आग्रह पुर्वाग्रहः परिवर्तनका बाधक

विनय शेखर । संसार बिचित्रको छ । बिचित्रकै छन हामी मान्छेका सोच र प्राथमिकता पनि । हामी रहेको भुगोल एउटै हो । तर एउटै भुगोलका बिभिन्न कुनामा बस्नेका सोच, आवश्यकता र प्राथमिकता फरक छन् । नेपालमा हामी नटुंगिने राजनीतिक संक्रमणबाट पिडित छौ । अहिले हामीले चाहेको पट्यारलाग्दो संक्रमणकालको अन्त्य हो । नयाँ नेपालको खाका सहितको नयाँ संविधान दशकौँदेखिको हाम्रो चाहना हो । त्यही चाहना अहिले हाम्रो प्रथमिकता भएको छ ।

हामीले संविधानसभामार्फत संविधान मागिरहँदा हामीबाट कोषाैँ माईल टाढाको ब्राजीलको एक समुद्री टापुमा केही महिलाहरु शरिरको माथिल्लो भाग खुल्ला राखेर हिँडडुल गर्न पाउनुपर्‍यो भन्ने माग राखेर प्रदर्शन गर्दै थिए । हाम्रो देशका महिला अधिकारकर्मीहरु महिलालाई विभेद गर्ने नागरिकता कानूनको खिलापमा प्रदर्शनमा थिए भने ब्राजिलका महिला अधिकारकर्मीहरु शरिरको माथिल्लो भाग बिशेषगरी छाती खुल्ला राख्नलाई पुरुषलाई छुट, महिलालाई प्रतिबन्ध किन भनेर कानूनमाथि नै धावा बोलिरहेका थिए ।

नेपालमा हामी सदियौंदेखि पछि परेका समुदायको हक-अधिकार सुनिश्चितता सहितको संविधानको खाका कोरिरहेका छौँ, उता संसारको शक्तिशाली देश अमेरिकाका राष्ट्रपति बाराक ओबामा राम्रो अमेरिका बन्नलाई धनीलाई बढी कर लाएर बहुसंख्यक मध्यमवर्ग र गरीबको विकासमा खर्च गर्नुपर्ने योजना प्रस्तुत गरिरहेका थिएँ । नेपालका शोषित पिडित समुदायले भन्ने गरेको अग्रग्रामी परिवर्तनको बिपक्षमा नारा लागिरहँदा अमेरिकामा धनी र कट्टरपन्थीका प्रतिनिधीहरु ओबामाको योजनालाई तुहाउने रणनीति बुन्दै थिए । जात र वर्णका आधारमा विभेद गरिने कानून हामीलाई मान्य छैन भनेर अल्पसंख्यक आवाजहरुले हाम्रो सडक तताईरहेको बेला दक्षिण अफ्रीकाका केही लेखकहरु दक्षिण अफ्रीका गोरो छालाका मानिसका लागि हैन भनेर विवादास्पद अभिव्यक्ति दिईरहेका थिए ।

माथि उल्लिखित केही घटनाक्रम समाज रुपान्तरणका लागि निरन्तर हुने द्वन्द्वका उदाहरणहरु हुन् । यस्ता अनगिन्ती उदाहरणहरु छन् जसले समाजलाई हरेकदिन उथलपुथल गराईरहन्छन् । सकारात्मक परिवर्तनलाई मार्गप्रशस्त गरिरहेको हुन्छ । यसो भईरहनुको पछाडि हाम्रो आग्रह पुर्वाग्रहले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । शासन, स्रोत, साधन र शक्तिमाथि कसले रजाँई गर्ने र कसरी रजाँई गरिरहने भन्ने सोच र व्यवहारले समाजलाई गतिशिल बनाईरहेको हुन्छ ।

संसारको भुगोलको बिभिन्न कुना र त्यहाँका बासिन्दाको आग्रह पुर्वाग्रहलाई नै हेरौ । अमेरिकाका अधिकांश राज्यमा अहिले पनि कालो वर्णकालाई गोराले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार पुर्वाग्रही छन् । सन् २००९ मा केही समय उत्तरपुर्वी राज्य भर्मोन्टमा बस्ने मौका जुर्‍यो । जहाँ सडक, जंगल र नदीका छेउछाउमा चावी सहित कार पार्किङ गरिएका हुन्थे । घरका ढोकाहरुमा ताला लाग्दैनथे । किन? स्थानीय गोराहरु भन्थे यहाँ काला मानिसहरु बस्दैनन् त्यसैले चोरी हुदैन । यसो भन्नेहरुका लागि काला भनेका अफ्रिकाबाट आएका हुन् र उनीहरु चोर हुन् ।

चोरी र अपराधिक गतिबिधिमा केही कालाजातीका मानिसको सहभागिता भएकोले समग्र कालाजातीप्रति गोराहरुको पुर्वाग्रहका यस्ता अनगिन्ती उदाहरणहरु भेटिन्छन् । न्युयोर्क, डिसी, सानफ्रान्सिस्को, लसएन्जल्सजस्ता कैयौ शहरहरुमा अहिले पनि अर्कातिरबाट कालो वर्णका मानिसहरु आईरहेका छन् भने गोरोवर्णका पुरुष र बिशेषगरी महिलाहरु कि अर्को साईडमा जान्छन् वा कुनै बहानामा तर्कन्छन् । अमेरिकामा कालो वर्णका महिलाहरुप्रति बेशरमकी नर्तकी, यौनप्यासी, कचकचे, बेश्या, भद्दामोटी, धेरै हाँस्ने, पुरुषलाई फसाउने र पुरुषकै दोष देख्ने, अत्यधिक आलोचक, बिहे नगरिकन बच्चा जन्माउने जस्ता पुर्वाग्रहहरु व्याप्त छन् ।

सडकमा हुने दुर्ब्यवहार बिरुद्ध काम गर्ने एक महिलाको नोभेम्बर २०१३ ताकाको एउटा सार्वजनिक अभिव्यक्ति, “म गोरा अमेरिकनसँग बिहे गरेकी कालो बर्णकी महिला हुँ, यद्यपी गोराहरु मलाई बेश्याको रुपमा व्यवहार गर्छन्” ले अमेरिकी समाजमा हलचल उत्पन्न गरेको थियो । यस्ता पुर्वाग्रही सोच र व्यवहारले त्यहाँ कालोवर्णका हरेक अमेरिकीहरुलाई आजन्म पिरोलिरहेको छ ।

गतबर्ष पेरिषको एक ट्रेनस्टेशनमा आधाघण्टा कसैलाई कुर्नुपर्‍यो । कुर्ने ठाउँमा अधिकांश कालो बर्णका युवायुवती थिए । ब्रसेल्स, पेरिसजस्ता ठुला युरोपेली शहरहरुमा उनीहरुको इमेज नकारात्मक छ । चोरी, लुटपाट तथा अन्य अपराधिक गतिबिधिमा लाग्ने र भाग्ने । तर सबै कालाहरुले त्यसो गर्दैनन् भन्ने जान्दाजान्दै पनि मलाई उनीहरुसँग डर लाग्नुको कारण उनीहरुबारे मलाई सुनाईएका, पढाइएका घटनाक्रम थिए । जसलाई बहुसंख्यक समुदाय तथा उनीहरुको नियन्त्रणमा भएका मिडियामा पनि चित्रण गरिएको पाइन्छ । बहुसंख्यकले अल्पसंख्यकलाई गरिने चित्रणको छाप ममा पनि परेको थियो । तर त्यहाँ कसैले मलाई केही गरेन ।

बिश्वको एउटा ठुलो भुभाग र जनसंख्याले अर्को ठुलो भुभाग र समुदाय ‘मुस्लिम’ लाई आतंककारी भनेर चिन्छ । पाकिस्तान संसारमै हिंस्रक घटनाका लागि आलोच्य छ । पाकिस्तानीसँग मानिसहरु डराउँछन् । किनकी उनीहरु मुस्लिम हुन् । मुस्लिम आतंककारी हुन्छन भन्ने भ्रम फिँजाइएकाे छ। केही बर्ष अगाडि इश्लामाबाद बिमानस्थलमा झर्ने बित्तिकै एकाएक म सातो हराएको बच्चाजस्तो भएको थिएँ । बोली दबिएको थियो । तर बिमानस्थलदेखि होटलसम्म पुग्दा मसँगको मुस्लिम समुदायप्रतिको पुर्वाग्रह र भ्रमहरु चकनाचुर भए । इश्लामाबाद र कराँचीमा एकहप्ता बिचरण गर्दा मैले कहिल्यै असुरक्षित महशुस गरिन ।अहिले पनि पश्चिमी राष्ट्र र उनीहरुको सहयोगले चल्ने देशहरुमा मुस्लिम समुदायलाई लडाकु, जिहादी, आतंककारी, कट्टरपन्थी, ऐयासी, धर्मभिरु भनि चित्रण गरिन्छ । 

हामी अहिले ऐतिहासिक कालखण्डमा छौ । नेपाल एकिकरणको सुत्र के, हाम्रा नेताले ठम्याउन सकिरहेका छैनन् । अल्पसंख्यक र सिमान्तकृत समुदायको आवाज नियतबश दबाउने कार्य तीनै समुदायलाई प्रतिनिधित्व गर्छु भन्ने दल, सामाजिक संघसंस्था र सामुदायिक संगठनहरुबाटै भएको छ । हामी राष्ट्रिय एकताको प्रतिक के हो? के ले सबै नेपालीलाई एउटा मालामा गाँस्छ? यस्ता प्रश्नको जिम्मेवार समाधान र उत्तर खोजी भएकैछैन । यसका पछाडि हाम्रा, हामीले मानेका नेता, अगुवा र बुद्धिजीवीहरुका आग्रह पुर्वाग्रहले काम गरेकाछन् ।

मधेशका केही जिल्लालाई र त्यहाँ बस्ने बिशेषगरी कालोबर्णका मानिस जो हिन्दी, अवधी, मैथिली, उर्दु बोल्छन्, लाई बाँकी नेपालले पुर्वाग्रही व्यवहार गर्छ । केही त्यस्ता उदाहरण हेरौः मधेशीहरु तरकारी बेच्छन् । उनीहरु फोहोरी छन् । काला र नराम्रा छन् । कपाल काट्ने काम गर्छन् । खैनी खाँदै थुक्दै हिड्छन् । हल्ला बढी गर्छन् । उनीहरु भैया हुन् । मधेशी नेताहरु चतुर छन् । सत्ता र शक्तिका लागि मधेशी जनतालाई उचाल्छन् र आफु मोज गर्छन् ।

आग्रह र पुर्वाग्रह मधेशलक्षितमात्र छैनन् । हामीकहाँ प्रायः सुन्ने गरिन्छ पुर्वेलीहरु बाठा छन् । देश उनीहरुले चलाएका छन् । पश्चिम तथा सुदुरपश्चिममा बिकास नहुनुमा पुर्वेली प्रभाव हावी छ । सडकमा बनाउने सालिकसमेत पुर्व फर्काएर पश्चिमलाई ढाड देखाईदिन्छन् ।

पश्चिम तथा सुदुरपश्चिमको बारेमा बाँकी नेपालसँग रहेका पुर्वाग्रह पनि कम छैनन् । जस्तैः पश्चिममा त महिनावारी भएकाबेला महिलालाई समेत गोठमा राखिन्छ । महिनाबारी भएको बेला दुहुनो गाईभैसी छोयो भने दुधमा रगत मिसिएर आँउछ । त्यहाँ त राजा-रजौटाको शान हुन्छ । त्यताका क्षेत्रीहरु ठकुरी हुन्, शानमात्र देखाउँछन् । उनीहरु दलित र गरिबलाई माथि ल्याउन मान्दैनन् । त्यसो गर्ने एनजीओ आईएनजीओलाई गलत ठान्छन् । समाजलाई भाँड्नमा डलरको भुमिका छ भनेर बिश्वास गर्छन् । देश राजाले नै चलाउनुपर्छ भन्नेहरुको हालीमुहाली छ त्यता ।

हामीकहाँ समाजको एउटा तप्काले बिशेषगरी गैरसकारी संघसंस्था सञ्चालक वा सामाजिक अभियन्तालाई डलरबादी भनेर चिन्छन् । उनीहरुको नजरमा डलरबादीहरु बिदेशीको इशारामा नाँच्छन् । डलरबादीले देशलाई बर्वाद पारे । यिनीहरुको बिदेशी एजेन्ट हुन् । रुपान्तरणको कुरा गरेपनि डलरबादीले यथास्थितीबादीको प्रतिनिधित्व गर्छन । बाहिर जे देखिएपनि डलरबादीहरु परिवर्तनबीरोधी हुन् । साम्राज्यबादका परिचालक हुन् ।

त्यसैगरी हिजोआज अर्को एउटा पुर्वाग्रह झन बहसमा आएको छ । नेपालमा बसोबास गर्ने क्षेत्री बाहुनहरु शोषक हुन् । उनीहरुले सधै राज गरे । देश खाए । जातपातको कुरा उचाले । यिनीहरु त झनै यथास्तिीबादी हुन् । जहिल्यै शक्तिका पुजारी हुन् । अल्पसंख्यक र उत्पीडिनमा परेको समुदायका बिरोधी हुन् । खाईपाई आएको राज्य र शक्ति जोगाईरहन चाहान्छन् ।

खोतल्दै जाँदा यस्ता एकअर्काप्रति अनगिन्ती पुर्वाग्रहबाट समाज ध्रुबिकृत भइरहेको हुन्छ । अहिले त्यस्तो ध्रुबिकरण झनै तिब्र छ । अबिश्वासको खाडल गहिरिएको छ । परिवर्तनका लागि उठ्ने साना स्वरहरुबाट यस्ता ध्रुबिकरणहरु चुलिन्नन् । व्यवस्थीत गर्न सकिएन भने सधैका लागि समस्या बन्न सक्छन् । अशान्तिका कारक हुनसक्छन् ।

र त्यस्तो केही नहोस् भन्नका लागि हामीकहाँ नयाँ संविधान चाहिएको हो । नयाँ संविधानका लागि समावेशी संविधानसभा गठन भएको हो । तर संविधान बनाउनलाई नागरिकले अधिकार दिएकाहरुबाटै भइरहेका आग्रह, पुर्वाग्रह, आवश्यकता र प्राथमिकता निर्धारणमा जनभावना बिपरितका अभिव्यक्ति, गतिबिधि र निर्णयले समाजलाई झनै पुर्वाग्रही र ध्रुबिकृत बनाइरहेकोछ ।

थाहा छैन यसका लागि अझै हामीले कति पर्खनुपर्ने हो, के के गुमाउनु पर्ने हो !

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service