय गुमनाम राख्नैपर्छ जस्तो पनि लाग्न छाड्यो र कसैले मलाई मेरो वास्तविकताको बारे क्रस क्वेसन गर्‍यो भने इन्कार गर्न पनि छाडेँ । दुइ पटक ट्विटरबाट चिनापर्ची भएका मित्रहरुसंग हाइकिङ् गएपछि त मलाई सबैले वास्तविक नाम र पेशाबाटै चिन्न थाल्नुभो । तर म टिएल (ट्विटरको टाईमलाईन)मा आम मानिस झैँ स्वच्छन्द रहन चाहन्छु । यद्यपि कसैले मसँग मेरो विशेषज्ञता सम्बन्धित कुनै सहयोग लिनु पर्‍यो भने डिएम (डाईरेक्ट म्यासेज) गर्न सक्नुहुनेछ¸ जसलाई मैले सकेसम्म र भ्याएसम्म सहयोग गर्ने कोशिष गरेको छु ।

तपाँईको ब्लग http://jeevanprayog.wordpress.com/ मात्रै कि अरुपनि छन्? आफ्नो ब्लगका बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न ।

एउटै त धान्न सक्या छैन¸ कहाँ अर्को आँट्नु? नितान्त एउटै मात्र हो¸ जुन मैले सुरु गरेको खासै धेरै पनि भएको छैन । ब्लको नाम 'जीवन प्रयोग' रोजेको छु र यसको परिचय पनि 'मेरो प्रयोग आफ्नै जीवनसँग' भनेर राखेको छु । यो अरुलाई फोस्रा आदर्श र अव्यवहारिक प्रवचन सुनाउन भन्दा पनि आफ्नै जीवनका उतार चढाव र अनुभव सुनाउन चिनेको चौतारी हो । व्यस्त व्यवसायिक जीवनमा ब्लग भनेको पाइ नपरेको खेती भनेझैं हुने रच ! तर पनि सकेसम्म जीवन्त राख्ने प्रयासमा छु ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

लेख्ने सोच धेरै पैलेदेखि बनाए पनि अघिल्लो बर्ष एमडीको अन्तिम बर्ष भएको भएर सुरु गर्ने आँट गरिन । दशैंताका अन्नपुर्ण बेस क्याम्पको यात्रा गरेपछि त्यो अनुभव सुनाउन यो अपरिहार्य देखें । ठ्याक्कै भन्दा लक्ष्मी पुजाको दिन सुरुवात गरेको हुँ ।

ब्लगिङ किन गर्नुहुन्छ?

मनमा ज्वारभाटाका रुपमा उठ्ने अनियन्त्रित सोच¸ बिचार र भावनालाई व्यवस्थित तरिकाले लिपीबद्ध गर्न¸ अभिलेख राख्न ।

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन?

मनमा जे आउँछ त्यहि लेख्न नै त ब्लग बनाउने हो नि ! धेरै लेखि सक्या भए पो प्राथमिकता र वैकल्पिक इच्छाको बारेमा फलाक्नु ! तर पनि जीवनको गोरेटोमा भोगेका अनुभव¸ व्यवसायिक जीवनमा आइपर्ने उतारचढाव जो अरुलाई नि पठनीय¸ रोचक र उपयोगी लाग्न सक्छन्…… त्यस्तै लेख्ने सोच छ ।

ब्लग भन्दा पनि तपाँई माईक्रो ब्लग अर्थात ट्विटरमा निकै सक्रिय हुनुहुन्छ र १४० अक्षरको सिमामा रहि सामाजिक विकृति र चिकित्सा क्षेत्रका सवालमा निकै अन्तरकृया गर्न रुचाउनुहुन्छ । लामो ब्लग लेख्न समय नपुगेर कि अल्छी लागेर?

हो निश्चित रुपमा (अचेल यो थेगो भन्न नि डरमर्दो छ¸ प्रचन्डको पारा निकाल्यो भन्लान् भनेर) ! ट्वीटर गुरिल्ला युद्ध जस्तै हो…… आफ्नो पायक अनुसार आएर प्रहार गर्‍यो…… फुर्सदमा आफ्नो पोस्टमा आएका प्रतिक्रियाको जवाफ दियो । तर ब्लगको निम्ति ठूलै युद्धको झैं तयारी चाहिने रहेछ । टिएलमा झुन्डिने टाईममा ब्लग लेख्ने हो भने धेरै लेख्न सकिन्छ¸ त्यसैले समय नपुगेर भनेर पनि धेरै व्यस्त नपल्टम् । अल्छी लाग्दो हो त नेट नै चलाउदैनथे होला । त्यसैले समयको व्यवस्थापन गर्न नजानेर भन्दा बढि जायज होला ।

ब्लगिङ गर्न असाध्यै रुची रहेको तर नभ्याएको बिषय पनि केही छ कि यहाँको?

सरकारी कर्मचारीको रुपमा भोगेका आफ्ना अनुभव तर कत्ति नै रिटायर भैसक्या वा हुन लाग्या झैँ के जागिरको संस्मरण निकाल्नु भनेर ! र, अर्कोकुरा पदमा बहाल नै रहदा कति कुरा भन्नु जायज पनि नहुन सक्छन् भनेर  पनि मन थाम्या छु ।

एउटा मेडिकल डाक्टर, एउटा ब्लगर तथा सोसलमिडिया फ्रेण्डी युवाका अलावा यहाँ एउटा राम्रो फोटोग्राफर पनि हुनुहुन्छ । तर यहाँले खिचेको फोटोहरु हामीले त्यति देख्न पाईरहेका छैनौँ नि । किन होला?

आफ्नो क्षेत्रमा बिशेषज्ञ भए पनि धेरै क्षेत्रमा 'अड्को पड्को तेलको धुप' भने झैँ काम चलाउँछु । सानोमा काकाहरुसँग कतै घुम्न जाँदा याशिकाको रिलवाला क्यामेराले फोटो खिच्न लगाउनुहुन्थ्यो मलाई । त्यतिबेला देखि नै फोटो खिच्न लालायित हुन थालेँ म । पैले पो रिल¸ धुलाइ अनि संग्रहको हिसाबले महँगो थियो यो शौख । अचेल डिजिटल फोटोको जमानामा म जस्ता धेरैले धित् मरुन्जेल फोटो खिच्न पाएका छन् । अलिअलि फ्रेम¸ लाइटका कुरामा ध्यान दिने हो भने नेपालमा खिचेका फोटा यत्तिकै सुन्दर आउँदा रहेछन् किनकि नेपाल निकै सुन्दर छ । पैलेपैले हरेक शुक्रवार एउटा फोटो पोष्ट गर्ने रुटिन बनाएको थिए तर अचेल त्यो पनि मनोमानी मै चलिराछ ।

चिकित्सा क्षेत्रमा सेवा गर्ने क्रममा यहाँ मुगुमा केही बर्ष बिताउनुभयो पनि । बताईदिनुस न मुगुलाई यहाँको शब्दमा । के हो मुगु?

आफु नमरी स्वर्ग देखिदो रहेनछ । धेरै भ्रम¸ नकरात्मक पक्षको उग्र चर्चा र सकरात्मक कुरा ओझेलमा परेको/पारिएको नेपाल भुभागको एक चोइटो हो मुगु ।

एउटा मेडिकल डाक्टर बद्री मुगु पुगेर के देखेर प्रभावित भएर सोसल मिडिया खासगरी ट्विटरमा मान्ठा हुन पुग्यो त?

कर्णालीको भाषा मलाई निकै रोचक लाग्यो । बड्डा¸ ओ दैयाऽऽऽ¸ मान्ठा मलाई निकै टेस परेका पदावली थिए । मान्ठा लेख्दा यसरी लेखिए नि यसको उच्चाहरण पनि ठाउँ पिच्छे फरक छन् जस्तै मान्ठऽऽ¸ मान्ठौ…… आदि । यसको अर्थ 'आम मानिस वा सामान्य जनता' भन्ने भावको हुन्छ । एउटा डाक्टर एप्रोन र स्टेथोस्कोप थन्क्याएर जनमानससँग अन्तर्क्रिया गर्न ट्वीटरमा छिर्दैछ भने यो भन्दा उपयोगी नाम अरु केहि हुन नसक्ने ठानेरै यो ह्यान्डलको न्वारन गरेको हुँ ।

आफ्नो ब्लगका भिजिटरहरुबाट अथवा सोसल मिडियाका उपभोक्ताहरुबाट आफ्नो ट्विट या ब्लगका बारेमा पाउनु भएको कुनै रोचक प्रतिकृया सम्झिनुहुन्छ?

हुन त अचेल त सार्वजनिक नै भैसक्यो तर पैलेपैले कोहि मानिसहरु मलाई फोटोग्राफर सम्झिँदा रहेछन् त कसैले मिडियाकर्मी ।

नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ यहाँले कसरी नियाल्नुभएको छ?

अरु देशका नागरिकहरुमा कसरी प्रयोग भैरहेको छ मलाई त्यति जानकारी भएन तर प्रविधि र इन्टरनेटमा पहुँच भएका नेपालीहरु माझ भने सोसल मिडिया जीवनको अभिन्न अङ्ग झैं भैसक्यो । मान्छेहरुले अचेल फोटो एल्बम बनाउनै छाडे, सबै जिम्मा फेसबुकलाई दिएर । फेसबुक चैं अलि मपाईत्व झार्ने ठाउँ बन्दैगएको छ । मैले यसो गरें¸ उसो गरें भनेर अरुलाई जानकारी दिने (कतिपय अवस्थामा मैले यत्रो उपलब्धी गर्न भ्याइसकें¸तिमी मुलाहरु कता अल्झेका छौ भन्ने आशयका समेत) थलो भएको छ । तर ट्विटर भने चोकको चियापसल झैँ भएको छ । फुर्सद मिलाएर छिर्‍यो¸ माहोल बुझ्यो¸ बजार कुन बिषयले तताएको रहेच-थाहा पायो¸ आफ्नो केहि भन्नु छ भने तर्क दियो¸ नत्र लुसुक्क आफ्नो बाटो लाग्यो । प्रयोगकर्ता सिमित भए पनि प्रभावकारी पहुँच छ नेपालमा ट्विटरको । रिपोर्टरदेखि लिएर पत्रिकाका सम्पादकसम्म¸ गगन थापादेखि बाबुराम भट्टराईसम्म । फेसबुकमा डुक्रनु र पत्रिकामा पाठक पत्र पठाएर कुइँकनु भन्दा यता सिधै मेन्सेर घुँयत्रो हान्दा रेस्पोन्स आएका दृष्टान्तहरु प्रसस्तै छन् ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ

पढ्छु । यहि नै भनेर लिस्ट बनाको त छैन तर टाइमलाइनमा चर्चा भएका प्राय: ब्लग छुटाउँदिन ।


विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?

रमाईला¸ चोटिला  र उपयोगी (जस्तै प्रविधीसँग सम्बन्धित) तर बेफ्वाँकका राजनैतिक तर्कबितर्क गरिएका चैं झिँजो लाएर आउँछ । अहिलेको समयमा कल्लाइ थाहा छैन र आइडियल भनेको के हो ! कत्ति न उसैले मात्र त्यो गुह्य रहस्य पत्ता लाएझैं गरेर लेखिएका ब्लगको पेज मेरो ब्राउजरमा बिरलै खुल्छन् वा खुलिहाले पनि अन्त्यसम्म पढ्ने धैर्य पुग्दैन ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

अनुशासन सबै क्षेत्रमा आवश्यक छ तर हरेक ठाउँमा कानुन¸ पुलिस¸ प्रशासनले डन्डा लिएर मात्र त्यो पालना हुदैन । मर्यादामा ब्लग लेख्ने कुरा व्यक्ति स्वयंले कायम राख्ने कुरो हो । ट्विटरमै भनम् न, निकै तल्लो स्तरका गाली गरेर बाबुराम भट्टराइलाई मेन्सने प्रचलन बढेको थियो एकताक । जति कडा गाली गर्‍यो त्यति बिद्वान बनिने त होइन  नि ! भद्र भएर असहमति राखौं¸ तर्कसंगत बहस गरौं र सहअस्तित्वलाई स्वीकार गर्दै अरुको बिचारको पनि सम्मान गरौं । यो मैले आफैंलाई बनाएका केहि नर्म्स हुन् । आफैं संयमित हुनुपर्छ भन्ने मेरो भनाइ हो । नत्र रत्नपार्कमा ट्राफिक लाइटबाट बाटो कटाउन पुलिस बस्नुपर्ने अवस्थाको देशका हाम्लाई राज्यले नियमन र नियन्त्रण गर्नसक्ला जस्तो लाग्दैन ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना छन् भने बताईदिनुस् न ।

त्यस्तो खासै त केहि छैन तर सोसल मेडियाको प्रयोग प्रयोग सामाजिक कार्यको लागि गरौं भनेर आफुले पढेको गाउँको स्कुलको लागि केहि थान डेस्कटप कम्प्युटर जुटाउन सानो पहल गरेको¸ सफलता मिल्यो । सहयोग पुर्‍याउनुहुने सम्पुर्ण दानीहरुलाई साधुवाद । श्रोतसाधनको अभावमा छट्पटाइरहेका कैयौँ संस्था र सहयोग गरेर आत्मसन्तुष्टि लिन चाहने सहयोगी हातहरुका बिच सोसल मिडिया र प्रयोगकर्ताले सेतुको भूमिका निर्वाह गर्न सक्छन् भन्ने कुरा चै पुष्टी भयो र भविष्यमा पनि यस्ता काम अझ राम्रोसँग गर्ने अनुभव प्राइयो ।

तपाँई आफूपनि सोसल मिडियाको उपभोक्ता भएको हुँदा हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु: ब्लग, ट्विटर र फेसबुकमा के फरक पाउनुभयो?

उपभोक्ताकै भाषामा भन्दा फेसबुक बजारमा पाइने प्याकेजिङ्ग गरिएको मासु हो । जस्तो आयो त्यस्तै ग्रहण गर्नुपर्ने । ट्वीटर बगरेकोमा गएर मासु किने झैं हो । आफ्नो रोजाइको भागको मासु¸ इच्छानुसारका साइजमा टुक्रा पारेर लिने । ब्लग भनेको घरमै खसी काट्नु झैं हो । सर्जाम जुटाउन गारो तर स्वच्छन्दता धेरै । जे खाए नि भो जति खाए नि भो । आफ्नै हात¸जगन्नाथ !

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ । के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

पत्रकारिता केलाई भन्ने? समाचार केन्द्रित लेखाइलाई मात्र पत्रकारिता मान्ने हो भने त्यो होइन¸ तर समस्याको उठान र बिचारको मन्थनलाई हेर्ने हो भने ब्लगिङ् मुलधारको पत्रकारिता भन्दा धेरै माथि छ ।

अन्त्यमा,

प्रश्न ज्यादै लामा भए । हा…… हा…… हा……

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Pagal Basti on January 9, 2014 at 4:13pm

बधाइ हाम्रा तर्फबाट पनि; स्विकार होस

Comment by प्रल्हाद दाहाल (प्रेम-मोती on January 9, 2014 at 3:59pm

धेरै धेरै बधाई!! मान्ठा सर

Comment by Prakash Lamichhane on January 9, 2014 at 11:54am

बधाई छ मान्ठा डार्साप ! :) 

Comment by Ekendra on January 9, 2014 at 10:14am

Hope your expertise on health and medicine will enable Nepalese on social media to be more cautious about the same.

Comment by Umesh Sigdel on January 8, 2014 at 5:04pm

अत्यन्तै रमाइला इन्टरबार्ता - र धेरै धेरै बधाइ छ मान्ठा हजुर लाइ । 

Comment by Binaya Shekhar on January 8, 2014 at 3:29pm

Congratulations Dr. saab! 

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service