सोसल मिडियाले डा. गोबिन्द केसीको अनसनको बहसलाई आम युवासम्म पुर्‍याएको छ-डा.लक्ष्मण रिजाल

काठमाण्डौको जोरपाटीमा जन्मेका लक्ष्मण रिजालले यहीँबाट माध्यामिक तहको अध्ययन पुरा गरे । त्यसपछि भारतको राँचीबाट चिकित्साशास्त्रमा स्नातक (MBBS) र दिल्लीको अखिल भारतिय आयुर्विज्ञान संस्थान (AIIMS) बाट हाडजोर्नी तथा नसारोगमा स्नातकोत्तर (MS) गरि उनी विगत ७ बर्षदेखि हाडजोर्नी विशेषज्ञका रुपमा काम गर्दैछन् । डा. लक्ष्मणले हाडजोर्नीमा पनि सूक्ष्म र जटिल मानिएको Hand and Microsurgery मा भारत र सिंगापुरबाट ट्रेनिङ प्राप्त गरी Hand and upper extremity शल्यचिकित्सामा आफुलाइ केन्द्रित गर्दै आएका छन् । आफ्नो चिकित्सकिय कर्म बाहेक उनी सामाजिक संजालमा समेत रुची राख्छन् र ब्लगिङ तथा माईक्रो ब्लगिङ दुबैमा आफूलाई अपडेट राख्न खोज्छन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै डा.लक्ष्मण रिजाललाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :

सोसल मिडियामा आफुलाई चिनाउन चाहनुहुन्छ?

पेशाका रुपमा चिकित्सक भएकोले यहाँ पनि धेरैले यसैगरी चिन्नुहुन्छ साथै सोसल मिडियामा अरुलाई चिन्न उहाँहरुका बिचार पढ्न र बुझ्न साथसाथै आफुलार्इ पनि प्रस्तुत गर्न यसको प्रयोग गर्दैआएको छु।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी सुरु गर्नुभयो?

ब्लगिङ २००६ देखि नै सुरु गरेको हुँ। स्नातकोत्तर अध्ययनका क्रममा हुने तनाव र एक्लोपनमा (नेपाली विद्यार्थी न्यून हुँदा) आफुले आफैसंग कुराकानी गर्न र तनाव भुल्न लेख्न सुरु गरेको थिएँ। धेरै हदसम्म यसले मद्दत पनि गरेको थियो। एकजना कलेजकै साथीको ब्लग पढ्न सुरु गरेपछी आफू पनि लेखौँ भनेर सुरु गरेको थिएँ। सुरुमा नेपाली टाइप गर्न नजानेर अङ्ग्रेजीमा लेख्थेँ। अहिले नेपालीमा लेख्न सिक्दैछु।

केका लागि ब्लगिङ गर्नुहुन्छ र कस्ता विषयवस्तु तपाईको रोजाईमा पर्छन?

समय मिल्दा मनमा लागेका कुराहरु लेख्छु। लेख्नुको खास कारण छैन र बिषय पनि रोजेको हुन्न।

तपाईको http://www.laxmanrijal.blogspot.com/ मात्रै कि यस बाहेक अरु पनि ब्लग छन्?

छैन । यही एउटालाई पनि नियमित गराउन सकेको छैन ।

ब्लगिङ गर्न कत्तिको गाह्रो या सजिलो छ?

मेरो हकमा गाह्रो मान्छु किनकी समय मिलाउन सकिरहेको हुन्न। तर स्मार्ट फोनले गर्दा बस्दाबस्दै केही लेखेर पोष्ट गर्न सजिलो बनाइदिएको छ, जो नियमित लेख्नुहुन्छ।

तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनुहुन्छ?

ब्लगकै पेजमा केही प्रतिक्रिया बाहेक खासै केही छैनन्। अहिले ट्विटरमा सक्रिय भएपछि भने साथीहरुले नियमित लेख्नुस् भनेर सल्लाह दिनुभएको छ।

हालै गएको ठुलो भुकम्पपछि सुचना दिने, सहयोग गर्ने, सहयोग जुटाउने लगायतका काममा सोसल मिडियाको निकै उपयोग भयो । यहाँले पनि सोसल मिडिया खासगरी ट्विटरबाटै घाईतेहरुको उपचारका निम्ति सहयोग गर्न आफ्नो नम्बर समेत दिएर आव्हन गर्नुभयो। कस्तो रह्यो अनुभव, कत्तिको उपयोगी भयो सोसल मिडिया?

भुकम्पका समयमा सोसल मिडियाको योगदान सह्रानिय रह्यो। मानव स्रोत परिचालन, राहत संकलन र यथोचित वितरणमा सोसल मिडियाले निकै सहयोग पुर्‍यायो। उपत्यकाको निकै पुरानो साँखु शहर पुर्णरुपमा तहसनहस भयो। म काम गर्दै आएको अस्पताल साँखुमै हुनाले सम्पुर्ण घाइतेको उपचार निशुल्क गर्ने सोचसंगै अस्पतालको एक्लो अर्थोपेडिक सर्जन भएका नाताले सम्पुर्ण जिम्मेवारी लिएर घाइतेहरुको उपचार गरिसकेपछिको अवस्थामा अन्यत्र अस्पतालमा पालो कुरेर बसेका बिरामीहरुको सहयोग गर्ने सोचेर मैले ट्विटर र अन्य सामाजिक संजालमा निशुल्क उपचारको लागि अपिल सहितको सुचना जारी गरेको थिएँ। जसको प्रभाव सोचे भन्दा राम्रो रहयो। दोलखा, धादिङ, काभ्रे, सिन्धुपाल्चोकका बिरामीहरुको उपचार त्यही सुचनाका आधारमा गर्न पाउँदा सोसल मिडियाको प्रभाव र महत्व बुझ्ने मौका पनि पायौँ।

तपाँईको निजी जीवनमा सोसल मिडियाले सघाएका अरु त्यस्ता उदाहरणहरु छन् केही?
सामजिक संजालले समाजका अन्य पेशा र भुगोलका मानिसहरुसंग परिचित गराइदिएको छ। केहीसंग भेट्घाट गराइदिएको छ। केहीलाइ पेशागत सरसल्लाह दिन र सहयोग गर्न समेत पाइएको छ।

अब एकपटक तपाँईको पेशासंग सम्बन्धित कुरा गरौँ अहिले डा गोबिन्द केसीको चरणबद्द अनशनले चिकित्सा पेशा बाहेकका नागरिकहरुको पनि निकै ध्यान तानेको छ । यस बारेमा सोसल मिडियामा पनि धेरै बहस भएका छन् कति डाक्टरहरुले गाली समेत खाएका छन्, कतिले वाहवाही पनि पाएका होलान्, तर त्यो संख्या निकै कम छ । सोसल मिडियाले डाक्टरी बहसलाई पनि सतहमा ल्यायो भन्न मिल्छ?

पक्कै पनी सोसल मिडियाले डा. गोबिन्द केसीको अनसनलाई आम युवाहरुसम्म पुर्‍याउनुका साथै र सम्पुर्ण चिकित्सा क्षेत्रका राम्रा नराम्रा पाटाहरुलाई बहसको बिषय बनाइदियो । राम्रा कुराहरुको बहस गराउन सहयोगी माध्यम भयो भने नराम्रा कुरामा खबरदारी पनि त गर्‍यो नि सोसल मिडियाले !

विगतमा चिकित्सा क्षेत्रको कुरा आम नागरिकले बुझ्नै नसक्ने या बुझ्नै नपर्ने बिषय जस्तो गरेर हेरिन्थ्यो । त्यसैले पनि होला यहाँभित्रका विकृति विसंगतिका बारेमा धेरैलाई थाहा पनि हुन्थेन । डाक्टर केसीको आन्दोलन र सोसल मिडियामा यसको बहस सुरु भएपछि यसका राम्रा तथा नराम्रा पक्षबारे समाज केही हदसम्म जानकार भएको छ भन्न सकिन्छ?

समाजका अन्य बिषय र पेशा जस्तै हो चिकित्सा पेशा पनि र यस बारेमा पनि बहस हुनु जरुरी छ। हालका बहस र विश्लेषणले चिकित्सा क्षेत्रलाइ गुणस्तरिय, सबल र मर्यादित बनाउन मद्दत गर्नेछ। चिकित्सा क्षेत्रमा पलाएका ऐँजेरुलाइ यस्ता बहसहरुले सफाइ गरून् भन्ने कामना पनि हो।

चिकित्सा क्षेत्रका अरु कस्ता कस्ता बहसहरु सोसल मिडियामा हुन जरुरी देख्नुहुन्छ यहाँ, जुन अहिलेसम्म हुन सकेको छैन !

अबका दिनहरुमा सोसल मिडियामा हुने बहसले गुणस्तरिय अस्पताल सेवा र इमान्दार विज्ञ चिकित्सकहरुलाइ सहयोग गर्ने वातावरण बनाउनुपर्छ। यसले पेशागत मर्यादाबाट विचलन नहुन खबरदारी गरोस भन्ने चाहन्छु ।

चिकित्सा पेसामा हुनुहुन्छ, ब्लगमा चिकित्सा क्षेत्र र स्वास्थ्यसँग सम्बन्धित कत्तिको आएको पाउनुभएको छ? यस बारेमा ब्लग लेखिनु कत्तिको जरुरी देख्नुहुन्छ?

सोसल मिडियाको महत्व बुझेर स्वास्थ्य सम्बन्धी जानकारीमूलक लेख रचनाहरु संगालेर एउटा ब्लग सुरु गर्ने बिषयमा मेरो पनि विभिन्न चिकित्सकहरुसंग छलफल चलिरहेको छ। नियमित बिषयबस्तु र सामग्रीहरु उपलब्ध भएमा सुरु गर्ने बिचार गर्दैछौँ ।

फेरी चिकित्सा क्षेत्र बाहेकको कुरा गरौँ, आफ्ना कुरा ब्यक्त गर्न अहिले युवाहरुले ब्लगिङ्प्रति आर्कषित भईरहेका छन, नेपालमा ब्लगिङको प्रयोगलाई कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग?

ब्लगले समाजलाइ सकारात्मक कुरा नै दिएको जस्तो लाग्छ। केही नकारात्मक पाटो पनि होलान। धेरै राम्रा कुराका बिचमा नराम्रा कुरा कमजोर भएर जालान्।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

अलग्गै आचारसंहिताको कुरो जरुरी छ जस्तो लाग्दैन। हरेक समाजका आ-आफ्नै मान्यता छन। ती भित्र रहेर ब्लगरले आफुलाइ प्रस्तुत गरेमा समस्या नहोला। ब्लगमा ब्यक्तिगत स्वतन्त्रताको उच्च मुल्यांकन हुनुपर्छ र आचारसंहिताको नाममा अंकुश लागाउनु जायज नहोला।

नेपाली ब्लगरले हाम्रो समाजको मान्यतालाई कत्तिको पालना गरेको पाउनुभएको छ त उसोभए !  

केही नियमित पढने ब्लगमा मैले समस्या देखेको छैन। तर मैले नपढेका ब्लगका बारेमा बोल्न सकिन।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइदिनुस न?

ब्लगकै पेजमा केही प्रतिक्रिया बाहेक खासै केही थिएन। अहिले ट्विटरमा सक्रिय भएपछि भने नियमित लेख्नुस भनेर सल्लाह आईरहन्छ।

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

सोसल मिडिया अब पत्रकारिताको सहयोगीका रुपमा प्रस्तुत हुँदैछन र मैलेपनि ब्लगिङलाई नागरिक पत्रकारिताकै एक पाटोको रुपमा मैले बुझेको छु।

ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन् अरु? 

गीत संगीत सुन्न रुचाउँछु । संगीतले शरीरमा उर्जा भर्छ मेरो लागि।

अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कत्तिको समेट्नुहुन्छ?

नियमित ब्लग लेख्ने गरेको छैन र आफ्ना रुचिलाइ ब्लगमा समेटन पाएको छैन।

अन्त्यमा,

'ब्लगर अफ दि विक' छानिदिनु भएकोमा धन्यवाद। यसले अब नियमित लेख्न घचघच्याउँछ जस्तो लागेको छ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Prakash Lamichhane on September 2, 2015 at 5:35pm

बधाई छ डार्साप ! :)) 

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service