मोदीलाई बागमतीमा नुहाउने इच्छा जागोस्!

विनय गुरागाईं-  पत्रकारितामा स्नातकोत्तर सहपाठी साथी सवीना कार्कीले एकसाँझ ट्वीट गरिन् ‘हे भगवान मोदीलाई बाग्मतीमा स्नान गर्ने इच्छा जगाइदेउ प्रभु:)’ । त्यही ट्वीटको प्रेरणा हो, यो लेख । सार्क लक्षित विकास, नरेन्द्र मोदी केन्द्रित आमसञ्चार गतिबिधिमाथि आम नागरिकका मनमा रहेका मुर्खतापुर्ण भावको संग्रह हो यो लेख ।

सार्क सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने पक्का जस्तै भएपछि अनेक अड्कलबाजीले बजार तातेको छ । एकथरी अड्कल अनुसार भारतसँगको सिमाबजार सीतामडीबाट मोदी मोटरमा जनकपुर आउँदैछन् । अड्कल सत्यताको नजिक हुनसक्छ । जनकपुरमा मोदीले धार्मिक बिचरणका अतिरिक्त आम नागरिकलाई सम्बोधन गर्नेछन् भन्ने अड्कलले समाचारहरुमा स्थान पाएका छन् । सार्वजनिक बिद्यालयमा पढ्ने ३ सय छात्राहरुलाई साईकल बाँड्ने कुरा मोदीको जनकपुर भ्रमण तालिकामा समेटिएको छ ।

सार्क सम्मेलनमा भाग लिन आउँदा द्विपक्षीय कुटनीतिक सम्बन्धलाई नै प्रभाव पार्ने गरी हुन लागेका प्रस्तावित मोदी गतिबिधीले ‘सुको’ सरकारलाई असमञ्जसमा पारेको छ । हेर्नुछ सुको सरकारले यो असहज परिस्थितीको सामना कसरी गर्नेछ ।

जनकपुर मात्र हैन, काठमाण्डौपछि मोदी लुम्बिनी जाँदैछन् । अड्कल काट्नेहरु भन्छन्, त्यहाँ पनि मोदीले जादुमयी भाषण गर्नेछन् । उनले त्यहाँ भाषण गरिहाले भने एउटा कुरा उनको भाषणमा छुट्नेछैन । अन्य थुप्रै गुलिया र मिडियाले मनपराउने कुराहरुको अतिरिक्त बुद्ध नेपालको यही भुमिमा जन्मेको भनिकन मोदीले, बुद्धलाई भारतले आफ्नो बनायो भनेर बर्षौदेखि रुवाबासी गरिरहेको अधिकांश नेपालीलाई फेरी भावुक बनाउनेछन् ।

त्यसपछि मोदी मुक्तिनाथ जानेछन् । त्यहाँ पनि केही त्यस्तो गतिबिधि गर्लान् जसले उनलाई मिडियामा छाईरहनबाट कसैले रोक्न सक्नेछैन । समाचारहरुले भन्छन्, मोदी अबश्य पशुपतिनाथ दर्शन गर्न पुग्नेछन् । त्यहाँ भब्य पुजापाठ हुनेछ । पशुपतिमै पुगेपनि त्यसको नजिकै रहेको बागमती नदी मोदीको प्राथमिकतामा पर्नेछैन । किनकी त्यो दुर्गन्धित ठाउँ हो ।

सत्तामा पुगेपछि कुनै पनि राजनेतालाई आन्तरिक दलीय गन्ध बाहेक अन्य दुर्गन्ध मन पर्दैन । तर पशुपतिमै पुगिसकेपछि त्यसैको किनारमा रहेको बागमतीमा मोदीलाई पुर्याउन सके बागमती पनि सफा हुने थियो की भन्ने सविनाको भावना निस्वार्थ छ ।

सविनासँगै हामी सबैले कामना गरौ, मोदीलाई आजदेखि सार्क सम्मेलन हुनेबेलासम्म पबित्र बागमतीमा नुहाउने इच्छा जागोस्, तिब्र होस् र त्यो चाहना छिट्टै नेपालसामू  कुटनैतिक ढंगले अभिव्यक्त गरियोस् । यदि त्यसो भयो भने उनको चाहना पुरा गर्नलाई भएपनि बागमती नदी रातारात सफा हुनेछ । मिनरल वाटरका जारहरुबाट भरेरै भएपनि बागमतीले निलो र संङलो पानी देख्नेछ । त्यस्तो होस् ।

मोदी सडकमार्गबाट नेपाल प्रबेश गर्ने सुनेपछि सार्क सम्मेलन लक्षित मौसमी विकास काठमाडौंबाट जनकपुरतिर पुगेको छ । समाचार अनुसार सीतामडीबाट जनकपुर पुग्ने सडकमार्गले काँचुली फेर्दैछन् । सशस्त्र द्वन्द्व तथा मधेश आन्दोलनपछि लगभग चर्चाशुन्य र ओझेलमा परेको जनकपुरले मोदीका कारण एकपटक फेरि चर्चा बटुलेको छ । बर्षौदेखिका सडक खाल्डाहरु पुरिने र जनकपुरले मुहार फेर्ने आशा चुलिएको छ । कुनै भवितब्यले मोदीलाई जनकपुर जानलाई रोकेन भने त्यहाँको रुप फेरिनेमा शंकै नगरौं । त्यसबाट बेफाइदा कसैलाई हुनेछैन । नेपालको एउटा पवित्र धार्मिकस्थल जनकपुरलाई बिगतमा गुमेको शाख फिर्ता पाउनका लागि यो एउटा मौका हुनेछ । कामना गरौं मोदी जसरी पनि जनकपुर जाउन । जनकपुर हामी सबैको हो, त्यो पहिले जसरी नै चर्चित, पबित्र धार्मिस्थल रहिरहोस् ।

बागमतीको फोहोर र ढल मिश्रीत लेदोले नपिरोल्ने कोही छ होला त ? हुनसक्छ भनेर कल्पना मात्र पनि नगरौं । बागमती सफा होस्, त्यहाँको पानी सङलो, निलो र स्वच्छ होस् भन्ने चाहना मुख्य सचिब लिलामणी पौडेलसँग मात्र छैन । तर दुर्भाग्य, सभ्य शहरबासीका असभ्य व्यवहारले मर्माहित भएको बागमतीको सफाई साप्ताहिक शनिबारे प्रयासले मात्र सम्भव होला जस्तो लाग्दैन । यसको सफाईका लागि तीव्र सफाई अभियान चलाउनु आवश्यक छ । जुन कुरा त्यतिबेलामात्र सम्भव हुन्छ जतिबेला मोदीले बागमतीमा नुहाउने ईच्छा व्यक्त गर्नेछन् भन्ने भावलाई व्यंग मिश्रीत यथार्थ अभिव्यक्ति मान्नुलाई अन्यथा भनिहाल्न मिल्दैन । फेरि पनि आशा गरौं मोदीलाई बागमतीमा नुहाउने ईच्छा जागोस् ।

सार्क सम्मेलनको अवसरमा धेरै असम्भव कुराहरु पनि सम्भव हुदैछन् । सार्क राष्ट्रका प्रमुखहरु हिड्ने सडकमा रातारात रुख उम्रिएकामात्र छैनन्, हुर्किनै सके । सडक फराकिलो भईनै सक्यो । अँध्यारो काठमाण्डौ सडक बत्तिले झलमल्ल बनिनैसक्यो । सडक धुलाम्य र उराठलाग्दो थियो, हरियाली छाईसक्यो । धुलाम्य सडकले उठिबास होला की भनेर अत्तालिएका घरधनीहरु सडक रंगाउन समेत पाएकोमा दंगछन् । अझैसम्म धुलाम्य केही सडकहरु पानीले पखालेर भएनी केही दिनका लागि धुलो रहित हुनेछन् । कच्ची विकास नै सही काठमाडौंले काँचुली फेरेको झल्को दिनलाई नवनिर्मित हरियाली, चिल्ला र चौडा सडक उदाहरण बन्नेछन् । ती सडकमा मोदी लगायत अन्य सार्क देशका प्रमुख, कुटनीतिज्ञ, बुद्धिजीबी र पत्रकार हिड्नेछन् । वाह, काठमाडौं । विकास नै गर्नुछ भने हरेक बर्ष हैन हरेक महिनाजसो सार्क सम्मेलन गरौं । यो पनि कामना गरौं ।

केही निश्चित ठाउँकै सही, सार्क सम्मेलनको मुखमा भैरहेको तीब्र बिकासले आम नागरिकको मनमा कैयौ प्रश्नमात्र जन्माएको छैन सरकारप्रति बिश्वास गर्ने वातावरण पनि सिर्जना गरेको छ । सरकारले विकास गर्न सकेन वा भौतिक पुर्बाधार बिकासलाई प्राथमिकतामा राख्न सकेन, सरकार गरिब छ, नागरिकबाट कर लिन्छ तर करको सदुपयोग हुँदैन भन्ने आमनागरिक बुझाईलाई गलत साबित गरिदिएको छ । सरकारले चाह्यो भने रातारात सडक फराकिला हुन्छन् । समृद्ध शहरका सूचकहरु रातारात तयार हुन्छन् । बाँझो जग्गामा हरियाली छाउँछ ।

लोडसेडिङले आक्रान्त मुलुकका सडकहरु सोलार बत्तिले झलमल्ल हुन्छन् । चिल्ला र फराकिला सडक देखेर शहरबासी दंग पर्छन् । अग्ला र ठुलठुला व्यवसायिक भवनले सडकको कुरुपता अभिव्यक्त गरेपनि समृद्धि र विकासका पर्याय तिनै महल, त्यहाँ खुलेका मल, सिनेमाहल, होटल, रेष्टुँरा, फुडकोर्ट, र त्यहाँ रमाउने मान्छेले दिईरहेका हुन्छन् ।

बर्षौदेखिको पछौटेको परिचय रातारात आधुनिक र भब्य शहरबासीमा बदलिन सक्छ । र यो सबै हुन सम्भव छ । अहिले भैरहेको सार्क सम्मेलन लक्षित विकास गतिबिधिले केही बिश्वास जगाएको छ त्यस्तो हुन्छ र त्यो हाम्रै सरकारले गर्न सक्छ भनेर । सार्कको मौकामा असम्भव काम पनि सम्भव गर्नसक्ने गर्नसक्ने सुको सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बागमती नुहाईदिनका लागि मनाउन सक्दैन होला भनेर कसरी पत्याउने ? सरकारले सकेन भने पशुपतीनाथलाई गुहारेर भएपनि त्यसो गरोस् ।

साथसाथै प्रश्नहरु पनि थुप्रैछन् । सार्क सम्मेलन लक्षित विकासलाई कच्ची विकास वा सार्के विकास भनेर लाग्ने गरेका आरोपहरु सिर्फ आरोपमात्र हैनन् । हतारको काम लतरपतर भन्ने भनाईलाई पुष्टि गर्नलाई अहिले भैरहेको विकासे गतिबिधि पर्याप्त उदाहरण बन्ने संभावना बलियो छ । जसरी बिकास भैरहेको छ त्यसको स्थायित्वलाई लिएर सरकारप्रति औंला सोझिएका छन् । सबभन्दा डरलाग्दो संभावना त के छ भने भ्रष्टाचारको आरोपमा दिनदिनै कर्मचारीहरु पक्राउ परिरहेको अहिलेको अबस्थामा सार्क सम्मेलन लक्षित विकासको मौकामा कमिशन र भ्रष्टाचार मौलाएन होला भनेर पत्याउने वातावरण अहिले छैन । सार्क सम्मेलनमा सुको सकारको भुमिकालाई लिएर त अनगिन्ती प्रश्न छँदैछन् । र पनि, सार्क सम्मेलन सफल होस् ।

लेखकलाई ब्लगमा र ट्वीटरमा भेट्न सकिन्छ ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service