नो थ्याङ्स रासस : तर मसँग मन र कलम बाँकी छ

खेमराज वली (अविछिन्न) / सुर्खेत ।

जिन्दगी जिउने आधारहरु प्रसस्त छन् । मान्छेहरु गिट्टी कुटेर पनि बाँचिरहेका छन् । सडकमै सुतेर जीवन जिउनेहरु पनि धेरै छन् । कोही निजामति कर्मचारी होलान, कोही नीजि क्षेत्रमा काम गर्ने होलान । कोही परदेशी छन् । जो जहाँ भए पनि जे गरे पनि सबैले जसोतसो मृत्यु नजिक पुग्ने प्रयत्न गरिरहेकै छन् अर्थात जीवनको गुजार चलाइरहेका छन् । म मान्छे त्यस्तै एउटा पेसामा छु । पत्रकारिता गरेर बाँच्ने प्रयत्न गर्दैछु ।


मान्छेहरु बाँच्नका लागि हरेक प्रयत्न गर्दछन् । मैले पनि बाँच्नका लागि एउटा प्रयास गर्दैछु त्यो पत्रकारिता नै हो । हो, मैले जिन्दगिभर पत्रकारिता गर्ने निर्णय गरेरै केही जोसजाँगर लिएर झण्डै पाँच बर्ष अघी यो क्षेत्रमा झुकाव राख्दै आवद्ध भएको हुँ । यो क्षेत्रमा आवद्ध भएपछि साइन्स पढ्ने विद्यार्थीले आमसञ्चार र पत्रकारिता विषयमा एडमिशन गरी दश जोड दुईदेखि नै यो विषय अध्ययन गर्न थाले । सुरुमा नै मैले पत्रकारिता कसैसँग गुहार मागेर सिकेको होइन, तर यो मेरो घमण्ड पनि होइन । कक्षा ११ मा पढ्दा नै हामीले ‘जागरण’ नामको पाक्षिक पत्रिका निरन्तरण प्रकाशन गरेर समाचार लेख्न सिकेका थियौ । त्यतिवेला नै पत्रकारितामा खर्च व्यवस्थापन सम्बन्धी पनि मलाई राम्रो ज्ञान भइसकेको थियो । जतिवेला म १६ बर्ष पुगेर १७ वर्षमा प्रवेश मात्रै गरेको थिए । दश जोड दुई उत्तीर्ण नगर्दै सुर्खेतबाट प्रकाशित हुँने ‘युग आव्हान’ दैनिक पत्रिकामा काम गर्ने अवसर पाए । तलव मासिक तीन हजार थियो (वि.स. २०६८) । म पत्रकारिता गरेरै बाँच्न चाहन्थे । बुवामम्मिको सहयोगमा त्यती तलबमै काम गरिरहे । यसपछि दैनिक पत्रिका संचालन सम्बन्धी आइडिया पनि भयो ।


ठिक एक वर्ष काम गरिसकेपछि मलाई सुर्खेतकै अर्काे दैनिक पत्रिका ‘काँक्रेविहार’ (क वर्ग) मा काम गर्ने अवसर मिल्यो । जुन पत्रिका जिल्लाकै पहिलो दैनिक पत्रिका थियो । यसमा मैले थप केही सेवा सुविधा पाए । यहाँ काम गर्दा मैले भाषिक शुद्धता सम्बन्धी सिक्ने अवसर पाए । पत्रिकासँगै एफएम रेडियोमा समेत काम गर्न थाले । एक वर्षसम्म यहाँको जागरण एफएममा काम गर्दा रेडियो सम्बन्धी पनि राम्रो ज्ञान पाएको छु । अहिले पनि रेडियोको पत्रकारिता निरन्तर चलेकै छ । यसपछिका दिनहरुमा भने म पत्रकारिता गरेरै आफ्नो गुजरा चलाउने भइसकेको छु । अहिले मलाई कुनै पश्ताचाप पनि छैन र पत्रकारितालाई धिक्कार्नु पनि परेका छैन । मोफसलमा रेडियो र छापा पत्रकारितासँगै अगाडि बढाउँदा मलाई आनन्द महसुस हुन्छ । जसोतसो बाँचिएको छ । बाँच्न सक्नु नै जिन्दगिको आनन्द हो ।  


जुन पेसामा रहेता पनि व्यक्तिका महत्वकांक्षाहरु त बढ्दै जाँदा रहेछन् । हुन त महोत्वकांक्षाले नै पेसा र व्यक्तिलाई थप समृद्ध बनाउने हो । मैले पनि केही महोत्वकांक्षाका साथ अवसरहरुको खोजी गरिरहेको थिए । त्यसैक्रममा बि.स. २०७० सालामा सुर्खेतको लागि राष्ट्रिय समाचार (रासस) को जिल्ला प्रतिनीधि (स्ट्रिन्जर) खाली रहेको सूचना पाएपछि मैले निवेदन दिए । आफ्नो बायोडाटा पठाए । बायाडाटा पठाएपछि राससबाट फोन आयो, तपाई कति वर्षको ? मैले हाँस्दै जवाफ दिएको थिए–‘मैले बायाडाटामा लेखेको जतिको हो सर ।’ जतिवेला म १८ र १९ वर्षको बिचमा थिए । यद्यपी मलाई राससले सुर्खेतको स्ट्रिन्जरका रुपमा नियुक्ति दियो । राससको नियुक्ति पाएको दिन मैले सकेजति राससको इतिहास खोजे । मलाई लाग्छ सायद राससको बारेमा मलाई जति जानकारी छ त्यति राससका डेस्कमा बस्ने र प्रशासन शाखाका कर्मचारीहरुलाई पनि छैन । म पत्रकारिताको विद्यार्थी भएकोले पनि राससको बारेमा बुझ्न निकै इन्ट्रेस्ट थियो । मैले राससमा काम गरेको अवधिभर खिलराज रेग्मी अन्तरिम मन्त्रिपरिषद्को अध्यक्ष हुनुन्थ्यो । मैले राससमा करिब साढे एक वर्ष काम गरे । त्यसपछि मलाई थाहा नदिई विनाकारण हटायो । राससले कारण देखाएन तर कारण मलाई सबै थाहा छ । यसर्थ राससलाई नोथ्याङ्स ।


राससबाट यसरी हटाइयो
जव संविधानसभाको दोस्रो निर्वाचन भयो । त्यसको केही समय पछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भयो । सुशिल कोइरालाको नेतृत्वमा गठित सरकारको संचारमन्त्री नेपाली काँग्रेसले नै पायो । काँग्रेसले डा. मिनेन्द्र रिजाललाई सञ्चारमन्त्री बनायो । सञ्चारमन्त्री डा.रिजाल भएपछि सुरु भएको थियो नेपाली काँग्रेससँग आवद्ध बाहेकका पत्रकारहरुलाई राससबाट हटाउने र काँग्रेससम्बद्ध पत्रकारहरुलाई नियुक्ति दिने ।


मेरो नियुक्ति २०७० चैत्र मै रिन्यू गर्नुपर्ने थियो । सोही अनुसार मैले राससको अफिसमै पुगेर निवेदन दिएको थिए । तर वि.स.२०७१ साउन १५ सम्म पनि मलाई कुनै खबर आएको थिएन । रासस विशेष सुत्रका अनुसार मरो नियुक्ति रिन्यू भइसकेको थियो । तर साउनको तेस्रो हप्ता राससबाट फोन आयो–‘तपाईको नियुक्ति रिन्यु भएको रैन्छ, प्रशासनमा बुझ्नुहोला ।’ त्यो त मलाई पनि थाहा थियो नि । प्रशासनमा तत्कालै फोन गरेर मैले सोधे–‘मेरो नियुक्ति किन रिन्यु भएन ?’ नजवाफ थियो रासस प्रशासन । मेरो प्रश्नको जवाफ अस्पस्ट तर धेरै आयो । तर पनि मलाई समाचार नपठाउनु कसैले भने । मैले रासस प्रशासनसँग अन्तिम प्रश्न गरे –‘अब मैले सामाचार नपठाउने होला नी ?’ उत्तर थियो–‘हो नपठाउँनु, अहिलेसम्म काम गर्नुभयो धन्यवाद......।’ मैले वेलकम गर्न सकिन । ठिकै छ भन्ने सोचे । तर मनमनै भनेको थिए–‘नोथ्याङस रासस, तर केहीछैन मसँग केही मनहरु र एउटा कलम बाँकी छ, यति भए मेरो पत्रकारिता जिवन्त रहनेछ ।


संचारमन्त्री परिवर्तन हुनेवित्तिकै राससका स्ट्रिन्जर पनि परिवर्तन हुनुपर्ने कारण स्वयम संचारमन्त्रीको मुखबाट जान्ने मेरो इच्छा हो । संयोगले संचारमन्त्री डा. रिजालसँग पनि भेट गर्ने मौका सुर्खेतमै मिल्यो । संविधान निर्माणका लागि दवाद दिन पत्रकार महासंघले संचालन गरेको दावाव अभियानअन्तर्गत सुर्खेतमा आयोजना गरिएको ‘जनतासँग गरेका बाचा नताडौं’ भन्ने अन्तरक्रिया कार्यक्रममा मन्त्री रिजाललाई प्रश्न गरे । कुरा घमाउनुभयो उहाँले । सायद उत्तर उहाँसँग थिएन । घुमाइफिराई यो सामान्य हो भन्ने संकेत गर्नुभयो । नजिकै रहनुभएका पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकारको पेसा सुरक्षित हुनुपर्छ भन्दा संचारमन्त्री रिजाल सुने नसुनेझै गरी हिड्नुभयो । मलाई थाहा छ रिजालज्यू अव जवाफ पनि चाहिएको छैन ।


यसरी दिइयो दुईजनालाई नियुक्ति
नेपाली काँग्रेससँग आवद्ध बाहेकका पत्रकारहरुलाई राससबाट हटाउने र काँग्रेससम्बद्ध पत्रकारहरुलाई नियुक्ति दिने काम सुरु भएपछि सुर्खेतबाट पनि नेपाली काँग्रेसमा आवद्ध ६ जनाले राससमा निवेदन चढाए । अन्ततः राससले दुइ जनालाई नियुक्ति दियो । एक जना महिला र एक जना पुरुष पत्रकारले नियुक्ति पाए । यस अघिको वर्षमा राससले जिल्लामा एक जना मात्रै स्ट्रिन्जर राख्ने निर्णय गरेको थियो । सायद लैगिक समानताका लागि भनेर एक/एक जना महिला र पुरुष पत्रकारलाई राससले नियुक्ति दियो कि ? मेरो बुद्धिले यति जानेको छ । तर कुरो अर्कै रैछ । मरो रिन्यू भइसकेको नियुक्ति पनि गायव गराएर एक जना पुरुष मित्रलाई सुर्खेत डेटलाईनमा नियुक्ति दिइएछ । उनले नियुक्ति लिन ३६ हजार खर्चेका रहेछन् । पत्रकार महासंघको केन्द्रीय निर्वाचनदेखि उनी साउनसम्म राजधानिमै बसेर अनेक प्रयत्न गरी सुर्खेत डेटलाइनको नियुक्ति ल्याएर फर्किए । नियुक्तिको लागि उनले धेरैसँग हारगुहार गर्दा पनि पावर नलागेपछि नेपाली काँग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्कालाई सिफारिस गर्न लगाएछन् । रासस स्रोतका अनुसार सहमहामन्त्री खड्काले सिफारिस गरेपछि मात्रै उनले नियुक्ति पाएका हुन् । यस अघि उनलाई सुर्खेत क्षेत्र नं. १ बाट निर्वाचित सभासद् तथा नेपाली काँग्रेस सुर्खेतका सभापति तप्तबहादुर विष्टले सिफारिस गरेका थिए । विष्टको सिफारिसले नभएपछि उनले खड्कालाई गुहारेका थिए । सह–महामन्त्री खड्का मेरा छिमेकी हुन् । उनको पाम्का–८ मा घर हुँदा मेरो घर पाम्का–३ थियो । नाताले ठुलो बुवा (मेरो बुवाको फुपुको छोरा ) ।


यति कुरा मलाई थाहा भएपछि खुलदुली थियो दुई जनालाई राससले किन नियुक्ति दियो भन्ने । त्यो पनि रासस स्रोतले राम्रो सँग स्पष्ट पारिदिएको छ । काँग्रेसका सह–महामन्त्री खड्काले सिफारिस गरेका व्यक्तिलाई नियुक्ति दिएपछि काँग्रेसकै पत्रकारहरुबीच विवाद भयो । खड्का देउवा पक्षका नेता हुन् । तसर्थ सँस्थापन पक्षका नेता तथा सभासद् हृदयराम थानीले सिफारिस गरेको व्यक्तिलाई पनि नियुक्ति दिनुपर्छ भन्ने सहमतिमा दुइजनालाई नियुक्ति दिइएको रासस स्रोतले जानकारी गरायो ।

राससलाई मेरो भनाइ....
प्रथम त अहिले राससमा सुर्खेतको जिल्ला प्रतिनिधि नियुक्त हुनुभएका दुवैजनालाई शुभकामना छ । हो, उहाँहरु म भन्दा एक वर्षले भएपनि अगाडि हुनुहुन्छ । राससलाई म चुनौति दिन चाहन्छु । सुर्खेतका राससका अहिलेसम्मका स्ट्रिन्जरहरु मध्ये उमेरले कान्छो म हुँ । तर मैले जत्तिकै उहाँहरुले भाषिक शुद्धतासहितका समाचार पठाउनु भएछ भने र मैले पठाउने जत्तिकै समाचार पठाउनुभएछ भने म पत्रकारिता छोडिदिनेछु । उहाँहरुका पनि आफ्नै पेसा होलान्, धेरै पेसा होलान । मेरो पेसा फिक्स छ, पत्रकारिता हो । मलाई अरु केही चाहिदैन । पत्रकारिताका लागि अहिले पनि मसँग एउटा कलम र धेरै मनहरु बाँकी छन् । मेरो पत्रकारिता, राससले हटाउँदैमा सकिएको छैन । तर व्यवसायिक पत्रकारिताको विकास भइसकेको अवस्थामा नेपालको एउटा मात्र समाचार एजेन्सिमा यति धेरै राजनीतिक घुस्नुले नेपाली पत्रकारिताको विकासको गलाअवरुद्ध भएको छ । श्रमजिवि पत्रकारहरुको अवमुल्यन भएकोछ । तसर्थ राजनीति होइन क्षमता प्रदर्शन गरी साससमा जागिर दिनुपर्दछ । श्रमजिवि पत्रकारलाई बाँच्न दिनुपर्छ । जय पत्रकारिता  ।  
khemrajwali@gmail.com

www.sabdayatra.blogspot.com

Views: 84

Reply to This

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service