Blogger of this week: Pradeep Basyal

आफ्ना वुवा सरकारी जागिरे भएका कारण करहरिया मणिग्राम रुपन्देहीका २० बर्षिय प्रदीप बस्याललाइ सानैमा देशका बिभिन्न भागहरुको भ्रमण गर्ने मौका मिल्यो । एसएलसी पास गर्ने बेलासम्म झण्डै ८ वटा स्कुल फेरेर अध्ययन गरेका प्रदीपले ५ कक्षामा पढ्दा भित्ते पत्रिकाबाट लेखन यात्रा शुरु गरे भने नवलपरासीबाट प्रकाशित हुने उषा बालपत्रिकाको संस्थापक सम्पादक समेत भए । विश्व बैंकले आयोजना गरेको विश्वव्यापी निबन्ध प्रतियोगितामा विश्वका उत्कृष्ठ २ सय लेखक मध्ये छानिएका प्रदीप यीनै कुराहरुका कारण पनि ब्लगिङ तर्फ आकर्षित भएका हुन भन्न सकिन्छ । अँझैपनि आफ्नो करिअर कुन क्षेत्रमा बनाउने भन्ने बारेमा नसोचेको बताउने प्रदीप आफुलाइ खासगरी फिचर लेख्न र फोटो खिच्न मन पर्ने बताउँछन । उनले केही समय कान्तिपुर दैनिकको हेलो शुक्रबारमा स्तम्भकारको भूमिकामा समेत काम गरिसकेका छन भने कान्तिपुर, दि काठमाण्डु पोष्ट, नागरिक, रिपब्लिका, गोरखापत्र, नेपाल, हिमाल लगायतका पत्रपत्रिका तथा म्यागेजिनमा उनका देखहरु प्रकाशित भैसकेका छन ।

यही क्रममा प्रदीप यस साता मेरो रिपोर्टमा साताका ब्लगर हुन सफल भएका छन । संधैका साताका ब्लगरसंग जस्तै यसपाली हामीले प्रदीपसंग पनि ब्लगिङ, नागरिक पत्रकारिता र मेरोरिपोर्टका बिषयमा कुराकानी गरेका छौँ :

ब्लग लेखन कसरी शुरु गर्नुभयो ?

यसको एउटा वेग्लै रोचक कथा छ । म नवलपरासीमा रहेर पढ्थेँ । सानैदेखि नै आइटीमा रुचि राख्ने हामी केही साथीहरुको (गृष्मराज पाण्डेय, ज्ञानेन्द्र आचार्य, सुरेन्द्र पौडेल) एउटा बेग्लैखाले समूह थियो । सूचना–प्रविधि सम्बन्धी केही नयाँ कुराहरु समाचारमा कतै भेटियो भने त्यसको ‘कटिङ्ग’ लिएर आउँथ्यौं हामी र पढ्दैमा निकै उत्साहित हुन्थ्यौं । कक्षा ५ मा पढ्दादेखि नै इमेल, इन्टरनेटबारे धेरै पढ्ने र सुन्ने गरेता पनि कक्षा ९ मा आएर बल्ल त्यसको अनुभव गर्न पायौं, परासीमा साइबर क्याफे खुलेपछि । हामीहरु बरोबरी पैसा भाग लगाएर इन्टरनेटमा बस्थ्यौं । पत्रिकामा त्यसबेला हामीले ध्यान लगाएर खोज्ने भनेकै वेवसाइटहरु हुनेगर्थे । त्यसैले इमेल एकाउण्टसँगै वेवसाइट ग्यामरले गर्दा मैले कक्षा ९ मै पढ्दै गर्दा ‘विवो’ सबडोमेनमा ब्लग खोलेको थिए । पछि काठमाण्डु आएपछि म दीपक अधिकारी र दिनेश वाग्लेको ब्लगिङ्ग शैलीबाट निकै प्रभावित भएँ । त्यसैक्रममा अन्य ब्लगर मित्रहरुसँग पनि संगत बढ्दै गयो र म ब्लगप्रति आकर्षित बनें ।

ब्लग लेखन कहिलेदेखि शुरु गर्नुभयो ?

ब्लगिङको शुरुवात त कक्षा ९ मा पढ्दा नै २०६२ सालतिर गरेको थिएं । तर त्यसबेला घरमा इन्टरनेट थिएन । परासीमा खुलेको साइबरमा पालो कुरेर इन्टरनेट चलाउन पाइन्थ्यो र त्यो निकै महंगो पनि थियो । त्यसैले अहिले चलाइराखेको ब्लग सन् २००९ को जुनदेखि चल्तीमा आएको हो ।

के का लागि ब्लग लेख्नुहुन्छ ?

स्वभावलै मानिस स्वतन्त्र प्राणी हो । तर जब ऊ हुर्कंदै जान्छ, उसका अनेकन जिम्मेवारीले गर्दा उसको स्वतन्त्रता पनि हरण हुँदै जान्छ । म त्यसको अपवाद होइन । त्यसैले मनको एउटा कुनामा रहेको स्वतन्त्र हुने आभास म ब्लगमार्फत कहिलेकाहीँ पोख्छु ।

खासगरी ब्लगमा कस्ता कुराहरु लेख्नुहुन्छ ?

ठ्याक्कै यस्तो नै भन्ने त छैन । तर जतिवेला कुनै घटना र अनुभवले मन अशान्त पार्छ, त्यसैबेला ब्लगमा लेख्छु र, पत्रिकामा लेख्दा जसरी अन्य कुराहरुले मलाई निर्देशित गर्छन्, ब्लग लेख्दा त्यसो हुँदैन । म मेरो स्वतन्त्रताको पूर्ण प्रयोग गर्दै लेख्छु । शुरुमा कलेज र होस्टेल जीवनका घटना समेटेर मात्र ब्लग लेख्ने सोचेको थिएँ । तर पछि कान्तिपुर दैनिकको हेलो शुक्रबारमा स्तम्भ र फिचरहरु लेख्न थालेपछि मैले ब्लगलाई त्यसभन्दा ठूलो दायरामा लैजाने अवसर पाएँ । यद्यपि ब्लगमा धेरै स्पेस पत्रिकामै छापिएका कुराहरुले ओगटेका छन् । तर पनि फरक फरक स्वादका कुराहरु हुनाले बालबालिकादेखि युवाहरुसम्मलाई पढ्न रोचक नै हुने मैले ठानेको छु । युवा स्तम्भ र फिचरहरुका अलावा मेरा केही व्यक्तिगत अनुभवहरु, फिल्मी कुराहरु, समाजलाई नयाँ बाटोतर्फ डोर्याउन खोज्ने केही तन्नेरीहरु, बाल कथा, पुस्तक समीक्षा, नियात्रा, विचार–विश्लेषणहरु लगायतका कुराहरु मैले ब्लगमा समेटेको छु । कतिपय प्राविधिक कारणले पत्रिकामा छाप्न नसकिने लेखहरुलाई मैले अझ बढि खुलेर ब्लगमै लेख्ने गरेको छु ।

नेपाली ब्लग क्षेत्रलाई कसरी नियाली रहनु भएको छ ?

फुर्सदको समयमा आजकल मैले पत्रपत्रिकासँगै ब्लगहरु पढ्न पनि खुबै रुचाउँछु, आफ्नै सर्कलदेखि बेलबखत ब्लगहरुको सञ्जालमा खोजेर पनि । नेपालमा ब्लगिङको वास्तविक मर्मलाई समातेर लेख्ने एउटा राम्रै जमात इन्टरनेट सञ्जालमा छन् । अझ छद्मभेषी ब्लगरका लेखाईहरु आजकल झनै पढ्न लोभलाग्दा हुन्छन् । यद्यपि नेपाली ब्लगरहरु बढि साइट सजावट, प्रशंसा गर्नमा केन्द्रीत छन् जुन विदेशी ब्लगहरु हेर्दा बढि तर्कपूर्ण ‘आलोचना’ र ‘टिप्पणी’ गर्ने मामिलामा धेरै अगाडि देखिन्छन् । हुन त मेरो ब्लगिङ्ग अनुभव निकै छोटो छ र म चाहेर पनि धेरै त्यस्ता ब्लग लेख्न पाइराखेको छैन । तर पनि म ब्लगर भन्दा पनि ब्लगको एउटा राम्रो पाठकको रुपमा ब्लगको ‘सुन्दरता’ यसको ‘स्वतन्त्रता’मा हुने पाउँछु । त्यसैले औपचारिकता कम सत्यतासँग बढि नजिक भएर लेख्ने ब्लगहरु मलाई राम्रा लाग्छन् । नेपालमा अझै ब्लगलाई त्यती धेरै महत्व दिने परिपाटी बनिसकेको छैन । भारत लगायता अन्य त्यस्ता प्रजातान्त्रिक मुलुकहरुमा हेर्नुस, स–साना देखि राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका सवालहरु उठ्दा त्यसको बढि यथार्थपरक कुराहरु ब्लगमै पढ्न पाइन्छन् । तर्कसंगत आलोचना र टिप्पणी संस्कृति निकै कमजोर रहेको हाम्रोजस्तो मुलुकमा ब्लगले त्यसको काम गर्न सक्छ ।

ब्लग लेख्दाको सबैभन्दा रोचक अनुभव ?

इन्टरनेटमा भेटिने धेरै देश भित्र र बाहिरका साथीहरुले मलाई पत्रिकामा लेखेको भन्दा पनि ब्लगमा पढेको भनेर प्रशंसा गर्छन् जतिबेला मेरो पाठकवृत्तलाई ब्लगले झनै बढाएको सोचेर खुसी लाग्छ । एक पटक मेरो भाञ्जी प्रशिद्धीको पहिलो जन्मदिनको लागि भनेर उपहार किन्न म बजार गएको थिएँ । तर एक बर्षमात्र पुगेकी उनलाई के पो दिने भन्ने निर्णयमा दिनभर डुल्दा पनि पुग्न सकिन र, अन्ततः उनको पछिल्लो एक बर्षे ‘रिभ्यु’ समेटेर ब्लगमा शुभकामनारुपि चिठी लेखें । धेरै साथीहरुले राम्रो मानेर आफ्ना फेसबुक र ट्विटरमार्फत सेयर गर्नुभएछ । मलाई देश विदेशबाट धेरै इमेल आयो । धेरैले भाञ्जीहरुको बढ्दो उमेरसँगै त्यसको श्रृङखला नै लेख्न आग्रह गर्नुभएको थियो इमेलहरुमा । मैले त्यसो गर्ने सोचेको छु पनि । पछि भाञ्जीहरु ठूलो भएर मेरा ति चिठीहरु पढ्दा कस्तो प्रतिक्रिया देलान् भन्ने सोचेर म कहिलेकाहीँ एक्लै उत्साहित पनि हुन्छु ।

तपाई मूलधारको पत्रकारिता समेत गरिरहनु भएको छ । नेपालको मूलधारका मिडिया र पत्रकारिताले नागरिकका सवाललाई कसरी उठाइराखेका छन् ?

हामीकहाँ व्यावसायिक पत्रकारिताको निकै छोटो इतिहास छ । यद्यपि एक्काइसौं शताब्दीको शुरुवातसँगै हुर्किएको हुनाले छोटो समयमै पनि यसले ठूलो फड्को मारेको छ । तर नागरिकका सवाल भन्दा पनि नेताका अर्थहिन कुराहरुलाई मात्र हेडलाइन मान्ने हाम्रो जुन संस्कार छ त्यसले हाम्रो पत्रकारिता अझै नागरिकमूखी र परिपक्व नभएको बुझाउँछ । मिडिया समाजको प्रतिबिम्ब हुनुपर्छ तर हामीकहाँ त्यो भन्दा पनि एउटा टाठाबाठा तहका व्यक्तिहरुको रुचिमा मिडिया घुमिरहेको छ । जुन समयसँगै सुधार हुनेमा म आशावादी छु ।

मुलधारको पत्रकारिता र ब्लगमार्फत हुने नागरिक पत्रकारितामा के फरक पाउनुहुन्छ ?

मुलधारको पत्रकारिताले गलत र भ्रामक नै खबर छापेतापनि त्यसको प्रभाव मिडियाले चाहेकै रुपमा जनतामा जानसक्छ । तर ब्लगमार्फत त्यो सम्भव छैन । यहाँ सही कुराहरु मात्र प्रशोधित भएर पाठकमाझ पुग्छ । कसैले गलत लेख्यो भने अर्कोले त्यसलाई सच्याउँदै अर्को लेखिहाल्छ ।

तपाईंलाई पनि थाह होला केही युवा ब्लगरहरुले व्लगिङलाई व्यवस्थित र मर्यादित पार्न आचारसंहिता पनि ल्याएका छन् । तपाईंलाई के लाग्छ यो जरुरी छ ?

यसलाई म नराम्रो मान्दिन । तर ब्लगिङ एउटा भर्चुअल जगतमा हुने काम भएको हुँदा सबैले यसलाई आत्मसाथ गर्छन् भन्ने सवाल चाहीँ चूनौतिपूर्ण हो, र अर्को मनले के पनि भन्छ भने ब्लग आफैमा उच्च स्वतन्त्रतासाथ हुने अभिव्यक्ति हो । जहाँ नराम्रा कुराहरु आफै तिरस्कृत र बहिस्कृत हुँदै जान्छन् जसलाई नियम बनाएर बाँध्न नै पनि आवश्यक छैन ।

तपाईं निरन्तर रुपमा ब्लग पनि लेखिरहनु भएको छ । तपाईंलाई थाह ? नेपालमा नागरिक पत्रकारिता प्रबर्धन गर्न र समाजिक सञ्जालका रुपमा मेरोरिपोर्ट डट कम पनि आएको छ नि ?

यसको स्थापना कालदेखि नै म नियमित पाठक हुँ । समय अभावले यसमा योगदान दिन नसकिएको मात्र हो ।

अन्त्यमा मेरो रिपोर्टलाई केही भन्नु छ ?

राम्रो छ । अझ बढि नागरिकका साझा र स–साना सवाललाई समेटोस् । मेरो शुभकामना ।

प्रदीपको ब्लगलिंकः

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service