अन्तराष्ट्रिय बिमानस्थलको दुर्दशा

by @binayaji

आदरणीय पाठक महानुभावहरु, मलाई क्षमा गर्नोस् । पढ्दा तपाईलाई लाग्न सक्छ देशको एकमात्र अन्तराष्ट्रिय बिमानस्थलको यति बिघ्न दुर्दशा कसलाई सुनाएको हो? यो लेख देशको बिमानस्थलको बेइज्जत गर्नका लागि भन्दा पनि पटकपटक देखेको र भोगेको बेतिथी तथा बिसंगतीलाई बाहिर ल्याएर सुधारका लागि सम्बन्धित पक्षको ध्यान जाओस् भन्ने अपेक्षासहित यहाँ प्रस्तुत गरिएको हो ।

अन्तराष्ट्रिय उडान तथा अवतरणका लागि संसारकै अप्ठ्यारा बिमानस्थलमा पर्छ रे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल । बाहिरबाट हेर्दा पनि सजिलै थाहा हुन्छ, हिजोआज बिमानस्थल साँघुरो हुन थालेको छ । आन्तरिक र अन्तराष्ट्रिय उडानको चाप हुने समय बिहान र मध्यान्हको बेला बिमानस्थलमा जहाज पार्किङ्गका लागि स्थान अभाव हुन थालेको जोसुकैले देख्न सक्छ । आन्तरिक र बाह्य उडान एकैठाउँबाट हुने हुनाले भनेको समयमा कुनै पनि जहाजहरु उड्न सक्दैनन् ।

असहज परिस्थितीको सामना बिमानस्थलको मुख्यद्धारमा पुगेदेखि नै शुरु हुन्छ । निर्धारित समयभन्दा छिटो पुगियो वा उडान ढिलो हुने भयो भने बस्नका लागि प्रबेशद्धारमा कुनै व्यवस्था छैन । बिमानस्थल बाहिर यात्रु प्रतिक्षालय छँदैछैन । सकुन्जेल उभिने नसकेपछि चिसो र फोहोर भुईमा बस्नुको बिकल्प छैन । परिचय खुल्ने कागजात देखाएर भित्र पस्यो अनुहार हेरेर गरिने सुरक्षाकर्मीको व्यवहारको सामना कम पिडादायी हुन्न । साँघुरो ठाउँमा काउन्टर त्यो पनि सुबिधा बिहीन । स्थान अभावको कारणले होला हरेक बिमान कम्पनीले आफ्नो चेक–इन काउन्टर राख्न सकेका छैनन् । भएका काउन्टरमा कहिले बत्ति हुदैन कहिले नेटवर्कले काम गर्दैन । जहाज कम्पनी र अध्यागमनका कर्मचारी, सुरक्षाकर्मीले सुटबुट नलाएको, चिटिक्क पारेर गाला नताछेको, सुगन्धित तेल, पम्फ्युम र पाउडर नघसेकोलाई गर्ने व्यवहारले घरखेत बन्धक राखेर रोजगारीका लागि बिदेशीने दाजुभाई दिदीबैनीको कति चित्त दुख्दो हो ।

अत्यन्त व्यस्त समयमा, अध्यागमन पार गर्ने स्थानका सबै डेस्कमा कर्मचारी हुदैनन् । त्यस्तो बेलामा लामो लाईन पार गरेर मात्र अध्यागमन प्रकृया पुरा हुन्छ । हिजोआज त बैदेशीक रोजगारमा जानेहरुका लागि र अन्यका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । अध्यागमनका कर्मचारी सहयोगी भन्दा पनि अनुहार हेरेर अनावश्यक दुःख दिने नियतले कार्यसम्पादन गर्दछन् । नेपालीहरुलाई उनीहरुले गरेको हेला र बिदेशीलाई प्रकट गरेको सम्मानजनक व्यवहार देख्दा र भोग्दा लाग्छ उनीहरु सहयोग गर्न भन्दा पनि मानसिक रुपमा प्रताडित गर्न त्यहाँ बसेका हुन् । उनीहरुको व्यवहार बुझ्नका लागि उदाहरण खोज्न केही समयअघि अमेरीका जान लागेकी एक युवतीलाई अध्यागमनका कर्मचारीले गरेको व्यवहार नै काफी छ ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलले मानव तस्करी हुने ठाउँका रुपमा कुख्याती कमाएको छ । बुझेर वा नबुझिकन अरुको नाममा बिदेशीने कैयौ नेपाली कामदारहरुलाई बिदेशी भुमिमा पुर्याएर अलपत्र पार्ने काममा पनि हाम्रो बिमानस्थल चिनिएको छ । सुन, मुद्रा तथा लागु औषध तस्करीका लागि अध्यागमनका कर्मचारी र नेपाल प्रहरीको मिलेमतो कस्तो छ भन्ने कुरा पटक पटक सार्वजनिक भएका घटनाहरुले नै बताउँछन् । कर्मचारी र प्रहरीकै मिलेमतो तथा सत्ता र शक्तिको संरक्षणमा करछली बिमानस्थलको अर्को परिचय बनेको छ ।

बिदेश बसेर फर्केका मानिसलाई बिमानस्थलका कर्मचारीले कसरी मुर्गा बनाउछन भन्ने कुकृत्यको पछिल्लो नमूना सीता राईको कथाले छर्लङ्ग पारेको छ । सीताजस्ता कैयो सोझा, इमान्दार र निर्दोष कति अनुहारले आर्थिक, शारिरीक र मानसिक शोषण भोगेकाछन् भन्ने बताउन लामै फेहरिस्त तयार पार्नुपर्छ । कतिसम्म हुन्छ भने बिमानदेखि सामान जिम्मा लिनेस्थानसम्म आइपुग्दा च्यातिएका झोला र सुटकेशहरु भेटिएनन् भने अचम्म मान्नुपर्ने हुन्छ । फर्कनेका झोला च्यात्नेमात्र हैन जहाजसम्म मुसा पुर्याउने सम्मका काम अरुले नभई अध्यागमनका कर्मचारीले नै गर्छन् ।

कर्मचारीको असहयोग र संभावित ठगीका बिभिन्न चरणहरु पारगर्दै जब बिमानस्थल बाहिर पुगिन्छ ट्याक्सी चालकको व्यवहार र लुछाचुँडी नियन्त्रण बाहिर पुग्छ । यस्तो गर्न हुदैन भनेर न कसैले भन्छ न त सुरक्षाकर्मीले नै सहयोग गर्छन् । यस्तो लाग्छ, ट्याक्सी चालकहरु एककिसिमको लुट मच्चाउने अधिकार लिएर बसेका हुन् ।

आफ्नो देशको एकमात्र अन्तराष्ट्रिय बिमानस्थलको बद्नाम गरेपछि मैले आफैलाई सोधिरहेको छु किन सुधार हुन सक्दैन हाम्रो बिमानस्थल? किन अत्याधुनिक र सुबिधा सम्पन्न हुन सक्दैन देशको राजधानीमा रहेको बिमानस्थल? किन व्यवसायिक हुन सकेका छैनन यहाँका कर्मचारीहरु? यसको उत्तर खोज्ने जिम्मा तपाईको पनि हो ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service