समान सहभागिताका लागि संघर्षरत महिला सञ्चारकर्मीहरु

स्मृति योगी, तुलसीपुर । ‘हामी पत्रकार महिलाहरुले अझै पनि समाचार संकलन, प्रकाशन/प्रशारणमा विभेद भोग्नु परिरहेको छ’–रेडियो तुलसीपुरकी समाचारवाचक शर्मिला डिसीले भनिन् । उनले भनिन्–‘समाचार संकलनका लागि सम्बन्धित निकायमा फोन गर्‍यौं भने विषयबस्तु भन्दा अलग कुरा गर्ने, महिला त हो भनेर फरक दृष्टिकोण राख्ने गरिन्छ ।’

यस्ता समस्याका बाबजुद पनि आमसञ्चार माध्यमहरुमा महिला सञ्चारकर्मीहरुको उपस्थिती बढ्न थालेको छ । अहिले दाङमा २५ जना भन्दा बढी महिलाहरु सञ्चारकर्मीको रुपमा विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका छन् । साथै महिलाहरु पनि आफ्नो क्षमता, सीप बढाउनका लागि आफै निर्धक्क साथ अगाडि बढ्नुपर्ने सञ्चारमा लाग्ने महिलाहरुको साझा धारणा छ । अब नयाँ नयाँ प्रविधिको तालिम दिनुपर्ने, हरेक मिडियाले २ जना महिला अनिवार्य राख्नुपर्ने, नितीगत  परिवर्तन हुनुपर्ने, सोचाइमा परिवर्तन आउनुपर्ने जिल्लामा कार्यरत महिला पत्रकारहरुको धारणा रहेको छ ।

पछिल्लो तथ्यांक अनुसार अहिले दाङमा नियमित रुपमा सञ्चालन भइरहेका १२ वटा रेडियो, ५ वटा टेलिभिजन र ४ वटा दैनिक पत्रिकामा गरी जम्मा २७ जना मात्रै महिलाहरुले समाचारको क्षेत्रमा काम गरिरहेका छन् । दाङका कुनै सञ्चार संस्थामा पत्रकार महिलाको सहभागिता शुन्य नै देखिएको छ भने न्युन सञ्चार माध्यममा बराबरीको सहभागिता रहेको छ । दाङका सञ्चार गृहमा ५३ जना पुरुष पत्रकारहरु रहेका छन् । ‘पछिल्लो समयमा यसलाई उत्साहजनक सहभागिता मान्न सकिन्छ’-सञ्चारिका समुह दाङकी अध्यक्ष नारायणी रजौरे भन्छिन् । रजौरे राससकी राप्ती प्रमुख समेत हुन् । त्यसैगरी पछिल्लो समयमा समस्या खेप्दै पनि पत्रकार महिलाहरु सञ्चारमा आफ्नो उपस्थिती बढाउन संघर्षरत रहेको संकल्प महिला सञ्चार समुहकी अध्यक्ष सुलोचना गौतम भन्छिन् ।

त्यसैगरी केहि महिलाहरु पत्रकार महासंघको जिल्ला नेतृत्वमा समेत पुगेका छन् । ‘कुनै पनि मिडीया हाउसमा प्रवेश गर्ने सजिलो वातावरण नभएकाले पनि पत्रकार महिलाको सहभागिता कम भएको हो, तर अब त्यो अवस्था फेरीएको छ ।’ पत्रकार महासंघ दाङकी उपाध्यक्ष लक्ष्मी आचार्यले भनिन् । उनले अहिले दाङमा सजिलै प्रवेशको वातावरण नभएको बताइन् । उनले भनिन्–‘यहाँ खुल्ला प्रतिष्पर्धा छैन्, महिलाहरुले क्षमता देखाउन चाहेपनि अवसर छैन् ।’ साथै उनले अहिले सञ्चार क्षेत्रमा महिलाहरुका लागि देखिएका चुनौतिसँगै खटेर काम गर्ने महिलाहरु नभएको बताइन् । दाङका सञ्चार गृहमा महिलालाई राख्नुपर्छ भन्ने सोचाइका कमी भएको बताइन् । अब पत्रकार महिलाहरुको  उपस्थिती बाक्लो बनाउनका लागि पुरानो सोचाइ परिवर्तन गरेर अगाडि बढ्नुपर्ने बताइन् । उनले भनिन्–‘महिलाले पनि म सक्छु भनेर हिम्मत देखाउनपर्छ ।’आचार्यका अनुसार महिलाहरु पनि चुनौतीहरुलाई स्वीकारेर अगाडि बढ्नुपर्छ । निरन्तर प्रयास गरेर लगनशील बनेपछि एक दिन अवश्य पनि दाङका सञ्चार माध्यममा पत्रकार महिलाहरुको उपस्थिति पुरुषहरुको भन्दा पनि बाक्लो हुने आचार्यले आशा व्यक्त गरिन् । अहिले पत्रकारहरुका लागि बनेका संस्थाहरुले पनि काम गर्न नसकेको उनले बताइन् ।

दाङका सञ्चार गृहमा महिलाको सुरक्षा नभएको आचार्यले बताएकी छिन् । अहिले दाङका सञ्चार गृहमा काम गर्दा पत्रकार महिलाहरुले आफ्नै कार्यालयमा हिंसा भोग्नुपरेको उनले बताइन् । उनले भनिन्–‘अफिसमै आफ्नै सहकर्मीबाट अप्ठ्यारो झेल्नुपर्छ, छाडा बोल्ने समस्याले पनि हामीलाई सताएको हुन्छ ।’ परिवार र कार्यालयको तालमेल नमिल्दा पनि पत्रकार महिलाहरुले समस्या भोग्नुपरेको उनले बताइन् ।

त्यसैबीच सञ्चार गृहहरु समेत अचेल पत्रकार महिलाहरुको सहभागिता बढाउने सन्दर्भमा सचेत देखिएका छन् । ‘हामी सञ्चार गृहमा महिला सहभागिता बढाउने पक्षमा सकारात्मक छौं’-गोरक्ष दैनिकका सम्पादक तथा पत्रकार महासंघ दाङका सचिव गजेन्द्र बोहोरा भन्छन् ।  महासंघ पनि सन्चार क्षेत्रमा महिला सहभागिता बढाउन विशेष प्याकेज ल्याउने सोंचमा रहेको छ । दाङका सञ्चारगृहमा महिलाहरुको बाक्लो उपस्थितिका लागि सञ्चारिका समूहले महिलाहरुलाई लक्षित गरी क्षेत्रक्षेत्रमा तालिमहरु सञ्चालन गर्ने योजना बनाएको छ । सोही तालिमबाट नै अवसरको खोजी गर्ने पनि सञ्चारिका दाङकी अध्यक्ष नारायणी रजौरेले बताइन् । साथै क्रियाशील महिलाहरुका लागि पनि क्षमता अभिबृद्धि तालिम सञ्चालन गर्ने योजना रहेको छ ।

दाङकी पहिलो पत्रकार महिलासँगको कुराकानी :
वि.सं.२०५३ सालदेखि पत्रकारिता शुरु गरेकी दाङकी पहिलो पत्रकार महिला लिला शाहलाई पत्रकारिता गर्न मुस्किल परेको थियो । तर अहिले उनी दाङ देउखुरीको रेडियो हाइवेमा समाचार सम्पादकको रुपमा कार्यरत छिन् । महिलाहरुले पनि केही गर्न सक्छन् र ? भन्ने त्यो समयबाट पत्रकारिता शुरु गरेकी शाह अहिले अब महिलाले पनि केही गर्न सक्छन् भन्ने उदाहरण बनेकी छिन् ।

१) तपाईले पत्रकारिता शुरु गर्दा समाजको दृष्टिकोण कस्तो थियो ?
मैले पत्रकारिता शुरु गर्दा महिलाले पनि पत्रकारिता गर्न सक्लान ? भनेर ओठ टोक्थे । आफ्नै दौंतरीहरुले,समाजले अनि घरपरिवारले समेत 'बिहानै काममा खटिनु पर्छ, रातबिरातसम्म पनि पेशामै खटिनु पर्छ, अनि जहाँकहिँ हिंड्नु पर्छ ।’ भन्थे । 

२) यस्ता समस्यामा कसरी पत्रकारिता गर्नुभयो त ?
त्यो समयमा त साथको कुरा त परैको हो,हेर्ने नजर पनि सकारात्मक हुँदैन थियो । न त परिवारले साथ दिन्थ्यो न त समाजले नै । पत्रकारिता गर्न सजिलो त थिएन धेरै मुस्किल परेको हो । तर पनि म आफ्नो कामप्रति सधैं लागिरहेँ अनि आजसम्म आउन सफल भएँ । निरन्तर प्रयास गरिरहेँ ।

३) पत्रकारिता गर्दा महिलाहरुले भोग्नु परेका समस्याहरु कस्ता थिए र छन् ?
महिलाहरुलाई केही गर्न नसक्ने जस्तो गरेर पछाडि धकेल्ने गर्थे । पहिलेको समयमा त सोच नै फरक थियो, महिलालाई पुरुषसरह हेर्ने चलन थिएन् । पहिले हामीलाई मानिसले टेर्दैनथे । हामी पनि हिचकिचाउथ्यौ । तर अहिले पहिलेको तुलनामा महिलालाई हेर्ने केही दृष्टिकोण परिवर्तन भएको छ । पहिले सम्मान थिएन् अहिले छ । हामी पनि निर्धक्क हुन सकेका छौं । तर पनि समस्या त अझै पनि छ ।

४) तपाईले महिला भएकै कारण कस्ता समस्या भोग्नु पर्‍यो ?

महिला भएकै कारणले पत्रकारिताको क्षेत्रमा रिपोर्टिङका क्रममा धेरै नै समस्या हुने गर्छन् मैले पनि ती समस्याहरु भोगेकी छु । पुरुषहरुसँगै हिड्दा शारिरिक संरचना फरक पर्छ, रातिमा रिपोर्टिङ गर्दा समस्या पर्छ । द्वन्द्वकालमा रिपोर्टिङ गर्दा त निकै नै समस्या भोग्नुपरेको हो । हामी महिला भएकै कारण रातिमा वा अबेरसम्म रिपोर्टिङ गर्न पाउँदैनौ । रिपोर्टिङका लागि हरेक समयमा घरबाट पनि निस्कन नपाइने यस्तो हुँदाहुँदै पनि मैले पत्रकारितालाई निरन्तरता दिएँ । समाचारका लागि पत्रकार महिलाले सुरक्षा निकाय वा समाचार स्रोतमा फोन गर्दा फरक दृष्टिले हेर्ने र फरक व्यवहार देखाउने पनि गरिन्छ । रातिमा पुरुषले फोन गरेर जानकारी लिए पछि सम्बन्धित निकायले सजिलै जानकारी दिने तर महिलाले फोन गरेमा विषयबस्तुु भन्दा बाहिर गएर कुरा गर्ने गर्थे र गर्छन् । कुनै पनि सक्षम, कामप्रति बफादार भए पनि सामाजिक संरचना, संस्कारले गर्दा उनीहरुप्रतिको विश्वासमा कमी भएको जस्तो लाग्छ ।

५) पत्रकार महिलाले भोग्नु परेका हिंसाहरु के छन् परिवार, समाज र कार्यालयमा ?
पत्रकार महिलाहरुमाथि हुने हिंसा भनेको सबैभन्दा बढी मानसिक हिंसा नै हो । हाम्रो कामको समय तोकिएको हुँदैन्, ढिला चाँडो हुन्छ, समाजले के भन्ला भन्ने त्रास मनमा रहिरहन्छ । पुरुषहरुलाई जति बेला कार्यालयबाट घर जाँदा पनि फरक पर्दैन हामी महिलाहरुलाई समयमै घर जानुपर्छ, काम गर्नुपर्छ, कार्यालयमा ढिला भए पनि डरत्रास मै कार्यालयको काम गर्नुपर्छ । महिला माथि फिल्डमा जाँदा वा आफूले काम गर्ने कार्यालयमा पनि हिंसा हुन्छ । महिला सहकर्मीहरुलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ । कार्यालयमा कामकै क्रममा पनि जिस्काउने, छाडा बोल्ने समस्या छ । आफूहरुले काम गर्ने समयमा पुरुष सहकर्मीहरु छाडा बोलिदिँदा आफूलाई काम गर्न पनि अप्ठ्यारो महशुस हुन्छ । अहिले पनि दाङका सञ्चार गृहमा लैंगिक मैत्री व्यवहार छैन् ।

रिपोर्टिङ पछि पनि महिलाहरुले लेखेको समाचार प्रकाशन प्रशारणमा पुरुषको पहिले र महिलाको समाचार पछाडि पार्ने प्रवृत्ति, पारिश्रमिकमा पनि विभेद छ । कतिपय सञ्चार गृहका पत्रकार महिलाहरुलाई तलब मागेकै भरमा जागिरबाट निकालिदिने, श्रमजिवी ऐन लागु नगर्ने जस्ता समस्याहरु पनि रहेका छन् ।

६) महिलाको सहभागिता अहिले कस्तो छ र बढाउन के गर्नुपर्ला ?
पहिलेको सञ्चार माध्यम कम थिए । त्यसमा महिलाहरुको उपस्थिति पनि कम थियो । तर अहिले भने दाङमा सञ्चार गृह खुल्ने क्रम जारी रहेको छ । नेपालभरि नै पत्रकार महिलाको संख्यामा उत्साहजनक सहभागिता भए पनि त्यत्ति सन्तोषजनक भने छैन । दाङका सञ्चार गृह मात्रै नभएर नेपाल भरिकै सञ्चार गृहमा महिला र पुरुषको सहभागितामा समानता छैन । पत्रकार महिलाको सहभागिता नबढ्नुमा सबैभन्दा बढी विश्वासको संकट हुनु हो । कुनै संस्थामा काम गर्न राखिहाले पनि निकालिदिने समस्या, फेरि पुर्नस्थापना नगर्ने, रोजगारीको ग्यारेण्टी नहुने कारणले गर्दा नै पत्रकार महिलाको सहभागिता कम भएको जस्तो लाग्छ । साथै सञ्चार गृहमा पुरुष भन्दा पनि महिलाहरुको सुरक्षामा कमी भएको जस्तो पनि लाग्छ । यो क्षेत्रमा काम गरेर जीवन धान्न नसकिने, समयमै पैसा नपाउने समस्या, जीवन निर्वाहका लागि पत्रकारिताका साथसाथै वैकल्पिक काम गर्नु पर्ने अवस्थाले गर्दा पनि महिलाहरु यो पेशामा नआएको हुन सक्छ । महिलाहरुलाई पनि पुरुषसरह व्यवहार गर्नुपर्छ । अवसर दिनुपर्छ अनि महिला र पुरुषको संख्यामा समानता हुन्छ ।

(यो आलेख, अमेरीकी सहयोग नियोगको सहयोगमा संचालित साझेदारी विकास परियोजनाका लागि र्इक्वल एक्सेसले तयार पारेको हो । यसमा प्रशारित/प्रकाशित कुनै पनि सामग्रीले अमेरिकी सरकार अथवा अमेरिकी सहयोग नियोगको आधिकारीक धारणा व्यक्त गर्दैन । )

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service