साताको ब्लगर: डिल्ली मल्ल

२०५८ सालदेखि जनयुद्धमा होमिएर बन्दुक बोकेका डिल्ली मल्ल अहिले कलमले परिवर्तन ल्याउने प्रयासमा छन् । बन्दुक र कलम दुवैलाई सही किसिमले प्रयोग गरेमा सकारात्मक परिवर्तन ल्याउन सकिने र गलत किसिमले प्रयोग गरेमा परिणाम पनि नकारात्मक नै हुने विश्वास गर्छन् उनी । तर सामाजिक मिडियाको शक्ति बुझेका उनले अहिलेजस्तो सामाजिक मिडियाको बिकास भएको भए माओवादी र सरकार दुवैलाई युद्ध छिट्टै टुङ्ग्याउन बाध्य पार्नसक्ने थियो होला भन्ने ठान्छन् । 

 

कालागाउँ– २ बाल्ले, सल्यानका मल्ल हाल घोराही नगरपालिका– ११, दाङमा बसेर अध्ययन र पत्रकारितालाई सँगसँगै अघि बढाइरहेका छन् । नेपाली साहित्यमा बी.ए. दोस्रो वर्ष अध्ययन गरिरहेका मल्ल दाङबाट प्रकाशन हुने नौलो जनउभार साप्ताहिकमा सह–सम्पादक, लालरक्षक मासिकको क्षेत्रीय संवाददाता र गोरखापत्र दैनिकको घोराही समाचारदाताको रुपमा पत्रकारितामा क्रियाशील छन् । उनी ब्लगिङमा पनि निकै क्रियाशील छन् । उनका अनुभवहरु समेटी हामीले यस  पटकको साताको ब्लगर स्तम्भका लागि कुराकानी गरेका छौः

 

शुरु गरौँ तपाइँको पृष्ठभुमीबाट । जनयुद्ध कालमा कुन भूमिकामा रहेर कति समय काम गर्नुभयो ?

जनयुद्धमा मेरो प्रवेश त २०५८ सालदेखि हो । सुरुदेखि नै म साँस्कृतिक मोर्चामा आवद्ध थिएँ । शाही शासन सुरु भएपछि भने व्यक्तिगत र समूहको सुरक्षाको लागि बन्दुक बोकियो तर युद्ध मोर्चामै खट्ने गरी चाहीँ होइन ।

 

तपाईँसँग त हिजो परिवर्तनको एउटै उपाय भनेको बन्दुक उठाउनु हो भन्ने मान्यताले विद्रोह सुरु गरेको पार्टीमा आवद्ध भएर काम गरेको र अहिले लेखक, पत्रकारका रुपमा काम गरेको दुबै अनुभव छ । बन्दुक र कलममा परिवर्तनका लागि कुन बढी प्रभावकारी हुँदो रहेछ त ?

यी दुई चिज भनेका एकदमै विपरित विशेषता भएका कुरा हुन् र योभन्दा यो बढी ठिक भन्नै मिल्दैन । वस्तुगत रुपमा प्रतिकात्मक अर्थलाई नै हेर्ने हो भने पनि बन्दुक हिंसाको र कलम शान्तिको प्रतिक हुन् । तर त्यसो भन्दैमा बन्दुकले भटाभट मारिहाल्छ र कलमले शान्ति, एकता कायम गर्छ नै भन्ने होइन । कलमको प्रयोग पनि सहि ठाउँमा र सही तरिकाले गरिएन भने बन्दुकले नमच्चाउने हिँसा कलमले मच्चाउन पनि सक्छ । यसर्थ यो वा त्यो ठिक भन्नुभन्दा पनि परिस्थितिअनुसार दुबै आआफ्ना ठाउँमा ठिक र प्रभावकारी हुन्छन् ।

 

अब अहिलेको जीवनतर्फ फर्कौँ । तपाईको दिनचर्या कसरी बित्छ ?

नियमित रुटिन छैन । समयतालिकामा चल्न पनि सक्दिनँ । सामान्यतया राती अबेरसम्म बस्ने भएकाले बिहान पनि अबेर नै उठ्छु– त्यस्तै ६–७ बजेतिर । रेडियोको अखबार कार्यक्रम, पत्रपत्रिका अध्ययन, चिया गफ हुँदै शुरु हुने दैनिकी खाना खाइसकेपछि अफिसको नियमित काममा लाग्छु । समाचार संकलन, लेखन, सम्पादन, कार्यक्रमहरुमा सहभागितामा दिन बित्ने गर्छ । अफिसमा रहँदा समय मिलाएर दिनमा दुई घण्टाजति ब्लग, फेसबुक लगायतका सामाजिक सञ्जालहरु हेर्न छुटाउँदिन । र, साँझ खाना खाइसकेपछि पनि एक-दुई घण्टा कम्प्युटरमै बिताउँछु । दिनमा एक–दुई घण्टा अध्ययनका लागि छुट्याउँछु । राती ११ बजेतिर सुत्छु । तर, कहिले काहीँ १ पनि बज्छ । 

 

बन्दुक बोकेको मान्छे, अहिले पनि मुलतः पार्टी नजिक मानिने पत्रिकामा आवद्ध हुनुहुन्छ । ब्लगिङ गर्न कसरी थाल्नुभयो ?

इन्टरनेटको सहज पहुँच नहुँदा शुरुमा साइबरमा एक घण्टाको ४० रुपैयाँ तिरेर पनि बसियो ०६४-६५ सम्म । शुरुमा याहु मेसेन्जर, जीमेल हुँदै सामाजिक सञ्जाल फेसबुकसम्म चलाइयो । त्यतिबेला अग्रज पत्रकार-साहित्यकार नवीन विभासको ब्लग– हटारुबाट म निकै प्रभावित भएको थिएँ । लाग्थ्यो– मैले पनि यस्तै ब्लग बनाउन पाए! त्यस्तै, दाङमै लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका उदय जीएम र नरेन्द्र केसीले पनि ब्लग चलाइरहनुभएको थियो । उहाँहरुबाट सामान्य तरिका सिकेर मैले शुरुमा ब्लगस्पट खोलें तर त्यति राम्रो लागेन । त्यसपछि वर्डप्रेसमा नयाँ ब्लग खोलें– यादहरु । ब्लगको नाम राख्न मलाई दुई हप्ता नै लागेको थियो । २०६६ को अन्त्यदेखि हो मैले ब्लगिङ शुरु गरेको ।

 

ब्लगिङ नै किन त ?

आफूले जानी नजानी कनिकुथी लेखेका मनका भावना, भोगाईहरु अरुलाई बाँड्न, सुरक्षित गर्न, प्रविधिसँग आफूलाई जोड्न र टाढा–टाढाका साथीहरुसँग पनि सम्बन्ध स्थापित गर्न ब्लगिङ निकै उपयोगी साधन महशुस गरेर म यसतर्फ आकर्षित भएको हुँ ।

त्यस्तै, आफूले लेखेका सबै भावनाहरु पत्रपत्रिकामा छापिएलान्, नछापिएलान् तर ब्लगमा त निर्धक्क राख्न पाइयो नि । सायद जीन्दगीमा सबैभन्दा प्रिय वस्तु भनेकै केही छ भने त्यो ‘आफ्नो’ भन्ने चीज नै हुँदोरहेछ । त्यसैले शुरुका केही दिन त रातभर नै सुतिएन ब्लग बनाउनलाई । सम्झिँदा अहिले हाँसो उठ्छ ।

 

ब्लगमा कस्ता प्रतिकिया आउँछन्?

ब्लगमै प्रतिक्रिया त त्यति धेरै आएका छैनन् । फेसबुकमा जस्तो प्रतिक्रिया दिन सहज नभएर पनि हो कि ब्लगमा प्रतिक्रिया दिने त्यति प्रचलन छैन जस्तो लाग्छ मलाई । तर, ब्लगमा राखिएका सामग्रीहरु फेसबुकमा सेयर गर्दा त्यसमा केही प्रतिक्रियाहरु पाउने गरेको छु । खासगरी देशबाहिर रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुले प्रतिक्रिया दिनुहुन्छ ।

मैले यहाँ भन्नैपर्छ– ब्लग खोलेको दुई-तीन महिना मात्र भएको थियो । मैले ‘लालबोझीमा उदाएको लाल आकाश’ शीर्षकमा एउटा संस्मरण पोष्ट गरेको थिएँ, त्यसमा एकजनाले यस्तो टिप्पणी गर्नुभयो–

डिल्ली मल्ल जी,

तपाईँको यो लेख पढेर मेरो त आङ्ग नै सिरिङ्ग भयो, मेरो एक जना भाइ पनि तपाईँहरुकै पल्टनमा थियो । मरिसक्यो कि अझै जीवितै छ मलाई थाहा भएन, म कम्प्युटर प्राविधिक हुँ ।

तपाईँको तोमोदाची

त्यो कमेन्ट पढेको दुई-चार दिनसम्म म निकै भावुक बनें । के लेख्ने नलेख्ने पनि सोच्न सकिनँ । अहिलेसम्म पनि मलाई थाहा छैन– को हुन् तोमोदाची? उनका भाइ कहाँबाट, कहिले, कसरी बेपत्ता भए? तोमोदाची अहिले कहाँ छन् ?

 

आफूलाई मन परेको र बढी पढिएको ब्लग पोष्ट ?

दृष्टिविहीन, शारिरीक अपाङ्ग जे जस्तो भएपनि बाआमाको आफ्ना सबै सन्तानप्रति उत्तिकै मायाममता हुन्छ । त्यस्तै आफ्ना रचना सिर्जनाहरुप्रति मेरो उत्तिकै माया छ । तुलना नै गर्नुपर्यो भने मैले सम्झाउनी-बिर्साउनीमा केही संस्मरणहरु राखेको छु, पाठकका दृष्टिले पनि ती सामग्रीहरु अलि चाखलाग्दा होलान् जस्तो लाग्छ ।

अनि धेरै पढिएको पोष्ट भने गत माघमा रोल्पा पुगेका माओवादी अध्यक्ष प्रचण्डलाई दर्शक सामू उभ्याएर चर्चित गायिका अञ्जु पन्तले गीत गाएको प्रसंगलाई समेटेर लेखिएको ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ शीर्षकको पोष्ट रहेछ । त्यसकै हाराहारीमा अन्य पोष्टहरु पनि पाठकहरुले रुचाएको पाएको छु ।

 

ब्लगिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु के–के हुन् ?

पहिलो कुरा, आफूले पोष्ट गर्ने सामग्रीले आमपाठकलाई कस्तो प्रभाव पार्छ भन्ने कुरामा निकै होसियारी अपनाउनुपर्छ । हाम्रो सानो कमजोरीले कतै ठूलो दुर्घटना पनि त हुनसक्छ, त्यसतर्फ सधैं सचेत हुनैपर्दछ ।

दोस्रो, ब्लगिङ गर्नु ब्लगरको आफ्नो पहिचान, क्षमता र व्यक्तित्वको प्रदर्शन पनि हो । त्यसैले आफ्नो पहिचान, क्षमता र व्यक्तित्व कसरी झल्काउने ख्याल गर्नुपर्दछ ।

तेस्रो, ब्लगरले लेखेका कुराहरु कसैलाई थोपर्ने कुरा होइन, आफूले कसरी पठनीय बनाउने, भाषा, शैली, विषयवस्तु चयनले आमपाठकको मन कसरी जित्ने र आफू सफल ब्लगर कसरी बन्ने भन्नेमा सचेत र सतर्क हुनु जरुरी छ ।

 

सल्यान जिल्लामा ब्लगिङको स्थिति कस्तो छ ?

सल्यानमा ब्लगिङ त्यति राम्रोसँग विकास भएको छैन । पछिल्लो समयमा एकाध पत्रकार साथीहरुले केही प्रयास गरिरहनुभएको छ ।

उसो त मेरो आफ्नै कुरा गर्दा घर सल्यानमा भए पनि मैले विगत ७ वर्षदेखि दाङको घोराहीमै बसेर पत्रकारिता गरिरहेको छु । दाङमा भने ब्लगिङको राम्रो शुरुवात भएको छ । स्थापित साहित्यकार, पत्रकार साथीहरु देखि प्रलेस दाङ, मदानी साहित्य समूह लगायतका संस्थाहरुले पनि ब्लग बनाएका छन् । सिक्दै जाँदा प्राप्त गरेको अनुभवले पछिल्लो चरणमै मैले आफै एक दर्जनजति साथीहरुको ब्लग निर्माण गरिसकेको छु । त्यसले पनि दाङमा ब्लगिङ विस्तार हुँदै गइरहेको छ ।

 

सल्यान जिल्लामा इन्टरनेट पहुँच कस्तो छ ?

जिल्ला सदरमुकाम खलंगा, श्रीनगर र आसपासका गाउँमा मात्रै इन्टरनेटको सुविधा छ । सदरमुकाम बाहिरका गाउँहरुमा इन्टरनेट सेवा छैन । सामान्यतः सदरमुकाम बाहिर काम चलाऊका रुपमा स्काई फोनले धानिरहेको स्थिति छ ।

 

तपाईं पत्रकारितामा पनि आवद्ध हुनुहुन्छ ? के फरक देख्नुहुन्छ मुलधारको पत्रकारिता र ब्लगिङमा?

ब्लग पनि पत्रकारिताकै एक अंश हो भन्ने लाग्छ मलाई । तर, जुन रुपमा मुलधारको पत्रकारिताले जिम्मेवारी वहन गरिरहेको छ, त्यो ब्लगले पूरा गर्न सक्दैन । अर्कोतर्फ ब्लगको दुनियाँलाई मुलधारको पत्रकारिताले समेट्न पनि सक्दैन । यी एकआपसमा परिपूरकका रुपमा रहन सक्छन्, एउटाले अर्कोलाई निषेध गर्न सक्दैनन् ।

अर्को कुरा, मुलधारको पत्रकारितामा ठूलो संगठनात्मक सञ्जालको आवश्यकता पर्छ भने ब्लग व्यक्ति एक्लैले चलाउन सक्छ । त्यसैले पत्रकारिताको मुलधार महासागर जस्तै हो भने विभिन्न सामाजिक सञ्जालदेखि ब्लगहरु त्यसका परिपूरक नदीजस्तै हुन् । तिनले मुलधारको पत्रकारितालाई सहज, सरल र वृहत बनाउँदै लगेका छन् ।

 

ब्लग बाहेक अरु कुन–कुन सामाजिक मिडिया चलाउनुहुन्छ ?

ब्लग बाहेक अलि बढी फेसबुक नै चलाउँछु । त्यसपछि ट्वीटर, मिडियामञ्च र पछिल्लो समयमा मेरोरिपोर्टको सदस्य भएदेखि यसलाई पनि नियमित हेरिरहेको छु । सामाजिक सञ्जालले सूचना सम्प्रेषण, नागरिक पत्रकारिता र विज्ञान प्रविधिको युगसँगै आम मानिसलाई एक ठाउँमा ल्याउन र विकसित समाज निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।

 

सामाजिक मिडियाले कस्तो परिवर्तन ल्याएको छ ?

सामाजिक मिडियाले भूगोलको यति धेरै ठूलो संसारलाई गाउँजस्तै बनाइदिएको छ । सामाजिक सञ्जालको माध्यामबाट सानादेखि ठूल्ठूला समाज सेवाका काम गर्न, सामान्य मानिसको जीवनमै कायापलट ल्याउनेजस्ता परिवर्तन भएका छन् । त्यसका साथसाथै कुनै पनि वस्तुको सकारात्मक पक्षसँगै नकारात्मक पक्ष पनि हुन्छ नै । उज्यालो दिनसँगै अँध्यारो रात पनि छुट्दैन कहिल्यै पनि । ठीक त्यस्तै सामाजिक मिडियाले जसरी थुप्रै सकारात्मक काम गर्न सरल र सहज भएको छ, त्यति नै यसले विकृति विसंगति पनि निम्त्याएको छ । कसैको चरित्र हत्या गर्न, गालीगलौज गर्न भने नक्कली अकाउन्ट र समूहहरु बनायो दुनियाँको सत्तोसराप गर्यो । अश्लील तस्वीर, भिडियो र लिंकहरु सेयर गर्यो । यस्ता अनेकौं विकृति पनि देखिएका छन् ।

 

यदि माओवादी जनयुद्धका बेला अहिले जस्तो सामाजिक सञ्जालको विकास भएको भए के हुन्थ्यो होला जस्तो लाग्छ?

माओवादीलाई आफ्ना दृष्टिकोणहरु आम मानिसबिच पुर्याउन र नागरिकलाई पनि के सही, के गलत छुट्याउन सजिलो हुन्थ्यो होला । साथै तत्कालिन सरकार र युद्धमा रहेको माओवादीबीच छिट्टै सञ्चार स्थापना भई २,४ वर्षमै युद्ध टुंगिन्थ्यो । मर्ने र मार्ने क्रम यति लामो समयसम्म चल्दैनथ्यो जस्तो लाग्छ ।

 

ब्लग, फेसबुक, ट्वीटर र अरु सामाजिक सञ्जाललाई समाज विकास र सकारात्मक परिवर्तनमा कसरी प्रयोग गर्न सकिन्छ ?

ब्लग, फेसबुक, ट्वीटर लगायतका थुप्रै सामाजिक सञ्जालहरु इन्टरनेटको सहज पहुँच भएका व्यक्ति र समुदायले मात्र चलाउने हो । दुर्गम क्षेत्रका सर्वसाधारण र सुगम क्षेत्रकै पनि निरक्षर, गरीब र अति विपन्न वर्गका लागि सामाजिक सञ्जाल अझै एकादेशको कथाजस्तै छ हाम्रो देशमा । आफूलाई केही बौद्धिक, शिक्षित भन्न रुचाउने व्यक्तिहरु नै सामाजिक सञ्जालका प्रयोगकर्ता भएकाले यो वर्गको सोच, इच्छाशक्ति र क्रियाशीलता रह्यो भने सामाजिक सञ्जालमार्फत् समाज विकास र सकारात्मक परिवर्तनका ठूल्ठूला काम पनि सहजै गर्न सकिन्छ ।

 

मेरो आफ्नै अनुभव यहाँ शेयर गर्न चाहन्छु– ब्लडक्यान्सरले थलिएका दाङ घोराहीकै खिमबहादुर बस्नेतको पीडालाई मैले २०६८ फागुनमा फेसबुकमा राखें । त्यसलाई फेसबुकका थुप्रै साथीहरुले बाँड्नुभयो । फलस्वरुप सूचना सार्वजनिक गरेको तीन महिनापछि ०६९ बैशाखमा दक्षिण कोरियामा रहेका राप्ती समाजमा आबद्ध नेपाली युवाहरुले फेसबुकको सूचनाका आधारमा एक लाख रुपैयाँ नगद जम्मा गरेर पीडित खिमबहादुरलाई हस्तान्तरण गर्नुभयो । फेसबुकमा मैले १० मिनेट खर्च गरेर राखेको अपीलले भारतको बम्बईमा गएर उपचार गराइरहेका पीडित बस्नेतलाई १ लाख रकमले धेरै राहत भयो ।

 

यस्तै सामाजिक सञ्जालको माध्यमबाट कैयौं ठाउँमा पुस्तकालय स्थापना गरिएको, विभिन्न प्राकृतिक प्रकोपबाट पीडित भएकालाई राहत वितरणजस्ता काममा सफलता मिलेको हामी आफैंले समाचार लेख्दै आइरहेका छौं । विज्ञान र प्रविधिको युगमा सबैभन्दा छिटोछरितो र बहुसंख्यक व्यक्तिको पहुँचमा रहेको सूचना सम्प्रेषणका माध्यम सामाजिक सञ्जाल भएकाले इच्छाशक्ति र जाँगर भयो भने समाज विकास र सकारात्मक परिवर्तनका लागि थुप्रै काम गर्न सकिन्छ ।

 

मेरोरिपोर्ट कस्तो लाग्छ यहाँलाई ?

मेरोरिपोर्टको सदस्य भएको धेरै भएको छैन । तैपनि सदस्य भएदेखि मैले मेरोरिपोर्ट नियमित हेरिरहेको छु । विशेषतः सचेत र सकारात्मक सोच भएका व्यक्तिहरु अनलाइनमार्फत् भेला हुने अवसर जुटाएर मेरोरिपोर्टले सकारात्मक चिन्तन गर्न, सामाजिक सञ्जालको सही प्रयोग र नागरिक पत्रकारितातर्फ डोर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । त्यस्तै, नेपालमा ब्लगिङको विकास गर्न र ब्लगरहरुलाई एउटै मञ्चमा ल्याएर एकआपसमा मन्थन गर्ने र एक अर्काका अनुभवहरु आदानप्रदान गराएर ब्लगिङको सही मार्गनिर्देशन गर्न मेरोरिपोर्टले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ ।

 

मेरो आफ्नै कुरा गरौँ न । रहरै रहरमा ब्लगिङ थाले पनि आफूले पोष्ट गरेका सामग्रीहरु ब्लगरले पोष्ट गर्नेजस्ता भन्दा पनि रिपोर्टरका जस्ता भएको महशुस हुन्छ मलाई । निरन्तरताको चरम समस्या छ मेरो । यहाँहरुले ब्लगरको लिस्टमा राखिदिएपछि मलाई थप चुनौतीको महशुस भइरहेको छ । अब त नाक जोगाउनलाई पनि नियमित लेख्ने प्रण गर्दछु ।

 

अन्त्यमा, साताको ब्लगर स्तम्भमा मलाई स्थान दिनुभएकोमा मेरोरिपोर्ट टिम र अजिताजीलाई धेरै–धेरै धन्यवाद ।


डिल्लीको ब्लग लिङ्क:  http://www.yadharu.wordpress.com/ 

 

मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु

 

नोट: के तपाईँ पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।  

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Dilli Malla on August 28, 2012 at 8:13pm

thank u basti jee, mera ganthan padhera hausala dinu vayako ma.

Comment by Pagal Basti on August 28, 2012 at 8:10pm

साताका ब्लगर हुन सफल डिल्ली मल्ललाइ बधाइ स्विकार होस

Comment by Dilli Malla on August 26, 2012 at 12:01pm

Dr anubha singh jee, a lots of thanks, तपाईहरुको हौसला र सुझाव मेरा लागि ऊर्जा र प्रेरणा हुने छ ।

Comment by Dr Anubha Singh on August 25, 2012 at 2:31pm

congratulation mallaji tapaiko bare padhera khusi lagyo ra dukha lagyo tapaika biteka din ka kathaharu sunera. tapaile pani tyo kaalo dinharulai pratyakshya bhognu bhayeko rahecha. afna anubhav harulai katha haru marfat lekhdai garnu hola. ma jasta bahira raheko le khas kehi mahasus nagareka harukalagi tyo thulo anubhab hunecha.

Comment by Dilli Malla on August 24, 2012 at 7:32pm

@ Prakash lamichhane 'babajee' धेरै–धेरै धन्यवाद । बाबाजीको आर्शिवाद पाइरहूँ ।

Comment by Prakash Lamichhane on August 24, 2012 at 12:42pm

Congratulations Dilli ji.....

Comment by Dilli Malla on August 22, 2012 at 5:42pm

@drsathi & indra dhoj jee, thank u.

Comment by Dr. Surya B. Parajuli on August 22, 2012 at 5:26pm
Comment by Indra Dhoj Kshetri on August 22, 2012 at 4:57pm

लौ बधाई छ डिल्लीजीलाई । जीवनमा नयाँ किसिमले उर्जा खोज्दै अगाडि बढिरहनुभएको छ र ब्लगिङमा पनि तपाइँको उपस्थिति जोडदार छ । प्रगति हुँदै जाओस् भन्ने कामना । 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service