बुद्ध एयरः के यसो गर्न सकिदैन र?

श्रीमतीले फोनमा भनिन् आज नगए हुन्थ्यो । फ्लाईट क्यान्सिल भैहालोस् । के भनेको त्यसो? मैले त्यो भन्दा धेरै केही भनिन् । सोचे क्यान्सिल भएपनि के भो र, आफ्नै घर फर्किने त हो नी । छोरा पनि एकाविहानैदेखि बाबा तिमी आज अफिस नजाउँ भन्दै थियो । तर १२ः३० बजेको बुद्ध एयरमा जनकपुर जाने तयारीका साथ पौने ९ बजे म लागे अफिसतीर । नियमित मिटिङ सकेर अफिसबाट हिड्दा पौन १२ नै भयो । सहकर्मीहरु उपेन्द्र अर्याल र जयाँ लुईटेलका साथ कुरा गर्दै एयरपोर्ट पुग्दा बुद्ध एयरका कर्मचारीहरु फुर्तिका साथ भन्दैथिए अलिकति डिले छ आत्तिनुपर्दैन । किन आत्तिनु नी? भोक लागेकोले हामी एकतलामाथि रहेको रेष्टुरेन्टमा चढ्दा संचारकर्मी मित्र दुर्गा कार्की पनि भेटिइन् । हामी चारै जनाको गन्तब्य एउटै थियो उदयपुरको राजाबासमा महिला पुनस्थापना केन्द्र (ओरेक) को पहलमा स्थानीय महिलाहरुद्धारा संचालित रेडियो उदयपुर, जहाँ भोलिपल्ट हामीले रेडियोका लागि आवश्यक संचारकर्मीहरुको छनौट गर्नुपर्ने थियो । काम गरिरहेकाहरुमध्येबाट काँटछाँट गरी रेडियोलाई डोर्याउने समूहको छनौट गर्नु सजिलो काम थिएन । तर गर्नै पर्ने भएकोले हामी त्यहाँ जसरी पनि पुग्नु थियो । विगत तीन महिनाको प्रयासपछि फागून ११ जुरेको थियो, आज पनि गइएन भने अरु कैयौ महिना जान पाइदैनथ्यो ।

मौसमको खरावीले गर्दा त्यो दिनको उडान तालिका चौपट थियो । बिहानै त्यहाँ पुग्नेहरुको व्यग्रता हेर्न लायक थियो । बस्ने सिट थिएन । जानुपर्नेहरु गएका थिएन् आउनेहरु थपिदै थिए । झन्डै १ः३० बजेतीर बुद्ध एयरका स्मार्ट कर्मचारीलाई सोध्दा थाहा भयो बुद्ध एयरको जहाज अब तीनदेखि ४ बजेको बिचमा मात्र जनकपुर जाने रहेछ । धन्य बुद्ध एयर । सूचना प्रबिधीको जमानामा पनि दर्जनौ यात्रीलाई सूचनाबाट बिमुख पार्दा अलिकति पनि लज्जा देखिएन स्मार्ट कर्मचारीहरुमा । बरु उल्टै तपाईहरु उ त्यहाँ गएर एक कप कफि खानोस् बोर्डिङ्गपास देखाउनु भयो भने पैसा तिर्नु पर्दैन भन्दा उनीहरुलाई मानौ कि हामी एक कप कफिको अफर गरेर ठुलै उदारता देखाउदैछौ भन्ने गर्व थियो । दिउसो साढेतीनबजेतीर जहाँज चढ्नलाई गाडिमा चढाएपछि पनि ढुक्क हुन नसकेकाले होला एकजना यात्री जंगीए, गर्न खोज्या के? बुद्ध एयरका कर्मचारी, बोलुन् पनि के । सूचना नै नदिई कारण नै नबताइ चारचार घण्टा कुर्न बाध्य बनाएर गल्ति त भैसकेको थियो । ए बाबा, बल्ल पाँचबजेतीर जनकपुरमा ल्याण्ड हुदाँ ढुक्कको सास फेरियो । उज्यालैमा राजाबास पुग्ने चाहना तर पुगियो रातीको ९ बजे । केही छैन, धन्य पुगियो । जहाजजस्तो कुरा । गुड्ने भए त लौ, उड्ने हो जति नै सास्ती खाएपनि धेर्यता गुमाउनु हुदैन । त्यत्रो अजंगको फलामको बाकसजस्तो भाडो, कैयौ किलो सामान र मान्छे बोकेर आकाशमा उड्छ, कुनै सानो गडबडी भयो भने? संझदा पनि आङ्गै सिरिङ्ग । पुल्चोक आकाशेपुलमा रोक्नुपर्ने माइक्रो इन्जिनियरीङ्ग क्याम्पस अगाडि पुगेर रोकीदाँ त मैले धेर्यता गुमाईन भने यहाँ आवेगमा आएर के गर्नु? चारघण्टा कुर्नु कुर्यौ । आफुलाई निरिह ठान्यौ । गर्न सक्ने केही थिएन । तर बुद्ध एयरले गर्न सक्ने केही काम गरिदिएको भए मानसिक रुपमा त्यतिधेरै थकित र हेपिएको महसुस त गर्नु पर्ने थिएन ।

१७ बर्षको उमेरमा पहिलोपल्ट फोन देख्दा र गर्दा मलाई के थाहा थिएन भने नम्बर थिच्नै बित्तिकै बोल्नुहुन्न । काठमाण्डौको कलंकीमा पहिलोचोटी झर्दा मैले त्यही गरे जुन काम देखेर मलाई धेरैले भने पाखे । फोनको नम्बर थिचेपछि घण्टि जान्छ, उता मान्छे बोलेपछि मात्र आफु बोल्नुपर्छ भन्ने मलाई कसरी थाहा होस् । तर अहिले जमाना त्यस्तो छैन, फोनमा संसार छ । फोनले क्रान्ति गरेको बेला छ । सूचना प्रबिधीको नयाँ तर शसक्त माध्यम बन्दैछ बिशेषगरी मोवाइल फोन । बुद्ध एयरले यात्रिलाई बिना सूचना घण्टौ कुराउनुको साटो अब सूचना प्रबिधिको उपयोग गरेर सम्बन्ध अझै प्रगाढ बनाउने बारेमा सोच्ने बेला भएन र? एयरपोर्टमा भएको स्पीकरलाई उसले प्रयोग गरेन । उसका स्मार्ट कर्मचारीहरुले आफैले यात्रुलाई भेटेर यो कारणले गर्दा उडान ढिलो भएको भन्नुपर्छ भन्ने महसुस गरेनन् । सोध्नेलाई उल्टै चिया कफिको अफर गर्दा के के न गरेजस्तो भयो उनीहरुलाई । तर अब सूचनाका परम्परागत माध्यममा नै किन भरपर्नु? मोवाइलमा एउटा मेसेजले कैयौ मानिसलाई एकैपटक सूचना दिन्छ र मान्छेले सहि समयमा सहि सूचना पाएकोमा गर्व गर्छ साथै उसले त्यो समयलाई अरु थुप्रै काममा उपयोग गर्न सक्छ भने त्यसलाई किन प्रयोग नगर्ने अब? हरेक यात्रुसँग मोवाइल फोन हुन्छ । मोवाइल नम्बर पाउन गाह्रो छैन । तर मात्रै गाह्रो छ शुरुवात गर्न । यस्तो खाले एसएमएस सेवा शुरु गरौ जसले गर्दा एउटा सूचना एकैपटक सबै यात्रुमा पुगोस् । फलाना ठाउँ जाने जहाज यो कारणले यति समय ढिलो भो । वा आज मौसम अनुकुल छ, तपाईहरु समयमै एयरपोर्ट पुग्नुहोला । साना साना सन्देशहरु । हरेक यात्रुलाई घरघरमा पुर्याउन सजिलो छ । यसले हानी हैन ख्याति र बिश्वसनीयता बढाउँछ । ध्वनि प्रदुषण हुदैन । समय बच्छ । जसको समय बच्छ उसले त्यो समयमा केही न केही सिजर्नशील काम गर्न सक्छ । उङदै, हाई काढ्दै, भए नभएका र हुनै नसक्ने फतौरा चुट्दै भोक र थकानले गल्दै बस्नु त पर्दैन । सूचना प्रबिधीको भरपुर उपयोग, सबैलाई फाइदा । यो काम खर्चिलो पनि त नहोला । के यसो गर्न सकिदैन र?

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Rajani Humagain on December 25, 2012 at 3:30pm

This reminded me of my four hrs delayed flight to Brt. ....Indeed Airlines should practice online update about flights. Hope your message reaches to the concerned authority

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service