असन्तुलित राजनीतिक बिश्लेषण

By Binaya Guragain

एकीकृत नेकपा एमाओवादीले दोस्रो संविधानसभामा पहिलो सिट जितेको खबर सुन्न पनि यसपालि मंसिर ४ को चुनाउ सकिएपछिका ४८ घन्टा कुर्नुपर्‍यो। त्यो बेलासम्म नेपाली कांग्रेस र नेकपा एमालेले दर्जन बढी सिटमा जित पक्का गरिसकेका थिए।
व्यग्रताका ती ४८ घन्टामा सबैभन्दा बढी मर्माहत को भयो भनेर अनुमान लगाउन निधार खुम्च्याउनु नपर्ला। त्यस्तो बेलामा, चुनाउपछि पहिलो पार्टी बन्छु भनेर उत्साहित अभिव्यक्ति दिँदै हिँड्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र अरू शीर्षस्तरका नेताहरूको छटपटाहट स्वाभाविक थियो। तर मतगणना सुरु भएको ३६ घन्टा नपुग्दै एमाओवादीले चुनाउ नतिजालाई मान्यता नदिने अभिव्यक्ति दियो। त्यो भने अप्रत्यासित र हतास आक्रोश मात्र थिएन, अस्वाभाविक पनि थियो।
पुष्पकमल दाहाल र उनका अन्य शीर्ष नेतालाई त्यस्तो अस्वाभाविक अभिव्यक्ति दिन बाध्य केले बनायो होलारु अनुमान गरेभन्दा अप्रत्यासित किसिमले उल्टिएको मतगणनाको नतिजाले मात्र एमाओवादी हतास भएको होला त?

आफ्नो पार्टीको जित पक्का छ भन्नेमा एमाओवादीको आन्तरिक अध्ययनले केही न केही संकेत त पक्कै गरेको हुनुपथ्र्यो। त्यसैले एमाओवादी हौसिनु नौलो थिएन।
चुनाउपछि पहिलो शक्ति बन्छु भन्ने एमाओवादी दम्भ चुल्याउन मद्दत गर्ने अरू कुनै पक्ष पनि थियो होला तरु अवश्य थियो, जसले हरेक दिनजसो पत्रपत्रिका र अरू सञ्चारमाध्यममा एकपक्षीय राजनीतिक विश्लेषण गर्थ्यो। त्यसमा केही लेखकबाहेक, गनेचुनेकै राजनीतिक विश्लेषकहरू सहभागी हुन्थे। केही सञ्चारमाध्यम प्रयोग भएका थिए।
उनीहरू प्रत्यक्षपरोक्ष रूपमा एमाओवादीलाई अग्रगामी पार्टीको पगरी गुथाउन अघि सर्थे। एमाओवादीबाट मात्र समाज रूपान्तरण सम्भव छ भन्नेसम्म्मको विचार प्रवाहमा सक्रिय थिए।

विश्लेषणहरू कतिसम्म एकपक्षीय आउँथे भने ६३ सालपछि परिवर्तनलाई स्थायी बनाउन एमाओवादीबाहेक अरूले सक्दैनन्। त्यस किसिमका आलेख र अभिव्यक्तिले एमाओवादीलाई हौस्याएका मात्र थिएनन्, पाउरोटीजसरी फुलाउने भूमिका खेलेका थिए। त्यसैको परिणाम हुन सक्छ मंसिर ६ गते बिहानसम्म पनि एमाओवादीका नेताहरू पन्चर हुनुअगाडिको भलिबल ट्युब झैं गह्रुँगा देखिन्थे।

आफ्ना जित हुनेमा ढुक्क जस्तै थिए। तर जब परिणाम बाहिर आउन थाल्यो आफूहरू त हावा खुस्केको बेलुन झैं एकैछिनमा खस्य्राकखुस्रुक्क भएको पत्तो पाए। त्यसपछि मात्र निन्याउरो अनुहारमा हारको पीडा लुकाउँदै मतगणनामा धाँधली भएको भन्दै संविधानसभा बहिष्कारसम्मका धम्की दिन थालिसकेका थिए। त्योबेलासम्म पुग्दा राजनीतिक विश्लेषकका भविष्यवाणीले फेल खाने स्पष्ट भइसकेको थियो। अर्थात् एमाओवादीका लागि घडी उल्टो घुम्न थालिसकेको थियो। जसका लागि राजनीतिका धुरुन्धर पण्डित भनि चिनिएका विश्लेषकहरू पनि दोषभागी भइसकेका थिए।


एमाओवादीलाई पाउरोटी झैं फुलाउने र अग्रगमनको पगरी गुथाउने खालको विश्लेषण किन भयो चुनाउ अगाडि? किन असफल भए ती विश्लेषकहरूरु नेपालको राजनीतिमा एमाओवादीलाई बाहेक अरू दललाई परिवर्तनविरोधी र पश्चगामी ठान्ने किसिमको विश्लेषण गलत थियो वा विश्लेषकको विश्लेषण क्षमतामा कमी थियो? किन चुके समाजमा लोकप्रिय लेखक, विश्लेषकको परिचय कमाएका व्यक्तित्वहरू? के उनीहरूलाई थाहा थियो विश्लेषण वस्तुगत हुन सकेको छैन भनेर?


सबैलाई थाहा छ, दोस्रो जनआन्दोलनले ल्याएका परिवर्तनहरू संस्थागत हुन सकेका छैनन्। यसका लागि एक दल मात्र जिम्मेवार छैन। एमाओवादी समाज रूपान्तरणको लागि प्रमुख भूमिका निभाउनुपर्ने दल हो, त्यसैले नयाँ संविधान निर्माणका लागि उसको भूमिका अपरिहार्य छ।


समाजमा राजनीतिक रूपमा सचेत वर्ग छ। जो ठान्दछ, ६३ सालपछिका दीर्घकालीन राजनीतिक निर्णयलाई संस्थागत गरी स्थायी परिवर्तनका लागि एमाओवादीबाहेकका शक्तिहरू पनि उत्तिकै जिम्मेवार छन्। तर समाजको बुझाइलाई एकोहोरो किसिमले यसरी हस्तक्षेप गरियो, गरिँदैछ कि त्यसलाई संस्थागत गर्नका लागि एमाओवादी एक मात्र शक्ति हो।


एकोहोरो किसिमले भनियो कि एमाओवादी नहुँदा पहाड खस्छ अरू दल र पात्रहरू नभए पनि फरक पर्दैन। विगत सात वर्षको संक्रमणकालीन राजनीतिक उतारचढावले समाजमा राजनीतिक रूपमा सचेत बलियो पुस्ता जन्माएको छ। राजनीतिलाई फोहोरी खेल भनेर पन्छिने युवा राजनीतिलाई ट्र्याकमा हिँडाउन आफैं अघि सर्दैछन्। सामाजिक सञ्चाल तथा आमसञ्चार माध्यममार्फत अभिव्यक्त युवा विचारले जिम्मेवार र पारदर्शी राजनीतिक नेतृत्व यो देशमा चाहेको छ।


परिवर्तनलाई स्थायी रूपमा संस्थागत गर्न सक्ने विश्वासिलो राजनीतिक दलको अपेक्षा गरेको छ। हिंसा र अतिवादबाट मुक्त समाजको परिकल्पना हरेक नागरिकमा छ। राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिलाई सन्तुलित अध्ययन गरेर आफूलाई त्यसै अनुरूप परिपक्क बनाउन चाहने पुस्ता राजनीतिमा सक्रिय हुन थालेको छ।
हरेक दलका गतिविधिलाई आलोचनात्मक नजरले हेर्ने र सुधारका लागि दबाबमूलक धक्का दिन चाहने युवापुस्ताको चाहनालाई वस्तुगत ढंगले बुझ्न नसक्दा र नखोज्दा चुनाउअघिका राजनीतिक भविष्यवाणी र त्यस्तो भविष्यवाणी गर्ने ज्योतिषीहरू नराम्रोसँग चिप्लिएका छन्।
देशलाई धर्म निरपेक्ष बनाउन, संघीय स्वरूपमा लगेर अधिकार नपाएका नागरिकलाई अधिकारसम्पन्न बनाउन, राज्यलाई नियन्त्रणकारी हैन, समन्वयकारी भूमिकामा सीमित गरी सम्बन्धित क्षेत्रका नागरिकलाई नै आफ्नो क्षेत्रको विकासका लागि निर्णायक अधिकार प्रदान गर्न, जात, धर्म र भाषाका आधारमा अर्को जात, धर्म वा भाषाभाषी समुदायमाथिको थिचोमिचो निषेध गर्ने सबाललाई मूलधारमा ल्याउनमा एमाओवादीको भूमिका रहेको छ।
समयअनुरूप आफूलाई परिवर्तनकारी शक्तिमा रूपान्तरण गर्न अन्य दलले देखाएको तत्परता र नागरिक अधिकार सुनिश्चित गर्नलाई एमाले कांग्रेसले माओवादीसँगै खेलेका समान भूमिका खेलेका छन्। नागरिक जातीय, धार्मिक, साम्प्रदायिक एकता चाहन्छन् न कि यिनैका आधारमा देशलाई टुक्र्याएर दुईचारजना नयाँ रजौटा जन्माएर फेरि तिनै अल्पसंख्यक समुदायमाथि हैकम चलाएको मनपराउँछन् भन्ने सचेत नागरिक मतलाई राजनीतिक भविष्यवेत्ताहरूले बुझ्न चाहेनन्।


उल्टो तिनलाई अवमूल्यन गर्न विश्लेषकहरू दलीय झन्डामुनि गोलबद्ध भए। जातीय पहिचानको संघीयताले मुलुकको भविष्य बिगार्छ भन्ने एमाओवादी नेताका सार्वजनिक अभिव्यक्तिलाई समेत नजरअन्दाज गर्ने र एमाओवादीले बोकेका मुद्दाहरूले मात्र देश सपार्ने एकोहोरो सुगारटाईबाट विश्लेषकहरू मुक्त हुन सकेनन्।
जन्ड कार्यकर्ताको झुन्ड भन्दाबाहिरको नागरिक अभिमतलाई अवमूल्यन गर्नु र कांग्रेस एमालेका कमजोरीमाथि खनिनु स्वतन्त्र परिचय र वैचारिक सन्तुलन गुमाउनु हो भन्ने हेक्का ती ज्योतिषीले राख्न सकेनन् त्यसैले उनीहरूले एकपक्षीय प्रक्षेपणमार्फत स्तूतिगानमा आफूलाई होमिरहे।


एमाओवादी आफूलाई सबैभन्दा राष्ट्रवादी दल ठान्दछ। त्यो उसले मात्र हैन, ऊजस्तै उग्र राजनीतिक धार समातेका धेरै दल र तिनका नेताले पनि ठान्दछन्। तर नेपालको हकमा एमाओवादीको राष्ट्रवादी दृष्टिकोण र उसका व्यवहारबीचमा आकाश-जमिनको फरक रहेको कुरा यो देशका सचेत नागरिकबाट लुकेको छैन।


छिमेकीबाट सिमाना मिचिँदा र सत्तामा रजाइँ गर्न नपाउँदा मात्र एमाओवादीभित्रको राष्ट्रियता जुर्मुराउँछ भन्ने कुरा अब उसले चाहेर पनि लुकाउन सक्दैन। तर राजनीतिक पण्डित्याइँ कसरी एकपक्षीय भइदियो भने एमाओवादीजति राष्ट्रवादी दल त कुनै पनि पनि छैन। उसका हरेक गतिविधि जुन गलत भनेर समुदायमा पहिल्यै स्थापित भइसकेकालाई पनि चुनाउअघिका अभिव्यक्तिले नदेखे जस्तो गरिदिए।


एमाओवादीले जे गरे पनि ठीक अरू दलले राम्रो गरे पनि बेठीक भन्ने मनोभावनाले ग्रस्त विचारले एमाओवादीलाई गमक्क हुन र दम्भ बढाउन सहयोगी भूमिका खेल्यो, जुन नाम चलेकै विश्लेषक, लेखकहरूबाट दिनैपिच्छे जसो आउन थाल्यो। नितान्त व्यक्तिगत र चरित्रहत्याकै लागि प्रयोग गरिने शब्द र आशयसहितका अभिव्यक्तिहरूलाई ठाउँ दिएर एमाओवादी नेता र नेतृत्वको देवत्करण र अरू दलको नेतृत्वलाई राक्षसीकरण गर्नमा सक्रिय रह्यो।


यसो गर्दा विश्लेषकहरूको त्यो जमातले अनुमान लाउन सकेन कि हामीले भनेको कुरा नसुन्ने, फरक सोच्ने, देख्ने, विश्लेषण गर्ने र उपयोग गर्ने जमात यो देशमा हामीभन्दा धेरै छ। 

र, खतरा अझै कहाँ छ भने यसपटक चुनाउअगाडि तिनै असफल विश्लेषणमार्फत भ्रम छर्ने ज्योतिषीहरू नै अहिले पनि शान्तिपूर्ण रूपमा अभिव्यक्त नागरिक अभिमतलाई अपमानजनक ढंगले परिवर्तननविरोधी र पश्चगामी भन्न अघि सरेका छन्। अब संविधानसभा असफल हुने सम्भावित खतरा त्यसलाई स्विकार्दिनँ भन्नेहरू दलहरूबाट मात्र हैन, दलको चाकरीमा राजनीतिक विश्लेषण गर्ने भविष्यवेत्ताहरूबाट पनि त्यत्तिकै छन्।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service