सोसल मिडिया सामाजिक रुपान्तरणको औजारको रुपमा विकसित भैरहेको छ-अनिता थापा

अनिता थापा  युवाका क्षेत्रमा काम गर्ने तथा आफैमा युवा अभियानकर्मीहरुमाझ परिचित नाम हो । विभिन्न समयमा युवाका क्षेत्रमा सक्रियपुर्वक लागि परेकी उनी आफूलाई विवाहित तथा एक छोरीकि आमा भनेर पनि चिनाउन चाहन्छिन् । विगत नौ बर्षदेखि युवा विकासको क्षेत्रमा सक्रिय उनी हाल सम्भावना नामक गैह्रसरकारी संस्थामा निर्देशकको रुपमा कार्यरत छिन्। बिशेषगरी माध्यमिक विद्यालयसंगको साझेदारी कार्यक्रम Civic Schools मा ब्यस्त अनिताको स्थायी ठेगाना काठमाण्डौको ज्ञानेश्वर भएपनि हाल बसोबास भने बसुन्धारामा छ । पोखरा विश्वविद्यालयबाट विजनेश एडमिनिस्ट्रेशनमा मास्टर्स सकेर त्रिभुवन विश्वविद्यालयबाट महिला अध्ययनमा पोष्टग्राजुएट डिप्लोमा सकिसकेकी उनी सामाजिक सञ्जाल र ब्लगिङमा पनि सक्रिय छिन् । फेसबुक र ट्विटरमार्फत सामाजिक अभियान र सामाजिक मुद्दाहरुमा धेरै बहस गर्न रुचाउने अनिता ब्लग मार्फत भने अनुभुतिहरु शेयर गर्न रुचाउँछिन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै अनिता थापासंग कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानी :

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा युवा अभियानकर्मी, ब्लगर या अरु केही?

समसामयिक बिषयमा रुचि राख्ने र सामाजिक रुपान्तरणमा सोसल मिडियाले योगदान गर्नसक्छ भन्ने बिश्वास गर्ने एक नेपाली ।

तपाँईको ब्लग http://anitapthapa.wordpress.com/ मात्रै कि अरुपनि छन्? आफ्नो ब्लगका बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न ।

अरु छैनन् । माइक्रो ब्लग चाँही छन्। खासगरी ट्विटर, फेसबुक, लिङ्कडेन, भ्वाईस-एग्नेष्ट-करप्सन, एक्सचेन्ज कनेक्ट, जी+ मा छु । ब्लगको बारेमा कुरा गर्नुपर्दा चाँही,  यो एकदम जानेका मान्छेले मात्र लेख्छन, टेक्नोलोजीमा दख्खल राख्नेले मात्र लेख्छन जस्तो लाग्थ्यो र आँट गर्‍याथिईन। २०११ मा अमेरिकामा स्कूलमा काम गर्दा साना भाइबहिनीहरुले पनि ब्लगलाई धेरै महत्व दिएको पाएर आफ्नो पनि ब्लग बनाउँ कि भन्ने लाग्यो र श्वेता बानिया बहिनीसंग सल्लाह मागेर ब्लग लेख्न सुरु गरेँ। आफ्नो जिन्दगीको भोगाइ, रमाइला अनुभवहरु अरुसंग बाड्ने राम्रो माद्यमको रुपमा लिएको छु।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

२०११ देखि तर २०१३ मा साह्रै निस्क्रिय रहेँ। तपाइले झक्झकाइदिनुभो, यो महिना एउटा लेखिहाल्छु।

ब्लगिङ किन गर्नुहुन्छ?

आफ्नो काम र अनुभव अरुसंग बाँड्न ब्लगिङ गर्छु।

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन?
मेरो ब्लगमा आफ्नो जिन्दगी, काम, आफुले घुमेको नयाँ ठाउँ र काम गर्दैजाँदा मन छोएको व्यक्तिहरुको बारेमा पढ्न सकिन्छ।

ब्लगसंगसंगै तपाँई माईक्रो ब्लगिङ अर्थात ट्विटरमा र फेसबुक लगायतका अरु सोसल मिडियामा पनि निकै सक्रिय हुनुहुन्छ र यहाँलाई धेरैले युवा समाजसेवी तथा अभियानकर्मीका रुपमा पनि चिन्छन् । सोसल मिडिया र ब्लगिङमा कस्ता सवालहरुमा अन्तरकृया गर्न रुचाउनुहुन्छ? आफ्नो पेशागत कामका सिलसिलामा देखेभेटेका कुराहरु या मात्र सवालजवाफ र आफूलाई अपडेट राख्ने कुराहरु?

सामाजिक र समसामयिक बिषयहरुमा अन्तरक्रिया गर्न रुचाउछु । सोसल मिडियामार्फत नेपाली राजनीति र युवाहरुको रुचि र राजनीति प्रतिको धारणा बुझ्न पनि सहयोग मिलेको छ। साथै आफ्नो काम युवा तथा किशोरकिशोरी लक्षित भएको हुँदा उहाँहरुसंग पहुँच र सम्बन्ध पनि बढेको छ। प्रतिफल त्यति नआए पनि विभिन्न सामाजिक अभियानको सुरुवातमा पनि यसले राम्रो भूमिका खेल्याछ।

नेपालमा ब्लगिङ र सोसल मिडिया 'क्रिया अर्थात कर्मको बखान भन्दा पनि प्रतिकृयाको रटानमुखी छ । केही सवाल उठ्यो भन्दा त्यसमा प्रतिकृया जनाउन ब्लगर र सोसल मिडियाका उपभोक्ताहरु हर्रर्रर्र जागिहाल्छन्' पनि भन्छन् कसैकसैले । यहाँको बुझाई के?

प्रतिक्रिया जनाउनु आफैमा नराम्रो होइन, यसले वैचारिक छलफलमा मद्दत पुर्‍याउँछ । नकारात्मक तथा संकीर्णतामा रहेर गरिने छलफलले समाज परिवर्तनको त के कुरा ब्यक्तित्व विकासमा पनि कुनै योगदान गर्दैन ।

सोसल मिडिया मार्फत नेपालमा थुप्रै अभियानहरु पनि भएका छन् । बालबालिकाको मुहारमा मुस्कान ल्याउने भनेर गरिने ट्विट फर कज अभियान, महिला हिंसा बिरुद्दका अभियान, गाउँघरका स्कुलमा पुस्तकालय खोल्ने अभियान लगायतका अरु थुप्रै अभियानहरु । एउटा युवा अभियानकर्मीका हिसावले भन्नुपर्दा यहाँले देखेको सोसल मिडियाले युवा तथा अभियानकर्मीहरुका निम्ति गरेको रचनात्मक सहयोग के?

सामाजिक सञ्जालबाट शुरु भएका कतिपय अभियानमा म आफै पनि सरिक भएको थिएँ । छरिएर रहेका युवाकर्मीहरुलाई एउटै मञ्चमा ल्याई, साझा मुद्दामा छलफल, बहस गरी सामुहिक रुपमा कार्य गर्न अभिप्रेरित गरेको छ यसले । ट्वीट फर कज अभियानको कामको त म प्रशंसक नै हुँ । म ट्वीटरमा सक्रिय भएको पनि यस्तै अभियानमा जोडिन पुग्छु भनेर समेत हो ।

पछिल्लो समयमा सोसल मिडियाका बहसहरुले मुलधारका मिडिया तथा निति निर्माता र राज्यसंचालकहरुलाई समेत प्रभावित पार्न थालेको छ । कुनैपनि सामाजिक मुद्दाहरुमा सोसल मिडियाका बहसबाट त्यो मुद्दा अब कता जान्छ भनेर आँकलन पनि गर्न सकिन्छ भन्न थालिएको छ । तपाँई मान्नुहुन्छ यो कुरा?

पछिल्लो समयमा सोसल मिडिया सामाजिक रुपान्तरणको एक औजारको रुपमा विकशित भैरहेको छ । समसामयिक विषयमा स्वतन्त्र रुपमा आफ्नो अभिमत राख्दा त्यस्ता अभिमतहरु, जनमतको रुपमा विकशित हुन्छ । जसको कारण मूलधारका मिडिया, राज्य सञ्चालक तथा राजनैतिक दलहरु यस्ता अभिमतलाई कदर गर्न वाध्य हुन्छन । पछिल्लो बर्षहरुमा सोसल मिडियाले अरबतिरका राज्य ब्यवस्थामा समेत उथलपुथल ल्यायो ।

फेरी तपाँईको ब्लगतिरै फर्किउँ, आफ्नो ब्लगका भिजिटरहरुबाट अथवा सोसल मिडियाका उपभोक्ताहरुबाट आफ्नो ट्विट या ब्लगका बारेमा पाउनु भएको कुनै रोचक प्रतिकृया सम्झिनुहुन्छ?

टविट् या ब्लग भन्दापनि फेसबुकमा एक भारतीय युवाले मेरो काम र अपडेट फलो गर्नुहुँदोरहेछ, नचिनेको भनेर सुरुमा त फ्रेण्ड रिक्वेस्ट स्विकार गरिन पछि वहाले आफ्नो परिचय लेखेर पठाउनुभयो र युवाकै क्षेत्रमा काम गर्ने हुँदा स्विकार गरेँ। आज हामी युरोप/एशिया साझेदारी कार्यक्रम अन्तर्गत संगै काम गर्छौ ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?

बेलाबेलामा पढ्छु। माइसंसार, जनक भट्ट, स्वेता बानिया, संजीव पोखरेल, बिकास कोइराला र बाबाजीको पढ्छु। अरुको पनि आक्कलझुक्कल पढ्छु।

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन?

बिषय भन्दापनि प्रस्तुतिलाइ जोड दिन्छु। लामो लेख पढ्ने धैर्यता छैन मसंग त्यसैले छोटोमिठो लेख जुन बिषयमा भएपनि पढ्छु। बिशेषगरी सामाजिक बिषय, जीवनी, संघर्षका कथा, घुमफिर, महिला सम्बन्धी लेख आदिले आकर्षित गर्छ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

मलाई आचारसंहिता कै जरुरी छ जस्तो त लाग्दैन तर लेख्नेले आफै बिचार गर्ने कुरा हो जस्तो लाग्छ र बिशेषगरी अरुको बारेमा लेख्दा चाँही ध्यान पुर्‍याउनै पर्छ। अभिव्यक्ति स्वतन्त्रताको गलत फाईदा उठाउनुहुन्न।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना छन् भने बताईदिनुस् न।

रमाइला भनेर उल्लेख गर्न लायक त छैनन् तर पनि मेरो २०१२ को अन्तिम ब्लग स्कूल इन अ ब्याग पढेर धेरैले Helambu Education and Livelihood Project (HELP) नामक संस्थाको राम्रो कामबारे जान्ने मौका पाएँ भनेर प्रतिक्रिया दिनुभएको थियो।

तपाँई आफूपनि सोसल मिडियाको उपभोक्ता भएको हुँदा हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु: ब्लग, ट्विटर र फेसबुकमा के फरक पाउनुभयो?

ब्लग लेख्न थाल्नु मेरोलागि एउटा आफ्नो खुबी परिमार्जित गर्ने अवसर बन्यो, आज म आफ्नो संस्थाको वेबसाइट आफै चलाउँछु भने ट्विटरले अपरिचितहरुको भिडमा पनि आफ्नोपन ल्याएको छ। विचार आदानप्रदान हुन्छ, अपरिचितलाइ पनि धेरै अघि चिनेको मित्रजस्तो सम्बन्ध बिस्तार गर्न पाइयाछ,  सामाजिक अभियानसंग जोडिन पाइयाछ। फेसबुकले आफ्नो काम लक्षित वर्गमा पुर्‍याउन सजिलो भएको छ र देश बाहिर बसेका आफन्त र मित्रहरुसंग सजिलै सम्पर्कमा रहन सकिएको छ। अब यी थलोहरु बिना जीवन कल्पना गर्न गाह्रो भैसक्यो।

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो?

ठ्याक्कै यादै त भएन तर  School in a Bag : for future of this country भन्ने ब्लग अरुभन्दा धेरै हेरियो झैँ लाग्छ ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

हो जस्तो लाग्छ। कतिपय बिषय (समाचार)हरु मुलधार मिडिया भन्दा पहिले नै थाहा हुने र प्रस्तुत सामग्री विश्वास गर्न लायक हुन्छन र मुलधारको मिडिया जस्तो निश्चित पार्टी समर्थित गन्ध पनि आउँदैन।

अन्त्यमा,

बिचार बाँड्ने मौका दिनुभएकोमा धन्यवाद। मेरोरिपोर्टको प्रगतिको कामना गर्दछु ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Binaya Shekhar on February 5, 2014 at 9:52pm

Congratulations Anita jee. 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service