मेरा ती महान गुरुहरु !

गुरु तिनी हुन् जसले ज्ञान दिन्छन् । साढे तीनदशक लामो जिवनयात्रामा मैले पाईलापाईलामा ज्ञान पाएको छु । यो अवधिमा भेट भएका, छोटो लामो संगत गरेकाजति सबैबाट मैले केही न केही सिकेको छु । त्यो सिकाईले सानो ठुलो कुनै रुपमा मेरो जीवनपथलाई स्पर्श गरेको छ । र म आज यहाँ छु ।

अहिले सम्झिन्छु सानो छँदा एकदिन मैले एकजना काकालाई वहाँकै अगाडि कुनै शब्दबाट नराम्रो कुरा भनेछु । त्यसदिन काका मेरो घरमा आउनुभयो । बुबा हुनुहुन्थेन । काकाले मेरो कर्तुत आमालाई सुनाईदिनुभयो । कुटो, कोदालो, हँसिया, खुकुरी, कुचो वा अन्य केही, कामकाजी आमाका हातमा केही न केही त हुन्थ्यो नै । काकाका कुरा सुनेपछी पनि आमाले मलाई गाली गर्नुभएन । नजिक आउनु भयो । माया गरेजस्तो गर्नुभयो । अनि कुचोको फेदपटीबाट पिँडुलामा सुम्लो उठ्ने गरी केही पटक ठटाउनुभयो । त्यो ठटाई निर्दयी नै थियो । त्यसैले धेरै दुख्यो पनि । तर त्यो दिनको ठटाईबाट मैले आफुभन्दा ठुलालाई अपमान गर्नुहुन्न भन्ने बुझेँ । त्यो दिन मैले जीवनको महत्वपुर्ण पाठ सिकेको दिन थियो । त्यो पाठ पढाउने मेरी आमा आजसम्म मेरा लागि महान गुरु हुनुभयो ।

मुल परेर जन्मेको सन्तानलाई बाउले हेर्नु हुदैन रे । मेरो बुबालाई आठबर्षसम्म मेरो हजुरबाले हेर्नु भएन । अर्थात बाल्यकालमा मेरो बुबाले कहिल्यैपनि आफ्नो बुबाको माया पाउनुभएन । र पनि बुबाले कहिल्यै गुनासो गर्नुभएन । हामीलाई हुर्काउन बढाउन सकेजती दुःख गर्नुभयो । अभावमा आत्तिनु भएन । पुगिसरी आउँदा आजका दिनसम्म पनि कुनैपनि दिन बुबा मात्तिएको मलाई थाहा छैन । दुःखमा आत्तिनु हुदैन र सुखमा मात्तिनु हुदैन । जानेको, सकेको र सानो होस् वा ठुलो अरुको नजरमा सम्मानित हुने गरी काम गर्नुपर्छ भन्ने व्यवहारिक शिक्षा सिकाउने महान गुरु मेरो बुबा हुनुहुन्छ ।

४७ सालमा गाउँमा बहुदल छि¥यो । बहुदलसँगै विकृति गाउँपस्यो । त्यतिन्जेल मिलेर बसेका गाउँले ४७ सालपछी कांग्रेस कम्युनिष्टका रुपमा खण्डित भए । पधेँरा छुट्टिए । स्कुलमा राजनीति घुस्यो । एकदिन एकजना साथीले मलाई सामुन्ने आएरै छेड हान्यो ‘तँ त पिँधविनाको लोटा होस् ।’ अर्कोले मुड्की उचालेर मेरो छातीमा ताक्यो । म शारिरीक र मानसिक हमलाको शिकार भएँ । साथीभाईबाट एक्लिएँ । हप्ता दशदिनसम्म बिक्षिप्त भएर बरालिएँ । अन्त्यमा त्यही मुड्कीले बजाउने साथीकहाँ गएर माफी मागे । गास छोड्नु साथ नछोड्नु भन्ने ज्ञान मैले तीनै साथीहरुबाट पाएँ । स्कुले जीवनका ती र त्यसदिन यताका सबै साथीभाई मेरा गुरु हुन् ।

२०५२ सालको अन्त्यतीरदेखि गाउँघरमा नयाँ चहलपहल शुरु भयो । हामी केटाकेटीका लागि ४७ सालमा गाउँ पसेको माले ४८ सालको चुनावसम्म आईपुग्दा एमाले भैसकेको थियो । ५२ सालमा गाउँमा माओवादी पस्यो । बन्दुकको बलमा क्रान्ति गर्नेहरु सलबलाए । गफैगफमा एकदिन दाजुले भन्नुभयो, ‘यो देशमा केही गर्नु छ भने कलमको सहायताले गर्नु बन्दुकले हैन ।’ तरबारभन्दा कलम बलियो भनेर स्कुले जीवनमा गरिएका बादविवादले तार्किक हुन सिकायो होला । तर बन्दुकभन्दा कलम बलियो भन्ने आशयको महत्वपुर्ण सन्देश त्यसअघि कहिँबाट पाईएको थिएन । दाजुको त्यही वाक्य मेरा लागि आजसम्म अमृतबचन भैदियो । त्यसैले मेरो दाजु मेरो लागि महान गुरु हुनुभो ।

मलाई रातोपाटीमा बाँसको भाटा समातेर बाह्रखरी सिकाउने अरु कोही नभएर मेरो बुवा हुनुहुन्छ । कापीमा कखग लेख्न मैले नेपाली शिक्षकबाट सिके । जसलाई अहिले पनि भेट्दा म गुरु भन्छु । पढाईको ढोका खोल्दिने मेरो बुबा र नेपाली शिक्षक कृष्णप्रसाद नेपाललाई आज गुरु पुर्णीमाको दिन नसम्झनु मेरो धृष्टता हुनेछ ।

चारकक्षा पढ्दा एकदिन मेरो टाउकामा नराम्रोसँग डस्टर बज्रियो । एकछिन रन्थनिएँ । आँखा खोलेर हेर्दा त्यहाँ कमला दिदी (म्याडम भन्ने चलन थिएन) हुनुहुन्थ्यो । राईकी छोरी त्यसमाथी रिसाको बेला । मैले नसोध्दै वहाँले मलाई डस्टरले पिट्नुपर्ने कारण बताउनुभयो । मैले मनमनै कसम खाएँ अबदेखि म कहिल्यै सार्वजनिक ठाउँमा फोहोरी शब्द बोल्नेछैन । वहाँले नै हामीलाई चारकक्षामा पुगेपछी एबीसिडी लेख्न सिकाउनु भएको थियो । तीनै एबीसिडीले आज आएर जीवन जिउन सहज बनाईदिएकाछन् । कमला दिदी मैले जीवनभर भुल्न नसक्ने मेरो महान गुरु ।

कुरो फेरी बाल्यकालकै । मकैबारी गोड्ने, कोदो रोप्ने, धान गोड्ने, गाईबस्तु चराउने कार्य बाल्यकालका नियमित कर्म हुन्थे । यस्तै काम भ्याएर एकदिन घरपुग्दा झिमिक्क साँझ परेको थियो । भाई अगेनाँको डिलमा पसेर गहुँको रोटी बेल्दै रहेछ । उसलाई देख्दा लाग्थ्यो की उ निकै कठिनाईका साथ असिनपसिन भएर ६÷७ जनाको परिवारका लागि बेलुकाको खाना पकाउँदैछ । मैले उसलाई छक्याएर एउटा रोटी टिपे । उ रिसायो । म भाग्न खोजे । तिघ्राभन्दा माथि पछाडिको भागमा केही तातो जिनीसले चसक्क पोल्यो । दुख्यो पनि ।  ऐया भन्दै यसो हेरेको त तावा र भुंग्रोको तातोले रापिएको पन्युँले मलाई हान्ने त भाई नै रहेछ । त्यस घटनाले मलाई अरुको कामलाई सम्मान गर्न र अप्ठेरो परेको बेला सहयोग गर्नुपर्छ भन्ने सिकायो । भाई मेरोलागि गुरु ठहरियो ।

जंगलको छेउमा थियो हाम्रो पहाडघर । ढुकुर, जुरेली, रुप्पीजस्ता चराहरु आँगनमै आउँथे । अन्नपात त सुकाउनै हुन्नथ्यो । एकदिन ममा ढुकुर पक्रने रहर जाग्यो । ठुलो डोकोलाई पासो बनाएर आफुचाँही दैलाको कापमा ढुकेर बसे । ढुकुर डोकोमा फस्यो । तर समात्न मुस्किल । लौरोले घोचीघोची ढुकुरलाई थकाएँ मैले । लगभग एकघण्टा लाग्यो यो सब गर्न । अन्तमा मलाई पछुतो लाग्यो । ढुकुर उड्न नसक्ने भएको थियो । गाउँकै कसैले लग्यो र काटेर खायो । म भने ढुकुरको त्यो हाल बनाएकोमा पछुताउनसम्म पछुताएँ । त्यो दिनदेखि मैले चराचुरुङ्गी मारिन । त्यो ढुकुर मेरो जीवनपथमा ठुलो गुरु सावित भयो ।

मलाई अहिलेपनि कसैले बेपर्वाह भनिदियो भने दङ्ग पर्छु । म सजिलोसँग सबै रंगहरु चिन्दिन । यसको असर मेरो व्यक्तित्वमा पनि परेको थियो । तर जब मैले एक असल साथी (अहिले पत्नी) भेटेँ उनले मलाई रंग चिनाईदिईन । रंगको महत्व बुझाईदिईन । रंगीन संसारको सुन्दरयात्रामा रमाउन सिकाईन । एउटा बेरंगी आत्मामा जीवन भरिदिईन । उनी मेरा लागि महान गुरु भईन ।

त्यसैले गुरु तिनी हुन् जसले ज्ञान दिन्छन् । कुनै कुनै रुपमा ज्ञान सबैबाट पाईन्छ । आफ्नो गल्तीबाट सिक्नु पनि ज्ञान हो । अरुको गल्तीदेखेर आफुले त्यही र त्यस्तै काम नगर्नु पनि ज्ञान हो । त्यसैले व्यत्तिगत र व्यवसायिक जीवनमा जोडिएका र जोडिन आउने र बोली वा ब्यवहारबाट केही न केही ज्ञान दिने सबैजना मेरा लागि गुरु हुन् । ती गुरुहरुलाई नमन ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service