साताको ब्लगरः युशाफ्ट

अँग्रेजी साहित्यका विद्यार्थीलाई युशाफ्ट (ushaft) भनेको महान अँग्रेज नाटककार जर्ज बर्नार्ड शाका कृतीमा पाइने एक पात्र हो जो खलनायकजस्तो देखिन्छ तर अन्तमा नायक हुन्छ । यही नाम नेपाली ब्लग र सामाजिक मिडियामा पनि देखिइरहन्छ र नेपालमा ब्लगिङ र सामाजिक मिडियामा लाग्ने धेरैका लागि परिचित बनेको छ । यो छद्मनाम भएकोले यो नाम पछाडिको वास्तविक मानिससित भने धेरैको परिचय छैन । तर पनि उनको उपस्थिति ब्लग र सामाजिक मिडिया (फेसबुकट्वीटर)मा यति जबर्जस्त छ कि उनका टिप्पणी र लेखहरुले ठुलो बहस निम्त्याउँछन् ।

 

हालै उनको एउटा प्रश्नमा संयुक्त राष्ट्रसँघका नेपाल प्रतिनिधी रोबर्ट पाइपरले छद्मनामी ब्लगरहरुलाई उत्तर नदिने बताएपछि छद्मनाममा गरिने ब्लगिङ (Anonymous Blogging) को पक्षमा एउटा लेख नै लेखेका छन् । यसै सन्दर्भमा मेरोरिपोर्टको यो साताको ब्लगर स्तम्भका लागि इन्द्रध्वज क्षेत्रीले उहाँसँग लोकतान्त्रिक व्यवस्थामा पनि छद्मनाममा ब्लगिङ गर्नुको कारण र उद्देश्य लगायतका विषयमा कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ उहाँसँग च्याटमार्फत गरिएको कुराकानीको मुख्य अंशः

 

किन छद्मनाममा ब्लगिङ

तपाइँले लामो समयदेखि छद्म नाममा ब्लगिङ गर्दै आउनुभएको छ । आफ्नो बारेमा भन्न मिल्नेजति बताइदिनुस् न ।

म नियमित समयमा आफ्नो काम गर्छु, त कहिले काहिँ फुर्सद हुँदा मात्र ब्लग लेख्ने गर्छु, मतलब लेखन मेरो मुख्य पेशा होइन । नेपाली पत्रिका र अन्य सामग्रीहरु पढिन्छ, र तिनमा केहि नपुगे नपुगे जस्तो लाग्छ अनि लेख्न मन लाग्छ, मुख्य मोटिभेसन यहि हो ।

 

नेपाल अहिले पूर्ण अभिव्यक्ति स्वतन्त्रता भएको देश हो । यस्तो अवस्थामा पनि किन परिचय लुकाएर ब्लगिङ गर्नुहुन्छ?

लुकाउनै पर्ने खास कारण छैन, र मलाई आफ्ना मित्रहरु र अरु केहि मानिसले पनि चिनिरहेकै हुन्छन् ।

तर पनि छद्म नाममा लेख्नुको एक कारण हो कि म यसो गर्दा आफुलाई मन नपर्ने लेखहरु पनि लेख्न सक्छु । जस्तो कि, मेरो नामसँग जोड्म मन नलागेका कति बिचारहरु हुन्छन्, तर पनि ती लेखिनु महत्वपूर्ण हो जस्तो मलाई लाग्छ, अरुले पढ्नु र थाहा पाउनु महत्वपूर्ण हो जस्तो लाग्छ । अरुहरुले त्यस्ता कुरा लेखिरहने गरेदेखि हामीले लेख्नुपर्थेन । तर नेपालमा अभिव्यक्ति स्वतन्त्रता छ भने पनि वास्तवमा त्यसको दायरा निकै साँघुरो छ ।

केहि निश्चित वाद वा समूहका मात्र विचारहरु आइरहेका हुन्छन्, त्यो भन्दा विपरित कुरा गर्नेहरुलाई अनेक किसिमका शाब्दिक र सामाजिक आक्रमण हुने, आदि घटनाहरु त सामान्य नै हुन् नि ।

 

संवैधानिक रुपमा त पूर्ण अभिव्यक्ति स्वतन्त्रता लेखिएको छ । तर तपाइँलाई अझै पनि आफ्नो कुरा बोल्न डराउनुपर्ने अवस्था छ जस्तो लाग्छ?

हो, तर देखिएकै हुन्छ, व्यहारमा त्यस्तो छैन । हुन त आजकल केहि विचार नमान्नेहरुलाई प्रतिबन्ध नै लगाउने पनि कुरा गर्दैछन् । यस्तोमा नेपालका केहि राजनीतिज्ञहरु भोली सकेको खण्डमा कुनै किसिमका विचारहरुमा प्रतिबन्ध लगाउन पर्केर बसेका छन् जस्तो मलाई लाग्छ ।  अलि केहि पहिलेसम्म त देशमा युद्ध नै फेरी हुने हो कि भन्ने डर थियो, त्यस्तोमा त कस-कसलाई निशाना बनाउने भनेर कुरेर बसेको पनि हो, बेलाबेलामा अनेक नाममा दुश्मन, भिजिलान्ते जस्ता अर्थहिन नामहरु झूण्ड्याएर मान्छेलाई आतंकित अझै पनि गरिन्छ ।

अनि अर्को कुरा: छद्म नाममा लेख्नुको कारण लुक्नु मात्रै हुँदैन, अघि मैले भनेजस्तै म लेखक होइन । मलाई मैले लेखेका सबै कुराहरु मन नपर्ने पनि हुनसक्छन्, तर इन्टरनेटमा ती रहँदा मेरो नामसँग ति सँधैलाई जोडिन्छन् नि । म अरुलाई विचार दिन र कतिपय कुरामा provoke गर्न र फरक तरीकाले सोच्ने प्रेरित गर्न पनि लेख्छु, त्यसकारण आफ्नो नामसँग जोड्न नचाहेको ।

 

दक्षिणपन्थी झुकाव?

तपाइँको ब्लग हेर्दा राजनीतक रुपमा उदारबाद र आर्थिक रुपमा पुँजीवाद पक्षीय देखिन्छन् । अनि तपाइँका लेखहरुमा नेपालमा समाजवादी वा साम्यवादी पक्षधरता बढेर गएको भन्ने चिन्ता पनि देखिन्छ ।

हो सहि हो ।

 

अनि अघि भन्नु भो कि केही नेताहरु भविष्यमा कुनै बिचारलाई बन्देज लगाउने प्रयास गर्न सक्छन् । के यो भविष्यप्रतिको डरले पनि हो तपाइँ अपरिचित नै रहन चाहनुभएको ?

मलाई लाग्छ म मात्र होइन, धेरै मान्छेलाई त्यस्तो डर छ। सुनिरहेका हुन्छौँ बेला बेलामा-जस्तो नेपालका कतिपय संवैधानिक वहसहरुका बारे पानि धेरै गन्यमन्य

व्यक्तिहरु पनि विचार दिन डराएका थिए, किनकी उनीहरुलाई एक किसिमको डर थियो । यो सबैले भनिरहेकै छन् जस्तो लाग्छ मलाइ ।

 

रोबर्ट पाइपरसितको टक्कर 

केही दिन अघि संयुक्त राष्ट्र संघका नेपाल प्रतिनिधी रोबर्ट पाइपरले बेनामे ब्लगरलाई प्रतिक्रिया नदिने बताएपछि तपाइँले एउटा ब्लग पोष्ट पनि लेख्नुभएको थियो । यस बारेमा अलिकता प्रष्ट पारिदिनुस् न ।

हो । त्यो ब्लग खास मैले पाइपरको क्रियाको प्रतिक्रिया दिएको होइन, जुन त्यसमै प्रष्ट पारेको छु

मैले अन्य धेरै व्यक्तिहरुले त्यस्तै कुरा गरिरहेको र एक हिसाबले पाइपरको अभिव्यक्तिले हौसिएको जस्तो लागेर आफ्नो तवरबाट प्रष्टिकरण दिएको हुँ । रह्यो पाइपरको कुरा । एकजना नाम चलेकी लेखिकाले पनि मेरो जस्तो विचार राखेर उनलाई प्रश्नहरु गरेकी थिइन् । पाइपरले उनलाई पनि केहि जवाफ दिएनन्, उनको नाम त खुलै थियो ।

उनी मैले लेखेको ब्लगबाट अलि रिसाए, प्रोभोक भए । त्यसमा मलाई कुनै गुनासो छैन किनकी मैले थाहा भएरै छद्म नामले लेखेको हुँ, अरुलाई विचारहरु सम्प्रेषण गर्ने, आफ्नो नामको निम्ति होइन। त्यसैले यससँग जोडिएर आउने सबै परिणामहरु मैले स्विकारेको छु, राम्रा पनि नराम्रा पनि

 

नेपालमा काम गर्ने UN लगायत अन्तर्राष्ट्रिय दातृ निकायहरु पनि कम्युनिष्ट र बढीजसो माओवादी पक्षीय भए भन्ने कोणबाट तपाइँका लेखहरु पनि आएका छन् । त्यसको आधार के हो?

यो पनि आजकल धेरैले भन्न थालेका छन् । आधार के हो भने नेपालमा आउने धेरैजसो विदेशीहरु २-३ वर्षको निम्ति आउँछन् । उनीहरुलाई यहाँका जटिलताहरुबारे अध्ययन गर्ने मन र मोटिभेषन दुबै हुँदैन । केहि ठाउँ घुम्यो, सजिलो सजिलो कामहरु गर्यो, सक्यो । अनि फेरी नेपालमा आजकल वैज्ञानिक-आर्थिक-विकाससम्बन्धि भन्दा पनि सामाजिक, राजनीतिक आदि विषयहरुले प्रधानता पाएको छ र नेपालको सबैभन्दा ठुलो र आकर्षक रोजगारदाता पनि विदेशी निकायहरु नै हुन् । यसकारणले नेपालका धेरै मानिसहरु मात्र सामाजिक विषय र कार्यहरुमा सङ्लग्न छन् । त्यसको प्रभाव प्रष्ट रुपमा देखिन्छ । हाम्रो देश राजनीतिले सबै कुरा खाएको देश हो । विदेशीहरुलाई सामाजिक नाराहरु उचाल्न नेपालमा निकै सजिलो भएको छ जुन नेपालका कम्युनिष्टहरुको क्रियाकलापसँग साह्रै मेल खान्छ । त्यसकारण यस किसिमको तालमेल जस्तो देखिएको हो ।

 

तर यो त उल्टो भएन र? किनकि यस्ता सँस्थाहरु त बरु पुँजीवाद र अमेरिकी साम्राज्यवाद पक्षधर भए भन्ने आरोप छ । तपाइँको निष्कर्ष चाहिँ ठीक उल्टो छ । किन?

अमेरीकाले चाहिँ सँधै कम्युनिष्टको विरोध गर्छ भनेर बुझ्नु ठिक होइन । यो तर्कका कमजोरीहरु म तपाईँलाई देखाउँछु । अमेरीकाले एक समय रुसलाई चुनौती दिन कम्युनिष्ट चीनसँग निकै राम्रो सम्बन्ध बनाएको थियो ।

उसले प्यालेष्टाइनको PLA लाई पनि आर्थिक सहयोग गरेकै हो । यस्ता खेलहरु भइराख्छन्, त्यसकारण अमेरीका भन्दैमा यो भनेर तर्क गर्न सकिँदैन। फेरी UN मा अमेरीकाको मात्र जोड पनि चल्दैन । त्यहाँ युरोपका देशहरु, रुस, चिन आदिको पनि शक्ति छ ।

 

तर PLA त कम्युनिष्ट होइन नि ।

हैन । मैले भनेको, उसले घोषित रुपमा त PLA को विरोध गरेको हो । तर खासमा आर्थिक सहयोग पनि गरेको थियो भित्र भित्र । मैले PLA को भन्दा पनि तर्क गर्दा त्यसरी generalize गरेर गर्न ठिक हुँदैन भन्न खोजेको हो । त्यसै विषयमा भन्दा कतिपय विषयहरुमा UN ले राम्रै पनि गर्छन् । जस्तै नेपालमा पनि अपराधीहरुका मुद्दा फिर्ता, मेलमिलाप आयोग आदिमा उसले राम्रो अडान राखेको छ ।

 

छद्मनामी ब्लगिङका जोखिम

अब फेरी Anonymous Blogging तिरै फर्कौँ । तपाइँले ushaft नाममा ब्लगिङ गर्नुहुन्छ भन्ने कुरा मोटामोटी कति जनालाई थाहा होला?  या यो रहस्य आफुसँग मात्रै राख्नुभएको छ?

 मैले चिनेका र केहि एक-दुइ पटक कुराकानी गरेकाहरु पनि गर्दा बढिमा ४०-५० जना मात्र होलान् । केहि मानिसले चाहिँ भेट्दा एकदुई पटक अमुनान गरेरै मिलाएका पनि छन्  ।

 

कहिलेकाहिँ आफ्ना लेखहरु लोकप्रिय हुँदा परिचय खोलेर त्यो ख्यातीको अपनत्व लिउँजस्तो लाग्दैन?

त्यस्तो गर्न मलाई सुझाव दिनुभएको छ केहि वरिष्ठ लेखकले । किनकी केही कुरा सक्कली नामबाटै लेख्नु राम्रो हुन्छ । केहि कुरा आफ्नै नामबाट लेख्ने पनि गरिरहेको हुन्छु । तर मलाई अपनत्वकै समस्या भने लाग्दैन ।

 

तपाइँ कहिलेसम्म Anonymous रहनुहुन्छ?

यसको जवाफ मलाई पनि थाहा छैन। हेर्दै जाऔँ, मजा लागिरहेसम्म न हो कुनै पनि कुरा गर्ने । अहिले मजा आइरहेको छ भनौँ  ।

 

तपाइँ त गम्भीर लेखक हुनुहुन्छ । छद्मभेषी रुपमा नै लेखे पनि केही समस्या भएन । तर अन्य धेरै व्यक्तिहरुले त गलत उद्देश्यका लागि प्रयोग गरिरहेका छन् । यो जोखीम तपाइँलाई पनि त आइलाग्न सक्छ?

कस्तो जोखिम ?

 

यस्तै आरोपहरु । सही कुरा लेख्ने भए किन सक्कली नाम प्रयोग नगर्ने भन्ने प्रश्नहरु ।

ए हो, तर त्यो मेरो हैन आरोप लगाउनेहरुको समस्या हो। केहि दिन अघि एकजनाले भन्नुभयो, आफ्नो बिचारमा त्यस्तो विश्वास छ भने नाम खोलेर आऊ न । उहाँ एकजना सम्पादक हुनुहुन्छ । मैले भनेँ समाजमा यति विविध विचारहरु छन् भन्ने थाहा भएपछि त्यस्ता कुराहरुलाई तपाईँ किन आफ्ना सम्पादकीय, विचार वा समाचारका विषयवस्तु बनाउनुहुँदैन ?

 खासमा देशको विचार-मन्थनमा सभ्य तरिकाले सबै विचारहरुको स्थान हुने हो भने म जस्ताले लेखिराख्नु नै पर्दैन नि। त्यसैले मलाई मानिसहरुको दिमाग अलिकति भए पनि हल्लाउन पाए, केहि भए पनि सोच्न वाध्य पार्न सके, त्यसमै सन्तुष्टि छ, अरु गुनासो छैन ।

 

यसमा पनि अन्तर्राष्टि्रिय अनुभव हेर्दा बरु वामपक्षीय बिचारहरुलाई मिडियाले स्थान दिँदैनन् भन्ने तर्कहरु भेटिन्छन् । तर तपाइँचाहिँ नेपालमा वामपक्षीय प्रोपागाण्डा धेरै भए । उदार पुँजीवाद पक्षीय बिचार कम भए भन्ने तर्क गरिरहनुभएको छ । यसमा मलाई चाहिँ अलिक नमिलेजस्तो लाग्छ?

विदेशको र नेपालको फरक हो त्यो । भारतमै पनि बामपक्षीय कुराहरुले त्यति प्राथमिकता पाउँदैनन् । अघि मैले भनजस्तै यो हाम्रो समाज जुन दिशामा गइरहेको छ, त्यसकै उपज हो । नेपालमा प्रजातान्त्रिक भन्नेहरुले गर्ने कुरा पनि खासमा बामपन्थि नै हुन्छन् । यो भनेको हाम्रो spectrum एकदमै साँघुरो बनाइएको छ । बामपन्थतर्फ मात्र ढल्केको छ । जस्तै, उदाहरण हेरौँ: नेपालमा उद्योहरु जस्तै पिज्जा हट आदि बन्द हुँदा कति प्रतिक्रिया आए? मैले त कतै पढिन विचार, लेखहरु आदि ।

 

यस्तो व्यवसाय गर्ने, सम्पत्ति कमाउने आदि स्वतन्त्रता चाहिँ के कसैले रक्षा गर्नुपर्दैन? जुन समाजमा सम्पत्तिको हक सुरक्षित हुँदैन, आखिर त्यहाँ कहिल्यै पनि अभिव्यक्तिको स्वतन्त्रता सुरक्षित हुँदैन। हाम्रो समाजका यो कुरा मुलधारले नै स्विकार गरेर स्थापित हुन सकेको छैन, धेरै समय लाग्छ ।

 

धन्यवाद यहाँलाई ।

मलाई पनि धेरै खुशि लाग्यो, तपाईँलाई पनि धेरै धन्यवाद यो अवसरको निम्ति । यहाँहरुको वेवसाइटको सफलताको कामना गर्दछु ।

हालसम्म फिचर भएका साताका ब्लगरहरु

 

नोट: के तपाईँ पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।  

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Indra Dhoj Kshetri on October 1, 2012 at 10:09am

Though we differ in view points, I am a fan of Ushaft's writings. He always makes interesting point which many times is undeniable for me too. It was nice talking to him and am happy that he is featured in this column. This interview also sparked an important debate in Twitter about anonymous blogging which was one of the objectives of featuring him in this column. I will always read his articles and respect his views, though I may not necessarily agree to what he says.

Comment by Kamal Paudyal"बालक बबुरो " on September 27, 2012 at 4:17pm

स्वागत छ तपाइलाई

Comment by Prakash Lamichhane on September 27, 2012 at 12:41pm

छदमभेषी भएर लेख्ता मनमा लागेका कुरा खुलस्तस‌ंग लेख्न सकिन्छ, वास्तविकतालाइ छर्लङ्ग पार्न सकिन्छ भन्ने कुरा त सहि हो तर कहिलेकाँहि उदाङ्गै पार्ने प्रवृत्ति पनि छ हामीकहाँ । तर आशा छ तपाइजस्ता जिम्मेवार छदमभेषीले छदमभेषमा लेख्नुभनेको सवालको गहिराइमा पुगेर त्यस्को खास उपचार र शल्यकृयाका निम्ति सुझाब दिन सक्नु हो भन्ने कुरालाइ स्थापित गर्न सक्नुपर्छ । नत्र परिचय लुकाएर अरुको परिचयलाइ नामेट पार्न त जस्ले पनि सक्छ । आर्को कुरो, परिचय केलाइ मान्ने केहि बर्ष ब्लगिङ गर्दा युशाफ्ट (ushaft) नै तपाइको मुल परिचय बन्नसक्छ बास्तविक नाम जे भएपनि । त्यसैले परिचय सापेक्ष हुन्छ । बा आमाले बोलाउने नाम र नागरिकतामा लेखिएको नाम वा दारी काटेर चिल्लो बनाइएको अनुहारको मेरो तस्विर मात्र मेरो परिचय नहुन सक्छ । बास्तविक परिचय त बनाउँदै जाने र अरु सामु कसरी चिनिन्छ त्यही नै होला :) खुसी लाग्यो तपाइका बारेमा पढ्न पाउँदा । यहि नामको उचाइको शुभकामना !!!

Comment by Binaya Shekhar on September 26, 2012 at 11:28pm

पञ्चायतकालको उतराद्र्धमा केही मान्छेहरु गाँउमा आउँथे, हामी बच्चै थियौ । मेरो घरको राजनीतिक माहौल पञ्चायत बिरोधी थियो, घरमा आउने मान्छेहरु आफ्नो सही नाम कहिल्यै बताउँदैनथे । पछि माओवादी कालमा देश घुम्दा धेरै नेता तथा तिनका कार्यकर्तासँग भेट भयो, कसैले वास्तविक नाम बताएनन् । सबै छद्म नाममा आफुलाई प्रस्तुत गर्थे ।

युशाफ्टको ट्वीटर र ब्लग फलो गरेपछि मलाई पनि लाथ्ग्यो यो मानिस को होला? किन परिचय लुकाएको होला? बेलाबेलमा हुने गफमा कहिलेकाँही कसैले अनुमान लाउँथ्यो फलानो त हैन त्यो पात्र ।

मेरो रिपोर्टमा युशाफ्ट, तपाईका कुरा पढ्न पाइयो । बैचारिक विविधता मेरो रिपोर्टको सौन्दर्य हो । नागरिक पनि सूचनाको कारोबार गर्न लायक छ, उसँग भएका सूचनाहरु राज्यको चौथो अंग मानिएको पत्रकारसँग पनि नहुनु सक्छ, पत्रकारिताको आँखा नपुगेको ठाउँमा नागरिकका आँखा पुग्छन् र ती कुराहरु मेरो रिपोर्टमा पोखिएर आउँछन् र मेरो रिपोर्ट सूचना संस्कृतीका पक्षपातीहरुको साझा मञ्च हुनेछ भन्ने पवित्र उद्देश्यले शुरु भएको थियो यो अनलाइन मञ्च । तपाईजस्ता ब्लगरका बिचारहरु यहाँ पढ्न, सुन्न र तपाईले गरिरहेको छदमभेषी ब्लगिंका पक्ष बिपक्षमा स्वस्थ बहस गराउनु पनि मेरो रिपोर्टको अभियान हो ।

तपाईका कुरा सुनिसकेपछि के चाँही भन्न मनलाग्यो भने छदमभेषमै गम्भिर बहसका कुरा भएपनि ती बहसहरुमा जिम्मेवारी लिन वा नभाग्नका लागि चाँही छदम्भेषी अभियन्ताहरुले बिशेष ध्यान दिनुपर्छ किनकी जिम्मेवारी लिन चाहेन भने सजिलो छ वास्तविकताबाट भाग्नका लागि ।

Comment by Ananta Koirala on September 26, 2012 at 6:28pm

मान्छे नचिने पनि विचारहरू पढ्दा रमाइलो र ज्ञानवर्द्धक लाग्यो। उहाँलाई चिन्ने ठूलो इच्छा छ। कुनै दिन त सकिएला नि चिन्न ;-) उहाँको ब्लगिङको सफलताको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना !!

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service