चन्द्रगढीदेखि अमरगढीसम्म

श्रीमती र बर्षाको मौसम बीचमा समानता के हो भने श्रीमतीको मुड र बर्षा यामको मौसम परिवर्तन अनुमान गर्न सकिदैन । जेठ २९ गते धनगढी बिमानस्थलमा बुद्ध एयरको जहाज अवतरण गर्न पाँच मिनेटमात्र ढिलो भएको भए हामी त्यो बेलुका डडेलधुरा नभै आ–आफ्नै घरमा हुनेथियौ । काठमाण्डौमा उड्दा घाम झलमल्ल थियो । धनगढीमा सामान कुर्दाकुर्दै कालोमुस्लो बादल मडारिन थाल्यो र शुरु भयो मुसलधारे दर्के झरी । नेपाल पत्रकार महासंघका सभापती शीव गाँउले, संविधानबिद काशीराज दाहाल र सहकर्मी दुर्गा लामिछानेसहित डडेलधुराको अमगरगढी हिडेको हाम्रो समूह कैलालीको बाख्रापालन भन्ने ठाउँसम्म पुग्दा पनि मुसलधारे पानी रोकीएको थिएन । अनुभवी चालक हुनुको फाइदा बाङ्गोटिङ्गो सडकमा पनि पुर्ण होसियारी । एकदिन अगाडिमात्रै पुर्वको चन्द्रगढीबाट काठमाण्डौ फर्केको म पुग्नुपर्ने थियो धनगढी हुदै अमरगढी । ५८ साल बैशाखमा बझाङ जाँदा छिचोलेको लामो बाटो अहिले कस्तो होला? मनभरी कौतुहलता थिए । भासुकोभीर, अरुको मुखमा सुन्दा सारै डरलागेको थियो, त्यसमाथि पानी परेको चिप्लो बाटो, बाख्रापालनमा खानाका लागि सुस्ताइरहँदा पनि मन भने शान्त थिएन । चन्द्रगढी, इलाम, इटहरी, धरान, बिराटनगरमा हप्ता बिताएर फर्केकै भोलीपल्ट अर्को हप्ताको पुरै योजनासहित घर छोड्दा यसपाली श्रीमतीको मात्र हैन छोराको पनि राम्रैसँग मुड बिग्रीएको महशुस गर्न गाह्रो थिएन । बर्षाको हवाइयात्रा, डर आप्mनालाई नै हुन्छ ।

काठमाण्डौबाट धनगढी र बंगलादेशको ढाकाको हवाई दुरी झन्डै उती नै छ । एकघण्टा १५ मिनेट । मलाई यस्तो लाग्छ, धनगढीको हवाईयात्रा ढाका जाँदा भन्दा पट्यारलाग्दो छ । ढाका जाँदा र आउँदा यात्राभरी नेपालीहरु भेटिन्छन्, धेरैचाँही मलेशिया जाँदै गरेका, उताबाट फर्केका युवा र अधबैशे, अल्लारे, चर्को गर्मिमा पनि बाक्लो छालाको ज्याकेट र बुट लगाएका । जहाज चढ्ने र ओर्लने बेलामा उनीहरुको हर्कत हेर्न लायक हुन्छ, धेर्यता छदैछैन । तर धनगढी जाने र त्यहाँबाट आउनेहरु चाँही भद्रभलाद्मी, राष्ट्रिय, अन्तराष्ट्रिय संघसंस्थामा कार्यरत, नेता, कर्मचारी हुँदाहुन् एकआपसमा बोल्न पनि पैसा लाग्छ झै गर्छन् । जहाज नै भलाद्मी ठहरीन्छ । यसपटकको मेरो यात्रा देशका गन्यमान्य दुईजना व्यक्तित्वको साथमा भएकोले पनि होला जहाँज चढ्ने सबैलाई मैले चाहिनेभन्दा भलाद्मी देखेजस्तो अनुभव गरे । कुहिरोमा पसेर जहाज छटपटाउदामात्र मेरो मन झस्किन्थ्यो । अरुबेला यस्तो लाग्यो देशको कोलाहल र अशान्तिले वाक्कव्याक्क म टिनको बट्टामा बसी आकाशमा उड्दै शान्तिको परमोभोग गरिरहेको छु ।

स्कुलमा छँदा अमरसिंह थापाको वीरगाथा मज्जाले पढिन्थ्यो । तीनै वीरको नाममा नगरपालिकाको नामाकरण भएको रहेछ । गर्व लाग्यो । भीमदत्त पन्तको शालिक छेउमा उभिएर पत्रकार महासंघका सभापती शीव गाउँले पश्चिम पहाडका ७ जिल्लाका पत्रकारहरुको –यालीलाई सम्बोधन गर्दा उनलाई टुलुटुलु हेर्ने स्थानीय नागरिक र प्रहरीले खासै भेउ पाएनन् पत्रकारहरु किन आन्दोलित छन् भनेर । गाँउलेले राज्यलाई दिनुसम्म दनक दिए । तर बहिरो जस्तो लाग्ने राज्यले सिंहदरबार अगाडि उभिएर कुर्लिदा त सुन्दैन भने सबैले सुदुर भनेको त्यो पहाडबाट बोलेको कुरा पत्रकार कुट्ने अपराधी र अपराधलाई पालनपोषन गर्ने सरकार र तीनका मतियारले किन सुन्थे । “दाई पहिले पनि भाषण गर्नुहुन्थ्यो की कसो?” गाउँलेको जवाफ थियो, “हैन, समय बलबान हुदो रहेछ, यसैले सिकायो ।”

“बिरालोबाट कसरी बच्ने भन्दा भन्दै एउटा मुसो जाँडले भरीएको गाग्रीमा छिरेछ । बाँच्नका लागि उसले बिरालोसँग हारगुहार गर्यो । निकाल्न आग्रह गर्यो । बिरालोले निकाल्नुभन्दा अगाडि बाचा बाँध्न लगायो । मुसाले यसरी बाचा गर्यो , हेर बिरालो दाई, म अहिले जाँडमा डुवेको छु, तिमीलाई थाहा छैन, म डुब्दा कति जाँड खाँए होला? म अहिले टन्न मातेको छु, मातेको मलाई अहिले नै नखाउँ । बाहिर निकाल, मलाई नुहाइदेउ, अनि घाममा सुकाउ । त्यसपछि मज्जाले खानु । मात पनि लाग्दैन, अघाउँछौ पनि । मुसाको बाचा बिरालालाई मनपर्यो । उसले मुसालाई बाहिर निकाली मुसाले भनेझै गर्यो । घाममा सुकाएर यसो आँखा अर्कोतीर फर्काएको के थियो मुसो त दुलोभित्र पस्यो । धोका भएको सम्झी बिरालोले मुसालाई धोकेबाज आदी इत्यादी भन्दै गुनासो गर्यो । चलाख मुसो के कम? भन्यो हेर मुसा दाई, अघि म मातेको थिए, मैले के के भने मलाई केही थाहा छैन, फेरी मातेको बेला गरेको सभ्झौता कार्यान्वयन भएन भनेर तिमी किन निरास हुन्छौ? यस्ता सम्झौताहरु मातेकै बेला त हुन्छन नी, मेरो ज्यान बचायौ, धन्यबाद ।” बाख्रापालनबाट अगाडि बढ्दै गर्दा दाहालसरले भनेको यो कथा नेपालको अहिलेको राजनीतिसँग मेलखाने खालको थियो । तर दाहालसरले भासुकोभीरबाट हाम्रो ध्यान अन्त मोड्नलाई यो कहानी सुनाएको कुरा हामीले डडेलधुरा पुगेपछिमात्र थाहा पायौ । सारै सरल, नम्र र शालिन व्यक्तित्वका धनी दाहाल सरसँगको यात्रामा भएको अर्को महत्वपुर्ण उपलब्धी अमरगढीको दर्शन गर्न पाउनु पनि रह्यो ।

“अहिले साढेपाँच बज्यो, गढी त तीनबजेपछि हेर्न पाइदैन, भोली आउनुहोला,” अमरसिंहले अग्रेजसँग लड्न बनएको ऐतिहासिक अमरगढी किल्लाको सुरक्षार्थ खटिएका सैनिकको भनाईले हामीलाई निरास बनायो । मुसुक्क हाँस्दै दाहालसर अगाडि सर्नुभयो । वहाँ र ती सैनिकका बीचमा के के कुराकानी भयो कुन्नी एकछिनपछि माथि (किल्लाभित्र) बाट संकेत आयो । हामीले गढी हेर्न पायौ । त्यो बेला ढुंगाले बनाएको किल्ला देख्दा पत्याउन मुस्किल पर्यो एकछिन त । भित्रभित्रैबाट घण्टौ टाढा खाना र पानीको जोहो गर्न मिल्ने गरी बनाएको किल्ला । महसुस भयो त्यस्ता दुरदर्शी र बहादुर सिपाही अहिले पनि त्यत्तिकै जरुरी छ देशलाई । किल्लाबाट गरेको लडाईको बर्णन किताबमा मात्र पढेको मलाई प्रत्यक्ष देख्न पाउँदा देशभक्तिले ओतप्रोत बनायो । अनि त किन सकुन अग्रेजले नेपाली वीरलाई जित्न? इतिहासको साक्षात्कर गर्न सम्भव गराउने दाहाल सर धन्यबादका पात्र हुनुहुन्छ । गढी घुमेपछि पसिना निकाल्दै व्याडमिन्टन खेलिरहेका प्रमुख जिल्ला अधिकारी र डिएसपीले देखाएको सम्मानले पनि बताउथ्यो काशीराज दाहालको महत्व ।

पत्रकारहरु आन्दोलित भएको मौसम हुनाले हाम्रो डडेलधुरा बसाई एकदिन छोटियो । साँझ साढे छ बजे अमगरगढीबाट धनगढीका लागि हिड्दा धनगढीमा बास पाइएला त, मनभरी डर थियो । खाना खाने सहमति भयो बाख्रापालन भन्ने ठाउँकै लागि । जाँदा सारै स्वादीलोसँग चिउरा तरकारी खान पाएकोले होला दालभात पनि मिठै पाइएला भन्ने आशा । डडेलधुराको खानाको स्वाद मुखमा झुन्डिएकै थियो । बाटोमा जहाँबाट फोनको सिग्नल टिप्छ कहिले धनगढी त कहिले बाख्रापालन फोन गर्दै खाना र बासको प्रबन्ध गर्नु नै थियो । साढे ८ बजे रातीतीर बाख्रापालनभन्ने ठाउँमा खाना खाएर धनगढी आइपुग्दा रातको साढे १० बज्नै लागेको थियो । कञ्चनपुरका अग्रज समाजिक कार्यकता ऋषीराज लुम्सालीदेखि पत्रकार महासँघ कैलालीको सभापति भरत शाहको प्रयासमा भेटिएका दुईटा होटलमा बाँडिएर रात काट्दा त्यो सम्पुर्ण यात्रालाई आनन्दको रुपमा लिनुको बिकल्प थिएन । शान्त र शितल पहाडि भुगोलबाट तातो समथर भुभागमा झर्दा भोलिदेखि हुने गर्मिको छटपटहाटले फेरी मन पोल्न थालेपनि बिकल्प थिएन । के थाहा कुन बेला मौसमको मुड परिवर्तन हुन्छ र चर्को घाममा पनि पानी परी शितलता दिन्छ । श्रीमतीसँगको मायालु संवादले भने मुड र वातावरण दुवैलाई शान्त र शितल बनाएको थियो ।
साउन २ गते, काठमाण्डौ ।                                     

Views: 43

Reply to This

Replies to This Discussion

श्रीमती र बर्षाको मौसम बीचमा समानता के हो भने श्रीमतीको मुड र बर्षा यामको मौसम परिवर्तन अनुमान गर्न सकिदैन .अनि श्रीमान्को मुड नि ?

RSS

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service