नेताको चश्मा

पुष्पकमल दाहाल, सुशील कोइराला, झलनाथ खनाल, केपी ओली, शेर बहादुर देउवा, रामचन्द्र पौडेल, बिजय गच्छदार, राम बहादुर थापा, सुर्य बहादुर थापाका बीचमा समानता केही छ भने त्यो हो सबैको आँखामा हरदम चश्मा झुन्डिरहन्छ । माधव नेपाल, बाबुराम भट्टराई, महन्थ ठाकुर, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादव सधैभरी चश्मा झुन्डाउने नेताभित्र पर्दैनन् तर उनीहरु चश्मै नलाउने भने हैनन् ।

झलनाथ, सुशील र प्रचण्डको चश्माले नजिकबाट देखेको र भोगेको अर्को समानता हो चड्कन । उनीहरु तीनैजनाका चश्मा मुन्तिरका चिल्ला गालामा (सुशीलका फुलेका दाह्री छन् प्रचण्डका तिलचामले घोप्टे जुंगा) तीन सर्वसाधरणका थप्पड जो परेकाछन् । उनीहरु तीनै जनाका चश्मालाई राम्ररी थाहा छ कुट्ने र कुटाई खाने कामले जनसमर्थन कही पाएको छ भने आफ्ना प्रीय नेताका गालामा बज्रिएको थप्पडले पाएको छ ।

कमजोर दृष्टिशक्ति भएका मनुष्यले चश्मा लाउनुको बाध्यत्मक फाइदा हो चश्माको सहायताले दृष्टिशक्ति सामान्य हुन्छ । तर चश्मा लाउनेमात्र हैन नलाउने नेताको पनि दृष्टि शक्ति असामान्य छ हामीकहाँ । नेताहरु चश्मा त थरीथरीका लाउँछन् तर दुःखको कुरा उनीहरु नजिक देख्दैनन् । उनीहरुका चश्माले यहाँबाट धेरै टाढा कि त दक्षिणको कि त उत्तरको जीनिस देख्छ । पहिलेपहिले त चश्माले एकतर्फी दक्षिणमात्र देख्थ्यो भने केही समय भयो उत्तरतीर पनि प्रतिक्षारत दृष्टि लाइरहन्छ । नेताको चश्मालाई नजिकबाट सुम्सुम्याउन पाएकाहरु भन्छन्, चश्माले कहिलेकाँही पश्चिमतीर पनि हेर्छ रे । अनि पुर्व? नेताका चश्माले अहिलेसम्म पुर्व हेरेका छैनन् ।

चश्मा फेसनको मानक पनि हो । तर नेताको चश्मा प्रायः पावरवाला हुने भएकोले फेसनको सेन्स गौण हुनु अस्वभाविक होइन । बेफाइदा अर्को पनि छ । त्यो के हो भने पावरवाला चश्मा लाउनबाध्य मनुष्यले कहिल्यै गगल्स लाउन पाउदैनन् । हेर्नेले भन्छन्, गगल्सले जस्तोसुकै थोपडालाई पनि राम्रो देखिन सघाउँछ । तर अहिलेका हाम्रा नेताको हकमा गगल्स लाउदैमा उनीहरुलाई आज कोही पनि 'ओए ह्याण्डसम' भन्ने मुडमा छैनन् ।

चश्मा छनौटको सवालमा नेताहरु बाठा पनि छन् । कुरा केपी ओली र बिजय गच्छदारको । पावरवाला नै भएपनि उनीहरु चेन्जेवल (आफ्नो बोलीजस्तै) ग्लास लाउँछन् । बिग्रेकै छवी भएपनि जनताको मुहारबाट कुराजस्तै अनुहार पनि ह्याण्डसम भैहाल्छ की चेन्जेवल ग्लासले भन्ने सोचेर होला । चश्मा लाएकै भरमा आफ्नो ह्याण्समनेस छवी नगुमाएका नेता अरु कोहीछन् भने ती हुन् राम बहादुर थापा बादल । सुशील दाको चश्माको मोडल पनि नराम्रोछैन । झलनाथको चश्माको त नकुरा गरुम । चश्मा छनौटका मामिलामा उनी जहिल्यै ह्याण्डसम । तिलचामले घोप्टे जुँगा भएका प्रचण्ड चश्मा लाएको बेला मुसुक्क हाँसे भने पुरुषलाई पनि भुतुक्कै पार्दिन सक्ने खुबी छ ।

चश्माले दृष्टिशक्तिमा परिवर्तन गर्ने हो न की बोली र ब्यवहारमा? नेताका चश्माको कुरा गर्दा छुट्याउन गाह्रो छ । कम्रेड झलनाथ खनालको चश्माले जस्तोसुकै अवस्थामा पनि आफ्नो अगाडि चट्टानी अडान देख्छ । त्यसैले होला प्रधानमन्त्रि हुँदा खनालले जहिल्यै भनिरहे परिवर्तनका लागि चट्टानी अडान फोडनैपर्छ । चश्मा नलगाएका बाबुरामले खनालको भनाईबाट सिकेर होला आज काठमाण्डौका सडक र महल फोडेरै छोडे भलै उनी नियमित चश्मा लाउनेमा पर्दैनन् । खनालको चश्माले आफ्नो पार्टीलाई हात्ति र पार्टी छोडेर जानेलाई हात्तिको आङको धुलो नदेखेको पनि होइन । झलनाथको चश्माले एकदिन यस्तो पनि देख्ला र त्यसै अनुसार उनले अभिव्यक्ति देलान्, 'आदरणीय जनसमुदायहरु अध्यक्षको टाउकामा अनगिन्ती रौहरु हुन्छन्, पुरै रौ झरेर खुइले नहोइन्जेलसम्म उसलाई चिण्डो भन्न मिल्दैन ।'

कुरा सुशील कोइरालाको । भाइटिकाको दिन उनी दिदीकोमा टिका लाउन गए । तिहारको बेला पत्रकारलाई समाचारको खडेरी पर्छ अनि उनीहरु नेताकै पछि लाग्छन् । कोइराला पनि के कम, भनिहाले आज मैले प्रजातन्त्रको लागि दिदीको हातमा टिका लगाए । कस्तो चश्मा लाएछन् कुन्नी उनले दिदीको हातको भाइटिकालाई पनि प्रजातन्त्रको टिका देखेछन् । तिहारपछि भने उनको चश्माले सिंहदरबार र बालुवाटारमात्र देख्न थालेको हल्ला छ बजारमा ।

केपी ओली सिकिस्त बिरामी भएर भर्खरै तङग्रीदैछन् । र पनि उनको चश्माले बालुवाटार देख्यो क्यारे आफ्नो सदाबहार शैलीमा कुर्लिन थालीहाले, बाबुरामका वकिलहरुले कानून पढुन् भनेर । उनको चश्मा पनि दमदार नै रहेछ, ओली आफैले नपढेको कानून देखेछ । हिजोआज बजारमा हल्ला सुनिन्छ ओलीको चश्माले पनि अहिले सिंहदरवार र बालुवाटार भित्रमात्र देख्छ रे ।

यत्रो चश्मा महिमामा प्रचण्डको चश्मा छुटाउने कुरै भएन । प्रचण्डको चश्माले जहिले आफ्नो अगाडि पोखरी वा स्विमिङ पुल देख्छ क्यारे, त्यसैले कम्रेड जहिले अग्रगामी छलाङ मार्ने कुरा गर्छन् । उनको चश्मा बडो रणनीतिक छ । एकपाईला अगाडि बढ्दा बाटोमा सर्प, अजिंगर, बाघ, भालु, केही देखिहाल्यो भने प्रचण्डको चश्मा चारकदम पछाडि सर्छ । जतिबेला बाटो खाली हुन्छ अनि उनको चश्माले कैयौ कदम अगाडिको बाटो समात्छ र त प्रचण्ड जहिले भन्छन् अगाडि छलाङ नमारेसम्म परिवर्तन संभव छैन । त्यसैले अग्रगामी छलाङ उनको रटान बन्छ ।

सुनिन्छ बिजय गच्छदारको चेन्जेवल ग्लास पनि हिजोआज प्रधानमन्त्रिको कुर्सिभन्दा अगाडि हेर्दैन रे । उनको चश्मा पनि चतुरताले भरिपुर्ण छ । अगाडि बढ्ने बाटोमा आप्mनै पार्टीका अगुवा वा सहकर्मीहरु बिरोधी छन् भने गच्छदारको चश्माले भन्छ 'अंशबण्डा गरेरै भएपनि नेताज्यू अघि बढौ, घर जलाएरै भएपनि अघि बढौ, सबै जल्यो भने अर्को घर बनाउला तर मौका गुमाउनु हुदैन । अरुकुरा तपशीलका हुन् ।' त्यसैले हिजोआज देशको शक्तिशाली कुर्सि झ्याप हानौला भन्ने दाउमा गच्छदारको चश्मा सक्रिय छ भन्ने हल्लाले सुशील र केपीहरुलाई चश्मा लाएरै सपना देख्न बाध्य बनाएको छ ।

र सारमा,

नेताहरुले जस्तोसुकै फ्रेम, जतिसुकै पावर, जस्तोसुकै स्टाइल र साइजको चश्मा लाएपनि सबैको चश्मामा समान गुण के छ भने उनीहरुको चश्माले सत्ताको कुर्सिमात्र देख्छ । सहमतिको मार्ग प्रशस्त देख्छ तर सहमति भएको देख्न चाहाँदैन । नेताको चश्माले अभावमा छट्पटिएका यो देशमा नागरिको निन्याउरो अनुहार देख्दैन, बेरोजगार युवाहरुको पत्रैपत्र भएर फुटेका ओठहरु देख्दैन, महंगीले दुब्लाएको चुल्हो देख्दैन, धारामा आउने फोहोर पानी देख्दैन, अस्पतालमा हुने राजनीतिक हस्तक्षेप र स्वाथ्यक्षेत्रको मनपरितन्त्र देख्दैन, स्कुलमा नीजिक्षेत्रको दलाली देख्दैन, सडकका खाल्डाखुल्डी र धुलोधुवा देख्दैन, पानीको अभावमा बाँझिएका किसानका खेतका गह्रा देख्दैन, मल नपाएर बाली सपार्न नसकेका किसानका आँसु देख्दैन । अरब खाडिमा पसिना बगाएर मृत्युको मुखमा पुगेका युवाशक्तिलाई देख्दैन, बिदेशी दलालको पञ्जामा देश बेचीएको देख्दैन । 

उल्टो सत्ता बाहेक नेताको चश्माले केही देख्छ भने त्यो हो, व्यापारीले कर छलेर दिएको कमिशन्, डनहरुले मान्छे अपहरण गरेर मागेको फिरौती, बिरामी हुदाँ उपचार गर्नलाई बिदेशका ठुला र महंगा अस्पताल, आफ्ना सन्तानका लागि बिदेशका महंगा स्कुल, महंगा कार, आलिशान बंगाला र रवाफिलो जीवनशैली । लोकतन्त्र, समाजबाद र साम्यबाद जुनसुकै वादको रटान रटेपनि हाम्रा नेताको चश्माले आजका मितीसम्म देखेको यही हो । भोलीको कुरा भोली नै गरौला ।

for more interaction follow me @binayaji

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service