पाँचदिनकाे घरधन्दा

विनय शेखर | पुस मसान्तको साँझ भान्सामा छिर्दा भान्सा सुनसान थियो । अरु दिन त्यो बेलासम्म भान्साघर मगमगाईरहेको हुन्थ्यो । मिठो खाना सहित श्रीमतीको मधुर मुस्कान सहितको पर्खाईले दिनभरीको थकाई बिर्साउँथ्यो । तर सदा झैं स्वादीलो दालभात तरकारी भान्सामा तयार थिएन त्यो दिन । ति सब चिज आफैले बनाउनुपर्ने थियो । दौडधुपले थाकेको थिँए । तर आफुसहित तीनजनाको पेटले मेरो थकाई सुन्नेवाला थिएन । जीतपुर कपिलबस्तुबाट झन्डै ६० किलोमिटरमा रहेको भैरहवा विमानस्थल पुग्दा ठ्यक्कै पौने पाँच बज्यो । पाँच बजेर पचास मिनेटमा उड्नुपर्ने बुद्ध एयरको जहाज १० मिनेट जति ढिलो भयो त्यो दिन । तराईका बिमानस्थलमा हिउँदमा जहाज अवतरण गर्नु नै ठुलो कुरा हो । हुस्सुले एकैछिनमा बिमानस्थल बन्द भएपछि उड्न लागेको जहाज क्यान्सिल हुदाँ पुस २८ गते राती साँढे एक बजे कपिलवस्तुको जितपुर पुग्नु परेको थियो पट्यारलाग्दो बस यात्रामा । धन्न पुस ३० गते मौसम बिग्रेन र सूचना पाएको झन्डै चार घण्टामा म घर पुगेको थिएँ ।

माघे संक्रान्ति र त्यसपछिको केही दिन घरमा दिनभरी जसो नै मान्छेको चहलपहल बढ्यो । चहलपहल  कुनै चाडबाड वा बिशेष समारोह भएर बढेको थिएन । पाहूना लागेपछि काम थपियो । चिया पकाइरहने । चिया पकाएर मात्र हुन्नथ्यो । एकपछि अर्को गरी चिया कप माझिरहनुपर्ने । छोरालाई दुध र खाजा समयमै खुवाउनै पर्ने । दालभात पकाउने, खुवाउने, भाँडा माँझ्ने र फेरी-फेरी त्यसो गरिरहनुपर्ने । “भान्सा तेरो प्रीय ठाउँ हैन, कसरी गर्छस्? तँलाई त पकाउनै आँउदैन” आमाको मुखबाट समेत यस्तो सुनिन्थ्यो । “चिया त तँ भन्दा मै मिठो बनाउँछु ।” “त्यसलाई मासु पकाउन रहर लाग्छ तर पकाउनु अघि के-के तयारी गर्नुपर्छ केही थाहा हुन्न ।” “हिजो वासिङमेसिन चलाउन जानेन । कहिल्यै लुगा धोएको भएपो ।” “उनको भन्दा पनि मलाई त नुन, तेल मसलाको चिन्ता छ । तरकारी त तेलमै डुबेको हुन्छ । चियाको स्वाद नपाएको दिनौ भयो ।” “चिसो पानी चलाएर होला उसका हात सुन्निन थालेका छन् । उभिँदा उभिँदा ढाड दुख्छ रे भुतुक्कै हुनेगरी ।” केही दिन नियमित रुपमै यस्तै-यस्तै संवादले मलाई पछ्याईरहे । 

यही अवधिमा घरभाडा तिर्न जानु पर्यो । एक किलोमिटर पर बस्ने घरबेटी आमैले सोधिन् "को हो तपाई? किन आउनु भो?"  पैसा झिकेर हातमा राख्दै परिचय दिएँ । बल्ल चिनिन उनले । उनको घरमा बस्न थालेको ९ महिना भएको थियो । बितेका नौ महिनामा म कहिल्यै भाडा तिर्न गएको थिईन । घरभाडा ठ्याक्कै यति रुपैयाँ हो भन्ने पनि मलाई थाहा थिएन । नुन, तेल, सर्फ, चिनी, तरकारी आदी यही बेला सकियो । झम्सिखेलमा बिगमार्ट खुलेपछि धेरै सजिलो भएको छ । सामानको लिष्ट बोकेर बिगमार्ट गएँ । खरिदेको सामानको मुल्यांकन गरेपछि मलाई सोधियो, 'कार्ड छ?' मैले श्रीमतीको नाम भने । मेरो कुरा सजिलै पत्याईएन । फोन नम्बर भने । ममाथि थप शंका भयो । कार्ड भएपछि छुट पाईने भएकोले श्रीमतीलाई फोन गर्नै लागेको थिएँ, तर गर्नु परेन ।

छोराको स्कुल बिदा थियो । तैपनि उसलाई विन्टर क्याम्पमा राखिएको थियो । समयमै पुर्याउनु पर्ने । कार्यालय शुरु भएको थियो । समय मै पुग्नुपर्ने । बिहान उठेर दुध ल्याउनुपर्ने । चिया पकाउनुपर्ने । नास्ताको खासै बानी छैन । थोरै भएपनि भात नै चाहिने । तीन जनाको परिवार । दालभात, तरकारी र अचार नहुँदा खल्लो नै हुने । खाएपछि भाँडा धुनैपर्ने । अपरान्ह छोरालाई लिन जानैपर्ने । धारामा पानी आउने समय घरमा टुप्लुक्क पुग्नैपर्ने । घर नदेखेका मान्छे आए भने सडकसम्म उनीहरुलाई लिन जानैपर्ने । सबै काम सक्दाखेरी गलेर भुतुक्क भईने । र पनि गर्नैपर्थ्यो त्यो सब काम । सडक दुर्घटनामा घाईते भएकी श्रीमतीको सामान्य स्याहारसुसार पनि अनिवार्य थियो ।

घरमा दिदीबैनी नभएपनि आमाले भान्साको काम कहिल्यै सिकाउनु भएन । बच्चा बेलामा रहरमा चुल्होमा पुगियो होला । तर बाध्यता कहिल्यै भएन । आमा नहुँदा भाउजुले सम्हाल्नु भयो घरधन्दा । बिहेपछि जागिरे जीवन घरधन्दा बाहिरै बितेछ । मैले कार्यालय, साथीभाई भेटघाट र घरबाहिरको काम मै बिताएछु समय । घरधन्दा र घरव्यवहार मैले कहिल्यै चासो दिनुपरेन । श्रीमतीले सम्हालिन । यसरी नै चलेको जीवनमा घरभित्र र बाहिरको दोहोरो भुमिकामा श्रीमतीजी कसरी टिकेकीछन् भनेर मैले कहिल्यै महशुस गरिन । त्यसैको परिणाम पुस मसान्तपछिका चारपाँच दिन मेरा लागि अत्यन्त कठिन र जटिल रहे ।

गृहिणीको कामलाई कामलाई कामको दर्जा दिन, दोहोरो भुमिका निभाउँदा हुने थकित र व्यस्त जीवनशैली बुझ्न मैले कहिल्यै चेष्टा गरिन । चिसो पानी चलाईरहँदा हात सुनिन्छन् भनेर मैले कहिल्यै सोधीन ।   उभिँदा-उभिँदा तिम्रो ढाड दुख्यो होला भनेर म कहिल्यै सोध्न गईन । परम्परागत सोचको पुरुष आडम्बरमा महिनावारी केही पैसा श्रीमतीको खातामा राखिदिएपछि वा आफ्नै बैंककार्ड उनलाई दिएपछि मैले आफुलाई फुक्काफाल सम्झे र आफैले सिर्जना गरेको व्यस्त दैनिकीमा रमाएँ । छोरालाई पढाउने समेत काममा श्रीमती अघि सर्दा मलाई कहिल्यै महशुस भएन घरधन्दा जसलाई प्रायः लुतेधन्दा पनि भन्ने गरेको सुनेको छु, मेरो चासोको बिषय हुनुपर्छ भनेर ।

तर जब आफैले गर्नुपर्यो अनि थाहा भयो त्यहाँभित्रको कामको चटारो । बिहान उठेदेखि सुत्ने बेलासम्म फुर्सद नहुने । सुतेपछि पनि बिहानै उठेर गर्नुपर्नै दैनिकीले दिमागलाई भारी बनाईरहने । त्यसमाथि कार्यालय र बाहिरी दुनियाँको व्यस्तता । सबैकाम निश्चित समयमै गर्नुपर्ने । समय घर्कियो की दैनिकी नै चौपट हुने । जस्तो समयमा पानी भर्न नभ्याउने हो भने पानीको अभावमा खाना नपाक्ने । यस्ता अनगिन्ती उदाहरण । जुन काम महिलाले गर्नुपर्छ । जागीरे महिलासमेत ।

घरपरिवारमा सघाउने र महिलाको भुमिका बुझ्ने पुरुषहरुलाई समाजले अहिले पनि जोइटिङग्रे भन्दो रहेछ । सुन्दा पनि अचम्म लाग्ने । श्रीमती रोगी भईन, बिरामी भईन वा बाहिरी काममा व्यस्त भईन भने फलानाले दुःख पायो भन्ने तर्क गर्ने पुरुषहरुकै कमी रहेनछ समाजमा । श्रीमतीको काम, घरधन्दा बुझ्नु र सहयोग गर्नु त परको कुरा । बाहिर दुनियाँमा देखिनेबेला रुपान्तरणका ठुला कुरा गर्ने, घरभित्र भने सिन्को नभाँच्ने । यस्ता सोच र पुर्वाग्रहबाट प्रभावित पुरुषहरुभित्र आफु पनि पर्दोरहेछु भन्ने बुझ्नलाई मात्रै पनि मलाई झन्डै कपाल फुलाउनु पर्यो । त्यो पनि बाध्यताले गर्दा ।

काम कामै हो । जसले गरेपनि कामको सम्मान गर्न सकियो भने, अरुको काम र त्यसबाट उत्पन्न थकाई महसुस गर्न सक्दा मात्र पनि महिला पुरुष समानताको बारेमा ठुला कुरा गर्नै पर्दैन ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service