Blogger of this week: K P Dhungana

नागरिकता अनुसारको नाम कृष्णप्रसाद ढुंगाना भएपनि पत्रकारिता र ब्लगिङको दुनियामा उनीलाइ सबैले केपी ढुंगानाको नामले चिन्छन् । सिन्धुपाल्चोकको तारामाराङ गाविसमा जन्मिएका केपी अहिले चावहिल चुच्चेपाटीमा बस्छन् । १० वर्षदेखी पत्रकारीता क्षेत्रमा सक्रिय केपी राजधानी दैनिक, नयाँ पत्रिका हुँदै अहिले नागरिक दैनिक आन्तरिक मामिला (सुरक्षा र अपराध) सम्बन्धि बिट हेर्छन् । गैर आख्यान सम्बन्धी पुस्तक पढ्न र सकेसम्म नयाँ स्थानमा घुमफिर गर्न खास रुची राख्ने केपी यस साता मेरो रिपोर्टमा साताका ब्लगर हुन सफल भएका छन । सधैका साताका ब्लगरसंग जस्तै यसपाली हामीले केपीसंग पनि ब्लगिङ, नागरिक पत्रकारिता र मेरोरिपोर्टका बिषयमा कुराकानी गरेका छौँ । 

ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो ?

२०६१ मा माघ १९ मा एकाएक नेपाली राजनीतिमा भएको परिर्वतनसँगै वाक तथा अभिब्यक्ति स्वतन्त्रताप्रति सरकार अनुदार बन्यो । जसकारण देखेको सत्यतथ्य सामग्री समेत लेख्न नसक्ने वातावरणको निर्माण गर्यो । जुन कुरा चित्त बुझेन र ब्लगको दुनियामा प्रवेश गरे । जुन अहिलेसम्म निरन्तर छ।

के का लागि ब्लग लेख्नुहुन्छ ?

आत्मसन्तुष्टि नै ब्लग लेखनको पहिलो उद्धेश्य हो । सञ्चारमाध्यममै कार्यरत भएपनि मनमा लागेका विषयहरु जस्ताको तस्तै लेख्ने छुट हुन्न। पत्रकारितामा केही न केही शुत्रहरु छन् मान्यताहरु छन् अनी केही प्रकृया र पद्धतिहरु छन् । जसले गर्दा कहिलेकाँही आफैंले लेखेको सामग्री प्रकाशित हुँदापनि चित्त बुझ्दैन । त्यसको राम्रो विकल्प हो ब्लग । जसले भरपुर आत्मसन्तुष्टि दिईरहेको छ। 

खासगरी ब्लगमा कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ ?

मुलत: राजनीतिक विषयवस्तु नै मेरा प्रमुख प्राथमिकताका विषय हुन । राष्ट्रको राजनीतिक घटनाक्रम प्रतिको आफ्नो दृष्टिकोण पाठकमाझ पस्कन खुब रमाईलो लाग्छ मलाई । समाचार संकलनका क्रममा पाएका अनुभव, ब्लगिङ र सामाजिक विषयलाइ पनि प्राथमिकता दिने गरेको छु । अपराध र आन्तरिक सुरक्षा सम्बन्धी सामग्रीहरु पनि बेलाबखत लेख्दै आएको छु।

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ ?  

अति सकारात्मक । नयाँ नयाँ विषयमा प्रत्यक्ष अर्न्तक्रिया गराईरहेको छ ब्लगले । नयाँ पुस्तासँगै, कहलिएका र अनुभवी ब्यक्तिहरु किशोर नेपाल, मोहन मैनाली, बुद्धीनारायण श्रेष्ठ, लगायतलाई समेत ब्लगको दुनियाँमा भेट्न पाउँदा बढो खुसी लाग्छ। नयाँ नयाँ क्षेत्रका युवाको उपस्थिती बाक्लो बन्दैछ । इन्टरनेटको दुनियामा नेपाली सामाग्री प्रशस्त भन्डारण हुँदैछन्।

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ भने बताइदिनुस न ?

प्रत्येक दिन यस्ता नयाँ अनुभव पाइरहेको छु। जसलाई यही चाँही सबैभन्दा रमाइलो हो भनेर मैले बर्गिकरण गरेको छैन ।

तपाईंले त मुलधारको पत्रकारिता समेत गरिरहनुभएको छ, नेपालमा मुलधारका मिडिया र पत्रकारिताले नागरिकका सवालहरूलाइ कसरी उठाइरहेका छन ?

मुलधारका सञ्चारमाध्यमले सहि समयमा सहि विषयलाई अगाडि बढाउन सकेका छन्। कहिलेकाँही विषयवाट बाहिरिएको हो कि भन्ने देखिएपनि पुन: मुलप्रवाहमा उनीहरु खटिएका छन्। अहिलेको आम नागरिकको चासोको केन्द्रविन्दुमा शान्ति र संविधान छ । सँगै सुशासन, आर्थिक मितव्ययिता र कानुनी राज्य स्थापनाका सवालहरु पनि उठिरहेका छन्। जसलाई एैनाको रुपमा उठाउन मुलधारका मिडिया र मिडियाकर्मी सफल देखिएका छन्।

नेपालमा मिडिया तथा पत्रकारिता पेशामा टिक्न कत्तिको सजिलो देख्नुभएको छ  र नेपाली संचारकर्मी तथा पत्रकारहरुले अहिले कस्ता-कस्ता चुनौतिहरु भोग्नुपरेको छ ?

पेशाप्रतिको प्रतिवद्धता, पेशागत ज्ञान, व्यवसायिक आचरण र बौद्धिक क्षमता हुने हो भने अहिले पत्रकारीता टिक्न सहज छ । आर्थिक रुपमा समेत आकर्षक पेशा बन्दै गएको छ पत्रकारिता। जसले सञ्चारकर्मीलाई केही हदसम्म यही पेशामा सहज रुपमा टिकाउन सक्छ। तरपनि अझै पूर्ण भने हुन सकेको छैन। अरुले कानुन पालना गरेनन् भनेर समाचार लेख्ने हामी सञ्चारकर्मीहरु आफ्नै हितमा सरकारले बनाएको श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा लागु गराउन असफल भईरहेका छौं। अहिलेपनि अधिकांश सञ्चारमाध्यमा कार्यरत सञ्चारकर्मीले मासिक रुपमा पारिश्रमिक पाईरहेका छैनन्। काम अनुसारको दामको वातावरण अझै बनेको छैन। यी कुराहरु नेपाली पत्रकारिताको व्यवसायिक विकासका बाधक हुन। जसको सुधार आवश्यक छ।

मुलधारको पत्रकारिता र ब्लग मार्फत गरिने नागरिक पत्रकारिता बिच के फरक पाउनुभएको छ ?

कुनै विषय मुलधारको सञ्चारमाध्यमले चाहेर पनि उठाइरहेको हुन्न, वा उसको ध्यान पुग्न सकेको हुन्न। त्यस्ता विषयलाई ब्लग मार्फत सहजै आम नागरिकसम्म पुर्‍याउन सकिन्छ। जसवाट एक सकारात्मक बहसको प्रारम्भ गर्न सकिन्छ । त्यसमा पनि कुनै सञ्चारमाध्यममा आवद्ध भएपनि सबै विषयमा आफ्ना दृष्टिकोण सार्वजनिक गर्न सकिन्न । अहिले विषयगत पत्रकारिताको विकास भएको छ । जस्तो कि, म मुलत सुरक्षा र अपराध सम्बन्धी विषयमा समाचार संकलन गर्दै आएको छु । मैले काम गर्ने सञ्चारमाध्यमले मेरो जिम्मेवारी अनुसारकै सामग्रीलाई नै प्राथमिकता दिने हो । सामाजिक, राजनीतिक, शैक्षिक, आर्थिक लगायतका विषयमा आफ्नो दृष्टीकोण सार्वजनिक गर्न सहज हुन्न । त्यसलाई ब्लग मार्फत सहजताका साथ पस्कन सकिन्छ। पत्रकारिता मुलत स्वतन्त्र भनिए पनि यसमा पनि केही सिमितता हुन्छ नै । कुनै न कुनै सिमामा बाँधीएका हुन्छन् सञ्चार माध्यम । उनीहरुको सिमामा सञ्चारकर्मी समेत बाधिनुपर्ने बाध्यता हुन्छ नै । ब्लगिङलाई विश्वसनिय बनाउन केही सिमा बनाउन सकिन्छ । तर, कस्तो सिमा कोर्ने त्यो आफुमा निर्भर हुने भएकाले मुलधारको पत्रकारिता भन्दा ब्लगमा बढी स्वतन्त्रता छ ।

तपाइलाइ पनि थाहा होला, यतिबेला हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन, तपाइलाइ के लाग्छ, के यो जरूरी छ ?

विश्वसनियताको विकास गर्ने हो भने कुनै न कुनै सिमाको आवश्यकता पर्छ नै । कुनै पनि विषय वा क्षेत्र पूर्ण स्वतन्त्रहुँदा त्यसको प्रभाव सकारात्मक भन्दा बढी नकारात्मक बन्न पनि सक्छ। जसलाई आचारसंहिताले समाधान गर्न सक्छ । ब्लगिङ मुलत आफ्ना धारणा अभिब्यक्त गर्ने स्वतन्त्र प्लेटफर्म बनेको छ तर, यसको पनि सिमा छ । कानुन भन्दा बाहिर गएर गरिने काम दण्डनिय हुन्छ नै । सिमाविहिन क्षेत्रलाई राज्यले सहजै बढी दण्डित गर्नसक्ने सम्भावना पनि हुन्छ । त्यसैले वाक तथा अभिब्यक्ति स्वतन्त्रातामा नकारात्मक हस्तक्षेप नपुग्नेगरी आचार संहिता बनाउनु र त्यसको पालना गर्नु स्वागतयोग्य काम हो ।

तपाइले निरन्तर रुपमा ब्लग पनि लेखिरहनु भएको छ, तपाइलाई थाहा छ ? नेपालमा नागिरक पत्रकारिता प्रवर्धन गर्न र सामाजिक संजालका रूपमाhttp://meroreport.net/ पनि सुरू भएको छ नि ?

मेरो रिर्पोट परिक्षण कालदेखी नै नियमित भ्रमण गर्दै आएको छु। यसको सुरुवातवाट सकारात्मक कामको प्रारम्भ भएको छ।

अन्त्यमा मेरो रिपोर्टलाइ केही भन्न चाहनुहुन्छ ?

थप प्रभावकारी बन्न सकोस् ।

 

तपाइको ब्लगलिँक : www.hamroblog.com

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Rupen on October 11, 2011 at 4:28pm

Congratulation KP Ji!!!

Comment by MeroReport on October 5, 2011 at 5:11pm

Congratulations K P ji !!

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service