Blogger of this week: Deepak Bhattarai

Last week blogger

दीपक भट्टराई  डेढगाउँ - ९, नवलपरासीका युवा हुन तर उनी हाल बसुन्धारा काठमाडौंमा बस्छन विगत ११ बर्षदेखि पत्रकारिता पेसामा आवद्द दीपकले अहिलेसम्म २ वर्ष स्पेसटाइम दैनिक, त्यसपछि करिब ६ वर्ष कान्तिपुर टेलिभिजन, त्यसपछिका डेढ वर्षहरु दैनिकी अनलाइन र नागरिक पत्रिकामा तथा करिब २ वर्षदेखि बिबिसी वर्ल्ड सर्भिस ट्रस्ट नेपालको साझा सवाल कार्यक्रमको उत्पादकका रुपमा बिताइसकेका छन । पत्रकारिताका साथसाथै ब्लगिङ्गमा खास रुची राख्ने दीपक यस साता मेरो रिपोर्टमा साताका ब्लगर हुन सफल भएका छन । संधैका साताका ब्लगरसंग जस्तै यसपाली हामीले दीपकसंग पनि ब्लगिङ्ग, नागरिक पत्रकारिता र मेरोरिपोर्टका बिषयमा कुराकानी गरेका छौँ । 

ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो ?

६ वर्ष अगाडि देखि नै सहपाठी साथी उमेश श्रेष्ठले प्रोत्साहित गरेकाले माइसंसारमा कहिलेकाही ब्लग लेख्ने गर्थे‌ । ब्लगस्पटमा आफ्नै ब्लग कलिटाइम्स सुरु गरेको चाहिँ २०६५ साल पुषतिर हो । तर २०६७ सालदेखि अलिक नियमित छ ।

के का लागि ब्लग लेख्नुहुन्छ ?

धेरै त रमाइलोका लागि। आफूलाई मन लागेका कुरा अभिव्यक्त गर्ने ठाउँ मिल्छ नि, त्यसैले सुख दुख साट्नका लागि । कहिलेकाही अरुलाई पनि यो कुरा थाहा दिनपाए भने जस्तो लाग्छ त्यो बेलामा लेख्छु।

खासगरी ब्लगमा कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ ?

म पत्रकारिता क्षेत्रमा लागेको मान्छे कतिपय कुरा समाचार र विचारमा लेख्न र पुष्टि गर्न अप्ठेरो हुने हुँदा ब्लगमा लेख्न रमाइलो लाग्छ। तर २००९ देखि भने म धेरैजसो समाज र राजनीतिमा व्यङ्ग्य गरिएका कुरालाई केही लाइनको ब्लग धेरै लेख्छु। कहिलेकाहिँ चाहिँ कुनै कुराले मन छोएमा लामो ब्लग पनि लेख्छु।  

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

म त्यस्तो धेरै त नेपाली ब्लग साइटहरुमा भुलेको छैन। जति भुल्छु रमाइलो लाग्छ। पत्रपत्रिका, रेडियो र टिभी जस्ता मुलधारका सञ्चार माध्यममा नपाइने फरक दृष्टिकोण कहिलेकाही ब्लगमा पाइन्छ।  माइसंसार जस्तो साइटले त नेपालका कुनै पनि मुलधारका पत्रपत्रिकाले दिन नसकेका खोजमुलक समाचार पनि प्रेसित गरेको पाउँछु। ब्लगको लेखनीले पनि मलाई खुब तान्छ धेरैले आत्मपरक शैलीले लेख्छन्, आफूले जे भोगे त्यही लेख्छन्, जे देखे त्यही लेख्छन्।

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ भने बताइदिनुस न ?

चार वर्ष अगाडि युरोप जाँदा माइसंसारमा युरोप भ्रमणको विषयमा दैनिक जसो ब्लग लेखिरहेको थिएँ र उमेशले मेरो ब्लगको तल बेल्जियममा मैले प्रयोग गर्ने मोबाइलको नम्बर पनि हालिदिएको थियो। फ्रान्स जाँदा पनि त्यही मोबाइल बोकेको थिएँ। युरोप र खाडी मुलुकमा रहेका नेपालीले मोबाइलमा फोन गरेका गरै थिए। ब्लगरलाई त्यति धेरै फोन गर्छन् जस्तो लागेकै थिएन। अर्को देशको फोन उठाउँदा रोमिङ चार्ज लाग्ने, फ्रान्सबाट बेल्जियम फर्केर आउँदा त एक पैसा पनि मोबाइलमा बाँकी रहनेछ। बेल्जियममा लिन आउनुपर्ने मान्छेलाई न फोन गर्न मिल्छ न उताबाट फोन आउँछ। म निकैबेर रातिमा अलपत्र परेको थिएँ।

तपाईंले त मुलधारको पत्रकारिता समेत गरिरहनुभएको छ, नेपालमा मुलधारका मिडिया र पत्रकारिताले नागरिकका सवालहरूलाइ कसरी उठाइरहेका छन ? 

ठीकैसँग उठाइरहेकै छन्। तर अझै धेरै उठाइदिउन् भन्ने कामना म गर्छु। मुलधारको पत्रकारिता राजनीतिमा धेरै केन्द्रीत छ र फलानाले यसो भने, उसो भने भन्ने खालको पत्रकारिता धेरै छ। यसका साथै मुलधार धेरै राजधानी केन्द्रीत अनि अलि अलि शहर केन्द्रीत छ। गाउँ गाउँ र दुर्गममा पुग्ने त्यहाँका जन जीविका र अन्य सवाललाई प्रकाशन प्रशारणमा ल्याउने प्रयास आवश्यक मात्रामा हुन सकेको छैन। 

नेपालमा मिडिया तथा पत्रकारिता पेशामा टिक्न कत्तिको सजिलो देख्नुभएको छ  र नेपाली संचारकर्मी तथा पत्रकारहरुले अहिले कस्ता-कस्ता चुनौतिहरु भोग्नुपरेको छ ?

नेपालमा पत्रकारिता पेशामा टिक्न एकदम सजिलो पनि छैन र एकदम अप्ठेरो पनि छैन। यो सञ्चार क्षेत्रमा आउने मानिसको क्षमता र रुची अनुसार पनि फरक फरक अवस्था पर्छ। अब्बल दर्जाका पत्रकारहरु मजाले पत्रकारितामा टिक्न सक्छन्। त्याग गर्ने स्वभावका, पत्रकारितामा रुचि भएकाहरु पनि मजाले यो पेशामा टिक्न सक्छन्।

नेपाली सञ्चारकर्मीमा अहिलेको प्रमुख चुनौति भनेको कसरी असल पत्रकारहरुलाई यो पेशामा टिकाइराख्ने भन्ने हो। आर्थिक रुपमा पत्रकारको पेशा सुरक्षित राख्नु, भौतिक रुपमा पत्रकारहरु माथि हुने आक्रमण रोक्नु र  पत्रकारितालाई राजनीतिक घेराबाट बचाउनु पनि चुनौति नै छ। बिस्तारै व्यापारिक घरानाले विज्ञापनको आडमा र राजनीतिक दलले विभिन्न बहानामा कतै जनताको सत्य तथ्य जानकारी पाउने अधिकारमा खेलवाड गर्छन् कि भन्ने चुनौति पनि छ। 

मुलधारको पत्रकारिता र ब्लग मार्फत गरिने नागरिक पत्रकारिता बिच के फरक पाउनुभएको छ ?

पत्रकारिता त जहाँ गरे पनि एउटै हो। तर मुलधारको पत्रकारितामा नआउने कतिपय कुराहरु ब्लगमा आउछन्। ब्लगमा तपाई आफ्ना मनका कुरा राख्न स्वतन्त्र हुनुहुन्छ। यहाँ कसैले सम्पादन र 'सेन्सर' गर्दैन। त्यसैले ब्लगमा त्रुटीहरु धेरै होलान् चाहे तथ्यगत हिसाबमा वा सन्तुलनको हिसाबमा तर ब्लगमा लेखिने शैली र स्वतन्त्रताले कतिपय अवस्थामा नागरिक पत्रकारितालाई मुलधारको पत्रकारिता भन्दा पठनीय र प्रभावकारी बनाएको छ। तर विश्वसनीयतामा प्रश्न रहने ब्लगर र नागरिक पत्रकारिता गर्नेको चुनौति हो त्यसलाई आँफैले हल गर्दै जानुपर्छ।

तपाइलाइ पनि थाहा होला, यतिबेला हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन, तपाइलाइ के लाग्छ, के यो जरूरी छ ?

अब जरुरी छैन भनौं भने म आँफै पनि आचार संहितामा हस्ताक्षर गरेको छु। जरुरी छ भनौं भने आचार संहिताले ब्लगको स्वतन्त्रता र स्वच्छन्तालाई केही असर गर्छ कि भन्ने डर पनि छ। ब्लगरहरु जिम्मेवार हुँदा ब्लग र नागरिक पत्रकारिताको नै मान बढ्छ त्यसैले आचारस‌ंहिता राम्रै गर्ला। तर आचार संहितमा बाँधिएकोमा न मलाई आपत्ति छ न हर्ष नै।

तपाइले निरन्तर रुपमा ब्लग पनि लेखिरहनु भएको छ, तपाइलाई थाहा छ ? नेपालमा नागिरक पत्रकारिता प्रवर्धन गर्न र सामाजिक संजालका रूपमाhttp://meroreport.net/ पनि सुरू भएको छ नि ?

थाहा छ। फेसबुक, टि्वटर जस्ता सोसियल नेटवर्किङ साइटमा समय बिताउने नेपाली पत्रकारहरुले यो सञ्जालको विषयमा थाहा नपाइकन बस्न सक्लान् र ?

अन्त्यमा मेरो रिपोर्टलाइ केही भन्न चाहनुहुन्छ ?

सफलताको शुभकामना छ। इन्टरनेटमा आउने हरेक नेपालीले सबैभन्दा पहिले खोल्ने साइट बनोस्। नेपाली भाषामा अहिले पनि  इन्टरनेटमा कम सामाग्री छन्। हरेक विषयको सामाग्री खोज्नासाथ यहाँ पाइयोस्। म पाँच महिना अगाडि टाइफाइडले थला परेको थिएँ। यसो इन्टरनेटमा यस्को विषयमा कति जानकारी होला भनेर नेपालीमा खोजें तर पाइन। अँग्रेजीमा त जे विषयमा खोजे पनि प्रशस्त जानकारी पाइन्छ। त्यस्तै मेरो रिपोर्टले संसारमा कुनै पनि ठाउँमा बस्ने नेपालीले आफ्ना कुरा राख्ने खोल्ने ठाउँ उपलब्ध गराइदेओस्।

तपाइको ब्लगलिँक : www.kalitimes.com

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Friendycalls on September 22, 2011 at 5:03pm

बधाई छ दाजु..... खतरा खतरा बास्तबिकतालाइ व्यंग्यमा पढ्न पाइन्थ्यो, आज  अन्तरंगक कुरा नि पढ्न पाएँ :) फेरी पनि बधाई है दाजु...........

Comment by Ajeeta Sigdel on September 21, 2011 at 3:55pm

Congratulations Deepak ji !!

 

Comment by Rupen on September 21, 2011 at 2:47pm

Congratulation Deepak Ji!

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service