रहरले र पढिने लोभले ब्लगिङलाई नियमिता दिइरहेको छु-अमोल आचार्य

अमोल आचार्य आफूलाई चिनाउँदै भन्छन्-'मेरो क्षेत्र विकास अध्ययन भएकाले म आफूलाई विकासको एउटा विद्यार्थीको रुपमा चिनाउन चाहान्छु ।' एउटा गैह्रसरकारी संस्थामा 'दिगो विकास अधिकृत'का रुपमा कार्यरत अमोल सोसल मिडियामा पनि उत्तिकै सक्रिय छन् । http://visitloma.blogspot.com नामको ब्लगबाट ब्लगिङमा सक्रिय अमोललाई मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा हामीले यसपाली प्रस्तुत गरेका छौँ । प्रस्तुत छ अमोलसंग तारा चौलागाईले गरेको कुराकानी :

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?

म ब्लगर नै त हैन किनभने पहिलो कुरा त म नियमित रुपमा ब्लग लेख्दिन र अर्को कुरा म कुनै निश्चित प्रकारको पाठकलाई भनेर पनि पनि लेख्दिन। काठमाडौं विश्वविद्यालयमा मिडिया स्टडिजमा स्नातक गरिरहँदा पढाइको माग अनुसार ब्लग बनाएको थिएँ। त्यतिबेला आफूले लेखेका कार्यपत्र र गृहकार्य ब्लगमा राख्थें। पछि, पत्रिकामा पाठक-पत्र र लेखहरु प्रकाशित हुन थालेपछि तिनै र अन्य अप्रकाशित लेख-रचनाहरु ब्लगमा राख्न थालेको हुँ। त्यस अलावा, कहिलेकाहिँ जाँगर लागेको बेलामा लेखेको कुराहरु पनि राख्ने गरेको छु। त्यसैले म आफूलाई ब्लगरकै रुपमा चिनाउन सक्दिन, मेरो चहाना त्यस्तो भए पनि। म अहिले आफुलाई विकासको विद्यार्थीकै रुपमा चिनाउन चाहन्छु। 

यहाँका ब्लगहरु कुन कुन हुन?

मेरो एउटै मात्र ब्लग छ-अमोल अनलाईन (http://visitloma.blogspot.com) नामको । अलि अघिसम्म अर्को एउटा ब्लग थियो क्रिकेटको बारेमा मात्र लेख्छु भनेर बनाएको तर अनियमित भएकाले र ज्यादै थौरै लेख्ने भएकाले पनि मैलै उक्त ब्लग बन्द गरें।

आफ्नो ब्लगमा कस्ता कुराहरु राख्न रुचाउनुहुन्छ?

आफ्ना नीजी कुराहरु र केहि कार्यपत्रहरु बाहेक आफुले लेखेको प्राय:जसो सबै कुरा मैले ब्लगमा राखेको छु।

ब्लगिङ के का लागि गर्नुहुन्छ?

पढाइको आवश्यकता ब्लग बनाएको हुँ। त्यसपछि रहरले र पढिने लोभले ब्लगिङलाई नियमिता दिइरहेको छु।

कस्ता बिषयबस्तुहरु यहाँको ब्लगमा अटाउँछन्?
आफ्नो पढाइको क्षेत्र अनुसार नै धेरै जसो मिडिया र विकासका विषयहरु मेरो प्राथमिकतामा पर्छन्। त्यसका अलावा, अलिअलि कथाहरु, अलिअलि सम्झनाको कुराहरु पनि राख्ने गरेको छु।

मानिसहरु रहर त निकै गर्छन् तर निरन्तर ब्लगिङ गर्न त गाह्रो छ नि है !

गाह्रो छ । नियमित हुन जरुरी छ जस्तो पनि लाग्दैन । किनभने, मानिसहरुसँग अहिले सूचना, समाचार, मरोरञ्जनको लागि अहिले अनगिन्ती स्रोतहरु छन्। पेसा नै ब्लगिङ् हो भने बेग्लै कुरा नत्र भने नियमित हुन् गाह्रो छ ।

ब्लगिङ बाहेक यहाँको अर्को रुचीको बिषय चाँही के नि ?

ब्लगिङ् बाहेक पदयात्रामा जान मलाई खुबै रहर लाग्छ। क्रिकेट, फुटबल, टेनिसको प्राय: सबै महत्वपूर्ण प्रतियोगिताहरु हेर्छु वा पछ्याउँछु भनौं । नेपाली साहित्यको अध्ययन पनि गर्छु ।

यहाँ अरु सोसल मिडियाहरुमा पनि उत्तिकै हुनुहुन्छ । नेपालमा सोसल मिडियाक प्रयोग कस्तो भइरहेजस्तो लाग्छ यहाँलाई?
फोटोहरु राख्नुको अलवा सूचना आदान-प्रदान र विज्ञापनको लागि सोसल मिडियाको उपयोग भइरहको छ। नेपालमा भने अलि व्यक्तिगत प्रयोजनका लागि बढि प्रयोग भएको जस्तो लाग्छ। तर, म भने सूचनाको लिनको लागि प्रयोग गर्छु।

नेपालमा ब्लगिङको प्रयोग चाँही कस्तो भइरहेको पाउनुभएको छ? सदुपयोग या दुरुपयोग?

केहि बाहेक धेरैजसो ब्लगहरु नियमित छैनन्। तर पनि, पत्रपत्रिकामा स्थान नपाउने धेरै सामाग्रीहरु ब्लगमा राख्न मिल्ने भएकाले नेपालको सन्दर्भमा पनि ब्लगको सदुपयोग भएको जस्तो लाग्छ मलाई। दुरुपयोग त सबै माध्यम (छापा, रेडियो, टिभी, आदी) भएका छ, ब्लग अछुतो छ भन्न सकिन्न। समग्रमा सदुपयोग नै बढी भएको जस्तो लाग्छ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?

अरुको ब्लग पनि पढ्छु । केहि चर्चित ब्लगहरु जस्तै, आकारपोष्ट, दुरसञ्चार डट कम, लगायत भिजिट गरिरहन्छु । आफ्नै साथीहरुको भएकाले पनि ती ब्लगहरु नियमित नै पढेको या हेरेको हुनसक्ला। विषयवस्तुभन्दा पनि, तत्समयमा पढ्न लागेको जे सामाग्री भए पनि हेर्छु। राम्रोसँग लेखेको जस्तो विषयवस्तु पनि पढ्छु।

ब्लगिङ या ब्लगरका लागि आचारसंहिता चाहिने या नचाहिने बिषयमा निबै बहस भईरहेको हुन्छ । यहाँलाई के लाग्छ, जरुरी छ आचारसंहिता?

आचारसंहिता भन्ने कुरा राम्रो हो तर शिर्जनशिलतामा बन्देज नलाग्ने शर्तमा मात्र। ब्लगलाई व्यक्तिगत गालीगलौज वा मानहानीका लागि प्रयोग पनि गर्न सकिने भएकाले, त्यो रोक्न आचारसंहिता ल्याउने हो भने, मलाई केहि आपत्ति छैन।

ब्लग लेखनसंग जोडिएका कुनै रमाईला प्रसंग छन् भने बताउनुस् न !
भर्खर ब्लग लेख्न सुरु गर्दैगर्दा, आफूले घान्द्रुक जाँदा लेखेको नियात्रा हेटौंडाको ग्रेस एफएममा बजेको थियो भनेर थाहा पाउँदा खुसी लागेको थियो। ब्लग लेख्ने रहरमा यो कारणले ठलो बढोत्तरी ल्याएको हो। तर मैले भने अहिलेसम्म त्यसको अडियो सुन्न पाएको छैन।

ब्लगिङलाई कतिले बैकल्पिक मिडिया वा ब्यक्तिको निजी मिडिया पनि भन्छन् तर पनि यो शहर केन्द्रित मात्रै भो पनि भन्छन्। किन होला?

प्रविधि (बत्ती र इन्टरनेट) माथि पहुँच हुन वा नहुनुले धेरै कुरा निर्धारण गर्छ। नाङ्गी (महावीर पुनको वायरलेस गाँउ)को हिमाञ्चल उच्च माध्यमिक विद्यालयले इ-लर्निङ्गको सुविधा दिएको छ तर धेरै विद्यार्थीले, घरमा कम्प्युटर र इन्टरनेट नभएकाले, त्यो सुविधा उपयोग गर्न नपाएको उदाहरणले धेरै कुरा बताउँछ।

ब्लगिङलाई केहीले नागरिक पत्रकारिता पनि भन्ने गर्छन्, यहाँलाई के लाग्छ?

गरे त हो तर प्रविधिको पहुँच र बढ्दो मूलधारका मिडियाहरु संख्याका कारण ब्लगले पत्रकारिताकै रुप ग्रहण गर्ला जस्तो लाग्दैन। एउटा व्यक्ति वा सानो समूहलाई सङ्गठित रुपमा सञ्चालन भएको मूलधारका मिडियाहरुले ओझेलमा पारेको देखिन्छ। कतिसम्म भने, धेरै अनलाइन न्युज पोर्टलले तिनै मूलधारका मिडियाहरुको सामाग्रीलाई हुबहु प्रयोग पनि गरेको पाइन्छ। 

अन्त्यमा,
ब्लगरहरुलाई आफ्नो विचार राख्ने अवसर र स्थान दिनुभएको राम्रो लाग्यो। निश्चित संख्या पुगेपछि यी अन्तरवार्ताहरु मिलाएर एउटा कार्यपत्र लेख्न सक्दा यो प्रयासले सार्थकता पाउने छ र नीति-निर्माताहरुको लागि सम्बन्धित क्षेत्रको कानुन बनाउन पनि उपयोगी हुने छ । धन्यवाद । 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service