Blogger of this week: MadhuSudhan Guragain

Last week blogger

मधुसुधन गुरागाईं, काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं १२, खोपासी बजार घर भएपनि बनेपामा बसेर पत्रकारिता गर्नुहुन्छ । २०५२ सालदेखि सुरु भएको वहाँको पत्रकारिता यात्रा, स्थानीय साप्ताहिक, काभ्रेकै रेडियो एबिसी हुँदै हाल नेपाल रिपब्लिका मिडिया प्रालिका प्रकाशनहरु नागरिक र रिपब्लिका दैनिकको संवाददातासम्म आइपुगेको छ । कम्युनिकेसन कर्नरवाट रेडियो तालिम लिएर रोश्ना सुब्बा, निर्जला कक्षपति र सुचित्रा श्रेष्ठ मिलेर मधुसुधनले विगतमा रेडियो सगरमाथामा हालचाल नाम समाचार बुलेटिन पनि संचालन गर्नुभयो ।

 

ब्लग लेख्न कहिलेदेखि सुरु गर्नभयो ?

ब्लग लेख्ने लहड चलेको सन् २००६ देखि नै हो । त्यतिखेर www.mguragain.blogspot.com बनाएँ, त्यो पनि ब्लगस्पटको साइटमा गएर हेल्पमा भएको जानकारीका आधारमा । यसका लागि कसैलाई पनि गुरु बनाएको थिइनँ । अरुले बनाएको ब्लग हेरेर सुरु गरेको पहिलो ब्लग आज पनि अपडेट गर्न सकिरहेको छैन । अब चाँहि अपडेट गर्छु । तर यस वर्षको वर्ल्ड ब्लगर्स डेका अवसरमा http://meroreport.net को शुभारम्भ कार्यक्रममा भाग लिएपछि भने ब्लग लेख्न खुब जाँगर चलेको छ । किनकि यसमा अरु ब्लगमा जस्तो लेख्न र पोष्ट गर्न झन्झट छैन । के का लागि ब्लग लेख्नुहुन्छ ? ब्लग केका लागि लेख्ने भन्ने प्रश्नमा ठ्याक्कै १०० मा १०० अङ्क ल्याउने गरि जवाफ दिन सक्दिन । वेब २.० को आगमन पछि ब्लगजस्ता सोसल नेटवर्क साइटहरु बनाउन, सामग्रीहरु पोष्ट गर्न, तुरुन्त प्रकाशन गर्न र पाठकबाट तुरुन्त पृष्ठपोषणसमेत पाइहाल्ने भएकाले आत्मसन्तुष्टिको महसूस हुन्छ । त्यसैले पनि ब्लग लेख्छु । अर्को कुरा, आफुले खोजेका कतिपय समाचारहरु विभिन्न कारणवश आफू कार्यरत माध्यममा प्रकाशन/प्रसारण नहुँदा आफूले गरेको खोजीलाई पाठकहरु र साथीसँगीहरुवीच पुर्याउन पनि ब्लग निकै भरर्र्दो माध्यम भएकोले ब्लग लेख्ने गर्छु ।

 

खासगरी ब्लगमा कस्ता कुराहरु लेख्न रुचाउनुहुन्छ ?

ब्लगमा आफूले देखेको, भोगेका र प्रकाशन हुँदा यसबाट समाजलाई तत्कालै प्रभाव पार्ने खालका विषयवस्तुहरु लेख्न मन लाग्छ । यतिखेर भने बढी जसो समाचारहरु नै लेखेको छु । यदाकदा फोटोहरु पनि पोष्ट गर्दै आएको छु।

 

नेपाली ब्लग क्षेत्रलाई कसरी नियाल्नुभएको छ?

नेपालमा पनि ब्लगरहरुको संख्या बढ्दो छ । नेपाली ब्लगरहरुको डाइरेक्टरी हेरेको थिएँ, थुप्रै ब्लगरहरु भइसकेका रहेछन् । यो सकारात्मक सूचक हो । विगतमा समाचारहरुका लागि सुरु भएका ब्लग साइटहरु अहिले विविध विषयमा समेत सुरु हुन थालेका छन् । अघि भनेझैं यो सबै वेब २.० विकासको बरदान नै हो किनकि ब्लगका मार्फतबाट आफ्ना विचार तथा भोगाईहरु साटासाट गर्न पाउनु साँच्चिकै हाम्रा लागि ठूलो उपलब्धि हो ।

  

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो अनुभव छ भने बताइ दिनुस न ?

नढाँटीकन भन्ने हो भने म ब्लगको सिकारु हुँ । सन् २००६ मा ब्लगको खाता त खोलेँ तर त्यसमा जसोतसो प्रोफाइल फोटो पोष्ट गर्न सकेँ तर अरु कुरा पोष्ट गर्नै सकिन । २,४ पटक प्रयास गरेँ । त्यतिखेर बनेपामा डायल अप इन्टरनेट थियो । कछुवा चालको गतिमा पेज खुल्थ्यो, जाँगर नै मर्न थाल्यो । तैपनि काठमाडौं गएका बेला कमलादीमा वर्ल्ड बैंकले सञ्चालन गरेको पब्लिक इन्फर्मेसन सेन्टरमा नेट सर्फिङ गर्थेँ । त्यहाँ हाइस्पिडको इन्टरनेट भएपनि सोसल नेटवर्क साइटहरु चलाउन गाह्रो थियो । हरेक कम्प्युटरलाई सिसिटिभीबाट निगरानी हुन्थ्यो । ब्लग खोलेर पोष्ट गर्न लाग्यो, गार्ड आएर ‘दाई के साइटमा गएको’ भनि हाल्थे । त्यसपछि लामो समय ब्लगबाट टाढै रहियो। तपाईंले त मुलधारको पत्रकारिता पनि गर्नहुन्छ ।

  

नेपालमा पत्रकारिता पेसा कत्तिको सजिलो छ ?

पेशा जुनसुकै होस सोचेजत्तिको सजिलो त पक्कै हुँदैन । त्यसमा पनि नेपालको पत्रकारिता । आम नागरिकले पत्रकार पनि हाम्रै समाजका सदस्य हुन्, उनीहरुको खुशीमा रमाउनु पर्छ र दुःखमा साथ दिनुपर्छ भन्ने भावनाको विकास नभएको अवस्थामा त झनै मुस्किल काम हो, पत्रकारिता । माओवादी र सरकारवीच द्वन्द्व चलेको अवस्थताका भन्दा पनि अहिले हामी पत्रकारहरु असुरक्षित बन्दै गएका छौं । विधिको शासन नभएको बेलामा जस्तै यतिखेर पत्रकारहरूले विभिन्न समूह र उपसमूहको डर र धाकधम्कीको सामना गर्नु पर्ने भएको छ । देखेको कुरा निर्भयसाथ लेख्न सक्ने अवस्था छैन ।

  

नेपालको पत्रकारितालाई हेर्दा यो पेसामा टिक्न कत्तिको सजिलो देख्नु भएको छ ?

पत्रकारिता गरेर हेर्ने नभई, साँच्चिकै गर्ने काम हो । निष्ठाको पत्रकारिता गर्न सक्नुपर्यो । कस्का लागि पत्रकारिता गर्दैछु भन्ने कुरालाई सदैव सम्झनु पर्यो । मोफसलमा काम गर्ने हामीजस्ता पत्रकारहरुले विषयगत ज्ञान नै नभए पनि सबै ‘बिट’मा कलम चलाउनु परेको छ, यस्तो अवस्थामा टिक्न त गाह्रो हुन्छ । तैपनि सन्दर्भ सामग्रीहरुको अध्ययन गर्ने, इन्टरनेटमा नियमित सर्फिङ्ग गर्ने, समाचारको विषयवस्तुसँग जोडिएका विज्ञहरुसँग प्रष्ट नहुँदासम्म जानकारी लिने, आफूले लेखेका समाचारहरुलाई एक पटक आफु पनि पाठक बनेर ‘पाठकप्रति कत्तिको न्याय र कर्तव्य निर्वाह गरेको छु’ भनेर सोच्ने हो भने नेपालमा पत्रकारिता कठिन कार्य हो भन्ने जस्तो लाग्दैन ।

 

एउटा पत्रकारको नाताले भन्नु पर्दा नेपाली पत्रकारहरुले अहिले कस्ता–कस्ता चुनौतिहरु भोग्नुपरेको छ ?

असुरक्षा त मुख्य चुनौती नै भइहाल्यो । उदाहरणका लागि विराटनगर घटनालाई हेरे पुग्छ । त्यसपछि पत्रकारहरुको वृत्ति विकास, स्थानीयस्तरमै विज्ञहरु पाउन कठिन, पियनको भन्दा पनि कम तलबमा काम गर्नु पर्ने बाध्यता, अवसरको कमीजस्ता अनेकौं चुनौतीहरु विद्यमान छन् ।

 

मुलधारको पत्रकारिता र ब्लग लगायत मार्फत गरिने नागरिक पत्रकारिता बिच के फरक पाउनुभएको छ ? मूलधार र नागरिक पत्रकारिता फरक हो भन्ने मलाई लाग्दैन । दुबैले आम नागरिकलाई सूसुचित गर्ने नै हो । नागरिक पत्रकारिता जो कोही नागरिकले गर्न सक्छ । एउटा नागरिकले आम नागरिकका लागि नागरिक पत्रकारिता गर्छन् । तत्कालीन अवस्थामा गाउँले देउराली पाल्पाका सम्पादक आदरणीय विनय कसजू सरले सुरु गर्नु भएको ‘बेरफूट जर्नालिज्म’ नै अहिलेको परिष्कृत नागरिक पत्रकारिता हो । मूलधारको पत्रकारितामा पेशागत पत्रकारहरु संलग्न हुन्छन् । उनीहरुले व्यावसायिक सिप र दक्षताका साथ पत्रकारिता गर्छन् । प्रक्रिया फरक हो तर दुबै विधाको उद्देश्य एकै हो, आम नागरिकलाई सूसुचित गर्ने ।

 

तपाइले निरन्तर रुपमा मेरो रिपोर्टमा ब्लग पनि लेखिरहनु भएको छ, तपाईंलाई किन मेरो रिपोर्टमा योगदान गर्न मनलाग्छ ?

मैले मेरै ब्लगमा लेखेँ भने पनि यसलाई आम पाठकसम्म पुर्याउन मलाई निक्कै मेहनत गर्नु पर्छ । अर्को कुरा ब्लग साइटमा रहेका ड्यासबोर्डमा काम गर्न असजिलो छ । किनकि यसका निर्माताहरुले संसारभरका ब्लगरहरुलाई उपयोगी हुने गरि बनाएका हुन्छन् । मेरो रिपोर्टमा ब्लग लेख्न एकदम सजिलो छ । युनिकोडमा परिवर्तन गर्न, टेक्स्टका साथै मल्टिमिडियालाई समेत पोष्ट गर्न सजिलो छ । अर्को कुरा यसका उपयोगकर्ताहरु नेपाली पत्रकारहरु र ब्लगरहरु रहेका हुँदा उनीहरुले सहजै रुपमा अध्ययन गरेर पृष्ठपोषण दिने भएकाले पनि मेरो रिपोर्ट साँच्च्किै उपयोगी छ । अर्को नेपाल र विदेशमा रहेका नेपाली पत्रकार र ब्लगरहरुको साझा चौतारीसमेत भएकाले मेरो रिपोर्टमा योगदान गर्न मन लागेको हो ।

 

तपाइको ब्लगलिङ्कः

www.mguragain.blogspot.com/

www.madhug.com.np

मेरोरिपोर्टमा मधुसुधन गुरागाईंको प्रोफाइल पेजः 

http://meroreport.net/profile/MadhuSudhanGuragain

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Indra Dhoj Kshetri on February 12, 2012 at 8:40am

Congratulations Dai. It is interesting. I read it very late, though. Your enthusiasm, cooperativeness and zeal to use new technology inspires me a lot. Thank you for all your contribution to MeroReport. Will love reading more in the days.

Comment by Ram Sharan Pudasainee on July 14, 2011 at 2:44pm
Congratulation .
Comment by MadhuSudhan Guragain on July 8, 2011 at 12:40pm

@Aakar: Thank you Bhai

@Elan: thanks dear

Comment by Aakar Anil on July 8, 2011 at 11:20am
Congratulation Madhu Dai.
Comment by RAMKUMARELAN.COM on July 7, 2011 at 6:01pm
Congrat Comred...
Comment by MadhuSudhan Guragain on July 7, 2011 at 5:18am

@Sb:Thank you for aspiration

@Rupen:Thanks, will continue to add more contents.

Comment by एसवी गौतम on July 6, 2011 at 11:45am
Congratulation MadhuSudhan sir !
Comment by Rupen on July 6, 2011 at 10:54am
Congratualation MadhuSudhan Ji!! Hope to see more interesting contents in near future.

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service