दाङको राजनीतिमा महिला सहभागिता

रीता लामा! तेह्रबर्षको उमेरदेखि विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा थालेकी नेकपा(एमाले)की नेता मेनका पोखरेल राजनीतिमा शिक्षित, सक्रिय र सफल मानिन्छिन । हाल अखिल नेपाल महिला संघ केन्द्रिय सल्लाहकार समितीकी अध्यक्ष रहेकी पोखरेलले आफ्नो राजनीतिक यात्रा बामपन्थी विचारधाराबाट शूरु गरेकी थिइन । उनी राजनीतिमा लागेको तीनदशक भन्दा बढी भयो । राजनीतिकै कारण पटक पटक जेल परेकी पोखरेलले भुमिगत भएर पनि सक्रिय राजनीति गरेकी थिइन । निरन्तर लामो समय देखि राजनीतिमा रहेकी पोखरेल भन्छिन–‘राजनीतिमा महिलालाई अगाडी ल्याउन गाउँ तहबाटै ससक्त बनाउदै लैजानुपर्छ ।’ उनी थप्छिन–‘मान्छेहरु तल्लो तहबाट संर्घष गर्न चाहँदैनन । सिधै माथिल्लो तह ताक्छन । एकै पटक माथि पुग्दा जग बलियो नभएकै कारण असफल हुन्छन वा ठाउँ नै पाउदैनन ।’ 

२०३५÷३६ साल तिर सुरुभएको विद्यार्थी आन्दोलनमा सक्रिय भै लाग्दा नेपाली काग्रेसकी नेता अनिता देवकोटाको वुवालाई एउटै पीर थियो छोरीको विवाह हुदैन । बुवा सधै पिर मान्दै भन्नु हुन्थ्यो– ‘छोरी राजनीतिमा लागि अब उसलाई कसैले विवाह गर्दैन ।’ राजनीतिमा लाग्दा उनले माध्यामिक तहको अध्ययन गर्दै थिइन । सानै उमेर देखि विद्यार्थी संगठनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी देवकोटा राष्ट्रिय स्तर मै परिचित व्यक्ती हुन । सामाजिक, आर्थिक र शैक्षिक कारणले महिला राजनीतिमा अगाडी आउन नसकेको धारणा राख्ने देवकोटा राजनीतिमा लागेको लामो समय भयो र उनले थुप्रै महिलाहरुलाई राजनीतिमा आउन प्रेरित समेत गरिसकेकी छन् । राजनीतिमा महिलाहरु आउनु अति आवश्यक हुँदाहुँदै पनि राजनीतिक क्षेत्रले महिलालाई उपयोग गरिरहे जस्तो लाग्छ उनलाई । उनी भन्छिन –‘दलहरु पार्टीमा महिला विभाग गठन गर्छन । तर त्यहाँ महिला अधिकारको वकालत गरिदैन । पार्टी राजनीतिकै कै कुरा हुन्छ ।’

२०४७ सालदेखि अखिल नेपाल महिला सङ्घ(क्रान्तीकारी)को गाउँ कमिटीको सदस्यता लिए पछि नेकपा माओवादीकी नेता दामा कुमारी शर्माले २०५१ सालमा नेकपा (माओवादी) पार्टीको पूर्णकालीन सदस्य भएको घोषणा गरिन् । २०५३ साल मङ्सिरमा दामा पनि भूमिगत भइन । दामा २०५५ कात्तिकमा काखको छोरा सहित जेल परिन । यस क्रममा उनले जीवन निकै कठिनाइ पूर्वक गुजार्नु परेको थियो । उनी २०६४ सालमा दाङ क्षेत्र नम्वर २ बाट प्रत्यक्ष चुनाव जितेकी दामा २०६८ सालमा एकिकृत नेकपा माओवादी फुटेपछि मोहन बैद्य किरणले नेतृत्व गरेको नेकपा माओवादीमा आवद्ध छिन । संविधानसभाको सदस्य हुँदाको अनुभव सुनाउँदै दामा भन्छिन्—‘संविधानसभाभित्र महिला सदस्यहरुले उठाएका विषयलाई खासै गम्भीरतापूर्वक लिएको कहिल्यै पाइन ।’ मेनका, अनिता र दामा मात्रै होइनन् दाङमा धेरै महिलाहरु राजनीतिमा सक्रिय छन् र पार्टीको माथिल्लो तहमा पुगिसकेका छन । २०७० सालको संविधानसभाको निर्वाचमा १६ जना मध्ये ८ जना महिला सभासद दाङका मात्रै छन् ।

२०१६ साल देखि नै दाङमा महिलाहरु राजनीतिमा सक्रिय भएको देखिन्छ । त्यसताका चलेको विभिन्न आन्दोलनले महिलाहरु राजनीतिमा थिए भन्ने प्रष्ट हुन्छ । तर, जिल्लामा संगठित रुपमा महिलाहरु राजनीतिमा देखिन थालेको भने ०३५—३६ साल पछि मात्र हो । अर्थात ३५–३६ बर्ष अगाडी देखि दाङमा महिलाहरु राजनीतिमा सक्रिय हुन थालेका हुन । त्यसताका भएको पञ्च्यात विरुद्ध नेपाली काग्रेस र बामपन्थीहरुले थालेको आन्दोलनले राजनीतिमा महिला वर्गलाई अगाडी ल्याउन मुख्य भुमिका खेलेको देखिन्छ । मिती तोकेर भन्ने हो भने नेकपा (एमाले) दाङ—काठमाडौ सम्पर्क मञ्चको मुख पत्र २०५३ का अनुसार २०३७ फागुन २७ गते कृष्णा सुवेदीको अध्यक्षातामा अखिल नेपाल महिला संघको पुर्नगठन नै जिल्लामा संस्थागत राजनीतिको सुरुवात मान्न सकिन्छ । यस अवधि देखि दाङमा महिला नेताहरु एक पछि अर्को जन्मदै गएका छन । अखिल नेपाल महिला संघको निर्माण पछि यस संस्थाले तत्कालिन पञ्चायती व्यवस्था विरुद्ध थालेको आन्दोलन महत्वपुर्ण र उल्लेखनिय मानिन्छ । त्यस्तै २०४२ सालमा भएको शिक्षक आन्दोलनमा पनि महिला नेताहरुको सहभागिता र ऐक्यबद्धता देखिन्छ । त्यस अघिदेखि सुरुभएको विद्यार्थी आन्दोलनमा पनि महिला नेताहरु काँधमा काँध मिलाएर अगाडी आएको देखिन्छ । तर त्यतिबेला पञ्चायत व्यवस्थाले महिलालाई राजनीतिमा क्रियाशिल हुन नदिएको महिला नेताहरुको अनुभव छ । २०४६ फागुन सात गते देखि सुरुभएको जनआन्दोलनमा पनि जिल्ला तहमा राजनीतिक रुपमा क्रियाशिल महिला कार्यकर्ताले सक्रिय सहभागिता देखाएको देखिन्छ । त्यसबेला दाङमा महिलाहरुको नेतृत्वमा मसाल जुलुस निकालिएको थियो । जसलाई महिला आन्दोलनको उपलब्धी मुलक सुरुवाती वा तत्कालिन निरङ्कुश सासक विरुद्ध महिलाको खरो विरोध मान्न सकिन्छ ।
त्यसपछि भने बामपन्थी वा प्रजातान्त्रीक विचारधाराका महिलाहरु पाटी टुक्रिएसँगै आफू पनि टुक्रिदैं गएको देखिन्छ । त्यस समयमा महिलाहरुका हक अधिकार कुण्ठित र सिमित थिए । तर पनि राजनीतिक धारमा बाँधिएका महिलाहरुले महिला अधिकारको क्षेत्रमा श्सक्त आवाज उठाउन भने सकेका छैनन् । त्यसैले आफुहरु पछाडी परे पनि आफ्नो वर्गको उत्थानमा भन्दा राजनीतिक पार्टीको कार्यकर्ताको रुपमा महिलाहरु सिमित भएको जस्तो देखिन्छ ।

२०५२ सालमा तत्कालिन नेकपा माओवादी पार्टीले भुमिगत राजनीति थाल्यो । त्यहाँ पनि दाङका महिलाहरुको सक्रिय सहभागिता रहेको देखिन्छ । राजनीतिमा होमिएर महिलाहरुले चरम संघर्ष गरेको ससस्त्र द्वन्द्व कालमा पनि हो । माओवादीले थालेको ससस्त्र द्वन्द्वपश्चात राजनीतिमा महिला संघर्षका कथा केही फेरिएका छन । त्यस्तै ०६२÷६३ सालको जनआन्दोलनले पनि जिल्लामा थुप्रै महिला कार्यकर्ता र नेताहरु उत्पादन गर्यो । संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी अध्यक्ष रुक्मिणी चौधरी दाङबाटै दुइ पटक संविधासभामा पुगि सकिन । संविधानसभामा सबैपाटीको ह्विपका कारण महिला प्रतिनीधिले आफुहरुको अधिकारको वकालत नगर्ने गरेको उनको बुझाइ छ । संविधानसभामा महिलाले बोल्ने अवसर कम पाउने गरेको रुक्मिणी बताउँछिन । त्यस्तै आफु र आफ्नो दलको प्रतिनीधिको सहभागिता कम भएका कारण आफ्नो आवाजलाई दह्रो बनाउन नसकेको उनको भनाई छ । अध्यापन छोडेर पुर्ण कालिन राजनीतिमा लागेकी एनेकपा माओवादीकी नेता सुष्मा शर्माले २०६४मा दाङ क्षेत्र नम्वर ५बाट प्रत्यक्ष चुनाव जितेकी थिइन । संविधानसभाको अनुभव सुनाउदै उनी भन्छिन त्यहाँ पितृसत्तात्मक सोच भएकाहरु हावि थिए । —‘त्यहाँको वातावरण महिलाका निम्ति निरुत्साहित पार्ने किसिमको रहेको थियो ।’ महिलाको तुलनामा पुरुषहरुलाई बढी विस्वास गर्ने र उनीहरुलाई बढी जिम्मेवारी दिने त्यहाँको प्रवृत्तिप्रति सुष्माको चित्त दुखाइ छ । २०७० सालमा सम्पन्न संविधानसभाको चुनावमा दाङ क्षेत्र नम्वर २ बाट चुनाव हारेकी नेकपा एमालेकी नेता शान्ता चौाधरी एउटी थारु, कमैया र कम्लरी वर्गकी महिलाकी नेता हुन । कमैया र कम्लरी मुक्ति र भूमि आन्दोलनबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो । सामान्य साक्षर भए पनि उनी ससक्त महिला नेता हुन् ।

राजनीतिमा आफ्नो जीवन विताएकाहरु राजनीति आफ्नो रोजाइको पेसा भएको बताउँछन । राजनिती मै लागेका कारण सुरुसुरुमा अपमान पाए पनि अहिले उनीहरुले समाजबाट धेरै सम्मान पाएको बताउछन् । शिक्षा, चेतना र वैचारिक रुपमा महिला अगाडी आएका छन भने सांगठनिक रुपमा पनि अगाडी छन । उनीहरुको नेतृत्वदायि क्षमतामा बृद्धि भइरहेको छ । विभिन्न राजनीतिक पार्टीमा बैचारिक आस्था राख्ने सामान्य साक्षर वा निरक्षर महिलाहरु पनि अहिले देशको स्थितीबारे चासो र चिन्ता व्यक्त गर्ने भैसकेका छन । बढ्दो संचारको उपयोग गरेर पनि महिलाहरु राजनीतिका बारेमा चासो राख्न थालेको पाइएको छ ।

राजनीतिमा महिलाको आकर्षण पछिल्लो समयमा बढेको देखिन्छ । पहिले र अहिलेको अवस्थाको तुलना गर्दै नेकपा एकिकृतकी तुलसा केसी भन्छिन—‘पहिले संगठनमा राख्नको लागि एउटा महिला भेटिदैन थिए तर अहिले पार्टीमा महिला प्रतिस्पर्र्धाको आधारमा नेतृत्व सम्हाल्दै छन ।’ राजनीतिमा महिलाहरुको संख्यात्मक र गुणात्मक बृद्धिले आफ्नो मनमा सधै गर्व जाग्ने गरेको उनले बताइन् । महिलाहरु राजनीतिमा आए मात्रै समाज विकासमा आमुल परिवर्तन ल्याउन सक्ने उनको विचार छ । त्यस्तै विभिन्न समयमा भए गरेका घटना क्रमले पनि महिला वर्गमा चेतना विस्तार भएको उनी बताउछिन । राजनीतिमा केही पुराना अनुहारले अहिले पनि नेतृत्व सम्हाल्ने र बाटो देखाउने काम गरिरहेका छन । राजनीतिक चेतना विस्तार कै कारण विभिन्न पेसामा संलग्न भै पेसागत राजनीतिमा पनि महिलाहरुको उत्तिकै अग्रसरता देखिएको छ । नेपाली काग्रेस कि नेता अनिता देवकाटा जिल्लामा राजनीतिमा महिलाको सहभागिता कम छैन तर पुरुषको तुलनामा जति हुनुपर्ने हो त्यो हुन सकेको बताउछिन । ‘जिल्ला तहमा महिलाको सहभागिता बढीरहेको छ तर तल्लो तहमा कम देखिएको छ ।’ उनी भन्छिन ।’–‘आरक्षणको नाममा राज्य वा पार्टीले महिलाको सहभागिता ३३ प्रतिशत अनिवार्य गराइएको छ । तर त्यो अझै अपर्याप्त हो ।’ राज्यको निति निर्माणको तहमा होस वा पार्टीगत नेतृत्वको सवालमा महिलाको सहभागिता पचास प्रतिशत जरुरी रहेको उनको धारणा छ ।

महिला भातृ संगठन
दाङ जिल्ला राजनीतिक रुपमा उर्वर मानिन्छ । नेपाली काँग्रेसले राणा विरोधी आन्दोलन थाल्दा देखि नै दाङमा राजनीतिक गतिविधि सक्रिय भएको थियो । जिल्लामा राजनीतिक गतिविधी मौलाउदै जाँदा त्यहाँ महिलाको सहभागिता पनि कहि न कहि देखिएको छ । हरेक पटकको आन्दोलनमा महिलाको सहभागितालाई महत्वपुर्ण मानिन्छ । प्रष्ट रुपमा भन्दा मुल पार्टीले राजनीतिमा महिलाको सहभागिता बढाए पनि उनीहरुको लेखाजोखा र गणना भने गरेको पाइदैन । पार्टीमा महिलाको स्थान महत्वपुर्ण भनिन्छ तर नेतृत्वको सवालमा महिलाले उचित स्थान पाउन नसकेको अवस्था पक्का हो । जिल्लाका महिला संगठनहरुले आफ्नो राजनीतिक पार्टी भन्दा र वैचारिक आस्था भन्दा माथि उठेर आफ्नो वर्गको उत्थानको लागि काम गर्नुपर्ने हो तर त्यसो हुन सकेको छैन । पार्टीले महिलालाई एउटा भोटरको रुपमा वा देखावटी रुपमा उपयोग गरेको देखिन्छ । जिल्लामा क्रियाशिल कुनै पनि पाटीका महिला भातृ संगठनहरुको क्रियाकलाप पाटी केन्द्रित देख्न सकिन्छ । त्यो भन्दा बाहिर जान सकेको छैन । पाटीमा क्रियाशिल महिलाहरुले महिला अधिकारको कुरा व्यक्तिगत रुपमा उठाए पनि त्यसले संस्थागत मान्यता पाएमा मात्रै साँभो अर्थमा त्यसले रुपान्तरणका लागि काम गर्न सक्छ ।

यो आलेख, अमेरीकी सहयोग नियोगको सहयोगमा संचालित साझेदारी विकास परियोजनाका लागि इक्वल एक्सेसले तयार पारेको हो । यसमा प्रसारित कुनै पनि सामग्रीले अमेरिकी सरकार अथवा अमेरिकी सहयोग नियोगको आधिकारीक धारणा व्यक्त गर्देन ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service