भरपर्दो इन्टरनेट कनेक्सन नहुनु नै नेपालमा ब्लगिङ्का लागि मुख्य चुनौती हो-अस्मिता थापा

ओखलढुंगाकी अस्मिता थापा पेशाले नेपाली विषयकी  अध्यापक  पनि हुन । अध्ययन अध्यापनमा बिशेष रुचि राख्ने उनी हाल बिराटनगरमा रहेर एलएलबी दोश्रो बर्षमा समेत अध्ययनरत छिन । अस्मिताले केही समय अघिसम्म रेडियोमा समेत आफ्नो स्वर गुञ्जाउने गर्दथिन् । अध्ययन अध्यापनका अलावा उनी सोसल मिडियाब्लग लेखनमा पनि उत्तिकै सक्रिय छिन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै अस्मिता थापालाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ उनीसँगको कुराकानी :

अस्मिता थापालाई के भनेर चिन्ने अलिकति आफ्नो बारे बताइदिनुस न ।

पहिले रेडियोमा काम गर्थें त्यसैको माध्यमबाट धेरैले चिने । अहिले कलेजमा पढाउँछु । यस कारण पनि केहीले चिन्छन् । सानो छोरो काखमा छ, छोराकी आमा भनेर नि केहीले चिन्दा रहेछन् । वास्तवमा अस्मिता थापालाई सबैले चिन्ने आधार चाँही बनाउन बाँकी नै छ ।

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?
नियमित ब्लगहरु नलेख्नाले ब्लगरकै रुपमा चिनाउँदा साँच्चैका ब्लगर माथि अन्याय हुने भो अन्य सोसल मिडिया फेसबुक र टुइटरमा पनि आजकल अलि निस्क्रिय नै भएकी छु । चिनाउनको लागि खासै त्यस्तो केहि गरिसकेको जस्तो लाग्दैन ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी या किन ब्लगिङ सुरु गर्नुभयो ?

सन् २०१२ देखि शुरु गरेकी हुँ । ब्लगमा लेखेका कुराहरु साथीहरुले फेसबुकमा शेयर गरेको देख्दा आफुलाई पनि साह्रै रहर लाग्थ्यो । खासमा आफ्ना भावनाहरु डायरीमा मात्र सीमित राख्नुको त कुनै मजै रहेनछ । ब्लगमा भावनासंगै मेल खाने तस्बिर पनि राख्न पाइने आदि रमाइला कारणले गर्दा पनि मैले ब्लगिङ् शुरु गरेकी हुँ ।

केका लागि ब्लगिङ गर्नुहुन्छ ?

ब्लगिङ् गर्दा मनमा आनन्द हुन्छ यसैका लागि हो । त्यसपछि अरुले पनि देख्छन, कैलेकाहीं राम्रो छ भनिदिन्छन्, फुरुक्क फुर्किन पनि पाइन्छ त्यहि भएर नै हो । समयको कुरा गर्दा चाँहि लाजमर्दो नै हुन्छ, लगभग एक सालदेखि आफ्नै ब्लग भित्र छिर्ने फुर्सद पाएकी छैन तर अब चाँहि समय निकाल्नु पर्छ भन्ने सोचिरहेकी छु ।

तपाईको ब्लगमा कविता गजल धेरै राख्नु हुदोँ रहेछ, यस बाहेक अन्य के कुराहरु राख्न बढी रुचाउनुहुन्छ ?

सिकारु अबस्थाका गीत गजल कबिता बाहेक अरु त केही छैन । अहिले चैं मेरो प्राथमिकतामा पर्ने भनेका माया प्रेमका बिषयबस्तु नै हुन् किनभने यसले मनलाई छिटो छुन्छ र लेख्नलाई प्रेरित गरिहाल्छ ।

 

तपाँइले चलाउने ब्लग http://asmita-thapa.blogspot.com/ मात्रै हो कि यस बाहेक अरु पनि छन्  ?

यति नै हो ।

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छन, तर निरन्तर ब्लग गरिरहन या ब्लगलाइ समय दिन त गाह्रो छ नि हैन ?

रहर गर्नु र काम गर्नु दुइटा फरक कुरा हुन् । ब्लग गर्न गाह्रो छ गरिरहन त झनै धेरै गाह्रो छ । समय भएको बेला जाँगर होला भन्न सकिंदैन । जाँगर भएको बेला समय पो कहाँ हुँदो रहेछ र ! सबै कुराको तादात्म्य मिलाएर काम गर्न गाह्रो त गाह्रो छ ।

 ब्लगिङ गर्न कस्ता कस्ता चुनौतिहरु छन् ?

सजिलो  त के गर्दा पो होला र ? पर्याप्त समय दिन नसक्नु तथा भरपर्दो इन्टरनेट कनेकसन नहुनु नै चुनौती नै हो ।

अनि नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग ?

यो प्रयोगकर्तामा भर पर्छ । धेरै जसो त  सदुपयोग नै गरेको देख्छु ।

ब्लगिङ बाहेक तपाँइको अर्को रुचीको बिषय चाँही के हो ?

पढ्न पाए केही  चांहिदैन जस्तो लाग्थ्यो सानैदेखि त्यस्तै घुमघाम गर्न गीतसंगीत सुन्न यस्तै हो ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ ?

फुर्सदमा पढिन्छ । बिशेष गरी समसामयिक कुराहरु राम्रा साहित्यिक रचनाहरु राखिएका ब्लग मेरो रोजाइमा पर्छन् ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनुभएको छ ?

समाजको हित विपरीत हुने कार्यको निन्दा गर्नु, सच्याउने उपाय औंल्याउनु साथै हुने र भएका समाज सेवाका कार्यक्रम सम्बन्धि जानकारी उपलब्ध गराउने खालका सामाग्रीहरु ब्लगमा प्रशस्तै भेटिन्छन तसर्थ नेपाली ब्लग सामाजिक हितमा लेखिन्छन् भन्न सकिन्छ ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता ?

ब्लगरका लागि आचारसंहिताको आवश्यकता पर्छ किनभने कुनै पनि कुराहरु प्रक्रियामा चलेकै राम्रो हो ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ ?

केही न  केही त आचारसंहिता सबैले पालना गरेकै जस्तो लाग्छ ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न ।

त्यस्तो रमाइलो त केही छैन भनेर भन्नु पो कसरी ! ब्लग लेखेकै कारण यत्रो अन्तरवार्ता दिन पाइएको छ ।

तपाई सोसल मिडियामा पनि सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो  ?

फेसबुक प्राय: सबैले चलाउँछन् , यसले एक अर्कालाई नजिक्याएको पनि छ । त्यस्तै आफ्ना ओजनदार प्रस्तुती बिचार तथा अनुभूति दीर्घकालीन रुपमा जम्मा गर्ने, अरुबाट प्रतिक्रिया लिने ठाँउ ब्लग हो भने छोटो, मीठो र सशक्त भनाइ राख्न चै ट्विटर नै प्रभावकारी देखिन्छ ।

नेपालमा सोसल मिडियाको प्रयोग कस्तो  भइरहेको पाउनुभएको छ ?

बुझ्नेहरुले त सदुपयोग नै गरेका हुन्छन्, नबुझेर केहीले दुरुपयोग पनि नगरिरहेका हैनन् ।

ब्लगिङलाइ कँहिकतै बैकल्पिक मिडिया अर्थात ब्यक्तिको निजी मिडियाका रुपमा पनि भन्ने गरेको पाइन्छ तर पनि यो अँझै काठमाण्डौ केन्द्रित मात्र भइरहेको छ र मोफसलमा ब्लगरहरु एकदमै कम छन भन्ने पनि गरिन्छ नि । किन होला ?

यसको एउटा कारण त मोफसलमा इन्टरनेटको पनि राम्रो सोर्स छैन अर्को कारण ब्लग के हो भन्ने कुरा पनि धेरैलाई थाहा नभएर होला ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

नागरिक पत्रकारिता नै हो भनेर ठ्याक्कै भन्न नसकिए पनि यसको प्रभावलाई मुल्यांकन गर्ने हो भने मान्न चै सकिन्छ ।

अन्त्यमा,

मेरो रिपोर्टलाई उत्तरोत्तर प्रगतिको कामना साथै मलाई साताको ब्लगरको रुपमा छनौट गर्नुभएकोमा धेरै धेरै धन्यबाद तथा आभार प्रकट गर्न चाहन्छु ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Prakash Lamichhane on August 20, 2014 at 5:27pm

Congratulations !!!! 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service