साहित्यबारे ब्लगिङ गर्ने हो भने विश्व र स्थानीय साहित्यका बारेमा रुचि र जानकारी हुनपर्छ : ऋचा भट्टराई

आफ्नो रुचि 'पठनपाठन, लेखन र आमसंचार' बताउने ऋचा भट्टराईलाइ देख्नेहरु मध्ये धेरैले 'पढन्ते'को संज्ञा दिन्छन् रे । ऋचा यो कुरा स्विकार्दै भन्छिन 'हो, साँच्चै म त्यही नै हुँ' । अंग्रेजी साहित्य र आमसंचारमा पढाई सकिएपछि हाल उनी काम पनि त्यही क्षेत्रमा गर्दैछिन् । 'खुशी'लाई नै सर्वोपरी मान्ने ऋचा ट्विटर, र फेसबुकमा मात्रै सक्रिय छैनन् ब्लगिङमा पनि उत्तिकै पोख्त छिन् । डेभिलएन्जेल नामक उनको ब्लगमा खुसी र प्रेमका थुप्रै कुराहरु पढ्न पाइन्छ र उनी भन्छिन पनि ' त्यसकै खोजीमा भौतारिइरहन्छु।' मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै ऋचासंग कुराकानी गरेका छौँ । प्रस्तुत छ प्रकाश लामिछानेले गरेको कुराकानी :

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?

ब्लगरमा रुपमा आफ्नो परिचय दिन पाउँदा खुशी लाग्छ । आफुलाई सोसल मिडियामा त्यसैगरी चिनाउने नगरे पनि आफ्नो ब्लगको लिंक भने राखिरहेकी छु ।

 आफ्नो ब्लगको बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न ।

मैले ब्लग सुरु गरेको विदेश बस्ने मेरी दिदीका कारण हो । त्यतिखेर उहाँ अमेरिकामा हुनुहुन्थ्यो र मेरा लेख रचना पढ्न पाउनु हुन्नथ्यो । त्यसैले मेरा लेखनीहरु वहाँले र मेरा मिल्ने साथीहरुले सजिलै पढ्न पाउन् भनेर मैले ब्लग खोलेँ । अहिले पनि मेरो ब्लग मेरा प्रकाशित रचनालाई एकत्रित गरेर राख्ने माध्यम बनेको छ । पहिला छरपष्ट हुने रचना अब मितिसहित ब्लगमै सम्मिलित हुन्छन् । मेरो ब्लगमा विभिन्न विषयवस्तुमा आधारित कथा, कविता र लेखकै बाहुल्यता छ ।

 ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

मैले २०११ को फेबु्रअरी देखि ब्लगिङ शुरु गरेपनि त्यो वर्ष खासै सक्रिय भइन, २०१२ मा भने मैले यसलाई राम्रो निरन्तरता दिएँ ।

 ब्लगिङ किन गर्नुहुन्छ?

मेरा रचना मैले खोजेका बेलामा सहज ढङ्गले भेटाउन र मेरा रचना देशबाहिर रहनुभएका साथीहरुले पनि सजिलोगरि पढ्न पाउनुहोस् भन्नका निमित्त म ब्लगिङ्ग गर्छु । खासमा त धेरै भन्दा धेरै पाठकमाझ सदाका लागि कुनै लेख रहोस् भन्ने चाहना छ भने त्यसका लागि यही नै उत्तम उपाय हो । एउटी शोध गर्ने बहिनीले मेरो एउटा पुस्तक समिक्षा मागिरहेकी थिइन् तर मेरो कम्प्युटरमा त्यो थिएन, मैले पहिले नै ब्लगमा पोस्ट गरेकी रहेछु, त्यसले गर्दा हामी दुवैलाई सजिलो भयो ।

 कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन?

मेरा विषयवस्तु आफ्नै उमेर, स्वभाव, भोगाइ र परिवेशका प्रतिविम्ब हुन् । प्रेम कविता, किशोरावस्थाका कथा, महिला हुनुका व्यक्तिगत भोगाइ, परिवार, समाज र सम्बन्धबारे मेरा विचार, कृति समिक्षा र सामाजिक विवेचना – मेरा ब्लगमा समाविष्ट हुने विषयवस्तु यिनै हुन् ।

 तपाईंको ब्लगमा साहित्य र पुस्तक समिक्षाहरु धेरै रहेछन् । किन साहित्यलाइ नै मुख्य बिषयबस्तु बनाउनुभयो?

मेरो जिन्दगीको एउटा लक्ष्य सकेसम्म धेरै पुस्तक पढ्नु हो । मेरो मनोरञ्जनको प्रमुख श्रोत यही हो । पढिसकेपछि त्यसको समिक्षा लेख्न मेरा औँला सकसकाइहाल्छन्, पुस्तक पढेर आफुमा उब्जेका भावना अरुसँग बाँड्न मनलागिहाल्छ । त्यसैले नै मेरा ब्लगमा अत्यधिक मात्रामा कृति समिक्षा नै हुने गर्छन् । मैले समिक्षा लेख्न थालेको १० वर्ष बढी भएकोले पनि अब त बानी परिसक्यो ।

 हामीकहाँ साहित्यका ब्लगहरु धेरै नै पाइन्छन तर अधिकाँश साहित्यका ब्लगहरु आत्मरतिमा रमाउने गरी लेखिएका, पाठकका लागि भन्दा पनि मनको बह पोख्न कै लागि लेखिएका हुन्छन भनेर सामाजिक संजालमा आलोचना पनि हुन्छ सर्जकको । किन होला?

साहित्यिक लेखक, वा प्रायः सबै लेखक, आत्मरतिमा रमाउँछन् भन्ने कुरा साँचो हो । बेलाबखत यस्ता लेखको खुबै आलोचना भएको पनि देखेकी छु, शायद पाठकलाई चित्त नबुझेरै नै त होला । तर म भने जस्तोसुकै साहित्यिक लेखनको पनि समर्थन गर्दछु । कसैलाई कुनै पीर मर्का नपुर्‍याइ लेखकले आफ्ना भावना पोख्न वा विचार राख्न ब्लगलाई प्रयोग गरेको छ भने त्यो सह्रानीय कार्य हो । कुकार्यमा संलग्न हुनु वा व्यर्थै समय कटाउनु भन्दा त आत्मरतिमा रुमल्लिएको कता हो कता बेस हुन्छ । यो मानिसको व्यक्तिगत प्रयास भएको हुँदा आफुले चाहेजस्तो सामग्री राख्न पाउनुपर्छ र अरु कसैले यसमा हस्तक्षेप गर्नुपर्छ जस्तो मलाई लाग्दैन । तर आफुले सामग्री राखिसकेपछि चाहीँ यसको समालोचना बेहोर्ने पनि हिम्मत राख्नुपर्छ ।

 साहित्यबाहेक तपाँइको अर्को रुचीको बिषय चाँही केहो ब्लगिङ गर्नका लागि?

मलाई सामाजिक विषयवस्तुले तान्छ । यसैगरी मानव सम्बन्ध र व्यवहारका बारे लेख्न पनि मनपर्छ । घुमिफिरि आएर मेरा रचना प्रेम मै आएर अड्किन्छन् । सायद उमेरले हो कि?

 हरेक मानिसको मनमा कुनै न कुनै भाव तरंगित भैरहेको हुन्छ तर लेख्नका लागि शब्द भेटिँदैनन । साहित्यिक अभिव्यक्तिका लागि भाषा बलियो हुनैपर्छ भने लेखाइपनि शिर्जनशिल (Creative Writing) हुनैपर्छ भनिन्छ । शिर्जनशिल लेखाइ कसरी आउँछ?

मेरो विचारमा सिर्जना कि त जन्मजात पाइने एउटा वरदान हो, या त कठिन परिश्रम पश्चात आर्जन गरिने उपलब्धि । मेरा सिर्जना अनुशासन र वर्षौँको अभ्यासका प्रतिफल हुन् । म १०/११ वर्षकी हुँदा देखि मैले दिनदिनै कुनै विषयमा केही कोरेर बुवालाई देखाउनुपर्थ्यो । पुस्तक पढिसक्ने बित्तिकै त्यसबारे आफ्नो टिप्पणी तयार पार्नुपर्थ्यो । ती दिनमा त मलाई यी काम झन्झटिला लाग्थे र नगर्न पाए पनि हुन्थ्यो, वा बुवाले बिर्सिदिनु भए पनि हुने, जस्तो लाग्थ्यो । तर अहिले सोच्दाखेरि यो नै मेरो लेखनको शुरुवात थियो । म भित्र हुँदै नभएको लेखन प्रतिभा र सिर्जनशिलतालाई दु:ख गरेर बुवाले हुर्काउनुभयो । त्यसैले मलाई लाग्छ, सिर्जनशिलता कोही विशिष्ट व्यक्तिको पेवा होइन, यो त सबैतिर व्याप्त तर सही पहिचान वा उपयोग नभएको वस्तु हो ।   

 साहित्यका कुरा र शिर्जनशिल लेखाइमा रुची राख्ने ब्लगरले जान्नै पर्ने कुराहरु के के हुन्?

यस्ता ब्लगरले अलिअलि आफ्ना पाठकका बारेमा पनि सोच्नैपर्छ । पाठकले रुचाउने जस्ता खुराक प्रस्तुत गरे मात्र ब्लगको आकर्षण बढ्ला । यसैगरी कति ब्लगमा वर्णविन्यास र हिज्जे समेत बिगारेर बेवारिसे रचनाहरु पोस्ट गरिएका हुन्छन्, यस्ता ब्लग त पढ्नै मनलाग्दैन । साहित्यबारे ब्लगिङ गर्ने हो भने विश्व र स्थानीय साहित्यका बारेमा रुचि र जानकारी अवश्य हुन पर्छ, र सिर्जनशील लेखक हुनका लागि पर्याप्त कल्पनाशक्ति हुनु आवश्यक छ ।

 

तपाँइका आधा भन्दा बढि ब्लग पोष्टहरु अँग्रेजीमा लेखिएका छन् । नेपालमा अँग्रेजी ब्लगका पाठकहरु कति छन्?

मेरो अनुभवले अंग्रेजी ब्लगका पाठकहरु थोरै रहेको देखाउँछ । नेपालीमा रचिएको लेख, कविता र कथाले थुप्रै प्रतिक्रिया र टिप्पणी पाउँछन् भने अंग्रेजीका ब्लगको कतै कसैले कुरै गर्दैन । तर त्यसो भन्दैमा हरेस खानुपर्ने स्थिति छैन । विशेषगरी देश बाहिरका नेपालीले अंग्रेजीका सामग्री पनि पढ्ने र यसमाथि आफ्नो विचार प्रस्तुत गर्ने गर्दछन् ।

 तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

म कुनै किसिमको गतिशीलता र अभिवृद्धिलाई सकेसम्म सकारात्मक रुपले हेर्ने हुँदा ब्लग र सोसल मिडियामा नेपाली सहभागितालाई पनि राम्रो मानेकी छु । कतिपयले यसलाई मनोरञ्जनको साधनका रुपमा मात्र प्रयोग गर्नाले आलोचना हुने गरेको छ, तर मलाई त्यो पनि बेठीक लाग्दैन । सबैको रमाइलो गर्ने आ–आफ्नै शैली हुन्छ । मलाई आपत्ति हुने भनेको ब्लग वा सोसल मिडियामा दिनरात अश्लील र द्विअर्थी कुरा लेख्ने जमातसँग मात्र हो । त्यसबाहेक राम्रा ब्लगर आउँदैछन्, अन्य सञ्चार माध्यममा ठाउँ नपाएका विषयलाई यहाँ प्रस्तुत गर्न सकिन्छ । यसै मार्फत नयाँ विचार र विवाद जन्मन्छन्, त्यो सबै प्रगति हेर्न लायक छ । तर दुःखको कुरा के हो भने एक–दुईवटा राम्रा सामग्री प्रस्तुत गरिसकेपछि ब्लगरहरु हराउँछन् र यसलाई निरन्तरता दिँदैनन् ।

 अरुका ब्लग कत्तिको पढ्नु हुन्छ? प्राय पढने ब्लगहरु?

यो कुरामा म अल्छी छु । म आफ्नी दिदीको sewasmusings.blogspot.com र पारिवारिक सदस्यको ब्लग बाहेक कुनै पनि ब्लग नियमित पढ्दिन । तर कसैले कुनै रचनाको लिङ्क राखेको छ भने चाहीँ तुरुन्तै हेरिहाल्छु । त्यसैले ब्लगको नाम भन्दा पनि ट्विटर/फेसबुकका साथीहरुको नामका कारण बढी पढ्छु । प्रकाश सुबेदी, लेनिन बञ्जाडे, श्वेता ज्ञानु बाँनिया, युक्ता बज्राचार्य, प्रतिभा तुलाधर, विनिता दाहाल, सीपी अर्याल, आदिका ब्लगमा केही अपडेट भएको जानकारी पाए पढ्छु । मलाई महिला साथीको ब्लगमा विशेष रुचि छ, त्यसमाथि पनि सामाजिक विषयवस्तु भएको । एकताका म नेपालीकेटी ब्लग खुब पढ्थेँ । माईसंसार पनि बेला बेला पढ्दै गर्छु । कहिलेकाहीँ यत्तिकै भेटिएका सुन्दर ब्लगहरु पढेर आनन्द आउँछ । पछि फर्केर सबै पढ्छु भन्ने सोच्छु, तर त्यो कहिल्यै पुरा हुँदैन ।

 विशेष गरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?

मलाई नारी लेखनले नै सबैभन्दा बढी आकर्षित गर्छ, शायद यसमा आफ्नै प्रतिबिम्ब पाइने भएर होला । मलाई राजनैतिक विषयवस्तु उतिसारो मनपर्दैन, सबै पत्रपत्रिकामै पढिसकिने हुनाले यो दोहोरिएको झैँ लाग्छ । तर आफ्नै तरिकाले समसामयिक मुद्दाको विश्लेषण गरेको रोचक लाग्छ । मलाई पढ्न सहज, एकै बसाइमा भ्याइने कथा, कविता र रचनाले तान्छन् । कसैले अति सामान्य रुपमा आफ्ना भावना पोखेको छ भने लेखकको  चरित्र र परिवेश बुझ्ने अवसरका रुपमा लिन्छु ।

 ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

आचारसंहिता हरेक क्षेत्रका लागि राम्रै हुन्छ, यसले ब्लगिङलाई मर्यादित र व्यवस्थित बनाउन सहयोग गर्ला । म आचारसंहिता बन्नुपर्छ र लागु हुनुपर्छ भन्ने पक्षमा नै छु । तर यस्ता आचारसंहिता कसले बनाउने, कसरी र कसले लागु गर्ने, कसैले पालना नगरेमा के र कसरी दण्ड दिने, भन्ने चाहीँ विचारयोग्य छ ।

 अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ?

मैले हेर्ने गरेका ब्लगहरुमा पालना गरेकी नै पाएकी छु, किनभने उहाँहरु मौलिक सिर्जना राख्नुहुन्छ, जुन सबैभन्दा महत्वपुर्ण आवश्यकता हो । तर यसको पालना नगर्ने ब्लगर पनि छ्यापछ्याप्ती भेटिन्छन् । एकचोटि एकजना ब्लगरले पत्रिकामा छापिइसकेको सामग्रीलाई अलिकति परिवर्तन गरेर आफ्नै रचना जस्तो गरि प्रस्तुत गरको पाएँ । तिनले त आफ्नो ब्लगको माथिल्लो भागमा लेखकलाई श्रेय नदिइकन एउटा उक्ति राखेकी थिइन् । यस्तो चोरी, चाहे अन्जानमै गरिएको होस्, त्यसले लेखकलाई असाध्यै पीडा दिन्छ । त्यसैले ब्लगरले कहीँ कसैको रचना श्रेय नदिइकन साभार गरे त्यसलाई ठुलै गल्तीको रुपमा लिइनैपर्छ । यसबाहेक कुनै ब्लगहरुमा मनलाग्दी कुरा लेखिएका हुन्छन्, कसैलाई गालीगलौज गर्ने प्लयाटफर्मका रपमा लिइएको हुन्छ, यो पनि डरलाग्दो प्रवृत्ति बन्दै गइरहेको छ । मलाई ब्लग भन्दैमा मानिसले वाक्य बनोट वा विन्यास आदिमा ध्यानै नदिइकन जस्तो पायो त्यस्तो रचना गरेको पनि मनपर्दैन । माध्यम अनौपचारिक भए पनि यसले लेखकको असली शैली देखाउँछ ।

 ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।

मेरा ब्लग पढेर मलाई पाँच–छ जना (चिनेका र अपरिचित) साथीले 'तपाईँ प्रेममा पर्नुभयो ?' वा 'तपाईँ  प्रेमवियोगमा हुनुहुन्छ ?' भनेर सोधि सक्नुभयो । यसको उत्तर दिन खोज्दा मलाई एक्लै हाँसो उठ्छ । मैले कुनै वियोगान्त आख्यान राख्ने बित्तिकै एकजना दाइले आएर 'ऋचा, जीवन यस्तै हो, विचलित नहोउ, अवश्य तिम्रा पनि राम्रा दिन आउँछन् । तिम्रो घरमा बिहेको कुरा चलिरहेको छ हो ? चिन्ता नगर, सबै ठिक हुन्छ, हामी मिलेर यसको हल गर्नुपर्छ,' जस्ता टिप्पणी दिइहाल्नुहुन्छ । एक हिसाबले त उहाँको मप्रतिको चिन्ता देखेर राम्रो लाग्छ भने कति गर्दा पनि वहाँले तिनलाई कल्पनाको उपज नमान्नुभएकोमा अचम्म पनि लाग्छ ।

 तपाईँको ब्लगका भिजिटर कति छन्, ब्लगमा गरिएका कमेन्टहरु हेर्दा त निकै छन् जस्तो छ नि !

मेरो ब्लग अहिलेसम्म लगभग ३०,००० जनाले हेरिसक्नुभएको छ । नेपाली रचनामा ४–५०० भिजिटर हुनुहुन्छ भने अङ्ग्रजीमा २००–३०० । त्यसबाहेक नियमित रुपमा ब्लग पढ्ने, त्यसमा कमेन्ट गर्ने र मलाई सल्लाह दिने भने सानो परिचित जमात छ ।

 तपाइ सोसल मिडियामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो?

मलाई लाग्छ, ट्विटर प्रायः मानिस मनोरञ्जन, व्यक्तिगत प्रचार, र आपसी सम्बन्ध बढाउनका लागि गर्छन्, किनभने यसमा एक अर्कासँग चिनापर्ची हुनु निकै सजिलो छ । यसले गर्दा आफ्ना व्यवसायिक सम्बन्धहरु पनि सुदृढ भएको देख्छु । आफ्ना मनमा लागेका विचार तुरुन्तै लेख्ने र कुराकानी थालिहाल्ने थलोका रुपमा ट्वीटर अत्यन्तै उपयोगी छ । फेसबुक चाहीँ मुख्यतः पुराना साथीहरु वा परिवारसँग सम्बन्ध बनाइराख्न, आफ्ना जीवनका घटनाबारे जानकारी साट्ने उपयुक्त थलो हो । जसले यी दुई मिडियाबाट फुर्सद पाउँछ, र जसलाई लेखनमा अलि बढी नै रुचि छ, तिनले मात्रै ब्लगिङमा ध्यान दिन्छन् । कतिपयको फेसबुक र ट्वीटरमा कस्ता सुन्दर उद्गार हुन्छन्, तर तिनको सङ्ग्रहित वा विस्तृत स्वरुप कहिल्यै पढ्न पाइदैँन । यी फेसबुक र ट्वीटर साहित्यमै मस्त हुन्छन् । जसले अलि बढी समय दिएर, विचारलाई एकत्रित गरेर, कुनै विषयवस्तुमा मौलिक विचार प्रस्तुत गर्न सक्छ, उनीहरु नै ब्लगर हुन्छन् ।

 नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ?

यिनको मात्रा थोरै भए पनि सामाजिक हितमा लेखिएका ब्लग पनि पाएकी छु । अरुलाई सचेत तुल्याउने, केही नयाँ कुराको जानकारी दिने, आफ्ना अनुभव साटासाट गरेर पाठकलाई पनि ब्लगमा सम्मिलित गराउने लेखकहरु छन् ।

 तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो?

सबैभन्दा रुचाइएका रचना अङ्ग्रेजीमा Me You भन्ने कविता र नेपालीमा मेरो बुवासँगको वार्तालाप 'बाबु, छोरी र जिन्दगी' हुन् ।

 ब्लगिङ गरेर के यो पाएँ वा यो गुमाएँ भन्ने केही छ?

ब्लगिङ गरेर कहिल्यै केही गुमाएँ जस्तो त लाग्दैन । बरु थुप्रै नयाँ पाठक, समिक्षा, सल्लाह र सुझाव पाएँ जस्तो लाग्छ ।

 ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

कतिपय अवस्थामा ब्लगिङ साँच्चै नै नागरिक पत्रकारिता हो । मुलधारको संचार माध्यममा नसमेटिएका वा आँखामा नपरेका विषयवस्तुलाई तत्कालै प्रवाहित गरेर ब्लगिङले जानकारी र खबरदारी दुवैको काम गरिरहेको हुन्छ ।

 अन्त्यमा,

मेरो रिपोर्टले नेपाली ब्लगहरुलाई यसरी प्रोत्साहित गर्नु प्रशंसायोग्य काम हो । पहिला पनि मैले धेरै 'ब्लगर अफ त विक'को बारे पढिसकेकी छु, कत्ति ब्लगहरु बारे यहीँबाट थाहा पाएकी हुँ । मेरो रिपोर्टले आफ्नो कार्यको बारे अझ बढी प्रचारप्रसार गर्नु आवश्यक छ जस्तो लाग्छ, जसले गर्दा अरु साथीले पनि नेपाली ब्लगहरुको बारे थाहा पाउन्, र युवा पुस्ताका थुप्रै थुप्रै अङ्ग्रेजी ब्लग भएकाले गर्दा तिनलाई पनि समेट्दै लानुपर्छ । यो अवसर दिनु भएकोमा मेरो रिपोर्टको टोलीलाई धेरै धन्यवाद ।

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Kashiram Dangi on April 24, 2013 at 11:10am

good.

Comment by Tek Raj Bhandari on April 21, 2013 at 8:40am

Congratulation Hricha G

Comment by Pagal Basti on April 20, 2013 at 12:36pm

बधाइ हाम्रा तर्फ बाट पनि

Comment by Lava Kafle on April 19, 2013 at 3:12pm

wooooow

Comment by Kanti Adhikari on April 18, 2013 at 11:00am

Congratulation Dear...........:)

Comment by Prakash Lamichhane on April 17, 2013 at 8:13pm

Congratulations Richa ji :) 

Comment by pawan neupane on April 17, 2013 at 3:15pm

हार्दिक बधाई ऋचा जी, अन्र्तवार्ताबाट धेरै कुरा जानकारी भयो । ब्लग पनि हेर्ने अवशर जुर्यो :):)

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service