Encouraging and supporting citizen journalism in Nepal
फोहरबाट पनि पैसा कमाइन्छ भन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । दैनिक जसो घरायसी फोहरबाट निसक्ने प्लाष्टीक र कागज जस्ता काम नलाग्ने बस्तुबाट पनि आय आर्जन गर्न सकिन्छ भन्ने उदाहरण सुनसरीको इटहरी ४ स्थित जागृति वातावरण महिला समुहका महिलाहरुले प्रस्तुत गरेका छन् ।
इटहरी ४ स्थित जागृति महिला समुहका महिलाहरुले आफ्नो टोलमा जम्मा हुने यस्ता किसिमका फोहरहरुलाई संकलन गरी हस्तकलाका बिभिन्न किसिमका सामानहरु बनाई व्यक्तिगत रुपमा आयआर्जन गर्ने गरेका हुन् । समुहका महिलाहरुले फोहरबाट मोहर कमाऔ अभियानबाट आयआर्जन गर्नुको साथै आत्मनिर्भर समेत बन्ने गरेका छन् ।
चाउचाउ, बिस्कुट लगायतका प्लाष्टीकका खोल र कागज जस्तो फोहरलाई संकलन गरी घरायसी प्रयोजनको लागि हस्तकलाका बिभिन्न आइटम र सजावटका सामग्री बनाउने गरेका छन् । दुई महिना अघि सिमएन परियोजना र इटहरी नगरपालिकाको सहयोग तथा महिला सीप बिकास तालिम केन्द्र इटहरीको सहयोगबाट संचालन गरिएको तालिमबाट सिकेको ज्ञान महिला समुहका सदस्यले व्यवहारमा उतारेर कमाउनुको साथै आत्मनिर्भर समेत बन्ने अवस्थामा पुगेका छन् । सोही तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै समुहका महिलाहरुले प्लाष्टीकका खोल र कागजका फोहरबाट ढाकी किस्ती फुलदानी कलमदानी खुत्रुके र पिरा जस्ता घरायसी प्रयोगका सामान बनाउने गरेका छन् । दैनिक जसो समुहमा भेला भइ महिलाहरु आफुले संकलन गरेको फोहोर ल्याइ हस्तकलाका साथै घरायसी बस्तु बनाउने गर्दछन ।
इटहरी ४ का बिभिन्न टोलमा दैनिक जम्मा हुने यस्ता बस्तुहरु संकलन गर्न गरेका छन । यस्तो फोहोर संकलन गर्न यहाका महिलाहरुमा प्रतिस्पर्धा समेत हुने गरेको छ । कसले राम्रो बनाउनेमा समेत प्रतिस्पर्धा हुने गरेको छ । महिला समुहकी अध्यक्ष सुमन राईका अनुसार घर बाहिर फालिएका फोहोरलाई प्रयोग गरी खाली समयमा यस्ता घरायसीका समानहरु बनाउने गरिएको छ। फोहोरबाट आफुले हालसम्म दुइ हजार सम्मको समान बिक्री गरिसकेको बताइन् । आफुले फालिएका प्लाष्टीकबाट तिनवटा ढाकी बनाएको पनि उनले जानकारी दिइन । आफुले बनाएको समानहरु बजारमा लादा निकै राम्रो संभावना देखेको उनको भनाई छ । साथै बिभिन्न स्थानबाट माग समेत बढ्न थालेको राईले बताइन । "पहिले पहिले टोलमा ज्यादै फोहर जम्मा हुन्थ्यो तर अहिले एउटा पनि फोहर यहा भेटिन्न " उनले भनिन् ।
फोहोरबाट पनि यस्ता बस्तुहरु बन्छन भन्ने तालिम पाएपछि टोलमा फोहोरको व्यवस्थापन र वातावरण सफा समेत भएको सोहि समुहकी अर्की सदस्य मीना गुरागाईको भनाई छ । गुरागाईले फोहोरजन्य बस्तुबाट पनि पैसा कमाउन सकिन्छ भन्ने जनचेतनाले आफ्नो टोलका अरु महिला दिदिबहिनीहरुले पनि फोहोर जम्मा गरी हस्तकलाका सामाग्री बनाउन थालेको बताइन् । आफुले बनाएको प्लाष्टीकको किस्ती पहिलो पटक दुई सयमा बिक्री भए पछि थप बनाउन जाँगर चलेको उनको भनाई छ । "अब त बच्चालाई स्कुल पुर्याउन जाँदा समेत बाटोमा भेटिएका फोहोरहरु उठाएर ल्याउने गरेकी छु " उनले भनिन् ।
यस्तै समुहकी अर्की सदस्य मन्जु कार्कीका अनुसार फोहोरजन्य बस्तुबाट पनि बिभिन्न किसिमका सजावटका समान बन्छ भन्दा आफुलाई आश्रचर्य लागेको र तालिम लिएका साथीसँग सिकेर बनाउन थालेको बताइन् ।
यस्ता समानहरु बजारका लागि नौलो भए पनि ग्राहकहरुले निकै मन पराएको समुहका सदस्य गिता थापाको भनाई छ । एउटा ढाकी बनाउदा एक दिन लाग्ने गरेको बताउदै घरमा खाना पकाए पछि उभ्रिएको समयमा हस्तकलाका बिभिन्न सामाग्री बनाउने गरेको उनले बताइन् । थापाले बनाएको समानहरुबाट आएको खर्चले सानोतिनो आर्थिक समस्या टर्ने गरेको बताइन । उनले भनिन्-"घरायसी सरसमान र बच्चाको टिफिन खर्च समेत निवारण हुने गरेको छ ।घरको काम सकेर फुर्सदको समयमा अरुको कुरा काट्ने बानी यहाका महिला साथीमा परिवर्तन आएको थापाको भनाई छ । अब त फुस्रद हुन साथ बनाउन थालिहाल्छौ ", थापाले बताइन् ।
अर्का सदस्य कविता राईले बनाएको ५ वटा जति डाकी र फुलदानी अफन्तले मन पराएर घरान समेत लगेको बताइन । अब त कोही आफन्त आए भने पनि कोशेलीमा फाहोरको झोला ल्याउन भन्छु उनले भनिन् । उनले यो सिप र जागर देखेर अर्का टोलका महिलाहरु आफुसँग सिक्न आउने गरेको बताइन । आफुहरुले पाएको तालिमबाट सजावटका समानहरु बनाउन सक्षम भएको बताउदै थप तालिमबाट नयाँ कुराहरु बनाउन इच्छा रहेको राईले बताइन् । साथै उनले फोहोरबाट बनेका बिभिन्न किसिमका समानहरु बजारमा राम्रो भइदिए थप उर्जा हुने उनको भनाई छ ।
समुहका महिलाहरुले बनाएको समानहरु आदी बजारमा रहेको र थप माग हुदै आएको कारण यतिखेर महिलाहरु निकै ब्यस्त देखिन्छन् । आफ्नो टोलमा जम्मा भएको फोहोरले अपुग भए पछि बिभिन्न टोल तथा बिद्यालयमा समेत गइ फोहोर संकलन गरीदिन आग्रह समेत गर्न गरेको समुहका महिलाहरुको भनाई छ । महिला सीप विकास तालिम केन्द्रकी अध्यक्ष राधिका कार्कीका अनुसार पहिलो चरणमा प्लाष्टिकजन्य हस्तकलाको सामान बनाउने तालिममा २० जनालाई सहभागि गराइएको र सिकेका ती २० जनाबाट थप ४० जनाले सिकिसकेका बताए । उनका अनुसार तीन महिनाअघि तालिम लिएकामध्ये केही महिला प्रशिक्षणका लागि समेत तयार भइसकेका छन् । प्रशिक्षक बनेकाहरुलाई छिमेकी टोलमा लगेर अन्य कामकाजी महिलाहरुलाई समेत यस्तै सीप सिकाउने योजना रहेको अध्यक्ष कार्कीले जानकारी दिइन ।
Tags:
Permalink Reply by इन्द्रध्वज क्षेत्री on March 26, 2012 at 11:06am कति राम्रो प्रयास हो औ 'आफ्नो टोलमा जम्मा भएको फोहोरले अपुग भए पछि बिभिन्न टोल तथा बिद्यालयमा समेत गइ फोहोर संकलन गरीदिन आग्रह' । सबैले यसबाट शिक्षा लिनसके राम्रो ।
Permalink Reply by Kranti Darai on March 26, 2012 at 4:30pm आहा ! कस्तो राम्रो समाचार, स्वरोजगारको लागि राम्रो उदाहरण........
Permalink Reply by Ajeeta Sigdel on March 26, 2012 at 5:14pm Very nice news story.This is a good example of keeping surrounding clean and a good way of earning too.
© 2013 Created by Equal Access.